काठमाडौं । एएमएल नेपालले गरिमा क्यापिटल लिमिटेडका कर्मचारीहरूका लागि धितोपत्र बजार केन्द्रित एकदिने एएमएल/सीएफटी तालिम कार्यक्रम सम्पन्न गरेको छ ।
एन्टी–मनी लन्डरिङ तथा काउन्टरिङ द फाइनान्सिङ अफ टेरोरिज्म सम्बन्धी परामर्श सेवामा विशेषीकृत संस्थाका रूपमा परिचित एएमएल नेपालले आयोजना गरेको उक्त तालिमको उद्देश्य मर्चेन्ट बैंकिङ व्यवसायमा अनुपालन क्षमता अभिवृद्धि गर्नु रहेको थियो ।
कार्यक्रममा अन्तर्राष्ट्रिय एएमएल/सीएफटी अवधारणा, नेपालको कानुनी तथा नियामकीय व्यवस्था, धितोपत्र बोर्ड नेपालका निर्देशनअनुसार बजार मध्यस्थकर्ताको भूमिका तथा जिम्मेवारी, साथै मर्चेन्ट बैंकरहरूको व्यावहारिक अनुपालन अपेक्षाबारे विस्तृत प्रस्तुति गरिएको थियो ।
तालिमको सहजीकरण विज्ञद्वय श्रीधर अधिकारी र लेखनाथ पोखरेलले गरेका थिए। कार्यक्रममा गरिमा क्यापिटलका कर्मचारीहरूको सक्रिय सहभागिता रहेको थियो । सहभागीहरूले नेपाली धितोपत्र बजारमा देखिएका अनुपालन चुनौती र उत्कृष्ट अभ्यासबारे छलफल गरेका थिए ।
कार्यक्रमका क्रममा एएमएल नेपालका प्रतिनिधिहरूले पूँजी बजारको पारदर्शिता, विश्वसनीयता तथा वित्तीय अपराध नियन्त्रणका लागि प्रभावकारी एएमएल/सीएफटी अनुपालन अपरिहार्य रहेको उल्लेख गरे । यसले वित्तीय प्रणालीको दीर्घकालीन स्थायित्व र सुदृढीकरणमा टेवा पुग्ने विश्वास व्यक्त गरिएको छ ।
एएमएल नेपालले बैंक तथा वित्तीय संस्था, धितोपत्र बजारका मध्यस्थकर्ता तथा अन्य रिपोर्टिङ इकाइहरूलाई एएमएल/सीएफटी सम्बन्धी परामर्श, तालिम, नीति निर्माण, जोखिम मूल्यांकन तथा निरन्तर अनुपालन सहयोग प्रदान गर्दै आएको जनाएको छ ।