एभरेष्ट बैंकद्वारा नेपाल र भारतबीच रियल टाइम क्रस बोर्डर रेमिट्यान्स सेवा सुरु

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले नेपाल र भारतबीच रियल–टाइम क्रस–बोर्डर रेमिट्यान्स सेवा औपचारिक रूपमा सुरु गरेको छ । हालै सम्पन्न अन्तरदेशीय फन्ड ट्रान्सफर सम्झौतापछि बैंकले आफ्नो मोबाइल बैंकिङ एप ‘इबीएल टच २४’ मार्फत उक्त सेवा सञ्चालनमा ल्याएको हो । यस नवीन डिजिटल सेवासँगै अब नेपाल र भारतका नागरिकहरूले अत्यन्त छिटो, सरल र सुरक्षित रूपमा तत्काल (रियल–टाइम) रकम पठाउन तथा प्राप्त गर्न सक्नेछन् । बैंकका अनुसार नयाँ प्रणालीले दुवै देशबीचको आर्थिक कारोबारलाई थप सहज बनाउने विश्वास गरिएको छ । सेवाअन्तर्गत रकम स्थानान्तरणका लागि निश्चित सीमा तोकिएको छ । नेपालमा कार्यरत भारतीय नागरिकहरूले दैनिक अधिकतम भारु १५ हजार र मासिक अधिकतम भारु १ लाखसम्म भारत पठाउन सक्नेछन् । यस्तै, भारतमा कार्यरत नेपाली तथा भारतीय नागरिकहरूले भने दैनिक अधिकतम भारु २ लाखसम्म नेपाल पठाउन सक्नेछन् भने मासिक सीमा लागू नहुने जनाइएको छ । नयाँ प्रणालीमा प्रयोगकर्ताहरूले प्राप्तकर्ताको मोबाइल नम्बर वा भर्चुअल पेमेन्ट एड्रेस प्रयोग गरेर सजिलै रकम पठाउन सक्नेछन् । साथै, भारतका सेवाग्राहीहरूले युनिफाइड पेमेन्ट्स इन्टरफेस आईडीमार्फत सिधै रकम प्राप्त गर्न सक्ने व्यवस्था गरिएको छ । बैंकले यस सेवा सम्बन्धी थप जानकारीका लागि आफ्नो आधिकारिक वेबसाइट तथा नजिकैको शाखा कार्यालयमा सम्पर्क गर्न आग्रह गरेको छ ।  

एनआइसी एशिया बैंकद्वारा ग्राहकलाई प्यान र इमेल ठेगाना अद्यावधिक गर्न आग्रह

काठमाडौं । एनआइसी एशिया बैंकले ग्राहकहरुलाई खातासँग सम्बन्धित स्थायी लेखा नम्बर (प्यान) तथा इमेल ठेगाना अद्यावधिक गर्न आग्रह गरेको छ । बैंकले जारी गरेको सूचनाअनुसार करसम्बन्धी विवरणलाई व्यवस्थित र सहज बनाउन प्यान अद्यावधिक आवश्यक रहेको जनाएको हो । बैंकका अनुसार ग्राहकहरूले आफ्नो प्यान विवरण बैंकको आधिकारिक पोर्टल तथा मोबाइल बैंकिङ एप (एनआइसी एशिया मोब्याङ्क) मार्फत सजिलै अद्यावधिक गर्न सक्नेछन् । साथै, नजिकैको शाखा कार्यालयबाट पनि आवश्यक प्रक्रिया पूरा गर्न सकिने व्यवस्था गरिएको छ । प्यान अद्यावधिक नगरेको अवस्थामा इ–टिडिएस प्रणालीमा ब्याज करसम्बन्धी विवरण समावेश नहुने र पछि कर मिलानमा समस्या आउन सक्ने बैंकले जनाएको छ । यस्तो अवस्थाबाट हुने असहजताप्रति बैंक जिम्मेवार नहुने स्पष्ट पारिएको छ । यसैगरी, ग्राहकहरुलाई आफ्नो इमेल ठेगाना पनि अद्यावधिक गर्न आग्रह गरिएको छ । भिडियो केवाईसी सेवा वा मोबाइल एपको ‘माई प्रोफाइल’ सेक्सनमार्फत इमेल परिवर्तन गर्न सकिने बैंकले जानकारी दिएको छ । ग्राहक सेवा थप प्रभावकारी बनाउन यस्तो पहल गरिएको बैंकको भनाइ छ ।

सेयर बजारमा ४ अर्बको कारोबार, ३ कम्पनीमा सकारात्मक सर्किट

काठमाडौं । बुधबार सेयर बजार सामान्य अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २.५७ अंकले बढेर २७३६.१७ बिन्दुमा पुगेको हो ।  नेप्सेका अनुसार १२७ कम्पनीको सेयर मूल्य बढ्दा १३४ कम्पनीको सेयर मूल्य घटेको छ । १० कम्पनीको सेयर मूल्यमा भने कुनै परिवर्तन आएको छैन । बुधबार ३५६ कम्पनीको ९२ लाख कित्ता सेयर किनबेच हुँदा ४ अर्ब २९ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार आँखु खोला जलविद्युतको भएको छ । आँखुको २८ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । साथै सप्तकोशी डेभलपमेन्ट बैंकको २० करोड, सीटी होटलको १६ करोड, अप्पर हेवाखोलाको १४ करोड र सेन्ट्रल फाइनान्सको ११ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । आज ३ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । कालिन्चोक हाइड्रो, सोपन फर्मा र एपोलो हाइड्रोको सेयर मूल्य १४.९९ प्रतिशतले बढेका छन् ।