कामना सेवा विकास बैंकद्वारा बुटवलमा विद्यार्थीलाई स्कुल ब्याग वितरण
काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत बुटवलमा अध्ययनरत विपन्न विद्यार्थीहरूलाई स्कुल ब्याग वितरण गरेको छ । बैंकको बुटवल शाखामार्फत बुटवल माध्यमिक विद्यालयमा अध्ययनरत ७० जना गरिब तथा विपन्न समुदायका बालबालिकाहरूलाई स्कुल ब्याग वितरण गरिएको हो । कार्यक्रमका अवसरमा बैंकका बुटवल क्षेत्र प्रमुख हेमन्त बाबु आचार्यले बालबालिकाहरूको प्रारम्भिक शैक्षिक आवश्यकतालाई ध्यानमा राख्दै सहयोग प्रदान गरिएको बताए । उनले विद्यालय जाने उमेरका बालबालिकाका लागि स्कुल ब्याग केवल सामग्री बोक्ने साधन मात्र नभई विद्यालयप्रतिको आकर्षण, आत्मविश्वास र जिम्मेवारीबोध अभिवृद्धि गर्ने महत्वपूर्ण माध्यम भएको उल्लेख गरे । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक होम बहादुर रायमाझीले बैंकले गरेको सहयोगप्रति आभार व्यक्त गर्दै यसले विद्यार्थीहरूमा अध्ययनप्रति उत्साह बढाउनुका साथै अभिभावकहरूलाई समेत राहत पुग्ने विश्वास व्यक्त गरे । उक्त कार्यक्रममा बैंकका कर्मचारी, विद्यालयका शिक्षक, अभिभावक तथा सरोकारवाला व्यक्तिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । बैंकले आगामी दिनमा पनि सरोकारवालासँगको सहकार्यमा यस्ता सामाजिक उत्तरदायित्वसम्बन्धी कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ ।
राष्ट्रिय वाणिज्य बैंकको शाखा विस्तार, गोरखा र जुम्लामा सेवा सुरु
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले गोरखा र जुम्लामा नयाँ शाखा विस्तार गर्दै सेवा सञ्जाल थप विस्तार गरेको छ । बैंकले गोरखा जिल्लाको गण्डकी गाउँपालिका–८ सिउरेनीटारमा असार १ गतेदेखि शाखा कार्यालय सञ्चालनमा ल्याएको जनाएको छ । त्यस्तै, कर्णाली प्रदेश अन्तर्गत जुम्लाको सिंजा गाउँपालिका–३ नराकोटमा जेठ २६ गतेदेखि नै शाखा कार्यालय सञ्चालनमा आइसकेको छ । यी शाखाहरू सञ्चालनमा आएसँगै राष्ट्रिय वाणिज्य बैंकको कुल शाखा संख्या ३१६ पुगेको छ । वि.सं. २०२२ साल माघ १० गते पूर्ण सरकारी स्वामित्वमा स्थापना भएको बैंकले हाल सातै प्रदेशका ७७ वटै जिल्ला सदरमुकामसहित दुर्गम क्षेत्रसम्म बैंकिङ सेवा विस्तार गर्दै आएको छ । बैंकले कर्जा तथा निक्षेप सेवासँगै एटिएम, मोबाइल बैंकिङलगायत आधुनिक डिजिटल बैंकिङ सेवा पनि प्रदान गर्दै आएको जनाएको छ ।
कुमारी बैंकलाई ‘फिनाकल इनोभेसन अवार्ड २०२६’ मा प्लेटिनम सम्मान
काठमाडौं । कुमारी बैंक लिमिटेड अन्तर्राष्ट्रिय स्तरको ‘इन्फोसिस फिनाकल इनोभेसन अवार्ड २०२६’ मा प्लेटिनम अवार्डबाट सम्मानित भएको छ । बैंकले ‘बिजनेस मोडेल इनोभेसन’ विधाअन्तर्गत उत्कृष्ट प्रदर्शन गर्दै उक्त सम्मान प्राप्त गरेको जनाएको छ । ग्राहक पहिचान तथा अनुपालन प्रक्रिया (केवाईसी वर्कफ्लो कम्प्लायन्स) सम्बन्धी नवप्रवर्तनका लागि बैंकलाई अवार्ड प्रदान गरिएको हो । इन्फोसिस फिनाकलद्वारा हरेक वर्ष आयोजना गरिने यस अवार्डले विश्वभरका बैंक तथा वित्तीय संस्थाहरूका उत्कृष्ट नवप्रवर्तन र रूपान्तरण प्रयासलाई सम्मान गर्दै आएको छ । यस वर्ष विभिन्न विधामा ५०० भन्दा बढी आवेदन परेकोमा कुमारी बैंकले आफ्नो केवाईसी प्रणालीमार्फत उल्लेखनीय प्रदर्शन गर्दै प्लेटिनम अवार्ड जित्न सफल भएको हो । बैंकका अनुसार उक्त प्रणालीले ग्राहक पहिचान प्रक्रियालाई छरितो, सुरक्षित र प्रभावकारी बनाउनुका साथै नियामकीय मापदण्डको पालना गर्न सहयोग पुर्याएको छ । साथै, डिजिटल प्रविधिको प्रयोगमार्फत सेवा प्रवाहलाई थप पारदर्शी र भरपर्दो बनाउन योगदान पुगेको जनाएको छ । अन्तर्राष्ट्रिय सम्मानसँगै कुमारी बैंकले नवप्रवर्तनमार्फत सुरक्षित, भरपर्दो र ग्राहककेन्द्रित बैंकिङ सेवा प्रदान गर्ने आफ्नो प्रतिबद्धता थप सुदृढ भएको जनाएको छ । आगामी दिनमा पनि डिजिटल समाधान विस्तार गर्दै ग्राहकलाई अझ सहज, विश्वसनीय र उत्कृष्ट बैंकिङ अनुभव प्रदान गर्न निरन्तर प्रयास गर्ने बैंकले जनाएको छ ।