साउने सोमबार पशुपति दर्शनको रूट तय, कुन ढोकाबाट कसरी छिर्ने ?

काठमाडौं । साउने सोमबारको अवसरमा पशुपतिनाथको दर्शनमा आउने श्रद्धालु भक्तजनको सहज, सुरक्षित तथा व्यवस्थित दर्शन तथा विषेश पूजा व्यवस्थापनको तयारी अन्तिम चरणमा पुगेको छ । दर्शन व्यवस्थापनलाई थप प्रभावकारी, सुरक्षित र व्यवस्थित बनाउन पशुपति क्षेत्र विकास कोषका सबै पदाधिकारी, कर्मचारीका साथै मन्दिर पहरा गण, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना, ट्राफिक प्रहरी, काठमाडौँ महानगर प्रहरी र विभिन्न धार्मिक तथा  सामाजिक सङ्घ-संस्थाको विशेष सेवा एवं सहभागिता रहने छ ।  साउनको सोमबार पशुपतिनाथ मन्दिरमा दर्शनका लागि आउने लाखौँ श्रद्धालु भक्तजनलाई सहज, सुरक्षित, मर्यादित र व्यवस्थित वातावरणमा दर्शन तथा पूजा गराउने गरी व्यवस्था मिलाइएको कोषका सदस्य सचिव तीर्थ श्रेष्ठले बताए ।  दर्शनार्थीका लागि तयारी भइरहेको र आज रातिसम्ममा सबै तयारी पूरा हुने उनले बताए । पशुपतिनाथ मन्दिरको चारै ढोका सोमबार बिहान तीन बजेदेखि भक्तजनका लागि खुला गरिने छन् । बेलुका आरतीपछि राति आठ बजेसम्म पशुपतिनाथ मन्दिरका ढोका भक्तजनका लागि खुला गर्ने तयारी छ ।  “विशेष पूजा बिहान ८ः३० बजेदेखि मध्याह्न १२ बजेसम्म मात्र हुने छ”,  सदस्य सचिव श्रेष्ठले भने । आराध्यदेव भगवान् पशुपतिनाथको दर्शनका लागि चारै ढोकामा चारतिर बाट चार लाइन रहने छन् । पहिलो मार्ग गुह्येश्वरी, गौरीघाट, उमाकुण्ड, दक्षिणामुर्ति कैलाश हुँदै एक नं ढोकाबाट प्रवेश गरेर त्यहाँ रहेको जुत्ता चपल कक्षमा जुत्ता राखेर रुद्रगारेश्वर माथिको बाटो भएर बासुकी मन्दिर हुँदै भगवान्को उत्तर ढोकाबाट दर्शन र पूजा गरेर पश्चिम ढोकाबाट बाहिर निस्कने व्यवस्था मिलाइएको सदस्य सचिव श्रेष्ठले बताए । मार्ग नं १ बाट नै अर्को दोस्रो लाइन मात्र बोलबमहरुको लागि रहने छ । उक्त लाइन गुह्येश्वरी तिरबाट र जयबागेश्वरी हुँदै दथुटोल, पाचाटोल, बजार मूलढोका भएर कैलाशको सोही ढोकाबाट प्रवेश गरेर रुद्रगारेश्वर भएर उतर ढोकामा जल चढाउने व्यवस्था मिलाइएको छ । सदस्य सचिव श्रेष्ठका अनुसार मार्ग नं २ जयवागेश्वरी, बालकुमारी, भुवनेश्वरी भएर नासल चोकको जुत्ता चप्पल कक्षमा जुत्ता राखेर झम्केश्वरी मन्दिरको बायाँको सानो ढोकाबाट प्रवेश गरेर मूल ढोका (पश्चिम) बाट दर्शन पूजा गरेर नन्दीलाई दायाँ पारेर मूलढोकाबाट बाहिर निस्कने व्यवस्था मिलाइएको छ । मार्ग नं ३ विशेष पूजा र विशेष सुलभ दर्शनका लागि मात्र कोष कार्यालय तथा गौशाला तिरबाट आएर भुवनेश्वरी चोकको भकुन्डोलको जुत्ता चप्पल कक्षमा जुत्ता राखेर पूर्वतिर गई दक्षिणको बज्रघरको सानो ढोकाबाट प्रवेश गरेर बज्रघर चोकमा जम्मा हुने र त्यहाँ पास लिएर बज्रघर उत्तरतिरको भर्याङ्गबाट चौसठ्ठी बाहिरबाट दक्षिण ढोका भैरव हुँदै पूर्व ढोकाबाट विशेष पूजा गर्न जाने तथा पूजा सकेर सोही बाटो फर्कने व्यवस्था मिलाइएको छ । विशेष पुजा बिहान ८ः३० बजे देखि मध्याह्न १२ बजेसम्म हुने सदस्य सचिव श्रेष्ठले जानकारी दिए ।   मार्ग नं ४ पिङ्गलास्थान, सुमार्गी भवन, राजराजेश्वरी, पञ्चदेवल पूर्वी बाटो हुँदै बज्रघरमा रहेको जुत्ता चप्पल कक्षमा जुत्ता राखेर दक्षिणको सानो ढोकाबाट प्रवेश गरेर चौंसट्ठी घुमेर दक्षिण ढोकाबाट प्रवेश गरेर दक्षिणबाट दर्शन गरेर दक्षिणको अर्को बाटोबाट बाहिर निस्कने व्यवस्था गरिएको छ ।  मार्ग नं ५ विशेष सुलभ दर्शनका लागि मात्र तिलगङ्गा पर्यटक ढोकाबाट विशेष सुलभ दर्शनको टिकेट लिएर राम मन्दिर मुनिबाट वत्सलेश्वरी माताको मन्दिर हुँदै त्यहाँ रहेको लामपाटीमा जुत्ता चप्पल राखेर बागमती हुँदै आर्यघाटको भर्याङ्गबाट उक्लिएर पूर्व ढोकाबाट विशेष सुलभ दर्शन गरेर प्रसादि लिएर सोही बाटो फर्कने व्यबस्था गरिएको कोष सञ्चालक परिषद् सदस्य केदारमान भण्डारीले जानकारी दिए । विशेष सहुलियत दर्शन बिहान ३ बजे मन्दिर खोलेदेखि नै सुरु हुनेछ । यो सेवा दिनभर र बेलुका आरतीसम्म नै हुने छ । मार्ग न. ६ भुवनेश्वरी चोकको नासल चोक छिर्ने सानो ढोकाबाट प्रवेश गराएर मूल ढोका लगेर भट्ट र भण्डारी मन्दिर प्रवेश गर्ने सानो बाटोबाट वृद्ध, असक्त, अपाङ्ग र बच्चाबच्चीलाई विशेष दर्शनको व्यवस्था मिलाइएको छ । प्रवेश बज्रघरको सानो ढोकाबाट र तिलगङ्गा हुँदै पूर्वी बागमतीबाट प्रवेश गर्ने व्यवस्था रहेको छ । पञ्चामृत पूजा तीन हजार १०० तिरेर बिहान ८ः३० बजेदेखि १२ बजेसम्म गर्न सकिने कोष सञ्चालक परिषद् सदस्य भण्डारीले बताए । फलफूल मिठाइसहितको पञ्चामृत पूजा रु सात हजार ५०० तिरेर बिहान ८ः३० देखि १२ः०० बजेसम्म मात्र गर्न पाइने व्यवस्था मिलाइएको छ । विशेष सुलभ दर्शन पुजा प्रसादिको शुल्क रु एक हजार तोकिएको छ । यसका लागि बिहान ३ः०० बजे मन्दिर खोलेदेखि बेलुका आरतीसम्म नै हुनेछ ।  विशेष पूजाको रसिद मूल ढोका अगाडिको एसबिआइ बैंकबाट लिन सकिने व्यवस्था गरिएको छ । विशेष सुलभ दर्शन पूजा प्रसादि रसिद प्राप्त गर्ने स्थान  भुवनेश्वरी चोकस्थित लकर सेबा माछापुच्छ्रेबैंक एटिएम रहेको काउन्टरबाट र तिलगङ्गा पर्यटक काउन्टरबाट प्राप्त गर्न सकिने छ । हंशमण्डपमा सबै स्वयमं्सेवक, कर्मचारी, सुरक्षागार्ड र प्रहरीको लागि नास्ता, खाजा, चिया र खानाको प्रबन्ध गरिएको कोषले जनाएको छ । पार्किङ व्यवस्था रहने स्थानका लागि तिलगङ्गा आँखा अस्पताल अगाडि, पिङ्गलास्थान ठूलो पार्किङ,  भण्डारखाल अगाडि तथा कोष परिषद्, सिफल चौंर, उमाकुण्ड पार्किङ, गुह्येश्वरी पार्किङ÷ दिव्य पार्टी पालेस अगाडि, स्वास्थ्य सेवा रहने स्थान, पञ्चदेवल  पूर्व सत्तल, भुवनेश्वर चोक, उमाकुन्ड, जयवागेश्वरीमा व्यवस्था मिलाइएको छ ।  चन्दन प्रसादि वितरण स्थानका लागि पशुपति मूल ढोका अगाडि, भकुन्डोल दक्षिणढोका पाटी र दक्षिणामूर्तिमा व्यवस्था मिलाइएको छ । पशुपतिनाथमा मोबाइल शौचालय, एम्बुलेन्स र प्राथमिक उपचारका लागि  व्यवस्था मिलाइएको कोषका सदस्य सचिव श्रेष्ठले जानकारी दिए ।

३९ वर्षमा पनि मेसीकै जादु, विश्वकपमा फेरि इतिहास रच्ने अवसर

काठमाडौं । सन् २०२२ को विश्वकप फाइनल नै लियोनेल मेसीको अन्तिम विश्वकप खेल हुने अपेक्षा गरिएको थियो । स्वयं मेस्सीले पनि उक्त कुरा बताएका थिए । क्रोएसियामाथि अर्जेन्टिनाले ३–० को सेमिफाइनल जित निकालेपछि डिसेम्बर २०२२ मा उनले भनेका थिए, ‘विश्वकप यात्राको अन्त्य फाइनलमा गर्न पाउँदा म निकै खुसी छु । अन्तिम खेल नै फाइनल खेल्न पाउनु विशेष कुरा हो ।’ तर, चार वर्षपछि पनि दृश्य फेरिएको छैन । मेसी अझै पनि अर्जेन्टिनाको खेलको केन्द्रबिन्दु बनेका छन् । ३९ वर्ष पुगेका मेसीले आइतबार राति पुरुष विश्वकपको फाइनल खेल्ने सबैभन्दा बढी उमेरका फिल्ड खेलाडीको कीर्तिमान बनाउनेछन् । फाइनलका दिन उनी ३९ वर्ष २५ दिनका हुनेछन् । उनीभन्दा बढी उमेरमा विश्वकप फाइनल खेल्ने खेलाडी इटालीका गोलरक्षक डिनो जोफ मात्र हुन्, जसले सन् १९८२ मा ४० वर्ष १३३ दिनको उमेरमा फाइनल खेलेका थिए । २०२६ को विश्वकपमा देखाएको प्रदर्शनलाई हेर्दा मेसी विश्वकप फाइनलमा गोल गर्ने सबैभन्दा बढी उमेरका खेलाडी बन्ने सम्भावना पनि उत्तिकै बलियो छ । यो कीर्तिमान हाल स्विडेनका निल्स लिडहोमको नाममा छ, जसले सन् १९५८ को फाइनलमा ३५ वर्ष २६४ दिनको उमेरमा गोल गरेका थिए । यो फाइनल मेसीको विश्वकपमा ३४औं खेल हुनेछ । यससँगै उनले आफ्नो निकटतम प्रतिद्वन्द्वी क्रिस्टियानो रोनाल्डोलाई सात खेलले पछि पार्नेछन् । आफ्नो पुस्ताका सर्वश्रेष्ठ फुटबलर को भन्ने बहसमा मेसी र रोनाल्डोबीच लामो समय तुलना हुँदै आएको छ । तर यो विश्वकपमा मेसीले त्यो दूरी अझ फराकिलो बनाएका छन् । रोनाल्डो फेरि एकपटक विश्वकप निराशासँग बाहिरिँदा मेसी भने उमेर बढ्दै जाँदा अझ प्रभावशाली बन्दै गएका छन् । फेरि एकपटक मेसीको काँधमा अर्जेन्टिना २०२२ जस्तै यसपटक पनि मेसीले लगभग एक्लै अर्जेन्टिनालाई फाइनलसम्म डोर्याएका छन् । अर्जेन्टिनाले यस विश्वकपमा गरेका १९ गोलमध्ये १२ गोलमा मेस्सीको प्रत्यक्ष योगदान छ । उनको नाममा ८ गोल र ४ असिस्ट छ । अन्तिम ३२ को खेलमा केप भर्डेविरुद्ध डिने बोर्जेसबाट भएको आत्मघाती गोलको सुरुआती क्रस पनि मेसीकै थियो । २०२२ मा फाइनल पुग्ने क्रममा अर्जेन्टिनाका १२ गोलमध्ये ८ गोलमा उनको योगदान थियो । त्यसपछि फ्रान्सविरुद्धको फाइनलमा उनले थप दुई गोल गरेका थिए । यस विश्वकपमा मेसी एकमात्र त्यस्ता खेलाडी हुन्, जो आफ्नो टोलीका कम्तीमा आधा प्रहारमा प्रत्यक्ष संलग्न छन् । चाहे अवसर सिर्जना गर्ने होस् वा आफै प्रहार गर्ने, अर्जेन्टिनाका ५२.७ प्रतिशत प्रहारमा उनको भूमिका छ । यो अनुपात २०२२ को ५३ प्रतिशतसँग लगभग समान छ । उनले यस विश्वकपमा ५९ वटा शट इन्भाल्भमेन्ट (३४ प्रहार र २५ अवसर सिर्जना) गरेका छन्, जुन अर्जेन्टिनाका अन्य कुनै पनि खेलाडीभन्दा ४१ ले बढी हो । दोस्रो स्थानमा रहेका एलेक्सिस म्याक एलिस्टरको संख्या १८ मात्र छ । माराडोनापछि मेसीमाथि धेरै निर्भरता सन् १९८६ मा डिएगो माराडोनापछि कुनै पनि टोली आफ्नो एक खेलाडीमा अर्जेन्टिनाले जति निर्भर भएको देखिएको थिएन । सन् २००६ को विश्वकपबाहेक जहाँ मेस्सीले सम्भावित ५१० मिनेटमध्ये १२१ मिनेट मात्र खेलेका थिए, त्यसयता प्रत्येक विश्वकपमा अर्जेन्टिनाका कम्तीमा ४२ प्रतिशत प्रहारमा उनको प्रत्यक्ष सहभागिता रहेको छ। सन् १९६६ यता विश्वकपमा केवल सात खेलाडीले ३० भन्दा बढी प्रहारमा संलग्न हुँदै आफ्नो टोलीका कम्तीमा आधा प्रहारमा भूमिका खेलेका छन् । तीमध्ये दुई प्रदर्शन मेसीकै हुन्—२०२२ र २०२६ मा, अर्को प्रदर्शन माराडोनाले १९८६ मा गरेका थिए । अवसर सिर्जनामा पनि उत्तिकै माहिर मेसी अहिले विश्वकप इतिहासकै दोस्रो सर्वाधिक गोलकर्ता बनेका छन् । उनले आफ्नो गोल संख्या २१ गोल पुर्याएका छन् । फ्रान्सका केलियन एम्बाप्पेले २२ पुर्याइसकेका छन् । भविष्यमा एम्बाप्पेले यो संख्या पार गर्न सक्ने सम्भावना भए पनि मेस्सीले छाडेको समग्र विरासतको बराबरी गर्न कठिन हुनेछ । सन् २०२६ मा मेस्सीले १२ गोलमा प्रत्यक्ष योगदान दिएका छन् । सन् १९७० मा पश्चिम जर्मनीका गर्ड मुलरले गरेको १३ योगदानपछि यो सबैभन्दा उच्च संख्या हो । यसबाहेक उनले विश्वकपमा १२ असिस्ट पुर्याउँदै सन् १९६६ यताकै सर्वाधिक असिस्ट गर्ने खेलाडीको कीर्तिमान पनि बनाएका छन् । उनले डिएगो माराडोनाको ८ असिस्टको कीर्तिमानलाई उछिनेका हुन् । २०२२ पछि पूर्ण रूपमा बदलिएको मेसी २०१४ मा विश्वकपको सर्वोत्कृष्ट खेलाडी घोषित भए पनि उनका पहिलो चार विश्वकपमा गोल र असिस्टको कुल संख्या अपेक्षाअनुसार थिएन । तर २०२२ पछि त्यो तस्वीर पूर्ण रूपमा बदलिएको छ । पछिल्ला दुई विश्वकपमा उनले १४ खेलमा २२ गोल योगदान (१५ गोल, ७ असिस्ट) दिएका छन्, जुन अन्य कुनै पनि खेलाडीभन्दा बढी हो । यसको विपरीत, २००६ देखि २०१८ सम्मका पाँच विश्वकपमा उनले १९ खेलबाट ११ गोल योगदान (६ गोल, ५ असिस्ट) मात्र दिएका थिए । नकआउट चरणमा अझ खतरनाक कतार २०२२ अघि मेस्सीले विश्वकपको नकआउट चरणमा एक गोल पनि गरेका थिएनन्, यद्यपि उनले आठ नकआउट खेल खेलिसकेका थिए । तर २०२२ र २०२६ का आठ नकआउट खेलमा उनले ७ गोल गरेका छन् भने ६ असिस्ट दिएका छन् । इङ्ल्यान्डविरुद्धको सेमिफाइनलमा उनले दुई असिस्ट दिए । पहिलो असिस्ट छोटो कर्नरबाट सुरु भएको चलाखीपूर्ण आक्रमणमा इन्जो फर्नान्डेजलाई अवसर सिर्जना गरेर दिएका थिए । दोस्रोमा उनले आफ्नो कमजोर मानिने दायाँ खुट्टाबाट लौटारो मार्टिनेजको टाउकामा सटिक क्रस मिलाइदिए । त्यो खेलमा मेसीले खुला खेलबाट ६ क्रस गरेका थिए, जुन विश्वकपमा उनको व्यक्तिगत उच्च संख्या हो । अद्भूत गेममाइन्ड पछिल्ला तीन खेलमा दोस्रो हाफदेखि मेसीले मैदानको बीचबाट दायाँ विङतर्फ सर्ने रणनीति अपनाएका छन् । यो प्रशिक्षक लियोनेल स्कालोनीको योजनाको हिस्सा हुन सक्छ, तर त्यसमा मेसीको असाधारण खेलबुद्धिले पनि ठूलो भूमिका खेलेको देखिन्छ । उनको विशेषता भनेकै विपक्षीको निगरानीबीच पनि खाली स्थानमा पुगेर खेललाई नियन्त्रण गर्नु हो । पछिल्ला तीन खेलमा उनले पहिलो हाफमा ८८ पटक मात्र बल छोएका छन् भने दोस्रो हाफमा (स्विट्जरल्यान्डविरुद्ध अतिरिक्त समयसहित) २०० पटक बल छोएका छन् । अर्थात् पहिलो हाफमा प्रति ९० मिनेट ५९ टच, दोस्रो हाफमा १०९ टच । ‘जोन १४’ अझै पनि मेसीकै क्षेत्र पेनाल्टी क्षेत्रबाहिरको मध्य भाग, जसलाई ‘जोन १४’ भनिन्छ, अझै पनि मेसीको सबैभन्दा खतरनाक क्षेत्र बनेको छ । यस विश्वकपमा उनका खुला खेलका १९ प्रतिशत टच यही क्षेत्रमा भएका छन्, जुन विश्वकपमा उनको करियरकै उच्च अनुपात हो । उनका ३४ प्रहारमध्ये १६ वटा (४७ प्रतिशत) पनि यही क्षेत्रबाट आएका छन् । मेसीको यही शैलीका कारण अर्जेन्टिनाले पनि आक्रमण क्षेत्रका ३३.१ प्रतिशत टच मैदानको मध्य भागमा गरेका छन्, जुन प्रतियोगिताकै उच्च हो । अन्तर्राष्ट्रिय सफलताको नयाँ युग सात पटकका बालोन डी’ओर विजेता मेसीले क्लब फुटबलमा सबै सम्भावित सफलता हासिल गरे पनि सन् २०२१ अघि अन्तर्राष्ट्रिय उपाधि जित्न सकेका थिएनन् । तर २०२१ को कोपा अमेरिका जितेपछि सबै बदलियो ।  त्यसपछि अर्जेन्टिनाले २०२२ को विश्वकप र २०२४ को कोपा अमेरिका पनि जित्यो, जहाँ दुवै सफलतामा मेसीको भूमिका निर्णायक रह्यो । यदि अर्जेन्टिनाले आइतबारको फाइनल जितेमा सन् २०२१ मा मेस्सीले बार्सिलोनाबाट विदा भएयता टोलीले खेलेका लगातार चार ठूला अन्तर्राष्ट्रिय प्रतियोगिता जित्नेछ । स्पेनविरुद्धको खेल अन्तिम अध्याय ? विश्वकप करिअरको अन्तिम खेल स्पेनविरुद्ध खेल्नु पनि मेसीका लागि विशेष हुनेछ । जीवनको अधिकांश समय उनले स्पेनमै बिताए र बार्सिलोनाका लागि १७ सिजनमा ७७८ खेल खेल्दै ६७२ गोल गरेर क्लब इतिहासकै सर्वाधिक गोलकर्ता बने । फाइनल जिते पनि उनले ब्राजिलका पेलेको तीन विश्वकप उपाधिको कीर्तिमान बराबरी गर्न सक्ने छैनन् । तर उनी दुई विश्वकप जित्ने सीमित महान् खेलाडीहरूको सूचीमा भने समावेश हुनेछन् । अझै पनि संसारकै सबैभन्दा प्रभावशाली खेलाडी धेरैले ३९ वर्षीय मेसीको प्रभाव समाप्त भइसकेको ठानेका थिए । मेजर लिग सकर (एमएलएस) मा खेलिरहेका कारण पनि उनीमाथि शंका गरिएको थियो । तर उनीहरू सबै गलत साबित भए । मेसी ३९ वर्षको उमेरमा पनि आफ्नो उत्कर्षकालजत्तिकै प्रभावशाली छन्, केवल शैली फरक भएको छ । सर्वकालीन महान् फुटबलर भएको प्रमाणित गर्न उनले यस विश्वकपमा उत्कृष्ट प्रदर्शन गर्नु आवश्यक थिएन ।तर उनले त्यो पनि गरेर देखाएका छन् । (अप्टा एनालाइसिसबाट अनुदित तथा सम्पादित) अन्य सान्दर्भिक सामग्रीहरू : इङ्ल्यान्ड र अर्जेन्टिनाले एक-अर्कालाई किन घृणा गर्छन् ? यस्तो छ ६४ वर्षदेखिको तिक्तता केन र बेलिङ्घमकै भरमा इङ्ल्यान्डले विश्वकप जित्न सक्ला ? पहिलो सेमिफाइनल : उपाधिको दाबेदार फ्रान्स र स्पेनबीच निर्णायक खेल कसले जित्ला विश्वकप ? यस्तो छ अप्टा सुपरकम्प्युटरको भविष्यवाणी इङ्ग्ल्यान्डको नायक बेलिङ्घम सेमिफाइनल समीकरण पूरा, फुटबलका चार महाशक्ति उपाधि दौडमा यी हुन् इङ्ल्यान्डले नर्वेलाई हराउन गर्नुपर्ने ६ मुख्य काम हालान्डको नाममै उन्माद ‘विश्वकप पहिले नै तय थियो ?’ अर्जेन्टिनालाई लिएर फैलिएका षड्यन्त्रका दाबीहरू विश्वकपमा अनुभवको दबदबा, इतिहासकै सबैभन्दा बढी उमेरका खेलाडी मैदानमा विश्वकपको उपाधि होड थप रोमाञ्चक क्रिस्टियानो रोनाल्डो : इतिहास रचे, तर विश्वकप ट्रफी चुम्न सकेनन् हालान्ड : दि नर्वेजियन हिरो चम्किँदै भिनिसियस जुनियर गोल्डेन बुटका दाबेदार विश्वकै भरपर्दा स्ट्राइकर ह्यारी केन डीआर कङ्गोको ऐतिहासिक यात्रामा इंग्ल्यान्डको चुनौती  यी हुन् विश्वकप जित्ने प्रमुख दाबेदार टोली [अप्टा विश्लेषण]  विश्वकपमा गोलको वर्षा, नकआउटअघि नै तोडियो सर्वाधिक कीर्तिमान  मेसी दि ग्रेट : जसले इतिहासका पानाहरू पुनः  लेख

एम्बाप्पे बने विश्वकपमा सबैभन्दा धेरै गोल गर्ने खेलाडी

काठमाडौं । फ्रान्सका स्ट्राइकर किलियन एम्बाप्पे विश्वकप इतिहासकै सर्वाधिक गोलकर्ता बनेका छन् । आइतबार बिहान तेस्रो स्थानका लागि भएको खेलमा इंग्ल्यान्डसँग ६-४ ले पराजित हुने क्रममा उनले दुई गोल गर्दै उनी सर्वाधिक गोलकर्ता बनेका हुन् । २७ वर्षीय एम्बाप्पेले विश्वकपमा आफ्नो कुल गोल संख्या २२ पु‍र्याउँँदै अर्जेन्टिनाका लियोनेल मेसी (२१ गोल) लाई पछि पारे । मेसीले आइतबार राति स्पेनविरुद्ध फाइनल खेल खेल्दैछन्, जुन सम्भवतः उनको अन्तिम विश्वकप खेल हुनेछ । त्यसको विपरीत एम्बाप्पेले भने कम्तीमा अर्को एक विश्वकप खेल्ने सम्भावना छ । तेस्रो विश्वकप यात्रा सकिँदा एम्बाप्पेले प्रतियोगितामा १० गोल गर्दै गोल्डेन बुटको दौडमा शीर्ष स्थान कायम राखेका छन् । उनी मेसीभन्दा दुई गोलले अघि छन् । यदि मेसीले फाइनलमा दुई वा त्यसभन्दा बढी गोल गरे भने उनले फेरि विश्वकप इतिहासकै सर्वाधिक गोलकर्ताको स्थान पुनः कब्जा गर्नेछन् । रियल म्याड्रिडका फरवार्ड एम्बाप्पेले २२ खेलमा २२ गोल गर्ने उपलब्धि हासिल गरेका हुन् । उनले २०१८ विश्वकपमा ४ गोल र २०२२ विश्वकपमा ८ गोल गरेका थिए । ती दुवै संस्करणमा फ्रान्स फाइनल पुगेको थियो, जसमा २०१८ मा क्रोएसियालाई हराउँदै उपाधि जितेको थियो भने चार वर्षपछि अर्जेन्टिनासँग फाइनलमा पराजित भएको थियो । यति कम समयमा विश्वकपको सर्वाधिक गोलकर्ता बन्नु आफैमा असाधारण उपलब्धि मानिन्छ । अर्कोतर्फ फ्रान्सका महान् स्ट्राइकर जस्ट फन्टेनको नाममा रहेको अर्को ऐतिहासिक कीर्तिमान भने अझै अटुट छ । उनले १९५८ को विश्वकपको एउटै संस्करणमा १३ गोल गरेका थिए, जुन आजसम्म पनि कुनै पनि खेलाडीले एकै विश्वकप संस्करणमा गरेको सर्वाधिक गोलको कीर्तिमान हो । एम्बाप्पेले भने, ‘मेस्सीले आइतबार गोल गर्नेछन्, त्यसमा मलाई कुनै शंका छैन । म त केवल आफ्नो टोलीलाई जिताउन मद्दत गर्ने प्रयास गरिरहेको छु । विश्वकपमा धेरै गोल गर्नु भनेको तपाईंलाई एउटा विशेष स्तरमा पु‍र्याउँछ ।’ उनले थपे, ‘म विश्वकपको सर्वाधिक गोलकर्ता बन्नुभन्दा पनि भोलिको खेल खेलिरहेको भए राम्रो हुन्थ्यो । इतिहासका हिसाबले यो ठूलो उपलब्धि हो, तर अहिले मेरो दिमागमा सबैभन्दा पहिले यही कुरा छैन ।’