६ बुँदे घोषणा पत्र जारी गर्दै राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन सकियो
असार २२, काठमाडौं । टुरिष्ट गाइडहरुको छाता संगठन राष्ट्रिय टुरिष्ट गाईड एशोसिएन अफ नेपाल(टुर्गान)ले ६ बँुदे घोषणपत्र जारी गर्दै दोस्रो राष्ट्रिय टुरिष्ट गाईड सम्मेलन सम्पन्न गरेको छ । दिगो पर्यटनका लागि व्यवसायीक दक्षता भन्ने मूल नाराका साथ सम्पन्न सम्मेलनले पर्यटन क्षेत्रलाई दिगो बनाइराख्न पथपर्दशकहरुको बिमा गरिनुपर्ने, पथपर्दशकका लागि छुट्टै शैक्षिक व्यवस्था तयार गर्नुपर्ने, पथ प्रर्दशकहरुलाई उचित पारिश्रमिकको व्यवस्था गरिनुपर्ने, टिप्सको व्यवस्था गरिनुपर्ने, पुरातात्विक क्षेत्रहरुको आधिकारीक अनुमति पाउनुपर्ने लगायतका मागसहितको घोषणा पत्र जारी गरेको छ । सम्मेलनमा (टुृर्गान) का महासचिव हेमविक्रम शाहिले ६ बुँदे घोषणा पत्र जारी गर्दै यथासक्य छिटो मागहरुको सम्बोधन गरिनुपर्ने कुरामा जोड दिए । त्यस्तै कार्यक्रममा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री आनन्दप्रसाद पोखरेलले गाइडहरुका जायज मागहरु पुरा गर्न सरकार तत्पर रहेको बताए ।
एनसेलले भारत कल शुल्क ३३ प्रतिशत घटायो, प्रतिमिनेट एक रुपैयाँ ९९ पैसा मात्र
काठमाडौं, २२ असार। एनसेलका सबै ग्राहकले अब प्रतिमिनेट एक रुपैयाँ ९९ पैसामा भारतमा फोन गर्न पाउने भएका छन् । मोबाईल सेवा प्रदायक कम्पनी एनसेलले भारतको कल महशुललाई ३३ प्रतिशतले घटाएको हो । यस अघि भारत फोन गर्दा दुई रुपैयाँ ९९ पैसा लाग्ने गरेको थियो । ईन्डिया कलिङ योजना बुधबारबाट तीन महिनाका लागि लागु हुने कम्पनीले जनाएको छ । यस योजनाअन्तर्गत एनसेलका प्रिपेड र पोष्टपेड सबै ग्राहकले अब कर बाहेक फ्ल्याट एक रुपैयाँ ९९ पैसा प्रतिमिनेटमा भारतको कुनै पनि नेटवर्कमा कुरा गर्न सक्नेछन् । ग्राहकले एस्ट्रिक्स् १७१०७ ह्यास डायल गरी योे योजनामा निशुल्क सहभागी हुन सक्ने एनसेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । साथै ग्राहकले अंग्रजीमा ‘ए’ टाइप गरी १७१०७ मा एसएमएस पठाएर पनि योे योजना सुचारु गर्न सक्छन् । भारतमा ठूलो संख्यामा नेपालीहरु शिक्षा तथा रोजगारीका निमित्त बस्ने गरेका छन् । त्यसैगरी थुप्रै नेपालीहरु भारतसँग व्यापार व्यवसायमा संलग्न रहेका छन् भने प्रत्येक वर्ष भ्रमण तथा तीर्थका लागि पनि नेपालीहरु भारत जाने गरेको छन् । “यो योजनाले हाम्राग्राहकलाई भारतमा रहेका आफ्ना परिवारका सदस्य, साथीभाई र व्यावसायीक साझेदारहरुसँग अझ सुलभ शुल्कमाकल गरी सम्पर्कमा रहिरहनसहयोग पुर्याउने छ,” एनसेलका कर्पोरेट संवाद विज्ञ मिलन शर्माले भने । योजनामा सहभागी भएका ग्राहकले अंग्रेजी ‘आर’ टाइप गरी १७१०७ मा एसएमएस पठाई बाहिरिन पनि सक्छन् ।
टेलिकमको टावरमा खराबी आउँदा समस्या
डोटी, २१ असार । यहाँको ग्रामीण क्षेत्रमा पर्ने लानाकेदारेश्वर गाविसस्थित अत्तरकाँडामा रहेको नेपाल टेलिकमको टावरमा बारम्बार खराबी आएको छ । विसं २०६५ तिर स्थापित टेलिकमको स्काई फोनको टावरमा तीन महिनायतादेखि समस्या आइरहेको लानाकेदारेश्वर गाविस दुधिलाका शिक्षक रामबहादुर बोहराले बताए। सञ्चारको एक मात्र साधन स्काई फोन टिप्ने लानाकेदारेश्वर, मान्नाकापडीलगायत गाविसका बासिन्दा फोनमा आउने गरेको खराबीका कारण हैरान बनेका छन् । “घाम लागेका बेला टावर आउने र वर्षा हुँदा टावर जाने समस्या भएको धेरै भइसक्यो, कसैले पनि ध्यान दिएको छैन”, स्थानीयवासी प्रकाश थापाले राससलाई बताए । टेलिकम डोटीका अनुसार सोलार ब्याट्रीबाट टावरलाई पावर दिनुपर्ने हुँदा समस्या आएको हो । घाम लागेका बेला भने सोलार ब्याट्री सहजै चार्ज हुने हुँदा पावर पुगेर टावर आउने गरेको टेलिकम डोटीका प्रमुख गगनचन्द ठकुरीले बताए । विद्युत् विस्तार नभएका ठाउँमा टावरमा यस्तो समस्या आउने गरेको ठकुरीको भनाइ छ । वर्षात् सुरु भएसँगै टावरमा आएको खराबीका कारण स्थानीयवासी चिन्तित छन् । त्यस क्षेत्रमा छिटफुट मात्रामा अन्य फोन टिप्ने गरे तापनि स्काइ फोनले राम्रोसँग काम गर्ने गरेको छ । टेलिकमका अनुसार समय समयमा आफ्ना प्राविधिक मार्फत टावरको मर्मत र हेरविचार गर्ने गरिएको छ र सोलार ब्याट्री परिवर्तन गर्न केही लगानी आवश्यक छ । रासस