माइक्रोसफ्टले सुरु गर्यो पानीमुनि डाटा सेन्टरको परीक्षण, क्लाउड छाडेर समुन्द्र तिर किन ?
काठमाडौं, १८ साउन। समयको यस्तो क्षण जसमा हामी आफ्ना डेटाहरु जोगाउन क्लाउडतिर हेरिरहँदा माइक्रोसफ्ट भने समुन्द्रको गहिराई हेर्दैछ। कम्पनीले पानीमुनि प्रोटोटाइप डाटा सेन्टरको परीक्षणमा जुटेको छ। यसलाई कम्पनीले अमेरिकाको पश्चिम तटीय सागरको १ किलोमिटर गहिराईमा राख्दैछ। डाटा स्टोर गर्ने लियोना फिलपट नाम लिइएको यो युनिटबाट कुनै पनि डेटा ९० दिनसम्म विश्वको कुनै पनि ठाउँमा जोगाउन सकिन्छ भन्ने प्रमाणित गर्ने उद्देश्य राखिएको छ। विश्वको आधाजति जनसंख्या समुन्द्री पानीको सतह नजिकै बस्ने भएकाले उनीहरुसँग नजिकिन लागेको डेटा सेन्टरले आर्थिक भार कम पार्ने र स्पिड बढाउन सक्ने बताइएको छ। यसमा थप वातावरणीय फाइदाहरु पनि धेरै छन्। प्राकृतिक करेन्टबाट विद्युत उत्पादन र प्राकृतिक रुपमै कुलिङ समेत गर्न सकिन्छ। ‘गहिरो सतहमा रहेको पानीले सहजै कुलिङ गराउन सघाउँछ भने नविकरणीय उर्जा पनि उत्पादन हुन्छ र वातावरण सन्तुलन राख्छ,’ परियोजनाको नेतृत्व गरिरहेका नर्म ह्वइटेकरले भने। प्रविधिको ताप डेटा सेन्टरलाई चिसो बनाउनु कुनै पनि आइटी कम्पनीका लागि चुनौतीपूर्ण काम हुने गरेको छ। फेसबुक र गुगलजस्ता कम्पनीले आफ्नो डेटा सेन्टरलाई कम तापक्रम हुने मुलुकमा स्थानान्तरण गर्नुको मुल कारण यही हो। यसबाट उनीहरुको लागत समेत घटिरहेको हुन्छ। हरेक १८ महिनामा करिब दोब्बर इलेक्ट्रोनिक डेटा उत्पादन भइरहेको छ विश्वभर। अनलाइनमा धेरैभन्दा धेरै इन्टरनेटमा आधारित प्रडक्टहरु थपिँदैछन् जसले डाटा उत्पादन झन तीब्रतर गतिमा बढाएको छ। यी तथ्याङ्कहरु सबै कही न कही स्टोर हुनुपर्छ। र, त्यस्तो ठाउँ चिसो हुनुपर्छ। त्यसो त समुन्द्र पहिलेदेखि नै डेटाको पूर्वाधार विकासका लागि प्राण नै हो। ९९ प्रतिशतभन्दा धेरै डेटा पानीमुनि रहेका केबुलबाट विश्वव्यापी रुपमा प्रसार हुने गर्छ। स्याटेलाइटको विकासपछि पनि स्थायित्व र विश्वसनीयताका आधारमा केबुलहरु प्रविधिको पहिलो रोजाई हुने गरेको छ। माइक्रोसफ्टले ५ वर्षभित्र पानीमुनि डेटा सेन्टरहरु पूर्णरुपमा राखेर काम लिन सक्ने अपेक्षा गरेको छ। त्यसपछि त्यसलाई सतहमा ल्याउने र मर्मत तथा सुधार गर्न सकिने छ। कम्पनीले कम्तिमा पनि २० वर्षसम्म एउटा युनिटबाट काम लिन सकिने लक्ष्य राखेको छ। डलिमेल युकेवाट साभार
टेलिकमको सामाजिक सञ्जाल ‘मिट’मा प्रयोगकर्ता ४६ हजार पुगे
काठमाडौं १७ साउन। औपचारिक सेवा सुचारु गरेको ७ महिनामा नेपाल टेलिकमको सामाजिक सञ्जाल मिटका प्रयोगकर्ता उल्लेख्य रुपमा बृद्धि भएका छन्। गत माघदेखि टेलिकमले मिटको औपचारिक सुरुवात गरेको थियो। अहिलेसम्म मिटमा ४६ हजार भन्दा धेरै प्रयोगकर्ता भएको टेलिकमकी प्रवक्ता प्रतिभा वैद्यले बताइन। लेख, तस्बिर, श्रव्य तथा दृश्यलाई एकार्कामा पठाउन सकिने सो सञ्जालको गत पुषमा सञ्चारमन्त्री शेरधन राईले उद्घाटन गरेका थिए। नेपाल टेलिकमले आफ्ना विभिन्न सेवाहरुलाई एउटै सिस्टममा आवद्ध गराउन युनिफाइड कम्युनिकेशन सिस्टम (UCS) को रुपमा विकास गर्न यो सेवा ल्याएको हो। टेलिकमका ग्राहकले आफ्नो जीएसएम वा सिडिएमए मोबाइलमार्फत मिटको सुविधा लिन सक्छन्। टेलिकमले युसिएसमार्फत् ग्राहकलाई प्रतिदिन १० वटा एसएमएस निःशुल्क दिएको छ। त्यस्तै एक पटकमा धेरै संख्यामा एसएमएस पठाउन बल्क एसएमएसको पनि पठाउन मिल्छ। यसमा म्यासेजको क्यारेक्टर संङ्ख्या एक सय ६० वाट बढाएर तीनसय २० पुर्याएको टेलिकमले जनाएको छ । विस्तृत कार्ययोजना र लक्ष नबनाइकन आएको यो सञ्जालले अहिलेसम्म सामाजिक सञ्जाल प्रयोगकर्तामाझ राम्रो प्रभाव पार्न सकेको छैन। निशुल्क मेसेजको सुविधा पाउँदा पनि यो सञ्जालको खासै प्रयोग भएको छैन। यसले कम्पनीका सेवाग्राहीका बीचमा सामाजिक सम्बन्ध विकास गराउने उद्देश्य लिइएको टेलिकमको भनाइ छ। सो सञ्जालबाट कम्पनीका विभिन्न सेवाका बारेमा ग्राहकसँग आवश्यक अन्तक्रिया समेत गर्न सकिन्छ। टेलिकमले दश करोड २० लाख कुल लगानीमा सुरु गरेको यो सञ्जालमा दिनहुँ प्रयोगकर्ता बढिरहेका छन्। ‘औषतमा दैनिक दुइसय ५० प्रयोगकर्ता थपिन्छन्’ प्रवक्ता वैद्यले भनिन् ‘अझै परिष्कृत गरेर प्रयोगकर्ता थप्ने र सेवा विस्तार गर्ने योजना रहेको छ।’
भिटोफ अध्यक्षमा सापकोटा
काठमाडौं, १७ साउन । गाउँ पर्यटन प्रवद्र्धन मञ्च(भिटोफ–नेपाल)को अध्यक्षमा कमल सापकोटा निर्वाचित भएका छन् । २० औं गाउँ पर्यटन दिवसका आयोजित भिटोफको सम्मेलनले आगामी दुई वर्षे कार्यकालको सापकोटाको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो । भिटोफको प्रथम उपाध्यक्षमा राम घले, द्धितिय उपाध्यक्षमा दिपक दाहाल, महासचिवमा बासुदेव पाण्डे, सचिवमा जस्था पाण्डे, कोषाध्यक्षमा गगनराज न्यौपाने, सह कोषाध्यक्षमा कृष्ण बहादुर सुवेदी निर्विरोध निर्वाचित भएका हुन् । त्यसैगरि सदस्यहरुमा हरिचन्द्र गैरे, सञ्जिव श्रेष्ठ, कुल प्रसाद सुवेदी, जंग बहादुर लामा र प्रकाश अर्याल पनि निर्विरोध निवाचित भएका छन् । दुई जना मनोनितसदस्य भने निवाचित कार्यसमितीले गर्ने प्रावधान रहेको छ । कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री आनन्द पोखरेलले १० वर्षे पर्यटन रणानीतिलाई निरन्तरता दिने बताएका थिए । मन्त्री पोखरेलले केपी ओली नेतृत्वको सरकारले ल्याएको १० वर्षे पर्यटन रणनीतिलाई निरन्तरता दिन नयाँ बन्ने सरकारलाई आग्रह पनि गरेका थिए । १० वर्षमा कम्तीमा २३ लाख पर्यटक नेपाल भित्र्¥याउने रणनीतिका साथ सरकारले पर्यटन रणनीति सार्वजनिक गरेको भन्दै यसलाई कुनै दल र पार्टी विशेषको कार्यक्रमको रुपमा नलिई देशकै हितका लागि आएको कार्यक्रमका रुपमा बुझ्नु पर्ने उनको भनाई थियो ।