माछापुच्छ्रे बैंकले माग्यो ११५ जना कर्मचारी, आवेदन दिन कहिलेसम्म पाइन्छ ?
काठमाडौँ । माछापुच्छ्रे बैंक लिमिटेडले ११५ जना कर्मचारी माग गरेको छ । बैंकले म्यानेजमेन्ट ट्रेनी पदमा २५ जना र ट्रेनी जुनियर असिस्टेन्ट पदमा ९० जना कर्मचारीका लागि आवेदन माग गरेको हो । काठमाडौँ उपत्यका भित्र र उपत्यका बाहिरका शाखा कार्यलयहरुका लागि कर्मचारी माग गरिएको बैंकद्वारा प्रकाशित सूचनामा उल्लेख छ । सम्बन्धित पदमा योग्यता पुगेकाहरुले कात्तिक १३ गतेसम्म आवेदन दिन सक्ने बैंकले जनाएको छ । इच्छुकहरुले अनलाइन मार्फत आवेदन दिन सक्नेछन् । म्यानेजमेन्ट ट्रेनी पदका लागि म्यानेजमेन्टमा मास्टर्स डिग्री उत्तीर्ण गरेका र ३० वर्ष उमेर ननाघेकाहरुले आवदेन दिन सक्नेछन् । त्यस्तै ट्रेनी जुनियर असिस्टेन्ट पदका लागि म्यानेजमेन्टमा ब्याचलर डिग्री उत्तीर्ण गरेका र ३० वर्ष उमेर ननाघेकाहरुले आवेदन दिन सक्ने बैंकले जनाएको छ ।
असोजको आधासम्म कोषमा दर्ता भए १७० रोजगारदाता कम्पनी, करिब ८० हजार श्रमिक आबद्ध
काठमाडौं । सामाजिक सुरक्षा कोषमा करिब ८० हजार श्रमिक आबद्ध भएका छन् । अनलाइन सेवामार्फत असोज दोस्रो सातासम्म पाँच हजार १७० रोजगारदाता कम्पनी कोषमा दर्ता भई ७९ हजार ६५५ श्रमिकलाई दर्ता गरिएको छ । कोषमा दर्ता भएपछि आधारभूत तलबको ३१ प्रतिशत तलबकट्टी गर्नुपर्ने व्यवस्था छ, कर्मचारी तथा आश्रित परिवारले योगदानमा आधारित पेन्सन पाउनेछन् । आश्रित परिवार भनेको योगदानकर्ताको एकासगोलमा बस्ने पति वा पत्नी, छोरा, छोरीबुहारी, बाबुआमा, सासू वा ससुरा, नाती वा नातिनी हुने व्यवस्था छ । कोषमा दर्ता भएका कम्पनीले श्रमिकको कट्टी गरेको रकम रु तीन करोड चार लाख सङ्कलन भएको कोषका कार्यकारी निर्देशक कपिलमणि ज्ञवालीले जानकारी दिएका छन् । निजी सङ्गठित क्षेत्रका कम्पनीले कोषमा आफ्नो संस्था सूचीकृत गरेपछि योगदानकर्ताले पहिलो किस्ता कोषमा बुझाएर दुर्घटना भई काम गर्न अशक्त भएमा सम्बन्धित कर्मचारीले कट्टी गरेको रकमको निश्चित प्रतिशत जीवनभर पेन्सनका रुपमा प्राप्त गर्नसक्ने व्यवस्था छ । ‘योगदान’ भनेको सामाजिक सुरक्षा योजनाअन्तर्गतका सुविधा प्राप्त गर्न श्रमिक र रोजगारदाताले नियमित रुपमा कोषमा जम्मा गरेको वा गर्नुपर्ने रकमलाई सम्झनुपर्दछ । अनलाइन सेवामार्फत कम्पनी र श्रमिक दर्ता हुने व्यवस्था गरिएकाले यसमा रोजगारदाता कम्पनीका साथै कर्मचारी आबद्ध हुनेक्रम बढ्दै गएको कोषले जनाएको छ । आगामी दिनमा सातै प्रदेशमा कोषका कार्यालय विस्तार गरिनेछ । रासस
विदेशका अस्पतालको ‘कोमा’मा २३ नेपाली, जेलमा छन् ५ सय ३७ जना
काठमाडौं । वैदेशिक रोजगारका क्रममा दुर्घटना भई अचेत भएका २३ नेपाली विभिन्न देशको अस्पतालका कोमामा रहेका छन् । विदेशका अस्पतालको कोमामा रहेका बिरामीलाई नेपाल ल्याउने बैदेशिक रोजगार निर्णय बोर्डले निर्णग गरेको छ । तर, कोमा केयर सेन्टरको अभावमा ती व्यक्तिलाई नेपाल ल्याउन सकिएको छैन । सरकारले वैदेशिक रोजगारको क्रममा घाइते तथा बिरामी भई कोमामा रहेका २५ जना नेपालीहरु मध्ये २ जनालाई काठमाडौं ल्याएर उपचार गराइएको बोर्डले जनाएको छ । कोमा सेन्टरको अभावमा सबैलाई नेपाल ल्याउन सकिएको छैन–बोर्डका कल्याण पुनास्र्थापना तथा सञ्चार शाखाका निर्देशक दीनबन्धु सुवेदीले बताए । पछिल्लो समय कतारमा १५ जना, साउदी अरबमा ७ र कुवेतमा १ जना नेपाली कोमामा छन् । कोमामा रहेका बिरामीलाई ल्याउनु अगाडि परिवारको स्वीकृति, सरकारी अस्पतालको स्वीकृति र बिरामी रहेको देशको कम्पनी तथा दुतावासको स्वीकृति पत्र अनिवार्य रहेको बोर्डका कल्याण पुनास्र्थापना तथा सञ्चार शाखाका निर्देशक सुवेदीले बताए । कतारमा कोमामा रहेका ७ जना बिरामीलाई नेपाल ल्याउने तयारी भएपनि अस्पतालमा आईसियूको अभावको कारण काम अगाडि बढाउन सकिएको छैन-निर्देशक सुवेदीले भने । कोमामा रहेको बिरामीलाई वीर अस्पतालमा आईसियू वेड व्यवस्थापनको अनुरोध गर्दै वैदेशिक रोजगार बोर्डले पत्र लेखेपछि अस्पतालले आईसियू वेडको अवस्था अत्याधिक कम भएको हुँदा व्यवस्थापन गर्न मुस्किल भईरहेको जवाफ फर्काएको छ । बोर्डकै सहयोगमा कोरियामा रहेका झापाका ओमनाथ ढकाल र संयुक्त अरब इमिरेट्सबाट पर्वत घर भएका कुमार कामीलाई नेपाल ल्याएर उपचार भइरहेको छ । कतारमा कोमामा रहेका दिनेशकुमार चौधरी, देवेन्द्रकुमार थापा, भक्तबहादुर मगर , सुबेन्द्र घिसिङ्ग, मनराज डांगी, लिलाराम सापकोटा, अभिषेक कुमाल, भरतराम लवाद, श्रीबहादुर नेम्बाङ, लियामत कवारी , दिनेशकुमार राई, ओमबहादुर कुम्हाल, छविराज आले, भीमबहादुर थापा, राजाराम चमार । साउदी अरबमा कोमामा रहेका महेन्द्र गुरुङ्ग, बाटुली सुनार, मनोजकुमार माझी, चण्डेश्वरविन मुखिया, प्रकाश गुरुङ्ग, बेदबहादुर भुजेल र देवराज दर्जी । कुवेतमा कोमामा रहेका गंगाबहादुर मगर । ५ सय ३७ जना नेपाली विभिन्न देशको जेलमा वैदेशिक रोजगारमा गएका ५ सय ३७ जना नेपाली विविध देशका जेलमा रहेको वैदेशिक रोजगार बोर्डले जनाएको छ । वैदेशिक रोजगारमा गएका मध्ये सबैभन्दा २०१ जना मलेसिया र १८२ जना यूएईको जेलमा रहेका छन् । त्यस्तै कुवेतमा ५८, ओमनमा २, साउदी ४९, कतारमा ३५ र बहराइनमा ५ जना नेपाली जेलमा रहेका छन् ।