हिमालयन लाइफ इन्स्योरेन्सको सीईओमा कपिलकुमार दाहाल, को हुन् उनी ?

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा कपिलकुमार दाहाल नियुक्त भएका छन् । कम्पनीको सञ्चालक समितिको कात्तिक १२ गते बसेको बैठकले दाहाललाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको ईश्वर कुमार सेडाईले जानकारी दिए ।  उनका अनुसार यसअघि दहाल निमित्त सीईओको जिम्मेवारी सम्हाल्दै आएका थिए । कम्पनीका सीईओ मनोज कुमार लाल कर्णले पदबाट राजीनामा दिएपछि दाहाललाई सीईओको जिम्मेवारी दिएको हो । नवनियुक्त सीईओ दाहाल लामो समयदेखि बीमा क्षेत्रसँग आबद्ध छन् । ४७ वर्षिय दाहाल चार्टर्ड एकाउण्टेन्ट (सीए) समेत हुन् । दाहालले सन् २००९ मा भारतको चेन्नईस्थित आईसीएआईबाट आफ्नो सीए गरेका हुन् ।  सर्लाही जिल्ला ढुंगे्रखोला नगरपालिका-४ का बासिन्दा दाहालसँग लेखा, वित्तीय व्यवस्थापन, लेखा परीक्षण र बीमा क्षेत्रमा १५ वर्षभन्दा बढीको अनुभव छ । उनले बीमा, कर, सूचना व्यवस्थापन प्रणाली, व्यवसाय व्यवस्थापन, एएमएल, आईएफआरएस र एनएफआरएस सम्बन्धी विभिन्न तालिमहरू लिएका छन् ।

नवनियुक्त दुई मन्त्रीले लिए शपथ

काठमाडौं । नवनियुक्त दुई मन्त्रीले शपथ लिएका छन् । शितलनिवासमा आइतबार आयोजित विशेष कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष उनीहरुले शपथ लिएका हुन् । डा. सुधा गौतम र बब्लु गुप्ताले मन्त्रीको शपथ लिएका हुन् । डा. गौतमले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र गुप्ताले युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी पाएका छन् । प्रधानमन्त्री सुशीला कार्कीले आइतबार बिहान मन्त्रीमण्डल विस्तारको लागि मन्त्रीको नाम राष्ट्रपतिसमक्ष सिफारिस गरेकी थिइन् ।  मन्त्रीमण्डलमा चार जनाको नाम सिफारिस भएपनि विवादका कारण दुई जनाको मात्रै आइतबार शपथ भएको हो । प्रधानमन्त्री कार्कीले गणपतिलाल श्रेष्ठलाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण र खगेन्द्र सुनारलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीमा सिफारिस गरेकी थिइन् । उनीहरुको भने शपथ रोकिएको हो । यसअघि प्रधानमन्त्री कार्कीले ७ जना मन्त्री नियुक्त गरिसकेकी छन् । नवनियुक्त मन्त्रीहरुको सपथग्रहण कार्यक्रममा उपराष्ट्रपति रामसहाय यादव, प्रधानमन्त्री कार्की, प्रधानन्याधीश प्रकाशमानसिंह राउत, सभामुख देवराज घिमिरे, नेपाल सरकारका मन्त्री लगायत उच्चपदस्थ व्यक्तित्वहरुको सहभागिता रहेको छ । 

कामना सेवा विकास बैंकका अध्यक्ष सुदिप आचार्यले लिए सपथ

काठमाडौं । कामना सेवा विकास बैंकका अध्यक्ष सुदिप आचार्यले मंगलबार नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर बमबहादुर मिश्रसमक्ष पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् । गत शुक्रबार सम्पन्न बैंकको १९औं वार्षिक साधारणसभाबाट आचार्य सञ्चालकमा निर्वाचित भएका थिए । त्यसपछिको सञ्चालक समितिको बैठकले उनलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको थियो । बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन अनुसार निर्वाचित अध्यक्षले नेपाल राष्ट्र बैंक समक्ष पद तथा गोपनियताको सपथ लिनुपर्ने व्यवस्था अनुसार आचार्यले औपचारिक रूपमा सपथ ग्रहण गरेका हुन् । सपथ ग्रहण समारोहमा नेपाल राष्ट्र बैंकका बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक गुरु प्रसाद पौडेल, वित्तीय संस्था सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक सत्येन्द्र तिमिल्सिना, साथै कामना सेवा विकास बैंकका सञ्चालक र प्रमुख कार्यकारी अधिकृतलगायतको उपस्थिती रहेको थियो । उक्त साधारणसभाबाट संस्थापक समूह अन्तर्गत सुदिप आचार्य, भीम प्रसाद तुलाचन, चतुराखर अधिकारी, र सर्वसाधारण समूह अन्तर्गत बलराम बराल, विश्वेश्वर सुवेदी र डा. पवन कुमार शर्मा निर्विरोध निर्वाचित भएका थिए ।