विदेशमा अलपत्र परेका ७ लाख नेपाली देश फर्कने प्रतिक्षामा, २५ हजारलाई ल्याउने तयारीमा सरकार

काठमाडौं । रोजगारीको क्रममा विदेशमा रहेका करिब ७ लाख नेपाली श्रमिक फर्कने चाहेका छन् । विश्वमा नै फैलिएको कोरोना भाइरसको कारण खाडी तथा मध्यपूर्वी देशमा रहेका करिब ७ लाख नेपाली स्वदेश फर्कनका पाउँ भन्दै म्यानपावर व्यवसायी, दूतावास एवम् एनआरएनएको सम्पर्कमा रहेको वैदेशिक रोजगार व्यवसायी संघले जनाएको छ । त्यस्तै परराष्ट्र मन्त्रालयले १० लाख नेपाली फर्किने अवस्थामा रहेको जानकारी दिँदै आएको छ । तत्कालका लागि ५ देखि ६ लाखसम्म खाडी तथा मध्यपूर्व देशमा रहेका नेपाली फर्किन चाहेपनि सरकारले पहिलो चरणमा २५ हजारलाई मात्र ल्याउन सकिने परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले सार्वजनिक रुपमा जानकारी दिएका छन् । २/३ महिनादेखि रोजगारी गुमाइ नेपाल आउने प्रतिक्षामा रहेका धेरै नागरिक छन् । तर सजायबाट आममाफी पाएका, श्रमको करार अवधि सकिएका, रोजगारी गुमाएर बसेका, कोरोनाबाहेक अन्य कारण विरामी भएका, सुत्केरी, गर्भवती, जेष्ठनागरिक, अशंक्त, अध्ययनमा आएका विद्यार्थी, आफन्तको मृत्यु भई काजकिरिया गर्न नेपाल आउनुपर्ने, भिजिट भिसामा रहेकालाई स्वदेश फर्काउने सरकारको पहिलो प्राथमिकता रहेको छ । ठूलो संख्यामा रोजगारी गुमाएर बसेका मध्यपूर्वी तथा खाडी राष्ट्रमा रहेका नेपाली सरकारको प्राथमिकतामा परेको छ । विदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या पनि ठूलै भइसकेको छ भने धेरै लामो समय देखि रोकिएर रहेका अन्य १ सय ९९ वटा विभिन्न कारण मृत्यु भएका शव रोजगार गन्तव्य मुलुकमा नै रहेका हुँदा सरकारले उक्त शव परिवारलाई बुझाउनु पर्ने अर्काे महत्वपूर्ण काम छ । पछिल्लो समय गन्तव्य मुलुकमा नै शवको अन्तिम संस्कार गर्नका लागि वैदेशिक रोजगार बोर्डले मृतकका परिवारसँग कुरा गर्दै आएको छ । हालसम्म ७५ परिवारले स्वीकृति दिएका छन् । त्यस्तै कोरोनाको कहर बढ्दै गएसँगै वैदेशिक रोजगारीमा रहेका नेपाली आफ्नै देशमा आइ सिप अनुसारको काम गर्न चाहनेको संख्या धेरै रहेको विदेशस्थित विभिन्न दुतहरुको जानकारी दिँदै आएका छन् । सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दैनिक ८ देखि १० वटा उडान भर्नेछ । सामाजिक दुरी कायम गर्दै कोरोना भाइरस संक्रमण नभएको स्वास्थ्य परीक्षण (पीसीआर) रिपोर्ट अनिवार्य गरिएको छ । विदेशबाट आएका नेपालीका होल्डिंग सेन्टर, होटल क्वारेन्टाइन तथा स्थानीय निकायमा बनाएको क्वारेन्टाइनसम्म पुर्याउने व्यवस्था सरकारले गर्ने भएको छ । सरकारले अर्काे हप्तादेखि उक्त कार्य शुरु गर्ने भन्दै आएको छ । यो सबै कार्ययोजना कोभिड १९ रोकथाम, नियन्त्रण तथा उच्चस्तरिय समितिले तय गरेको छ ।

कालीगण्डकीमा पक्की पुल बन्दै

रामपुर । गाउँ फर्केका युवालाई रोजगारी दिन प्रदेश नं ५ र गण्डकी प्रदेश जोड्ने कालीगण्डकीमा धमाधम पक्की पुल निर्माण भइरहेको छ । पाल्पा, रामपुर नगरपालिका १ र तनहुँको घिरिङ गाउँपालिका १ जोड्ने पुट्टारघाटमा निर्माणाधीन पुल निर्माण बन्दाबन्दीले केही समय स्थगन भएको थियो । पुलमा काम गर्ने नेपालगञ्ज र बर्दियाका मजदूरलाई घर पठाएर निर्माणको काम केही समय रोकिएको थियो । कोरोना भाइरसका कारण भारत तथा विभिन्न मुलुक, स्थानबाट गाउँ फर्केका युवाले नदीमा पुल निर्माणलाई निरन्तरता दिएर आर्थिक उपार्जन गर्न मौका पाएका छन् । अहिले तनहुँको भागमा पिल्लर हाल्ने काम भइरहेको छ । यसमा यहाँका ५५ युवालाई परिचालन गरिएको छ । बन्दाबन्दीपछि गाउँ आउनुभएका हरिविक्रम दरै पुल निर्माणमा सहभागी हुने अवसर पाउँदा खुशी भएको बताए । दैनिक १६ घण्टा काम भइरहेकाे छ । निर्माणमा संलग्न युवालाई दैनिक दुई कार्यावधि बनाई ८, ८ घण्टामा विभाजन गरेर एक कार्यावधिमा ८ सय ज्याला दिने गरी काममा लगाइएको पुल निर्माण समितिका सचिव दानबहादुर मल्लले जानकारी दिए । हालसम्म पुल निर्माणको काम १८ प्रतिशत सम्पन्न भएको निर्माण कम्पनीका प्रोजेक्ट म्यानेजर टेकनाथ शर्माको भनाइ छ । बन्दाबन्दी लम्बिँदै गएपछि गृह मन्त्रालयबाट पुनः निर्माण सामग्री ढुवानीका लागि सवारी अनुमतिपत्र बनाएर स्थानीय युवा परिचालन गरी पुल निर्माणको काम धमाधम गरिएको उनले बताए । नेपाल सरकारको २५ करोड रुपैयाँको लागतमा डेढ वर्ष अघिदेखि पुल निर्माण शुुरु गरिएको हो । १ सय १७ मिटर लम्बाइ र ११ मिटरको चौडाइ रहेको पुल निर्माण बिल्डर्स शर्मा युनाइटेड रमन जेभी कन्ट्रक्सन प्रालिमार्फत तीन वर्षभित्र सक्ने लक्ष्य राखिएको छ । ज्याग्दी वनमा उद्यान कालीगण्डी तटमा रहेको रामपुरको ज्याग्दी वनमा उद्यान निर्माण शुरु भएकोे छ । छब्बीस हेक्टर क्षेत्रफलमा फैलिएको सो वनको चार हेक्टर क्षेत्रफलमा चिडियाखाना, बालोद्यान सहितको उद्यान बनाउने कार्य शुरु भएको हो । रामपुर नगरपालिका प्रधानमन्त्री स्वरोजगार कार्यक्रमको सहयोग र वडा नं ६ को व्यवस्थापनमा निर्माण हुने उद्यानको पैदलमार्गको ट्रयाक खोल्ने काम शुरु भएको छ । गत वर्ष निवेदन दिएका बेरोजगार युवालाई काम गर्न औजार हस्तान्तरण गर्दै नगर प्रमुख रमणबहादुर थापा आफैंले खनेर ट्रयाक बनाउने कामको शुभारम्भ गरे । कृषि र पर्यटन विकासको पाँचवर्षे कार्ययोजनासहित अगाडि बढेको वडा नं ६ ले ज्याग्दी वनलाई हेटौँडाको उद्यान जस्तै बनाउने योजना राखेको वडायक्ष हुमनाथ न्यौपानेले बताएका छन् । सरकारले पर्यावरण र पर्यटन प्रवद्र्धनका लागि ‘एक सामुदायिक वन एक उद्यान’ कार्यक्रम अगाडि सारेकाले पनि सोहीअनुरुप उद्यानको डिपिआर तयार पारी पहिलो चरणमा ट्रयाक खोल्ने र वनस्पति उद्यान बनाइने ज्याग्दी बृहत् पार्क विकास समितिका अध्यक्ष ओमप्रकाश बस्यालले जानकारी दिए । पार्क निर्माणका लागि नगरपालिकाले चालु आर्थिक वर्षमा ५ लाख रुपैयाँ विनियोजन गरेको समितिका सचिव वासुदेव ढकालको भनाइ छ । रासस

प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि ११ अर्ब ६० करोड रुपैयाँ विनियाेजन

काठमाडौं । अर्थमन्त्री डा.युवराज खतिवडाले प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि ११ अर्ब ६० करोड रुपैयाँ विनियाेजन बताएका छन् । संघिय सदनको दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०७७/७८ को बजेट प्रस्तुत गर्दै उनले सो बताएका हुन् । आगामी आर्थिक वर्षमा ७५ हजार नागरिकलाई सीपमुलक तालिम प्रदान गर्ने उद्देश्यका साथ सो रकम प्रदान छुट्याएको छ । सरकारले प्रधानमन्त्री कार्याक्रममार्फत २ लाखलाई रोजगारी दिने लक्ष्य राखेको छ । कोरोनासँगै रोजगार गुमाएकालाई नागरिकलाई ध्यानमा राख्दै ५० हजार मानिसलाई रोजगारी प्रान गर्नका लागि १ अर्ब रुपैयाँ विनियोजन गरिएको छ ।