एनआईसी एशिया बैंकले माग्यो कर्मचारी

काठमाडौं । एनआईसी एशिया बैंकले विभिन्न पदमा केही मात्रामा कर्मचारीको माग गरेको छ । बैंकले शाखा प्रबन्धकका लागि विभिन्न तहमा कर्मचारी माग गरेको हो । बैंकले शाखा प्रबन्धककाे लागि अफिसर, सिनियर अफिसर, असिस्टेन्ट म्यानेजर , डिप्युटी म्यानेजर र म्यानेजर तहमा कर्मचारी माग गरेको छ । बैंककाे अनुसार अफिसर तहकाे शाखा प्रबन्धकका लागि कम्तीमा पनि स्नातक उर्तिण भई ५ वर्षको अनुभवसहित ४० वर्ष ननाघेको हुनुपर्ने छ भने असिसटेन्ट म्यानेजरभन्दा माथिल्लाे तहकाे लागि स्नातककाेत्तर तह पुरा गरेकाे, सम्बन्धित क्षेत्रमा दश वर्षको अनुभव र ५० वर्ष ननाघेको हुनुपर्ने बैंकले जनाएकाे छ । यि विभिन्न पदको लागि अनलाइनमार्फत आवेदन दिन सकिने बैंकले जनाएकाे छ ।

पोखराका ७५० युवालाई स्वरोजगार बनाउन १५ करोडको कोष, कृषिलाई प्राथमिकता

कास्की । पोखरा महानगरपालिकाका युवाहरूलाई लक्षित गरेर युवा तथा साना व्यवसायी स्वरोजगार कोष सञ्चालन गरिने भएको छ । सो कोषमार्फत पोखराका ७५० युवालाई स्वरोजगार बनाइने लक्ष्य राखिएको छ । महानगरपालिकाले चालु आर्थिक वर्षको बजेट कार्यक्रममार्फत सो कोषमा पाँच करोड विनियोजन गरेकामा युवा स्वरोजगार कोष र मुक्तिनाथ विकास बैंकको तर्फबाट समेत पाँच–पाँच करोडका दरले लगानी गरी १५ करोडको कोषमार्फत कार्यक्रम सञ्चालन गर्न लागिएको हो । सो कोष सञ्चालन गर्न त्रिपक्षीय सम्झौताका लागि सैद्धान्तिक सहमति जुटेको पोखरा महानगरका प्रमुख धनराज आचार्यले जानकारी दिए । युवा स्वरोजगार कोषका कार्यकारी निर्देशक विश्वमोहन अधिकारी, मुक्तिनाथ विकास बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युम्न पोखरेल र महानगरका प्रमुख आचार्यबीच कोषमार्फत कार्यक्रम छिट्टै आगडि बढाउने सैद्धान्तिक सहमति भएको बताइन्छ । कोषमार्फत कृषि क्षेत्रमा लागेका युवा उद्यमीलाई प्राथमिकता दिइने र लगानी गरिने प्रमुख आचार्यले बताए । कृषि उद्यमको माध्यमबाट रोजगारीसमेत अभिवृद्धि हुने विश्वास लिइएको छ । महानगर प्रमुख आचार्यले भने, ‘हालै युवा स्वरोजगार कोषका कार्यकारी निर्देशक र मुक्तिनाथ विकास बैंकका प्रमुख कार्यकारी अधिकृतसँग बसेर कृषि उद्यमलक्षित गर्दै स्वरोजगार कोषमार्फत युवाहरूलाई प्रोत्साहन गर्ने सम्बन्धमा हाम्रो सहमति भएको छ । यसमा हामी तीनवटै पक्षले बराबर रकम जग्मा गर्ने छौँ र बैंकमार्फत नै यसलाई अगाडि बढाउने योजनामा छौँ । खासगरी कृषि क्षेत्रमा केही गर्न चाहने युवालाई लक्षित गरेर महानगरमा रोजगार अभिवृद्धि गर्ने पनि हाम्रो चाहना हो ।’ निर्देशक अधिकारीले अगामी चार वर्षसम्म यो कार्यक्रमलाई अगाडि बढाउने उद्देश्यका साथ आफूहरु अगाडि बढेको बताए । उनले भने, ‘यो कार्यक्रममार्फत न्यून वर्ग र बेरोजगार युवालार्ई समेट्ने योजना छ । कोष अगाडि बढाउनका लागि अब औपचारिक सम्झौता गर्ने तयारीमा छौँ ।’ उनका अनुसार यो कार्यक्रम सम्झौता भएर कार्यान्वयनमा जान कम्तीमा एक महिना लाग्ने छ । रासस

वर्षमा सय भन्दा थोरै कामदार विदेश पठाउने म्यानपावरको पनि इजाजतपत्र नवीकरण हुने

काठमाडौं । वर्षमा एक सय सय भन्दा थोरै कामदार विदेश पठाउने म्यानपावरहरुले पनि आफ्नो इजाजत पत्र नवीकरण गर्न पाउने भएका छन् । श्रम, रोजगार, तथा सामाजिक सुरक्षा मन्त्रालयले राजपत्रमा सूचना जारी गर्दै सो कुरा जनाएको हो । यसअघि नवीकरण हुनका लागि एक आर्थिक वर्षमा कम्तीमा १०० जना कामदार विदेश पठाउनुपर्ने व्यवस्था रहेको थियो । वैदेशिक रोजगार ऐन, २०६४ को दफा ८२ ले दिएको अधिकार प्रयोग गरी वाधा अड्काउ फुकाउने आदेश अन्तर्गत सो सूचना जारी गरिएको राजपत्रमा उल्लेख गरिएको छ ।