प्रतिनिधिसभा बैठक दुई घण्टा ढिला सुरु

काठमाडौं, । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले सीमा विवादबारे दिएको अभिव्यक्तिलाई लिएर उत्पन्न विवादका कारण प्रतिनिधिसभा बैठक निर्धारित समयभन्दा करिब दुई घण्टा ढिलो गरी अपराह्न ३ बजे सुरु भएको छ । मंगलबार (आज) दिउँसो १ बजेका लागि बोलाइएको बैठक विपक्षी दलहरूको अवरोधका कारण समयमै सञ्चालन हुन सकेन । विपक्षी दलहरूले प्रधानमन्त्री शाहले सीमा विवाद सम्बन्धमा दिएको अभिव्यक्तिको तथ्यगत आधार सार्वजनिक गर्न माग गर्दै सदनमा विरोध जनाएका थिए । विपक्षी दलहरूले प्रधानमन्त्रीको भनाइ राष्ट्रिय महतत्वको विषयसँग सम्बन्धित भएकाले त्यसबारे स्पष्ट जानकारी र प्रमाण प्रस्तुत गरिनुपर्ने धारणा राखेका छन् । उनीहरूले प्रधानमन्त्रीको अभिव्यक्तिबारे सरकारको औपचारिक धारणा पनि माग गरेका छन्। यता विपक्षीको उक्त मागप्रति सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सहमत नभएको बताइएको छ। सत्तापक्ष र विपक्षीबीच सहमति जुट्न नसक्दा बैठक निर्धारित समयमै सञ्चालन हुन नसकेको हो । दलहरूबीचको छलफलपछि प्रतिनिधिसभा बैठक अपराह्न ३ बजेबाट सुरु भएको संसद् सचिवालयले जनाएको छ । सदनमा जारी विवाद समाधानका लागि राजनीतिक तहमा थप संवाद भइरहेको बताइएको छ ।

विपक्षी दल अडानमा कायमै हुँदा प्रतिनिधिसभा बैठक अझै अनिश्चित

काठमाडौं ।  प्रतिनिधिसभाको बैठक मंगलबार (आज) अपरान्ह १ बजेका लागि आह्वान गरिए पनि समाचार तयार पार्दासम्म सुरु हुन सकेको छैन ।  प्रधानमन्त्री बालेन्द्र शाहले संसदमा दिएको अभिव्यक्तिप्रति असन्तुष्टि जनाउँदै विपक्षी दलहरूले प्रधानमन्त्रीले संसदमा उपस्थित भएर माफी नमागेसम्म बैठक अघि बढ्न नदिने अडान कायम राखेका छन् । संसद् सचिवालयले भने बैठक सञ्चालनका लागि सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । प्रतिनिधिसभाका प्रवक्ता एकराम गिरीले सचिवालय बैठक सञ्चालनका लागि तयारी अवस्थामा रहेको जानकारी दिए । यसैबीच नेपाली कांग्रेसले गठन गरेको छायाँ सरकारका गृहमन्त्री तथा सांसद प्रकाशसिंह कार्कीले सभामुखको भूमिकाप्रति असन्तुष्टि व्यक्त गरेका छन् । उनले सभामुख निष्पक्ष रेफ्रीको भूमिकामा रहनुपर्नेमा खेलाडी बनेर आफै गोल गर्ने शैलीमा अघि बढ्न खोज्नु आपत्तिजनक भएको टिप्पणी गरे । सत्तापक्ष र विपक्षी दलबीच जारी विवादका कारण प्रतिनिधिसभा बैठक कहिले सुरु हुने भन्ने विषय अझै अन्योलमै रहेको छ ।

सुधन गुरुङमाथि छानबिन गर्न पाँच दिन म्याद थप

काठमाडौं । पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद सुधन गुरुङमाथि छानबिन गर्न गठित समितिको म्याद पाँच दिन थप गरिएको छ ।  समितिले गत साता नै पूर्वगृहमन्त्री गुरुङको बयान लिएको थियो । उनी विवादमा परेका विषयका प्रमाण पनि समितिले विभिन्न कार्यालयबाट संकलन गरिसकेको छ । समितिले थप प्रमाण माग गर्दै पुनः पत्र पठाएको थियो ।  गृहमन्त्री हुँदा विवादमा परेका गुरुङमाथि छानबिन गर्न गत वैशाख २८ गते सरकारले उच्च अदालतका पूर्वन्यायाधीश भण्डारीको नेतृत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको थियो । समितिमा महालेखा नियन्त्रक शोभाकान्त पौडेल र महान्यायाधिवक्ता कार्यालयका सहन्यायाधिवक्ता अच्युतमणि न्यौपाने सदस्य छन् ।