९ अर्ब लागतमा मस्र्याङ्दी करिडोर प्रसारणलाइनको काम अघि बढ्यो, ४ वर्षमा सकिने
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले मस्र्याङ्दी करिडोर विद्युत् प्रसारणलाइन निर्माणका लागि ठेकदार छनोटको प्रक्रिया शुरु गरेको छ ।मस्र्याङ्दी तथा त्यसका सहायक नदीमा निर्माणमा रहेका र निर्माणमा जाने तयारीका आयोजनाबाट उत्पादित विद्युत् प्रसारणका लागि उक्त प्रसारण लाइन निर्माण गर्न लागिएको हो । सो करिडोरमा १ हजार ६०० मेगावाट क्षमताका आयोजना निर्माणक्रममा छन् । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले लमजुङको दोर्दी तथा न्यादी खोलामा निर्माणाधीन आयोजना सम्पन्न हुन कम्तीमा दुई वर्ष लाग्ने देखिएको र त्यस अवधिमा प्राधिकरणले सब स्टेसन तथा प्रसारणलाइन बनाइसक्ने प्रतिबद्धता यसअघि नै जनाइसकेका छन् । उनले केही महीनाअघि प्रसारणलाइन तथा त्यस भेगमा निजी क्षेत्रले निर्माण गरिरहेका जलविद्युत् आयोजनाको स्थलगत निरीक्षण गरी प्रसारणलाइन निर्माण प्रक्रिया शुरु भएको बताएका थिए । कार्यकारी निर्देशक घिसिङले मस्र्याङ्दी करिडोर प्रसारणलाइन निर्माणलाई उच्च प्राथमिकतामा राखेको बताए । मस्र्याङ्दी करिडोरअन्तर्गतको लमजुङको उदिपुर र चितवनको भरतपुरमा २२०÷१३२÷३३ केभी क्षमताको सबस्टेसन बनाउन ठेकेदार छनोटको प्रक्रिया अन्तिम चरणमा पुगेको छ । प्रतिस्पर्धामा रहेका कम्पनीको प्राविधिक प्रस्ताव मूल्याङ्कन गरी सारभूतरुपमा प्रभावग्राही कम्पनीको आर्थिक प्रस्ताव खोलिसकिएको छ । अहिले सबैभन्दा कम रकम कबोल गर्ने कम्पनीको प्रस्ताव मूल्याङ्कनको चरणमा रहेको आयोजनाले जनाएको छ । प्राधिकरणले करिडोरको पहिलो खण्डमा पर्ने मनाङ (धारापानी०–खुदी–उदीपुर र लमजुङ) प्रसारणलाइन तथा सबस्टेसन निर्माणका लागि ठेकेदार छनोटका लागि ठेक्का सार्वजनिक गरेको छ । प्राधिकरणले मनाङको धारापानी र लमजुङको खुदी तथा उदिपुरमा पनि २२०÷१३२÷३३ केभीको सबस्टेसन निर्माण गर्नेछ । इच्छुक कम्पनीलाई आवेदन दिन १८ मङ्सिरसम्मको समयसीमा दिइएको आयोजनाले जनाएको छ । छनोट भएको कम्पनीले तीन वटा सबस्टेसन र धारापानी–उदिपुर करीब ४६ किलोमिटर प्रसारणलाइनको निर्माण गर्नेछ । उदिपुर–भरतपुर खण्डमा पर्ने करीब ६४ किलोमिटर प्रसारणलाइन निर्माण गर्न ठेकेदार छनोट गरी काम शुरु भइसकेको छ । युरोपेली लगानी बैंकको सहुलियतपूर्ण ऋणमा मस्र्याङदी करिडोर प्रसारण लाइनको निर्माण गर्न लागिएको हो । आयोजनाको अनुमानित लागत ९ अर्ब रुपैयाँ रहेको छ । यसको निर्माण आर्थिक वर्ष २०७८÷७९ मा सक्ने लक्ष्य छ । स्थानीयवासीले प्रसारणलाइन परिवर्तन गर्नुपर्ने माग राख्दै खुदी–उदीपुर खण्डमा पर्ने केही क्षेत्रमा विरोध गरिरहेका छन् । उनीहरुको मागलाई सम्बोधन गर्ने प्रयास भइरहेको छ । दोर्दी खोलामा निर्माण भइरहेका आयोजनाको विद्युत् जोड्न ११ किलोमिटर स्थानीय कीर्तिपुर–उदिपुर १३२ केभी ‘डबल सर्किट’ प्रसारणलाइन बनाउन ठेक्का सम्झौता भई निर्माण शुरु भइसकेको छ । उदिपुरमा सबस्टेसन निर्माण गर्न ठेकेदार छनोट अन्तिम चरणमा पुगेकाले दोर्दी करिडोरमा निर्माण भइरहेका जलविद्युत् आयोजनाको विद्युत् खेर नजाने अवस्था देखिएको छ । उदीपुरमा सब स्टेसन र उदिपुर–मार्किचोक (तनहुँ) प्रसारणलाइन निर्माण भएमा दोर्दी करिडोरमा निर्माण भएका आयोजनाको विद्युत् प्रसारण प्रणालीमा जोड्न समस्या नहुने प्राधिकरणको भनाइ छ । कार्यकारी निर्देशक घिसिङले आयोजनाको एक युनिट विद्युत् पनि खेर जान नदिने र त्यसका लागि हरसम्भव सबै प्रयास गर्ने जानकारी दिए । सो प्रसारण लाइनमा २७ मेगावाटको दोर्दीखोला, लिबर्टी इनर्जीको २५ मेगावाटको माथिल्लो दोर्दी ए, पिपल्स हाइड्रोपावरको ४९ मेगावाटको सुपर दोर्दी ख लगायतका जलविद्युत् आयोजनाको विद्युत् जोडिनेछ । उदिपुर–मार्किचोक (तनहुँ–भरतपुर) प्रसारणलाइन निर्माणका लागि ठेकेदार छनोट भइ काम शुरु भइसकेको छ । मार्किचोक र काठमाडौँको मातातीर्थमा सबस्टेसन निर्माण भइरहेको छ । मस्र्याङ्दी करिडोर प्रसारणलाइनबाट प्रवाह भएको विद्युत् मार्किचोकबाट मस्र्याङ्दी र काठमाडौँ आउनेछ । मार्किचोक–काठमाडौँ २२० केभी लाइनको निर्माण धमाधम भइरहेको छ । लाइन तथा सबस्टेसनको निर्माण आगामी वर्षभित्र सक्ने लक्ष्य राखिएको छ । रासस
सिन्धुली सडक बनाउन जापानले एक अर्ब ८५ करोड रुपैयाँ सहयाेग गर्ने
काठमाडौं । जापान सरकारले भूकम्पबाट भत्केकोे सिन्धुली सडक मर्मतसम्भार गर्न एक अर्ब ८५ करोड रुपैयाँ अनुदान सहयोग उपलब्ध गराउने भएको छ । अनुदान सहयोगसम्बन्धी सम्झौता तथा समझदारीपत्रमा बिहीबार अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रममा नेपालका लागि जापानका राजदूत मासामिची साइगो र अर्थ सचिव राजन खनालले हस्ताक्षर गरेका हुन् । पूर्वी तराइलाई राजधानी काठमाडौंसँग जोड्ने एकसय ६० किलोमिटर लामो सिन्धुली सडक जापानी अनुदानमा निर्माण भएको हो । बीस वर्षमा पूरा भएको उक्त सडक नेपाल सरकारलाई हस्तान्तरण गरेको एक महिनापछिको भूकम्पले प्रभावित भएको थियो । आगामी एक वर्षमा मर्मतसम्भारको काम पूरा गर्ने लक्ष्यका साथ आगामी माघदेखि कार्यसञ्चालन हुने अर्थ मन्त्रालयले बताएको छ । कार्यक्रममा सक्षिप्त मन्तव्य व्यक्त गर्दै राजदूत साइगोले नेपालको कृषि उत्पादनलाई बजारसम्म पुर्याउने, बालबालिकालाई विद्यालय तथा पर्यटन प्रवद्र्धनका निम्ति महत्वपूर्ण सिन्धुली सडक पुनर्निर्माणमा जापानले पुनः सघाएको बताए । सचिव खनालले नेपालको सामाजिक–आर्थिक विकासमा जापानबाट निरन्तर सहायता प्राप्त भएकामा हार्दिक आभार व्यक्त गरेका छन् । रासस
पर्यटन प्रवद्र्धनमा सहयोगी बन्यो यान्त्रिक पुल, एक घण्टाको दूरी चार मिनेटमै वारपार गर्न सकिने
कुश्मा । पर्वत जिल्लाको सदरमुकाम कुश्मामा निर्माण भएको यान्त्रिक पुल पर्यटन प्रर्वद्धनमा अब्बल साबित हुँदै गएको छ । नेपाली प्रविधिज्ञहरुद्धारा निर्माण गरिएको केबुलकार मोडेलको यान्त्रिक पुलका कारण दैनिक सयौं आन्तरिक तथा बाह्य पर्यटकहरु कुश्माबजार आउजाउ गर्छन् । व्यवसायीहरु नितान्त नाफामुखी मात्र हुँदैनन् भन्ने सन्देश दिएको यो पुलमा स्थानीय बासिन्दाका साथै ख्याति प्राप्त निजी क्षेत्रका व्यवसायीहरुको लगानी रहेको छ । व्यापारी-व्यवसायीहरुको छाता संस्था पर्वत उद्योग वाणिज्य सङ्घको प्रवद्र्धन र स्थानीय व्यवसायीहरुको लगानीमा सेवा व्यवसायको नयाँ आयाम स्वरुप कुश्मा-बलेवा यान्त्रिक पुल निर्माण भएको छ । घण्टौं लागेर कालीगण्डकी वारपार गर्नुपर्ने बाध्यतालाई यो पुलले अन्त्य गरिदिएको छ । यो पुल नाफामुखी भन्दा बढी सेवामुखी सोचका साथ विसं २०६९ मा निर्माण गरिएको हो । छ वर्ष अघि निर्माण गरिएको यान्त्रिक पुलका कारण कुश्माबजारको पर्यटन क्षेत्रले थोरै भए पनि गति लिएको छ । सदरमुकाम कुश्माको वडा नं ५ देखि बागलुङ नपा १४ नारायणस्थान, बलेवा जोड्ने गरी निर्माण भएको कुश्मा-बलेवा यान्त्रिक पुल पछिल्ला दिनहरुमा आन्तरिक पर्यटन प्रवद्र्धनका लागि थप अब्बल सावित हुँदै गएको छ । कुश्मा र समग्र पर्वत जिल्लाको व्यापार खस्कँदै गइरहेको अवस्थामा स्थानीय व्यापार प्रवद्र्धन गर्न तथा दक्षिण बागलुङका एक दर्जन भन्दा बढी तत्कालीन गाविसहरुलाई कुश्मासँग सिधै जोड्न करीब पाँच करोड रुपैयाँको लगानीमा यो पुल निर्माण गरिएको हो । उक्त पुल निर्माण सम्पन्न भएपछि कुश्मादेखि बलेवासम्मको एक घण्टाको दूरी चार मिनेटमै वारपार गर्न सम्भव भएको छ । करीब दुई दशक अघि बन्द रहेको विमानस्थलसमेत यही यान्त्रिक पुलका कारण पुनः सञ्चालन हुने माहोल बनेको हो । “बलेवा क्षेत्रमा ठूलो जनसङ्ख्या रहेको र उनीहरुको मुख्य बजार कुश्मा भएकाले आवतजावतलाई सहज होस् भन्ने हेतुले यान्त्रिक पुल निर्माण गरेका हौं,” कुश्मा बलेवा यान्त्रिक पुल लिमिटेडका अध्यक्ष होमनारायण श्रेष्ठले भने– “बलेवा विमानस्थल, कालीगण्डकी कोरिडोर, प्रसिद्ध भैरवस्थान मन्दिर र बलेवा क्षेत्रको घना वस्तीलाई ध्यानमा राखेर सेवामुखी सोचका साथ यो परियोजना ल्याएका हौं ।” उनले भने- “हामीले मुनाफा मात्र हेरेका छैनौं, समाज विकासका लागि समेत हाम्रो लगानी अर्थपूर्ण होस् भन्ने अपेक्षा हो ।” अहिले बागलुङ, म्याग्दी र मुस्ताङका लागि पैदल मार्ग भएर आउने पर्यटकहरु समेत एकपटक यान्त्रिक पुलमा चढेर जाने वातावरण बनेको छ । प्रसिद्ध भैरवथान मन्दिरमा दर्शन गर्न जाने-आउने तीर्थालुहरुको सङ्ख्यामा समेत वृद्धि भएको छ । पुल निर्माणपछि बिरामीहरुलाई तुरुन्त कुश्मासम्म ल्याउन र अत्यावश्यक वस्तुहरु तुरुन्तातुरुन्तै ओसारपसार गर्न समेत पुल सहयोगी बनेको छ । द्रुत गतिमा स्तरोन्नति हुँदै गइरहेको कालीगण्डकी कोरिडोर बाह्रैमास सञ्चालनमा आउन थालेपछि यान्त्रिक पुलमा आवतजावत गर्नेको सङ्ख्यामा समेत उल्लेख्य वृद्धि हुने अपेक्षा गरिएको छ । सम्भवतः मुलुकमै सबैभन्दा धेरै ४६३ जना सेयर सदस्य भएको र मोफसलमा ठूलो लगानी भएको यो पुलको कुल लम्बाइ ५५० मिटर रहेको छ भने क्यारिज क्षमता ८ जना ९६०० केजी० रहेको छ । महिनामा करीव ५०० को हाराहारीमा त पर्यटकहरु मात्र यो पुल चढ्ने गर्दछन् । यान्त्रिक पुलका कार्यालय प्रमुख चिरन्जीवी रेग्मी भन्छन् – “दैनिक ४०० जना भन्दा बढीले यान्त्रिक पुलबाट सेवा लिइरहेका छन् ।” उनका अनुसार प्रत्यक्ष रुपमा १३ जना स्थानीयवासीले रोजगारी पाएका छन् । कालीवारि र पारिको दूरीलाई छोट्याउने मात्र नभई कुश्मा आउजाउ गर्न पुल निर्माणपछि निकै सहज बनेको स्थानीयवासीको धारणा छ । बलेवा नेपानेका यामबहादुर केसी भन्छन् – “पुल निर्माण भएपछि बलेवामा आवातजावत गर्ने र शैक्षिक भ्रमणमा आउने विद्यार्थीको सङ्ख्यामा समेत वृद्धि भएको छ ।” पुलबाट यात्रा गरिसकेपछि बलेवा क्षेत्रमा पुग्ने पर्यटकहरुले सुविधासम्पन्न होटल, पार्क लगायत केही समय भुल्ने ठाउँको अभाव भएको तथ्यलाई औँल्याउँछन् । कालीगण्डकी नदीमाथि बञ्जी, स्काई साइक्लिङ र स्वीङको निर्माण समेत अन्तिम चरणमा पुगेको बताइएको छ । रासस