४ अर्बमा केबलकार बन्दै, डिपिआर बनाउन शुरु

गाईघाट । उदयपुर जिल्लाको मध्यपहाडी क्षेत्रको पवित्र धार्मिकस्थल रौता क्षेत्रलाई पर्यटन गन्तव्यका रुपमा विकास गर्नका लागि जिल्लाको सदरमुकाम गाईघाट, बेलदोभान हुँदै रौतासम्म केबलकार सञ्चालनका लागि सर्वे कार्य सम्पन्न भएर अब विस्तृत अध्ययन प्रतिवेदन(डिपिआर) तयार कार्य शुरु भएको छ । त्रियुगा नगरपालिका र रौतामाई गाउँपालिकाको साझेदारीमा चार वर्षभित्र जिल्लाको सदरमुकाम गाइघाटदेखि पहाडी धार्मिकस्थल रौतासम्म १९ किलोमिटर लामोदूरीमा रहेको धार्मिकस्थल रौतापोखरीसम्म केबलकार सञ्चालनका लागि अब डिपिआर कार्य शुरु हुन लागेको त्रियुगा नगरपालिकाका प्रमुख बलदेव चौधरीले बताए । केबलकार सञ्चालनका लागि करीब चार अर्ब लगानीमा निर्माण हुने र तीन अर्ब बाह्य लगानीकर्ता र एक अर्ब त्रियुगा नगरपालिका र रौतामाई गाउँपालिकाको साझेदारीमा स्थानीय जनताले समेत लगानी गर्न पाउने गरी केबलकार सञ्चालनको बृहत् योजना शुरु भएको रौतामाई गाउँपालिकाका अध्यक्ष गजेन्द्रकुमार खड्काले बताए । पुस महिनाबाट सर्वेकार्यसमेत शुरु गरेर प्राविधिकबाट तीनपटकभन्दा बढी सर्वे भई अब सर्वे कार्य सम्पन्न भएका कारण डिपिआर कार्य शुरु गर्न लागिएको त्रियुगा नगरपालिका र रौतामाई गाउँपालिकाका जनप्रतिनिधिले बताएका छन् । जिल्लाकै सबैभन्दा महत्वपूर्ण ऐतिहासिक तथा धार्मिक स्थलका रुपमा रहेको रौतापोखरीमा केबलकार सञ्चालन भएपछि पर्यटन विकासमा बृहत्रुपमा टेवा पुग्ने सम्बन्धित क्षेत्रका जनप्रतिनिधिले बताएका छन् । रौता पोखरी क्षेत्रमा जिल्लाभित्र र बाहिरबाट दैनिक २०० भन्दाबढी पर्यटक तथा भक्तजन दर्शन गर्न र भ्रमण गर्न जाने गरेका छन् भने केबलकार सञ्चालन भएपछि दैनिक हजारौँको सङ्ख्यामा भक्तजन तथा पर्यटकको आगमन हुने र वार्षिक १० लाखभन्दा बढी भक्तजन तथा पर्यटक रौता क्षेत्रमा आगमन हुनसक्ने र पर्यटन विकासमा टेवा पुग्नेसमेत जनप्रतिनिधिको धारणा रहेको छ । उदयपुरको रौतापोखरी क्षेत्र समुद्र सतहबाट दुई हजार मिटरको उचाइमा रहेको छ भने यहाँबाट उत्तरतिरको मनोरम हिमशृङ्खला, सरमाथा, लोत्से, आमादोल्मा र पूर्वी उत्तरी क्षेत्रको अरुणबरुण हिमशृङ्खलासमेत देख्न सकिन्छ । दक्षिणतिर प्रदेश नं १ सहित प्रदेश नं २ को तराईका फाँट सप्तरी, सिरहा, जनकपुर, सप्तकोशी, इटहरी, दुहबी र विराटनगरसम्म अवलोकन गर्न सकिने रौतामाई गाउँपालिकी उपाध्यक्ष कुमारी ठकुरी बताउँछिन् । रासस

धरहरा पुनःनिर्माणको कामले गति लियो, जमिन मुनि पिल्लरको काम हुँदै

काठमाडौँ । धरहरा पुनःनिर्माणको कामले गति लिएको छ । निर्माणको क्रममा हालसम्म करीब आठ प्रतिशत काम सकिएको छ । जमीनमुनि पिल्लर राख्ने काम अहिले धमाधम भइरहेको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका सहसचिव एवं सम्पदा संरक्षण, सार्वजनिक भवन तथा पूर्वाधार महाशाखाका प्रमुख राजुमान मानन्धरले जानकारी दिए । प्रमुख मानन्धरका अनुसार जमीनमुनिको काम सकेसँगै देखिने गरी काम गरिन्छ । अहिलेकै गतिमा काम अघि बढे दुई वर्षको निर्धारित समयमा नै काम सकिने अनुमान छ । जगभन्दा मुनि नै १८२ पिल्लर राख्नुपर्ने भएकाले हालसम्ममा ५६ वटा पिल्लर राख्ने काम सकिएको छ । विसं २०७२ वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त भएका धरहरा पुनःनिर्माणका लागि गत पुस १२ गते प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेका थिए । सो अवसरमा उनले धरहराको इतिहास झल्काउँदै आधुनिकता टल्काउने किसिमबाट यसको निर्माण गर्ने बताएका थिए । हाल सोहीअनुरुप निर्माण भइरहेको निर्माण कम्पनीले जनाएको छ । पहिलाको धरहराभन्दा नयाँ बन्ने धरहराको चौडाइ ठूलो हुनेछ । जहाँ दुईवटा लिफ्ट पनि हुनेछ । साथै एउटा परम्परागत भ¥याङ रहनेछ । लिफ्ट र भर्याङ दुईवटै माध्यमबाट धरहरा चढ्न सकिनेछ । दुई वर्षको अवधिमा निर्माण सम्पन्न गर्ने गरी रमन कन्सट्रक्सनले धरहराको पुनः निर्माण शुरु गरेको हो । कूल तीन अर्ब ४८ करोड रुपैयाँ लगानीमा निर्माण हुने धरहरा धरहरा २२ तला र ७२ मिटर अग्लो हुनेछ । नयाँ धरहरामा बगैँचा, सङ्ग्रहालय, रङ्गीन जलफोहरा, प्रदर्शनी हल, पार्किङस्थल, पसललगायत रहनेछन् । निर्माण भइरहेको धरहरा बालबालिका तथा ज्येष्ठ नागरिकमैत्री हुने र त्यहाँ आउने अवलोकनकर्ता सवारी साधनको व्यवस्थित पार्किङ गर्न सकिने गरी पुनःनिर्माण हुने छ । पुरातात्विक हिसाबले महत्व बोकेको काठमाडौँलाई सुरक्षित र आकर्षित बनाउन ऐतिहासिक सम्पदाको पुनःनिर्माण अत्यावश्यक भएको काठमाडौँ महानगरपालिकाले जनाएको छ । धरहराको १८ औँ तलामा अवलोकलन कक्ष हुनुका साथै धरहरा परिसरमा म्युजियम, वाटर फाउन्टेन, बगैँचा, रेष्टुराँको साथै अत्याधुनिक पार्किङको व्यवस्था गरिने छ । जहाँ ३५० वटा गाडी र छ हजार मोटरसाइकल पार्किङ गर्न मिल्ने बताइएको छ । एघार तले धरहरा ९० सालको भूकम्पका कारण क्षतिग्रस्त भएपछि नौ तलामा सिमित भएको थियो । सो ऐतिहासिक धरहरा सन् १८३२ मा भीमसेन थापाले निर्माण गर्नुभएको थियो । तत्कालका लागि गौश्वारा हुलाक कार्यालय रहेको भवन अन्यन्त्र सार्नका लागि केही समस्या भएकाले काम गर्न अलि कठिन भएको छ । अबको तीन महीनाभित्र हुलाक कार्यालयलाई बबरमहलमा सार्ने तयारी भएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले जनाएको छ । रानीपोखरीको पनि पुनःनिर्माण भूकम्पका कारण पूर्णरुपमा क्षति भएको ऐतिहासिक सम्पदा रानीपोखरीको पनि यसै सातादेखि पुनःनिर्माण कार्य प्रारम्भ भएको छ । क्षति पुगेको तीन वर्ष बितिसक्दासम्म काठमाडौँ महानगरपालिकाबाट निर्माणको काम हुन नसके पनि अहिले राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले निर्माणको काम थालेको हो । राष्ट्रप्रमुखबाट तीन वर्ष अघि शिलान्यास भए पनि पुनःनिर्माण शुरु नभएको उक्त पोखरीको निर्माण कार्यअन्तर्गत अहिले सफा गर्ने काम धमाधम भइरहेको छ । २ माघ २०७२ मा शिलान्यास भएको रानीपोखरीको पुनःनिर्माणको काम शुरुमा काठमाडौँ महानगरपालिकाले पाएको थियो तर, महानगरले ठेकदारमार्फत् काम गराउँदा प्राचीन सम्पदा पुनःनिर्माणमा एकपछि अर्को विवाद भएपछि काम हुन नसकेको हो । आउने तिहारमा पोखरीमा पानी भर्ने गरी काम गरिने प्राधिकरणले जनाएको छ । प्रताप मल्लका छोरा चक्रवर्तेन्द्र मल्लको निधनपछि रानीको चित्त बुझाउन विसं १७२७ मा रानीपोखरीको निर्माण गराएको शिलालेखमा उल्लेख छ । पोखरीको बीचमा त्यसैबेला बालगोपालेश्वर मन्दिर स्थापना गरिएको थियो । काष्ठमण्डप पुनः निर्माण १३ प्रतिशत अर्को महत्वपूर्ण सम्पदा काष्ठमण्डप पुनःनिर्माणको काम पनि धमाधम भइरहेको छ । निर्माणको कामअन्तर्गत अहिले काठको काम भइरहेको छ । फागुन महिनाभरि मुख्यमुख्य रुपमा गर्नुपर्ने काठको काम गरिने र चैतदेखि धमाधम अन्य काम हुने काष्ठमण्डप पुनःनिर्माण समितिका अध्यक्ष राजेश शाक्यले भने । यस सम्पदाको अहिलेसम्ममा १३ प्रतिशत काम सकिएको छ विसं २०७२ को भूकम्पले पूर्णरूपमा क्षति पुगेको ऐतिहासिक काष्ठमण्डप पुनःनिर्माणका लागि गत वैशाख ३१ गते क्षमा पूजा गरिसकिएको छ । बिसेत नामका मानिसले कल्पतरुलाई चिनेर नियन्त्रणमा लिई एउटा रूख उपलब्ध गराउने वाचा गराएर छाडेपछि कल्पतरुले सालको काठ दिएको, सातौँ शताब्दीमा राजा लक्ष्मीनरसिंह मल्लले त्यसैबाट मूर्तिविहीन मरुसतः बनाएको र पछि यसैलाई काष्ठमण्डप भन्न थालिएको हो । गत माघ २७ गते श्रीपञ्चमीका दिन निर्माणाधीन रहेको काष्ठमण्डपको मूल थाम उठाइएको थियो । उक्त दिन काष्ठमण्डको मुख्य चार थाम उठाउइएको हो । प्रयोग गरिएका चार वटा थाममध्ये तीन वटा नयाँ प्रयोग गरिएको हो भने एउटा थाम पुरानै प्रयोग गरिएको छ । अध्यक्ष शाक्यले भने, “२०७६ सालको असार मसान्तसम्ममा भुइँ तलाको कार्य सम्पन्न गर्ने गरी काम भइरहेको छ । महानगरपालिकाले पुनःनिर्माण समितिलाई हालसम्ममा पाँच करोड ५० लाख आर्थिक सहयोग प्रदान गरिसकेको छ । रासस

कलङ्की–महाराजगञ्ज सडक विस्तारको तयारी, अध्ययन गर्दैछ चिनियाँ टोली

काठमाडौँ । कोटेश्वर-कलङ्की सडक हस्तान्तरण भएसँगै कलङ्की–महाराजगञ्ज सडक विस्तार र सुधारको तयारी गरिएको छ । चक्रपथको पहिलो खण्डका रुपमा रहेको कोटेश्वर-कलङ्की सडक हस्तान्तरणपछि दोस्रो खण्डका रुपमा कलङ्कीबाट महाराजगञ्जसम्मको सडक सुधारको विस्तृत परियोजना प्रतिवेदन(डिपिआर) को काम भइरहेको सडक विभागले जनाएको छ । चिनियाँ पक्षले नै सडकको अध्ययन गरिरहेको विभागका वैदेशिक समन्वय महाशाखा प्रमुख सञ्जयकुमार श्रेष्ठले बताए । उनका अनुसार प्रारम्भिक अध्ययन प्रतिवेदन आएपछि त्यसमा आवश्यक सुझाव समेटेर अन्तिम प्रतिवेदन आउनेछ । प्रारम्भिक र अन्तिम दुवै अध्ययन प्रतिवेदन चिनियाँ पक्षले नै गर्नेछ । प्रमुख श्रेष्ठले भने, “हामीले त्यसमा समेट्नुपर्ने विषयमा भने सुझाव दिइरहेका छौँ ।” कोटेश्वर-कलङ्की सडकबाट सिकेका कुरा यस खण्डमा लागू गर्न विभागले चिनियाँ पक्षलाई भनिरहेको बताएको छ । सडक चिह्न, आकाशे पुल, जेब्राक्रसिङलगायतका कुरामा ध्यान दिनका लागि चिनियाँ पक्षलाई भनिएको छ । दुई देशमा रहेका सांस्कृतिक भिन्नताका कारण कोटेश्वर-कलङ्की सडकमा समस्या देखिएको बताइएको छ । प्रमुख श्रेष्ठले भने, “रोड डिभाइडरको काम चीनमा सडक चिह्नले गर्ने भए पनि यहाँ पर्खाल चाहिने खालको हाम्रो सोचाइ रहेको छ ।” आकाशे पुल वा ‘अण्डरपास’ कति वटा र कुन कुन ठाउँमा बनाउने भन्ने चीनले गर्ने लगानीमा निर्भर हुने विभागले जनाएको छ । यो सडकको लम्बाइ झण्डै आठ किलोमिटर छ । निर्माण सम्पन्न भएको कोटेश्वरबाट कलङ्कीसम्मको सडक झण्डै १० किलोमिटर छ । रासस