ज्ञान चक्की आटाले स्वागत गरेको ठमेल, भ्रमण वर्षप्रति व्यवसायी निराश
काठमाडाैं । सबैलाई थाहा छ कि ठमेल पर्यटकीय नगरी हाे । नेपाल भ्रमणमा अाउने विदेशी पर्यटक मध्ये ९० प्रतिशत ठमेलमा पुग्छन् । पर्यटकलाई सेवा दिन खुलेकाे सुविका सम्पन्न हाेटल, रेष्टुरेन्ट तथा बार मात्र हाेइन, नेपाली माैलिकता झल्काउने बस्तु तथा सेवा बिक्री गर्न सुन्दर सहर बसेकाे छ ठमेलमा । पर्यटन सम्बन्धि सरोकार राख्ने धेरैजसो संघ संस्थाहरु पनि ठमेलमै छन् । ठमेलमा पाइला टेक्ने जो सुकैले पनि अलि पृथक किसिमको अनुभूति गर्छन् । किनकि त्यहाँको वातावरण त्यही किसिमको रोचक छ । यतिखेर देशमा एउटा विषयमा ठूलो चर्चा छ । सडकदेखि सदनसम्म मानिसको मुखमा झुण्डिएको छ त्यो शब्द । भ्रमण वर्ष २०२० । हो, यतिखेर देशमा भ्रमण वर्ष २०२० को चर्चा परिचर्चा अनि चटारो छ । भ्रमण वर्ष २०२० लाई लक्षित गरेर आयोजना गरेका कार्यक्रमहरुमा सहभागी जनाउन भ्याइ न भ्याई छ माथिल्लो ओहोदाका मानिसलाई । सामाजिक सञ्जालबाटै भएपनि भ्रमण वर्ष २०२० को प्रचार प्रसार गर्न छुटाएका छैनन् । २०२० मा २० लाख पर्यटक भित्र्याउने महत्वाकांक्षी योजना छ सरकारको । तर, २०२० लाई सफल बनाउन सरकारले कतिको मिहिनेत गरेको छ ? भौतिक संरचनाहरु कत्तिको निर्माण भएका छन् ? पर्यटकहरुका लागि खास सुविधा केछ भन्ने मनासायले विकासन्यूजकर्मी आइतबार सबै पर्यटकको पाइला पर्ने स्थान ठमेलको अवलोकनमा निस्किए । बागबजारबाट हाम्रो यात्रा शुरु भयो ठमेलसम्मका लागि । रत्नपार्क कान्तिपथ हुँदै हामी ठमेलको प्रवेशद्वार केशर मल चोकमा पुग्यौं । ठमेलमा हरेक विदेशी पर्यटकहरुले पाईला टेक्छन् । उनीहरुको बास बस्ने र मन परेको सामान खरिद गर्ने विशेष ठाउँ हो ठमेल । केशर पुस्तकालयबाट प्रवेश गर्दै हरेक मानिसहरु ठमेल पुग्छन् । सरकारले भ्रमण वर्ष २०२० लाई सफल पार्नका लागि विभिन्न प्रचार प्रसारका सामाग्रीहरु सम्प्रेषण गरिरहेको बताउँदै आएको छ । संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्री योगेश कुमार भट्टराई विभिन्न कार्यक्रममा सहभागी हुने मात्र होइन भ्रमण वर्षका विभिन्न सन्देशहरु प्रचार प्रसार गर्न आफै तल्लिन छन् । स्वदेशमा मात्र होइन विदेशमा भएका घटनाक्रमहरुसमेत उनले विशेष प्राथमिकताकासाथ सामजिक सञ्जालमार्फत सेयर गरिरहेका हुन्छन् । तर, देशको प्रमुख मेरुदण्ड अर्थात सबैभन्दा पर्यटक आवतजावत गर्ने क्षेत्र ठमेल भने उही पुरानै ढर्रामा चलिरहेको छ । अब शुरु गरौं ठमेल तर्फको यात्रा । ठमेलको प्रवेशद्वारमै एउटा चोक । नाम हो केशर मल चोक । केशरमल चोकको बिच्चमै राखिएको छ एउटा ट्राफिक आइल्याण्ड । त्यही ट्राफिक आइल्याण्डमाको माथिपट्टी ठूलो अक्षरले लेखिएको छ शुद्ध गहुँको चक्की आटा, गहुँको असली गुण, स्वादिलो नरम रोटीमा । ज्ञान चक्की आटाले ठमेलमा प्रवेश गर्ने जो कोहीलाई पनि भ्रमण वर्ष २०२० को गज्जवले स्वागत गरिरहेको थियो । ठूलो पर्यटक वस्तीतर्फ हामी साँघुरो बाटो हुँदै भित्र पस्यौं । बाटोमै तछाड मछाडका रुपमा थिए सडक व्यापारी । जनवरी १ मा भ्रमण वर्षको शुरुवात गरिँदैछ । त्यही भ्रमण वर्षको स्वागत गरे झैं तल्लिन देखिन्थे ती सडक व्यापारी । त्यो सडमा हिड्ने जोकोहीलाई पनि बलजफ्ती सामान देखाउन व्यस्थ थिए तिनीहरु । उनीहरु सामान किन्न चाहुन् वा नचाहुन् । अव्यवस्थित तार काटिँदा इन्टरनेट बन्द ठमेल पर्यटन विकास परिषदले नेपाल भ्रमण वर्ष २०२० को तयारी भन्दै मंसिर ३ गतेदिख लापरवाहीपूर्ण तरिकाले इन्टरनेट र टेलिफोनका तारहरू काट्याे। काटिएका इन्टरनेट तथा टेलिफोन तारहरु सडकमा अव्यवस्थितरुपमा झारिएका छन् । सदाझैं अव्यवस्थित र गजुल्टो परेका तारहरुले कुरुप बनेको ठमेल जताततै झारिएका तारले झनै कुरुप बनेको देखिन्छ । सडक कुरुप मात्र होइन, हाल जथाभावी रुपमा काटिएका तारहरुले ठमेलमा इन्टरनेट, टेलिफोन लगायत सेवा अवरुद्ध भएको छ । हाल व्यवसायीको आग्रहमा तार काट्ने काम रोकिएको छ । संचय कोष भवनदेखि सुरु गरिएको काम १० दिन भित्रमा सम्पन्न गर्ने लक्ष्य भएपनि अहिले बीचैमा काम रोकिएको छ । तर, काटिएका स्थानमा अझै सञ्चार सेवा सञ्चालनमा आउन सकेको छैन । तार काटिएपछि टेलिफोन र इन्टरनेट सेवा सञ्चालन नहुँदा समस्या भएको व्यवसायीहरुले गुनासो गरेका छन् । तार काट्न सुरु गर्दा उत्साहित बनेका स्थानीय व्यवसायी बीचैमा काम रोकिँदा कहिलेबाट पुनः काटिने, कहिलेसम्म काटिसक्ने र बन्द भएको सञ्चार सेवा सञ्चालन कहिले हुने भन्दै प्रश्न गर्छन् । तर, कामको चाँप बढ्नुका साथै सबैतिर इन्टनेर काटिँदा समस्या हुने देखिएको कारणले केही समयका लागि काम स्थगित गरिएको ठमेल पर्यटन विकास परिषदका एक कर्मचारीले बताए । भ्रमण वर्ष सुरु हुनै लाग्दा समेत ठमेलको अव्यवस्था सुधार हुन नसक्ने भन्दै स्थानीय चिन्तित छन् । अर्को समस्या साँघुरो सडक ठमेल आफैमा पर्यटकीय गन्तव्य भएकाले पर्यटकहरू बस्न, खान तथा रमाउन ठमेल पुग्न रुचाउँछन् । तर, ठमेलको सडक अस्तव्यस्त भएकै कारण धेरै पर्यटक र नागरिकहरूलाई हिँडडुल गर्न समस्या छ । साँघुरो सडक । साेही सडकमा पैदलयात्री, ट्याक्सी र रिक्साहरुसँग ठेलमठेल गर्दै हिड्नु पर्ने वाध्यता छ विदेशी पाहुनालाई । लामो समयदेखि ठमेलमा न्यू फेसन सप सञ्चालन गर्दै आएकी संगिता शाहीले सरकारले भ्रमण वर्ष २०२० घोषणा गरेपनि पर्यटकलाइ दिने सेवा सुविधा वृद्धितर्फ केही काम नभएकाे बताइन् । भौतिक संरचना नै राम्राे नभएकाे उनकाे बुझाइ छ । ‘धेरै देशका पर्यटकहरु आउने ठाउँ ठमेलको भौतिक पूर्वाधारका संरचनाहरु लज्जास्पद अवस्थामा छ’ उनले भनिन् । स्थानीयकाे असन्तुष्टिका बाबजुत जर्मनीबाट नेपाल घुम्न आएका एलेक्स खुशी नै देखिन्छन् । ‘नेपाल धेरै राम्रो देश हाे’ उनले भने । तर यहाँकाे सडक लगायत मानव निर्मित पूवार्धारमा धेरै सुधार गर्न सकिने उनले बताए । सरकारले नेपाल भ्रमण वर्ष २०२० भव्यताकासाथ सफल पार्ने बताइ रहेपनि ठमेलका व्यवसायीहरू भने भ्रमण वर्षमा २० लाख पर्यकट भित्रिनेमा आशंकित छन् । सरकारले देशको अथवा प्रमुख प्रर्यटकीय ठाउँको भौतिक संरचना तथा पूर्वाधारहरु निर्माण गरेर शुरू गर्नु पर्नेमा हचुवाको भरमा नेपाल भ्रमण वर्ष शुरू गर्न लागिएको बताउँछन् । भ्रमण वर्ष शुरू हुनै लाग्दा पनि ठमेलमा पर्यटकको आगमन न्युन भएको व्यवसायीहरू बताउँछन् ।
निर्माणाधीन पोखरा विमानस्थल निरीक्षण, ५४ प्रतिशत काम सम्पन्न
काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले निर्माणाधीन पोखरा अन्तर्राष्ट्रिय क्षेत्रीय विमानस्थलको निरीक्षण गरी हालसम्मको कार्य प्रगतिबारे जानकारी लिएका छन् । विमानस्थलमा जहाज अवतरणलाई थप सहज बनाउन राख्न लागिएको ‘ग्लाइड पाथ’का लागि आवश्यक पर्ने १ सय ४ रोपनी जग्गा अधिग्रहणको बारेमा चासो दिएर उनले जानकारी लिए । विमानस्थललाई थप सुरक्षित बनाउँदै उनले हुस्सु लागेर ‘भिजिविलिटी’ कम भएको समयमा समेत विमान अवतरणमा सहयोग गर्नका लागि जग्गा अधिग्रहण गरिन लागिएको तथा स्थानीयलाई मर्कामा नपर्ने गरी मुआब्जा वितरण गरिने बताए । हालसम्मको विमानस्थलको मुआब्जा वितरण तथा काममा आइपरेका समस्याहरुका बारेमा जानकारी लिँदै उनले तोकिएकै मिति भित्रमा विमानस्थल निर्माणको काम सम्पन्न गर्न निर्देशन दिएका छन् । मन्त्री भट्टराईलाई पोखरा विमानस्थल परियोजना प्रमुख विनेशकुमार मुनाकर्मीले हालसम्म ५४ प्रतिशत काम सम्पन्न भएको जानकारी दिँदै तोकिएको मितिभन्दा छ महिनाअघि नै आयोजना सम्पन्न हुने जानकारी दिए । सन् २०२१ जुलाई १० सम्म निर्माण कार्य सक्ने अन्तिम मिति रहेपनि सन् २०२० को डिसेम्बरमा सबै काम सम्पन्न गरेर परीक्षण उडान शुरु गर्ने र जुलाइबाट व्यावसायिक उडान शुरु हुने परियोजनाले जनाएको छ । रनवे तयार भएको तथा टर्मिनल भवनको आन्तरिक व्यवस्थापनको काम बाँकी रहेको बताउँदै ह्याङ्गर, एटिसी कम्प्लेक्स भवन, एटिसी कन्ट्रोल टावर र विमानस्थल प्रवेशद्धारको काम भईरहेको परियोजना प्रमुख मुनाकर्मीले भने । सन् २०१४ मा नागरिक उड्डयन प्राधिकरण र चीनको सिएएमसी इञ्जिनीयरिङ कम्पनीका बीचमा विमानस्थल निर्माणका लागि सम्झौता भएकोमा सन् २०१७ को जुलाई ११ बाट निर्माण कार्य शुरु भएको थियो । पोखरा विमानस्थलको कूल लागत २२ अर्ब रुपैयाँ रहेको छ । रासस
देशभरका घर चिटिक्क पार्ने लक्ष्यसहित तीन उद्याेग खाेल्याैं : कृष्णभक्त दुवाल
सानै उमेरदेखि प्रविधिमा रमाउन चाहने ईटा उत्पादक व्यवसायी हुन् कृष्णभक्त दुवाल । प्रविधि जान्ने र बुझ्ने तीब्र इच्छा भएकै कारण उनले आफ्नो पढाईको विषय पनि त्यही रोजे । काठमाडौंको पुल्चोक क्याम्पसबाट इन्जिनियरिङमा स्नातकोत्तर समेत गरे । त्यसपछि उनले पढाई सँगसँगै सन् २००७ तिर इनर्जी एण्ड इन्भाइरोमेण्ट विषय पढाउन पनि सुरु गरे । पढाई र पढाउने विषय एउटै भएपछि दुवाललाई धेरै सहयोग पनि मिल्यो । त्यहि दौरानमा यसको प्राविधिक पक्ष बुझ्न उनी आफ्नो टिमसहित कोरिया, बहराइन, जापान चीन इटालीलगायतका देशसम्म पुगे । वि.स २०४९ सालदेखि परम्परागत ईटा उद्योग सञ्चालन गर्दै आएकाे उनको परिवारकै प्रेरणाले उनी त्यसलाई प्राविधिक ढंगले सञ्चालन गर्नतर्फ लागे । तिनै दुवालले अहिले प्रविधिलाई लक्षित गरी तीन उद्याेग स्थापना गरेका छन् । ती संस्थाहरुबाट उनले देशभरका घर सुन्दर र चिटिक्क पार्ने लक्ष्य लिएका छन् । हालै मात्र उनले आधुनिक प्रविधि नेपाल भित्र्याएर चाइनिज ईटा उत्पादन सुरू गरेका छन् । उनीसँग चाइनिज ईटा र उनका आगामी योजना बारे विकासन्यूजका लागि सन्तोष रोकायाले विकास वहस गरेका छन् । हालै आधुनिक प्रविधि भित्र्याएर चाइनिज ईटा उत्पादन सुरू गर्नुभएको छ, यस्ताे साेच कसरी आयो ? सानैदेखि प्रविधिमा रुची राख्थेँ । हामीले २०४९ सालदेखि नै परम्परागत ईटा उद्योग सञ्चालन गर्दै आएको छौं । त्यो परम्परागत ईटा व्यवसायलाई कसरी प्रविधियुक्त बनाउन सकिन्छ भन्ने कुरा मेरो मनमा खेलिरहन्थ्यो । त्यससँगै मैले इन्जिनियरिङ पढ्न पनि सुरु गरेँ । पुल्चोक क्याम्पसबाट स्नातकोत्तर गरेँ । सन् २००७ देखि पढाउन तिर लागेँ । पढ्ने र पढाउने क्रममा नेपालमा एउटा निर्माण सामाग्रीको बिकल्प चाहिन्छ भनेर साथीहरु मिलेर अध्ययन पनि गर्याैं । अहिले चीनकाे हुवेइस्थित वुहान विश्वविद्यालयमा रिसाेर्स ब्याण्ड वातावरण विषयमा पीएचडी गर्दैछु । चीनका प्रविधिहरु कसरी नेपाल ल्याउन सकिन्छ भनेर सोच्थेँ । त्यहीअनुसार अगाडि बढेँ । वि.स २०७२ अर्थात भूकम्प आएको वर्षमा हामी फ्याक्ट्री सेटअप गर्दैथियौं । मेरो पढाई पनि इनर्जी एण्ड इन्भाइरोमेण्ट र पढाउने पनि त्यही भएको कारणले हामीले नेपालको निर्माण सामाग्रीको एउटा विकल्पका रुपमा यो भित्र्याएका हौं । सन् २०१५ पछि हाम्रो टिमले तीन वटा कम्पनी खाेल्याे । हामी हरेक वर्ष वातावरणमैंत्री र उर्जा किफायति प्रडक्ट निकाल्दैछौं । सन् २०१५ मा हामीले गोर्खा इको प्यानल निकाल्यौं । २०१६ मा काठको बिकल्पमा गोर्खा विन्डोर स्थापना गर्यौं । २०१७ मा प्रिकाष्ट ढलान निकाल्यौं । जुन वातावरणमैंत्री हुन्छन् । त्यस्तै, २०१८ मा गोर्खा प्रिकाष्ट एण्ड विण्डोर भन्ने पानी सोस्ने ब्लक बनायौं । जसले पानी सोस्न धेरै सहयोग गर्छ । यस्तै हामीले यो वर्षचाहिँ गोर्खा चाइनिज इटा उत्पादनमा ल्याइसक्यौं । यसरी नै यो यात्रा तय भएको हो । आम उपभोक्ताले चाइनिज ईटालाई किन प्रयोग गर्ने ? यसका विशेषताहरू के–के छन् ? सर्वप्रथम त यसको स्ट्रेन्थ एकदमै राम्रो छ । हिजो मात्रै ललितपुरको कुपण्डोलस्थित मल्टिल्याब प्रालिमा ६ वटा नमुनाको रुपमा ईटाको टेष्ट गर्दा औसतमा १४.५ एमपीए पाइएको छ । सरकारले यसकाे न्यूनतम मापदण्ड ५ एमपीए हुनुपर्छ भनेकाे छ । दोस्रो कुरा, यसको आकार प्रकार एकदमै चिटिक्क पर्ने भएकाेले फेसवालका रुपमा प्रयोग गर्न सकिन्छ । यसको आकार परम्परागत ईटाभन्दा ठुलो हुन्छ । परम्परागत ईटाको लम्बाई ९ ईन्च हुन्छ भने यसकाे साढे ९ ईन्च हुन्छ । परम्परागत ईटाको चौडाई सवा चार ईन्च हुन्छ भने चाइनिज ईटाको साढे चार ईन्च हुन्छ । ईटाको साइज ठूलो हुने कारणले एक घनमिटर वाल बनाउँदा ४ सय २० वटा ईटा भए पुग्छ । जवकि, परम्परागत ईटाहरु प्रयोेग गर्दा ५ सय ६० वटा प्रयोग हुन्छन् । हाम्रो ईटाहरु एकदम प्लेन हुने भएका कारणले गारो लगाउँदा ३०/३५ प्रतिशत सिमेन्ट बच्छ । वालमा प्लास्टर एकदमै पातलो लगाउँदा पनि हुन्छ । त्यहाँ पनि बँच्छ । वैज्ञानिक परीक्षण कस्तो हुन्छ भने पानीमा २४ घण्टा ईटा डुबाउँदा त्यसको तौल कति बढ्यो ? कति गह्रुङ्गो भयो ? अन्तर्राष्ट्रिय मापदण्डअनुसार ईटालाई २४ घण्टासम्म पानीमा डुबायो भने त्यसको तौल २० प्रतिशतभन्दा बढी हुनुहुँदैन । हाम्रो ईटा २० प्रतिशत होइन, १५ प्रतिशत मात्र बढ्छ । ईटाले धेरै पानी सोस्नु भनेको त्यहाँभित्र पारोसोफी हुनु हो । त्यसको भित्र प्वाँलहरु पर्नु हो । भित्र प्वाँल हुनु भनेको त्यो चाँडै फुट्नु हो । त्यसकारण हाम्रो उत्पादन अन्तर्राष्ट्रिय मापदण्ड अनुसार छ । यसको प्राविधिक पक्ष के कस्तो छ ? सबै प्रविधि चीनबाट ल्याएका हौं । उद्याेग स्थापनादेखि सबै सामान चीनबाट ल्याएका हौं । सामानहरु जडान गर्न पनि चीनबाट नै प्राविधिकहरु लिएर आयौं । अहिले पनि दुई जना चाइनिज हामीसँगै छन् । उनीहरुले दुई वर्ष लगाएर मेसिन जडान गरिदिएका हुन् । अहिले उनीहरुले नै हामीले ट्रेनिङ दिएर सिकाउँदै छन् । एउटा घर सुन्दर र दिगो बनाउनका लागि निर्माण सामाग्रीहरुको भूमिका पनि महत्वपूर्ण हुन्छ, यो चाइनिज ईटाले त्यो आवश्यकता र भूमिका निर्वाह गर्न सक्छ ? हामी विश्वमा आएका नविनतम वातावरणमैत्री तरिकाबाट ईटा उत्पादन गर्छौं । विश्वव्यापी रुपमा ईटालाई कसरी पोल्छ भन्ने इतिहास बुझ्नु पर्ने हुन्छ । म सानै थिएँ । मेरो घरका बुवाआमाले आफ्नै खेतमा ईटा बनाउँनु हुन्थ्यो । त्यसलाई एक ठाउँमा जम्मा गर्नु हुन्थ्यो । अनि त्यसमा दाउरा काेईला राखेर पोल्नु हुन्थ्यो । त्यो पहिलो प्रविधि भयो । दोस्रो प्रविधि भनेको ठाडो भट्टा भन्ने थियो । तेस्रो प्रविधि भनेको अहिले फलामको चिम्नीले तयार पारिन्छ । त्यसपछि आएको प्रविधि भनेको फिक्स्ड चिम्नी हाे । फिक्स चिम्नीमा पनि वातावरणिय प्रभाव न्यनिकरण गर्न जीकज्यक प्रविधबाट काेइला राखि कम भन्दा कमभन्दा कम प्रदुषण गर्ने प्रविधि हाे । त्यसपछि अाएकाे प्रविधि हफम्यान प्रविधि हाे । फोर्स ड्राफ्ट हाे। अहिले संसारभरि आएको यो टनेल क्लिन प्रविधि हो । यसको मुख्य दुईटा फाइदा छन् । यो उर्जा किफायति छ । अर्को फाइदा भनेको यो वातावरणमैत्री छ । वातावरणमैत्री के अर्थमा छ भने ईटा बनाउँदा मलिलो माटो चाहिन्छ भन्ने हुँदैन । जस्तोसुकै माटो भएपनि हुन्छ । ईटा बनाउँनेदेखि निकाल्नेसम्म बन्द सेडभित्र तयार पार्छौं । त्यसको धुलो बाहिर फाल्दैनौं । तेस्रो भनेको यो टनेल क्लिन प्रविधिमा ईटा पोल्दा कम्प्लिट कम्बसन हुन्छ । त्यो भएन भने कालो धुवाँ निस्कन्छ । तपाईले घरको चुलोमा नसुकेको दाउरा बाल्नु भयो भने धेरै धुवाँ आउँछ । त्यो भनेको कार्वनमनअक्साइड हो । त्यसले वातावरणमा हानी पुर्याउँछ । टनेल क्लिन प्रविधिमा पनि पुरा कम्बसन (पुरै जल्ने) हुने भएकाेले कार्बनमनअक्साइड निस्कदैँन । यो ईटाबाट निस्कने भनेको बाफ र अलिकति सीओटु हो । टनेल क्लिनको हकमा चिम्निबाट निस्किने एक घनमिटर धुवाँमा एक सय मिलिग्राम भन्दामाथि सरकारले पर्टिकुलेट म्याटर हुनु हुन्न भनेकाे छ । । हाम्रोमा ३४.८ मात्र त्यसको मात्रा देखिएको छ । यो नेपाल सरकारले दिएको मापदण्डको एक तिहाई मात्र छ । यस अर्थमा हामी वातावरणमैत्री छौं । परम्परागत र चाइनिज ईटाको विशेष फरक के छ ? परम्परागत ईटा हातले बनाएर दुई हप्ता जति घाममा सुकाउने र भट्टिमा २१ दिन राख्ने गरिन्छ। यसाे गर्दा पाकेकाे इटा निकाल्दा डेढ महिना जति समय लाग्छ । तर, हाम्रोमा ईटा बनाएको तीन चार दिनमै पाकेको निकाल्न सक्छौं । परम्परागत ईटा उद्योग लेवरहरुमा डिपेण्ड थियो भने हाम्रो यो प्रविधिमा डिपेण्ड छ । परम्परागत ईटामा तीन चार सय जना कामदारहरुको आवश्यकता पर्थ्याे । ती तीन चार सय जनाले जति ईटा उत्पादन गर्ने हो, हामी ३०/४० जनाले मेसिनमा उत्पादन गर्न सक्छौं । उनीहरू ६ महिना काम गर्छन् भने हामी वर्षभरि नै गर्छौं । मूल्यको कुरा गर्दा प्रतिईटा १४ रुपैयाँमा बेचिरहेका छौं । घर निर्माणमा ईटा उद्योगीहरुले कमसल पठाउने, त्यसले घर त्यति बलियो नहुने भन्ने गुनासाे पनि छ, तपाइहरूकाे उत्पादनमा यस्ताे समस्या हुन्छ कि हुँदैन ? त्यो दोहोरिन्न । हामी १४ रुपैयाँ प्लस भ्याटमा बेचिरहेका छौं । हामी ईटा एकदमै रातो पठाउँछौं । हामी टुक्रा पनि पठाउँदैनौं । यो प्रविधिको ईटा नेपालमा भित्र्याउँने हामी तेस्रो हौं । पहिले यस्तै ईटा धादिङमा थियो । त्यस्तै ५/६ महिना अगाडि नुवाकोटमा राखिएको छ भने हामी तेस्रो हौं । हाल धेरै व्यवसायीहरु ईटा उद्योगमा संलग्न छन्, ती उद्योगीभन्दा हामी यो कारणले फरक छौं भन्ने केही छ ? नेपालमा ईटाको इतिहास हेर्ने हो भने २५ सय वर्ष अगाडिदेखि छ । नेपालमा धेरै इटा उद्योगीहरु पनि छन् । तिनीहरुमा हामी धेरै पृथक छौं । एक त हामी मेसिन इन्टेन्सीभ छौं । हामी लेवरइन्टेनसीभ छैनौं । दाेस्रो कुरा, हामी क्वालिटीमा कम्प्रमाइज गर्दैनौं । तेस्रो, ईटाकाे हरेक कुरा टेस्ट गर्ने मेसिन छ । हामी हरेक कुरा टेस्ट गरेर गुणस्तरीय उत्पादन गर्न सक्छौं । चाइनिज ईटा व्यापार गरेकाे याे एक महिनाको अवधिमा बजारकाे प्रतिक्रिया के कस्तो आयो ? मार्केट रेस्पोन्स एकदमै राम्रो छ । हामीले तातोपानी, ढल्केबर, विराटनगर पठायौं । हामी अब डिलरमार्फत ग्राहकले सरल रुपमा पाउन भनेर देशभरि नै डिलरको आब्हान गरिरहेका छौं । हाम्रा लक्षित ग्राहकहरु देशैभरिका हुन् । हाम्रो लक्ष्य भनेको नेपालका घरलाई सुन्दर र आकर्षक बनाउने हो । हामीले बजार अध्ययन गर्यौं । विभिन्न ठाउँहरुमा कति ईटाको आवश्यकता छ भनेर बुझिरहेका छौं । एभरेजमा प्रत्येक शहरमा दैनिक १० हजार चाइनिज ईटाकाे माग छ । उपत्यकाबाट मालबाहक ट्रकहरु सस्तोमा जाने गरेका छन् । त्यसले गर्दा पनि उपत्यका बाहिर बजार विस्तार गर्न सजिलाे छ । तपाईं परम्परागत ईटादेखि इको प्यानलसम्मकाे उत्पादनमा सहभागी हुनुहुन्छ, अहिले चाइनिज ईटा उत्पादन पनि सुरु गर्नुभएको छ, यी उत्पादनबीचकाे सम्बन्ध र फरक के कति छ ? चाइनिज ईटा भनेको बाहिरी वालमा सो देखाउनको लागि हो । गोरखा इको प्यानल भन्नाले कुनै पनि स्थायी तथा अस्थायी संरचना निर्माण गर्दा बाहिरी गाह्रो तथा भित्री पाटेसन वालको रूपमा प्रयोग हुने टंग एन्ड ग्रुभसहितको ज्वाइन्ट भएको हलुका निर्माण सामग्री हो । इको प्यानल अहिले संसारभर निर्माण सामग्री उत्पादन गर्दा सकेसम्म कम प्राकृतिक स्रोत–साधनको उपयोग हुनुपर्छ भन्ने मान्यताको उपज हाे । यस हिसाबले नेपालमा पनि निर्माण सामग्री उत्पादनमा कम प्राकृतिक स्रोत–साधनको प्रयोग हुनुपर्छ भन्ने मान्यता हाम्रो हो । यही कारण हामी कम प्राकृतिक स्रोत–साधनको प्रयोग हुने र उत्पादनमा कम मात्रै ऊर्जा खपत हुने निर्माण सामग्रीको प्रयोग हुनुपर्छ भनेर लागेका हौँ । यो क्रममा हामीले इको प्यानल पायौँ । यही कारण हामी इको प्यानलको प्रयोगलाई बढावा दिनुपर्छ भनेर लागेका हौँ । साथसाथै संसारभर भूकम्पको जोखिम कम गर्न कम वजन भएको निर्माण सामग्रीको प्रयोग गर्नुपर्छ भन्ने मान्यता पनि स्थापित भएको छ । कम वजन भएको निर्माण सामग्री भनेकै इको प्यानल हो । यसकारणले पनि हामीले सम्भावित भूकम्पको क्षतिलाई न्यूनीकरण गर्न इको प्यानलको प्रयोगलाई जोड दिँदै आएका छौँ । यति मात्रै होइन, तीव्र विकास अहिलेको आवश्यकता हो । विकास निर्माणको कामलाई तीव्रता दिन छिटोभन्दा छिटो जडान गर्न सकिने निर्माण सामग्रीको आवश्यकता छ । यस अर्थमा पनि इको प्यानल महत्वपूर्ण हुन्छ । यसको प्रयोगले परम्परागत निर्माण सामग्रीको प्रयोगभन्दा ६ गुणा कम हलुका बनाइदिन्छ । ईटा उत्पादनलाई अत्याधुनिक बनाउन तथा व्यवसाय विस्तार गर्न सरकारले के कस्ताे सहयाेग गरेकाे महसुस गर्नुभएकाे छ ? ठीकै छ । एउटा ट्याक्स पेयरले सरकारलाई ट्याक्स पे गरिसकेपछि जति सेवा पाउनु पर्ने हुन्छ, त्यो फुलफिल भएको जस्तो लाग्छ । तर पनि जति हामीले ट्याक्स पे गर्छौं त्यो अनुसारको सेक्युरिटी पाए जस्तो मलाई लाग्दैन । त्यो चाहिँ अलि कमजोरी छ जस्तो लाग्छ । परम्परागत निर्माण सामग्रीलाई आधुनिकीकरण गर्न तपाईंले निकै पहल गर्नुभएको छ र तीनवटा उद्योग नै स्थापना गरिसक्नु भएको छ, यो क्षेत्रमा कति लगानी भयो होला ? मैले आफैले यो व्यवसाय सुरु गरेको पाँच वर्ष भयो । हाम्रो एउटा टिम छ । गार्खा इको प्यानल १०/१२ करोडमा सुरु गरेका हौं । आजभोलि यसको लगानी २५/३० करोड पुगिसकेको छ । गोर्खा प्रिकास्ट विण्डोरमा १५/२० करोडको लगानी छ । अहिलेको यो गोर्खा चाइनिज ईटा सुरु गरेका छौं । यसमा ५० करोडको लगानी छ । समग्रमा हाम्रो झण्डै एक सय करोड लगानी गरेर यी तीन संस्थाहरु स्थापना गरेका छौं । आगामी योजनाहरु के कस्ता छन् ? हामीले बनाएको उत्पादनकाे गुणस्तरमा कम्प्रमाइज गर्दैनौं । गुणस्तरलाई ध्यान दिन्छौं । ब्राण्डलाई मेन्टेन गरेर अगाडि बढ्छौं । हामीले उपत्यका र आसपासमा राम्रै बजार लिएका छौं । यसको बजारीकरण उपत्यकामा राम्रै देखिएको छ । आमनागरिकले सस्तो र सहजरूपमा यसको प्रयोग गर्न पाएका छन् । माग पनि बढेको छ । अबको योजना भनेको उपत्यका बाहिरका मुख्य शहरमा सेवा विस्तार गर्नु नै हो । पोखरा, बुटवल, विराटनगर, नेपालगञ्ज जस्ता ठूला र आधुनिक शहरमा यसको बजार विस्तारमा छौँ । त्यसपछि बजारको मागअनुसार नै अघि बढ्ने तयारी छ ।