पूर्वप्रधानमन्त्री सुशील कोइरालाको निधन
काठमाडौं, २६ माघ । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री सुशील कोइरालाको निधन भएको छ । सोमबार राति १२ः५० मा महाराजगञ्जस्थित निवासमै कोइरालाको निधन भएको कांग्रेस महामन्त्री प्रकाशमान सिंहले जानकारी दिए । उपचारमा संलग्न चिकित्सकहरूले निमोनियाका कारण कोइरालाको निधन भएको बताएका छन् । ७६ वर्षिय कोइराला केहि दिनदेखि निमोनिया र ज्वरोका कारण अस्वस्थ थिए । सोमबार कोइरालाले काठमाडौं जिल्ला अधिवेशनको उद्घाटन गर्ने कार्यक्रम थियो । तर, अवस्थ भएका कारण उनी जान सकेनन् । कोइरालाको पार्थिव शरीरलार्इ उनकै निवासमा राखिएको छ । विहान ८ बजेदेखि दिउँसो १२ बजेसम्म पार्टी केन्द्रीय कार्यालय, सानेपामा र त्यसपछि श्रद्धाञ्जलिका लागि दशरथ रङ्गशालामा राखिने उपसभापति रामचन्द्र पौडेलले जानकारी दिए । रातिदेखि नै कोइराला निवासमा कांग्रेस नेता कार्यकर्ताहरु भेला भएका छन् । स्व कोइरालाप्रति श्रद्धाञ्जलि अर्पण गर्न पार्टी उपसभापति रामचन्द्र पौडेल, वरिष्ठ नेता शेरबहादुर देउवा, महामन्त्रीद्वय प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौला राति नै कोइराला निवास पुग्नुभएको थियो । महाधिवेशनका सबै प्रक्रिया अर्को सूचना नभएसम्मका लागि स्थगित गर्ने कांग्रेसले निर्णय गरेको छ ।
६० सूचिकृत कम्पनी डिम्याट गरेनन्, धितोपत्र बोर्डले सिडिएसलाई सोध्यो कारण
काठमाडौं, २५ माघ । पूँजी बजारलाई छिटो/छरिटो, विश्वसनिय र प्रबिधि मैत्री बनाउन भन्दै माघ १ गतेदेखि डिम्याट सेयर मात्रै कारोबार गर्ने भनिएपछि अझै ६० वटा सूचिकृत कम्पनी डिम्याटमा गएका छैनन् । लगानी कर्ताले सबै कम्पनी डिम्याटमा नगएपछि बजारमा सेयरको आपुर्ति कम भएको गुनासो पनि बढेको छ । लगानीकर्ताले माग अनुसार सेयरको आपुर्ति नभएको थुनासो गरेपछि नेपाल धितो पत्र बोर्डले सबै सूचिकृत कम्पनीलाई डिम्याटमा ल्याउन सिडिएस एण्ड क्लियरिङलाई निर्देशन दिईसकेको छ । बोर्डले माघ १९ गते पत्र लेख्दै कति कम्पनी डिम्याटमा आए र सबै कम्पनी डिम्याटमा किन नआएको भन्ने जानकारी मागेको हो । बोर्डका निर्देशक डा. नबराज अधिकारीका अनुसार कहिलेसम्ममा सबै कम्पनीलाई डिम्याटमा ल्याउने हो सोको जानकारी समेत सिडिएस एण्ड क्लियरिङसँग मागिएको छ । ‘लगानी कर्ताको हित सुरक्षित गर्न सिडिएसलाई पत्र लेखेर अबिलम्ब डिम्याटको प्रक्रिया पर्याउन निर्देशन दिएका छौं’, डा. अधिकारीले भने । सिडिएसले दिएको जवाफपछि बोर्डले प्रत्येक कम्पनीलाई तत्काल डिम्याटमा जान निर्देशन दिन सक्ने पनि उनले बताए । हालसम्म नेप्सेमा सूचिकृत २३२ कम्पनीमध्ये १७२ वटा मात्रै डिम्याटमा गएका छन् । नेप्सेमा जम्मा १८४ कम्पनीले डिम्याटमा जाने भन्दै सूचि दर्ता गरेका छन् । नेपाल स्टक एक्सचेञ्जका सह प्रवक्ता मुराहरी पराजुलीले पनि सबै कम्पनी डिम्याटमा नआएको स्विकार गरे । हाल डिम्याटमा नआएका कम्पनीहरुको सेयर कारोबार रोकिएको पनि उनले बताए । केहि बैंक तथा वित्तिय संस्था मर्जरमा गएकाले पनि सेयर कारोबार रोकिएको उनले दावी गरे । सेयर बजार विश्लेषक रबिन्द्र भट्टराईले तोकिएको समयावधी भित्रै डिम्याटमा नगएर कम्पनीहरुले लगानी कर्तामाथी खेलबाड गरेको आरोप लगाए । ‘सबै कम्पनी डिम्याटमा नगएर सेयर धनी प्रति अनुत्तरदायी बनेका छन भने नियामक निकायको मौनता पनि लगानी कर्ताको हित विपरिद छ’, भट्टराईले भने । यी हुन अझै डिम्याटमा नगएका सूचिकृत कम्पनी १) अरुण फाइनान्स २) अरुण वनस्पति उद्योग ३) बिराट शुज ४) बिशाल बजार कम्पनी ५) बोटलर्स नेपाल(बालाजु) ६) बोटलर्स नेपाल(तराई) ७) क्यापिटल मर्चेण्ट बैंक एण्ड फाईनान्स ८) बुटवल पावर कम्पनी ९)बुटवल स्पिनिङ मिल्स १०) कर्पाेरेट डेभलपमेन्ट बैंक ११) क्रिष्टल फाईनान्स १२) एकता विकास बैंक १३) फेवा विकास बैंक १४)फ्ल्युर हिमालयन लिमिटेड १५) गौमुखी विकास बैंक १६) जनरल फाईनान्स १७) गोरखकाली टायर उद्योग १८) गोर्खा डेभलपमेन्ट बैंक १९) हिमालयन डिष्टिलरी २०) हरिसिद्धी इँटा कारखाना २१) हिमालयन फाईनान्स २२) जानकी फाईनान्स २३) ज्योति साईनिङ मिल्स २४) काक्रे बिहार विकास बैंक २५) कामना विकास बैंक २६) कञ्चन डेभलपमेन्ट बैंक २७) कर्णाली डेभलपमेन्ट बैंक २८) कास्की फाईनान्स २९) काठमाडौं फाईनान्स ३०) किसान माईक्रोफाईनान्स ३१) कुबेर मर्चेण्ट बैंक ३२) महिला सहयात्रा माईक्रोफाईनान्स ३३) मञ्जुश्री फाईनान्स ३४) मातृभूमि डेपलपमेन्ट बैंक ३५) मेट्रो डेभलपमेन्ट बैंक ३६) माउण्ट मकालु डेभलपमेन्ट बैंक ३७) मल्टिपरर्पाेज फाईनान्स कम्पनी ३८) एनबी इन्स्योरेन्स ३९) नेपाल बिटुमिन एण्ड ब्यारेल उद्योग ४०) नेपाल फिल्ड डेभलपमेन्ट कम्पनी ४१) नेपाल फाईनान्स लिमिटेड ४२) नेपाल खाद्य उद्योग ४३) नेपाल ल्युब आयल लिमिटेड ४४) नेपाल सेयर मार्केट फाइनान्स ४५) नेपाल ट्रेडिङ लिमिटेड ४६) नेपाल वनस्पति घिउ उद्योग ४७) नेपाल वेलफेयर कम्पनी ४८) प्यासिफिक डेभलपमेन्ट बैंक लिमिटेड ४९) पश्चिमाञ्चल विकास बैंक ५०) पुर्णिमा विकास बैंक ५१) रघुपति जुट मिल ५२) राष्ट्रिय बिमा कम्पनी ५३) रिलायबल माईक्रो फाइनान्स ५४) साहारा विकास बैंक ५५) सम्झना फाईनान्स ५६) श्री भृकुटी पल्प एण्ड पेपर उद्योग ५७) श्री इन्भेष्टमेन्ट फाईनान्स ५८) श्रीराम सुगर मिल्स ५९) याक एण्ड यति होटल लिमिटेड ६०) वल्र्ड मर्चेण्ट बैंकिङ एण्ड फाईनान्स (श्रोतः सिडिएस एण्ड क्लियरि लिमिटेड)
एक हप्ता भित्रै उर्जा संकटकाल, यसरी हुँदैछ लोड सेडिङको अन्त्य
काठमाडौं, २४ माघ । सरकारले एक हप्ता भित्रै उर्जा संकट निवारण काल घोषणा गर्ने भएको छ । उर्जा मन्त्रालयले उर्जा संकट निवारण काल सम्बन्धी गुरुयोजना तयार गरिसकेको छ । प्रधानमन्त्री केपी ओलीलाई ब्रिफिङ गरेर सो गुरु योजना मन्त्री परिषदमा पेश गरिने उप प्रधान तथा उर्जा मन्त्री टोप बहादुर रायमाझीले बताए । मन्त्रालयले तयार पारेको गुरु योजनामा एक बर्ष भित्र जनताले महशुस गर्ने गरि लोड सेडिङ घटाउने र दुई बर्ष भित्र आफ्नै उत्पादनले लोडसेडिङको अन्त्य गर्ने उल्लेख गरिएको छ ।१० बर्षमा १० हजार मेगावाट जलविद्युत उत्पादन गर्ने महत्वकांक्षी लक्ष्यसहित तयार पारिएको गुरु योजनाले जल विद्युतको उत्पादन, ट्रान्समिसन लाईन र वितरण प्रणालीको ठोस योजना अघि सारेका उप प्रधान तथा उर्जा मन्त्री रायमाझीले बताए । यस्तो छ एक बर्षे योजना –भूकम्पले बन्द तथा अवरुद्ध भएका ११० मेगावाट क्षमताका बिभिन्न जल विद्युत आयोजना सुचारु गरिसक्ने । –निर्माण सम्पन्न हुनै लागेका २०० मेगावाट क्षमताका आयोजनालाई समयमै सम्पन्न गर्न सहयोग गर्ने –१५० मेगावाट पिकिङ ड्यामबाट उत्पादन बढाउने – भारतबाट २०० मेगावाट किनिरहने र थप २०० मेगावाट गरेर ४०० मेगावाट खरिद गर्ने । – हाल उत्पादन भैरहेका ३०० मेगावाट जारी रहने । – ३०० मेगावाट सोलार प्लान्टबाट उत्पादन गर्ने । मन्त्रालयले यसरी आगामी एक बर्ष भित्रमा १२०० मेगावाट विद्युत आपुर्ति गरेर मुलभूत रुपमा लोड सेडिङ अन्त्य गर्ने मन्त्री रायमाझीले बताए । उनले उर्जा संकट निवारण काललाई संकटकाल नभएर फास्ट ट्रयाकमा काम गर्ने समय भएको पनि बताए । ‘संकटकाल भनेको घाँटी निमोठ्ने र दमन गर्ने समय होइन, त्यो त समस्याको गाँठो फुकाउने अभियान हो ।’ मन्त्री रायमाझीले भने । भारत, चीन, बंगलादेश र पाकिस्तानसम्म क्रस बोर्डर ट्रान्समिसन लाईन विस्तारको काम योजनामा समेटिएको उनले जानकारी पनि दिए ।