टेलिकमको भन्दा एनसेलको आम्दानी ३५ प्रतिशत धेरै, राजश्व १०७ प्रतिशत बढि
काठमाडौं, २० फागुन । कारोबार रकम, थप लगानी र राजश्वमा योगदानका आधारमा नेपाल टेलिकमभन्दा एनसेल धेरै अगाडि देखिएको छ । नेपाल दुरसञ्चार प्राधिकरणले विहीबार सार्वजनिक गरेको प्रतिवेदन अनुसार टेलिकमले भन्दा एनसेलले ३५ प्रतिशत बढी आम्दानी गरेको छ । त्यस्तै टेलिकमको भन्दा एनसेलले थप लगानी २० अर्ब ६८ करोडले बढी गरेको छ । राजश्वमा पनि टेलिकमले भन्दा एनसेलले १०७ प्रतिशतले बढी योगदान गरेको छ । ग्राहक संख्या पनि टेलिकमको भन्दा एनसेलको बढी छ । ९५ प्रतिशत सेयर सरकारी स्वामित्वमा रहेको नेपाल टेलिकम सबैभन्दा पूरानो कम्पनी हो । करिव ५ दशकसम्म दुरसञ्चार क्षेत्रमा नेपाल टेलिकमको एकाधिकार थियो । एनसेल निजी लगानीमा खुलेको पहिलो टेलिकम कम्पनी हो, जसमा ८० प्रतिशत सेयर विदेशी लगानी रहेको छ । नेपाल दुर सञ्चार प्राधिकरणले सार्वजनिक गरेको तथ्यांक अनुसार गत आर्थिक वर्ष २०७१/७२ मा एनसेलले ५५ अर्ब ५६ करोड ९३ लाख आम्दानी गरेको छ । सोही अवधिमा नेपाल टेलिकमले जम्मा ४१ अर्ब १८ करोड १५ लाख रुपैंयाँ मात्रै आम्दानी गरेको देखिन्छ । गत बर्ष एनसेलले टेलिकमको भन्दा १४ अर्ब ३८ करोड ७८ लाख अर्थात ३४ दशमलब ९३ प्रतिशतले बढी आम्दानी गर्न सफल भएको हो । एनसेलले बिभिन्न शिर्षक अन्तरगत २८ अर्ब ८ करोड राजश्व बुझाउँदा नेपाल टेलिकमलले भने जम्मा १३ अर्ब ५२ करोड ६० लाख मात्रै राजश्व बुझाएको छ । यो राजश्व टेलिकमले बुझाएको भन्दा १४ अर्ब ५६ करोड अर्थात १०७ प्रतिशतले बढी हो ।सो अवधीमा नेपाल टेलिकमले जम्मा १२ अर्ब ४६ करोड थप लगानी गरेको छ भने एनसेलले ३३ अर्ब १४ करोड लगानी थपेको देखिन्छ । नेपाल टेलिकमले पाँच हजार ९४ जनालाई रोजगारी दिएको छ भने एनसेलले ५ सय २२ जनालाई रोजगारी दिएको छ । एनसेलको ग्राहक संख्या एक करोड ५३ लाख रहेका छन भने टेलिकमको जम्मा एक करोड २९ लाख रहेको छ ।
१३ वटा वित्तीय संस्थालाई गभर्नरले दिए लासको संज्ञा, साढे १० अर्ब रुपैयाँका मालिकहरुको हालत खराव
काठमाण्डौं, २० फागुन । नेपाल राष्ट्र बैंकका गभर्नर डा चिरञ्जीवि नेपालले समस्याग्रस्त वित्तीय संस्थाहरुलाई लासको संज्ञा दिदै लास कुरेर बस्न नसक्ने बताएका छन् । नेशनल बैकिङ इस्टिच्यूशनले आयोजना गरेको ‘मर्जर सम्मेलन २०१६’ उद्घाटनको अवसरमा बोल्दै गभर्नर नेपालले ‘लास कुरेर बस्दा राष्ट्र बैंकलाई अरु काम गर्न अप्ठ्यारो परेको’ बताए । ‘१३ वटा विकास बैंक तथा फाइनान्स कम्पनीहरु समस्याग्रस्त छन् । उनीहरुलाई हेर्नको लागि मात्र रेजुलेशन शाखा खोलेर बस्नु परेको छ । २०/२५ जना ट्यालेन्ट कर्मचारीहरु त्यस शाखामा राख्नु परेको छ । त्यसले राष्ट्र बैंकलाई ठूलो वर्डन (आर्थिक भार) थपेको छ’ गभर्नर नेपालले भने । राष्ट्र बैंकको यो भूमिकालाई लिएर अन्तराष्ट्रिय समूदायले गिज्याएको पनि उनले उल्लेख गरे । एउटा सम्मेलनमा विदेशमा जाँदा विदेशीले गरेको टिप्पणी सुनाउँदै उनले भने ‘नेपाल मात्र संसारमा यस्तो देश हो जहाँ केन्द्रीय बैंकले नयाँ बैंक खोल्न अनुमति दिन्छ । बैंक समस्यामा परेपछि आफै गएर सुधार गर्छ र जसले विगारेको छ उसैलाई सुम्पन्छ ।’ गर्भनरले लासको संख्या दिएको १३ वटा विकास बैंक तथा वित्तीय संस्थाहरुमा सर्वसाधारणको निक्षेप र लगानीकर्ताको सेयरपुँजी गरि करिव साढे १० अर्ब रुपैयाँ फसेको छ । राष्ट्र बैंकमा अनुसार ती संस्थामा लाखौ सर्वसाधारणको ५ अर्ब ९३ करोड रुपैयाँ निक्षेप रहेको छ र लगानीकर्ताको ४ अर्ब ५७ करोड सेयर पुँजी रहेको छ । यसरी रकम फस्नेहरुको वर्षौदेखि हालत खराव छ ।
सुरुङ मार्ग निर्माण गर्न सरकारले १० अर्ब लगानी गर्ने तयारी, नयाँ वर्षसँगै निर्माण थालिने
काठमाडौं, २० फागुन । नेपाल पूर्वाधार विकास कम्पनीले निर्माण गर्ने सुरुङ मार्गमा सरकारले १० अर्ब रुपैयाँ लगानी गर्ने भएको छ । सुरुङ मार्ग निर्माण गर्न निजी क्षेत्रबाट मात्र लगानी नजुटेपछि कम्पनीका प्रवद्र्धकहरुले सरकारी लगानी जुटाउने प्रयास थालेका छन् । भवन भट्ट निजी क्षेत्रको मेगा प्रोजेक्टका रुपमा हेरिएको सो मार्ग निर्माणका लागि विश्वनियता जगाउन सरकारसँगको साझेदारीको प्रयास थालिएको पूर्वाधार विकास कम्पनीका सञ्चालक सुभाषचन्द्र ठकुरीले बताए । उनका अनुसार सरकारले १० अर्ब रुपैयाँ लगानी गर्ने तयारी भईरहेको छ । ‘प्रधानमन्त्री केपी शर्मा ओली र अर्थमन्त्री विष्णु पौडेलसँग पटक पटक छलफल गरिसकेका छौं, उहाँहरुले सकारात्मक हुनुहुन्छ ।’ ठकुरीले भने । ठकुरी मकवानपुरबाट प्रत्यक्ष निर्वाचित नेकपा एमाले सांसद समेत हुन् । उनैले सो मार्गमा सरकारी लगानी भित्र्याउन पहल गरिरहेका छन् । अर्थमन्त्रालयसहित सरकारको नेतृत्व एमालेले गरेको अवस्थामा एमाले सांसदले उक्त मार्गमा सरकारी लगानी गराउन पहल गरेका छन् । सो मार्ग निर्माणका लागि आवश्यक पर्ने ३५ अर्ब लगानी जुट्ने आधार तयार गरिदिन पनि सरकार आफैं लगानी कर्ता बन्न लागेको हो । ‘सरकार आफैं लगानी कर्ताका रुपमा आएपछि त्यसको विश्वसनियता बढ्छ र बाँकी रकम हामी आफैं जुटाउँछौं’ ठकुरीले विकासन्युजसँग भने । कम्पनीमा संस्थापक अध्यक्ष कुशकुमार जोशीले राजीनामा दिएपछि गैर आवासिय नेपाली संघ(एनआरएन)का उपाध्यक्ष भवन भट्ट अध्यक्ष बनेका छन् । माघ २७ गते बसेको सञ्चालक समितिको बैठकले जोशीको राजीनामा स्विकृत गर्दै भट्टलाई अध्यक्ष बनाएको थियो । माघ २९ गते नव नियुक्त अध्यक्ष भट्टले पहिलो बैठक मार्फत लगानी थप्ने निर्णय गराएका छन् । सो बैठकमा अध्यक्ष भवन भट्टले थप पाँच करोड रुपैंयाँ तत्काल थप्ने प्रतिवद्धता व्यक्त गरेका छन् । त्यस्तै, कुश कुमार जोशी र लालकृष्ण केसीले समेत एक एक करोड लगानी थप्ने प्रतिवद्धता व्यक्त गरेका छन् । सुभाषचन्द्र ठकुरी भवन भट्टले एक अर्बको लगानी प्रतिवद्धता व्यक्त गर्दै यस अघि नै ९ करोड ६० लाख लगानी गरिसकेका छन् । पूर्वाधार विकास कम्पनीमा अब भट्टको लगानी १४ करोड ६० लाख पुग्नेछ । नयाँ बर्षदेखि निर्माण आरम्भ कम्पनीले सरकारी लगानी जुटाएर नयाँ वर्ष अर्थात २०७४ सालको सुभारम्भसँगै निर्माण थाल्ने तयारी गरिरहेको छ । ‘२०७३ सालले संबिधान दियो, ७४ सालबाट विकास र समृद्धिको यात्रा सुरु हुन्छ र त्यसको सुरुवात सुरुङ मार्गको निर्माणसँगै हुन्छ’ ठकुरीले भने । उनले राजधानी र हेटौडालाई जोड्ने सुरुङ मार्गले मुलुकको समृद्धिको ढोका खोल्ने दावी समेत गरे । काठमाडौं र हेटौडालाई जोड्ने सबैभन्दा छोटो हुने यो मार्ग निर्माणले ढुवानी लागतमा उल्लेख्य कटौति हुने र तराईको उत्पादन तथा तराई क्षेत्र हुदै आयात गरिने बस्तुको मूल्यमा सकारात्मक प्रभाव पार्ने आँकलन गरिएको छ ।