जागिर खाँदै इन्जिनियर बन्नेका लागि दैनिक ६ घण्टा नेक विडिएच
काठमाडौं । एसईई उत्तिर्ण गरेपछि तीनवर्षे डिप्लोमा (सिभिल वा आर्किटेक्चर) र ९ देखि १२ सम्मको राष्ट्रिय परीक्षा वोर्डको टेक्निकल–भोकेसनल सिभिल इन्जिनियरिङ गरेर जागिर खाइरहेकाहरुलाई त्यसभन्दा माथिको उच्च शिक्षा हासिल गर्न सहज हुँदैन । दैनिक ६ घण्टा हप्ताको ६ दिन कलेज धाएर पढ्नुपर्ने बाध्यताले गर्दापनि डिप्लोमा होल्डर्सहरुमा आफ्नो पढाईको चाहना मनमै दवाएर राख्नुपर्ने परिस्थिति छ । यद्यपि, ‘जहाँ इच्छा त्यहाँ उपाय’ भनेजस्तै पढ्दै काम गर्ने सोच बनाएकाहरुलाई उपाय नभएको हैन । डिप्लोमा गरेर सरकारी तथा गैरसरकारी निकायमा काम गरिरहेकाहरुलाई पढेर विश्वविद्यालयको सर्टिफिकेट हासिल गर्ने सहज उपाय सन्ध्याकालिन कक्षा हो । तर, यो सबै कलेज तथा विश्वविद्यालयहरुमा छैन । नेपाल इन्जिनियरिङ कलेज (नेक) ले भने सिटिइभिटीको डिप्लोमा होल्डर्स विद्यार्थीको समस्या निराकरण गर्न ‘ब्याचलर इन सिभिल इन्जिनियरिङ फर डिप्लोमा होल्डर्स’ कार्यक्रम चलाइरहेको छ । जहाँ दिउसो काम गरेर साँझको समय अध्ययन गर्न सकिन्छ । पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त नेकमा तीनवर्षे डिप्लोमा (सिभिल वा आर्किटेक्चर) र ९ देखि १२ सम्मको राष्ट्रिय परीक्षा वोर्डको टेक्निकल–भोकेसनल सिभिल इन्जिनियरिङ गरेकाहरुलाई इन्जिनियर बनाउनकै लागि ‘ब्याचलर इन सिभिल इन्जिनियरिङ फर डिप्लोमा होल्डर्स’ कार्यक्रम छ । डिप्लोमा इन्जिनियर्स एसोसिएसन नेपालको पहलमा नेपालमा पहिलो पटक आधिकारीक रुपमा सरकारी तथा गैरसरकारी संघ संस्थामा कार्यरत सिभिल तथा आर्किटेक्चर सव–इन्जिनियरहरूको लागि सिभिल इन्जिनियरिङ पढाईको लागि नेपाल इन्जिनियरिङ कलेजका तत्कालिन संस्थापक अध्यक्ष स्वप्राडा दीपक भट्टराई, पूर्व प्राचार्य प्राडा हरिकृष्ण श्रेष्ठ र प्राडा राजेन्द्र प्रसाद अधिकारीले पोखरा विश्वविद्यालयसँग समन्वय गरि सन् २००१ देखि ‘ब्याचलर इन सिभिल इन्जिनियरिङ फर डिप्लोमा होल्डर्स’ कार्यक्रम सञ्चालन गरेका हुन् । सिभिल इन्जिनियरिङ अध्ययन गर्ने चाहना भएपनि बञ्चित सरकारी तथा गैरसरकारी संघ संस्थामा कार्यरत सिभिल तथा आर्किटेक्चर सव–इन्जिनियरहरूलाई कुशल सिभिल इन्जिनियर बन्ने अवसर प्रदान गरिएको नेकका प्राचार्य दुर्गाप्रसाद भण्डारी बताउँछन् । ‘डिप्लोमा गरेका तथा फुल टाइम काम गरेर पार्टटाइम पढ्ने योजना बनाएकाहरुलाई यो विडिएच कार्यक्रम अत्यन्त लाभदायक छ । डिप्लोमा पछिपनि विश्वविद्यालयको सर्टिफिकेट प्राप्त गर्न सक्छन् ।’ प्राचार्य भण्डारी भन्छन् । डिप्लोमा गरेकाहरुलाई काम गर्दै इन्जिनियरिङको उच्च शिक्षा अध्ययन गर्ने बाटो नेपाल इन्जिनियरिङ कलेजले खोलिदिएको छ । ९ सेमेष्टरको यो विडिएच कार्यक्रम अन्य कार्यक्रम भन्दा एक सेमेष्टर लामो छ । स्नातक तहका अन्य कोर्ष चार वर्षे हुँदा यो कोर्ष पुरा गर्न भने साढे ४ वर्ष लाग्छ ।नेपाल इन्जिनियरिङ कलेजले ‘ब्याचलर इन सिभिल इन्जिनियरिङ फर डिप्लोमा होल्डर्स’ कार्यक्रम बेलुका ५:३० देखि ९:०० बजे (माघ देखि कार्तिक सम्म) र बेलुका ४:३० देखि ८:०० बजे सम्म (कार्तिक देखि माघ सम्म) सञ्चालन गर्दछ । साँझ सञ्चालन हुने कक्षाका कारण सरकारी तथा गैरसरकारी संघ संस्थामा कार्यरत सिभिल तथा आर्किटेक्चर सव–इन्जिनियरहरूले सिभिल इन्जिनियरिङ अध्ययन गर्नको लागि कार्यालयबाट अध्ययन बिदा लिनुपर्ने तथा जागिर नै छोडी पढ्नु पर्ने बाध्यता छैन । नेक विडिएच कार्यक्रममा १३० क्रेडिटको हुन्छ । हप्ताको ६ दिन वेलुका सैद्धान्तिक पढाई र शनिबार विहान ७ बजेदेखि ३ बजे सम्म प्रयोगात्मक कक्षा हुने गर्दछ । सन् २००१ देखि २०२१ सम्म आई पुग्दा नेक विडिएचमा ९०० बढी बिद्यार्थीहरुले सिभिल इन्जिनियरिङ अध्ययन गरि सकेका छन् । त्रिभुवन विश्वविद्यालयको २ वर्षे डिप्लोमा कार्यक्रम हुँदा फिजिक्स केमिष्ट्री र गणितको विस्तृत अध्ययन नहुने हुनाले विज्ञान र गणित विषय समावेश गरि थप एक सेमेष्टर अध्ययन गराउनु परेको थियो । तर, हाल तीन वर्षे डिप्लोमा कार्यक्रम भएको अवस्थामा यसलाई परिमार्जन गर्ने प्रस्ताव पोखरा विश्वविद्यालयसँग रहेको जनाएको छ । नेकमा पोखरा विश्वविद्यालयले दिने छात्रवृत्ति सँगै कलेज आफैंले विभिन्न शीर्षकमा छात्रबृत्तिहरु पनि दिएको छ । प्रवेश परीक्षामा उत्कृष्ट हुने, सेमेस्टरमा उत्कृष्ट हुने विद्यार्थीहरूलाई छात्रवृत्ति दिइन्छ । यसका अलावा कलेजले प्रादेशिक तथा स्थानीय तहमा पनि छात्रवृत्तिहरु दिइरहेको कलेजका प्राचार्य भण्डारी बताउँछन् । सामाजिक शैक्षिक संस्थाका रुपमा जिल्ला प्रशासन कार्यालय भक्तपुरमा दर्ता भई पछिल्लो समय नेपाल सरकार, शिक्षा मन्त्रालय अन्तरगत गठन गरिएको बोर्डमार्फत यो कलेज सञ्चालनमा रहेकाले अन्य निजी क्षेत्रको दाँजोमा यहाँको शैक्षिक शुल्क कम रहेको छ भने, शैक्षिक गुणस्तर अन्तराष्ट्रिय स्तरकै रहेको दावी गरिएको छ ।
त्रिविले माग्यो ११ क्याम्पस प्रमुखका लागि आवेदन
काठमाडौं । त्रिभुवन विश्वविद्यालयले ११ आंगिक क्याम्पसमा रिक्त क्याम्पस प्रमुखका लागि आवेदन माग गरेको छ । क्याम्पस प्रमुख छनोट समितिले आज सूचना जारी गरी काठमाडौं उपत्यकाका तीन सहित ११ क्याम्पसका लागि क्याम्पस प्मुख पदमा आवेदन माग गरेको हो । त्रिविले रत्नराज्य लक्ष्मी क्याम्पस प्रदर्शनीमार्ग काठमाडौं, विश्वभाषा क्याम्पस प्रदर्शनीमार्ग काठमाडौं, पाटन संयुक्त क्याम्पस पाटनढोका ललितपुर, पृथ्वीनारायण क्याम्पस पोखरा, बुटवल बहुमुखी क्याम्पस बुटवल क्याम्पस, सुर्खेत शिक्षा क्याम्पस सुर्खेतका लागि क्याम्पस प्रमुखको आवेदन माग गरेको हो । यसैगरी सूर्यनारायण सत्यनारायण मोरवैता यादव क्याम्पस सिराहा, रामस्वरुप रामसागर क्याम्पस जनकपुर, त्रिभुवन बहुमुखी क्याम्पस पाल्पा, डोटी बहुमुखी क्याम्पस र जुम्ला क्याम्पसका लागि पनि आवेदन माग गरेको हो ।
प्रधानमन्त्री निवास बालुवाटारमा पुस्तकालय सञ्चालन
काठमाडौं । प्रधानमन्त्री निवास, बालुवाटारमा आजदेखि ‘पिपल्स लाइब्रेरी’ सञ्चालनमा आएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीका धर्मपत्नी राधिका शाक्यको अग्रसरतामा राष्ट्रिय पुस्तकालय दिवसका सन्दर्भमा पुस्तकालय सञ्चालनमा आएको हो । ‘पिपुल्स लाइब्रेरी’ मा लेखक र पाठकले आफूलाई मन परेका सकारात्मक सन्देशयुक्त कृति हस्ताक्षरसहित हस्तान्तरण गर्न शाक्यले दुई साताअघि सार्वजनिक आह्वान गरेका थिए । आह्वानबमोजिम पुस्तक उपहार दिने क्रम जारी रहेको छ । प्रधानमन्त्री निवासको पुनः निर्माणका क्रममा पुस्तकालय कक्षाको संरचना भए पनि हालसम्म पुस्तक सङ्कलन तथा प्रयोग भएको थिएन । पुस्तकालय आरम्भका अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले श्रीमती शाक्यको पहललाई धन्यवाद दिए । पुस्तकालयलाई औपचारिक रुपमा थालनी गर्ने तत्कालीन राजा गीर्वाणयुद्धविक्रम शाहको स्मरण गर्दै उनले यस पुस्तकालयलाई गहन पुस्तकालय बनाउन पहल गर्ने पनि बताए ।