रिलायवल लाइफले ल्यायो मासिक ८ हजार ८ सय तिरेर करोडपति बन्ने योजना

काठमाडौं । रिलायवल लाइफ इन्स्योरेन्स कम्पनीले लिमिटेडले करोडपति बन्ने योजना ल्याएको छ । जीवन बीमा कारोबार सुरु गरेको दिन रिलायवलले मासिक ८ हजार ८१७ रुपैयाँ बीमा शुल्क भुक्तानी योजना ल्याएको हो । आगामी ४० वर्षपछि १ करोड रुपैयाँ फिर्ता दिने कम्पनीले जनाएको छ । “हामी सबै बन्न सक्छौ करोडपति मात्र चाहिन्छ इच्छाशक्ति” नाराका साथ ल्याएको रिलायवल धनपति जीवन बीमा योजनाले सानो बचतबाट करोडपति बन्न सकिने छ । यस योजनामा बिमितले न्युनतम ५ लाख रुपैयाँदेखि माथि जतिसुकै परिपक्वता मूल्य छनौट गरी बीमा गर्न सक्ने कम्पनीले जनाएको छ ।  

प्रभु इन्स्योरेन्सले १९ प्रतिशत बोनस र ४६ प्रतिशत हकप्रद जारी गर्ने, पुँजी एक अर्ब नाघ्ने

काठमाडौं । प्रभु इन्स्योरेन्सले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई १९.२० प्रतिशत बोनस सेयर दिने भएको छ । साथै, कम्पनीले कर प्रयोजनको लागि १.०१ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त प्रस्ताव असोज २९ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गरेको हो । साथै, सोही बैठकले १९.२० प्रतिशत बोनस सेयर पश्चात ४६ प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने निर्णय गरेको छ । हाल कम्पनीको पुँजी ५७ करोड ७५ लाख रुपैयाँ रहेको छ । १९.२० प्रतिशत बोनस सेयर पश्चात कम्पनीको पुँजी ६८ करोड ८४ लाख रुपैयाँ पुग्ने छ । बोनस पश्चात कायम भएको चुक्ता पुँजीको ४६ प्रतिशत हकप्रद निष्काशन गर्ने कम्पनीले जनाएको छ । सो मात्राको हकप्रद सेयर पश्चात कम्पनीको पुँजी एक अर्ब रुपैयाँ नाघ्ने छ । कम्पनीको सञ्चालक समितिको प्रस्तावलाई बीमा समितिले स्वीकृत तथा कम्पनीको आगामी साधारणसभाले पारित गर्नुपर्ने छ । कम्पनीको आगामी वार्षिक साधारणसभा कात्तिक २१ गते हुने भएको छ । सो प्रयोजनको लागि आगामी कात्तिक ७ गते कम्पनीको बुक क्लोज हुँदै छ ।

बीमकका संस्थागत सुशासन निर्देशिका संशोधन हुँदै, सीईओको तलब बढ्ने

काठमाडौं । बीमा समितिले बीमकको संस्थागत सुशासन सम्बन्धी निर्देशिका संशोधन गर्ने भएको छ । बीमकको संस्थागत सुशासन सम्बन्धी निर्देशिका २०७३ रिजिड (संकीर्ण) देखिएकोले यसलाई समयसापेक्ष बनाउन संशोधनको तयारी भईरहेको बीमा समितिका अध्यक्ष चिरञ्जीवि चापागाईले बताएका छन् । बीमकको संस्थागत सुशासन सम्बन्धी निर्देशिकामा प्रमुख कार्यकारी अधिकृतको तलव सीमा कम भएको, प्रमुख कार्यकारी अधिकृतको योग्यता अरु क्षेत्रको तुलनामा बढी राखिएको, बीमा कम्पनीहरुको खर्च गर्ने कटौति गर्दै कम्पनीको अधिकार बीमा समितिमा खिचिएको, सञ्चालक समितिले प्रमुख कार्यकारी अधिकृत नियुक्त गर्दा, कम्पनीका काममा सञ्चालक तथा सीईओ विदेश जानुपर्दा पनि बीमा समितिको स्वीकृति लिनुपर्ने लगायतका बुँदामा बीमकहरुको तर्फबाट असन्तुष्टि व्यक्त हुँदै आएको छ । त्यस्तै, बीमा सेवाको प्रचार प्रचार कमी भएको तथ्यलाई सबैले स्वीकार गरेपछि बीमा सेवा सम्बन्धी प्रडक्टहरुको प्रबद्र्धन, ब्राण्ड डेभलपमेन्ट तथा प्रचार प्रसार शिर्षकमा खर्च गर्न बीमा समितिले तोकेको सीमाप्रति बीमा कम्पनी, विज्ञापन एजेन्सी, सञ्चार माध्ययमहरुले आलोचना गर्दै आएका छन् । रिलायबल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको कारोबारको शुभारम्भ गर्दे समितिका अध्यक्ष चिरन्जीवि चापागाईले सीईओको तलव बढाउने संकेत दिएका छन् । ‘बीमा क्षेत्रको विकासमा क्षमतावान व्यक्तिहरुलाई आकर्षित गर्नु पर्ने देखिएको छ । संस्थागत सुशासन निर्देशिकामा कुनै पनि बीमा कम्पनीमा काम गर्ने कर्मचारी मध्ये सबैभन्दा कम पाउनेको तलव र प्रमुख कार्यकारी अधिकृतको तलव १५ गुणा भन्दा बढी हुनुहुँदैन भनिएको छ । साधारणसभाबाट अनुमोदन गरेको अवस्थामा २५ गुणासम्म हुन सक्ने भनिएको छ । यसमा केही खुकुलो नीति आवश्यक भएको हामीले महसुश गरेको छौं’ चापागाईले भने । त्यस्तै, बीमा क्षेत्रमा जनशक्ति विकासको लागि इन्स्योरेन्स ट्रेनिङ इन्स्टीच्यूट स्थापना गर्नको लागि बीमक संघसँग छलफल भईरहेको बताए । पुर्नबीमाको ब्रोकर लाइसेन्स विदेशीले मात्र पाएको भन्दै अध्यक्ष चापगाईले ब्रोकर लाईसेन्स नेपालीलाई पनि दिने तयारी भएको जानकारी दिए । आइतबारदेखि कारोबार सुरु गरेको रिलायवल लाइफ इन्स्योरेन्स कम्पनीले विभिन्न बीमा पोलिसी जारी गरेको छ । रिलायबल सावधिक जीवन योजना, रिलायवल करोडपति, रिलायवल अग्रिम भुक्तानी, रिलायवल उच्च शिक्षा जीवन योजना सार्वजनिक गरेको छ । हाल कम्पनीको जारी पुंजी २ अर्ब २० करोड रुपैयाँ रहेको, प्रवद्र्धकतर्फबाट १ अर्ब ४० करोड रुपैयाँ चुक्ता भएको र साधारण सेयर (आईपीओ) निष्कासन गरेर कम्पनीले चुक्तापुँजी २ अर्ब २० करोड रुपैयाँ पुर्याउने तयारी भईरहेको कम्पनीको प्रमुख कार्यकारी नारायणबाबु लोहनीले जानकारी दिए ।