बीमा संस्थानमा कस्ले मार्ला बाजी ?
काठमाडौं । राष्ट्रिय बीमा संस्थामा रिक्त रहेको प्रशासकका लागि ५ जनाले आवेदन दिएका छन् । कविप्रसाद पाठक, झापा, डिल्लीराज अर्याल, गुल्मी, बुद्धकाजी श्रेष्ठ काठमाडौं, लक्ष्मण पोखरेल, गुल्मी र सुरेन्द्र थापा पाल्पा रहेका छन् । प्रशासक नियुक्तिका लागि गठित छनौट तथा शिफारिश समिलिाई उम्मेदवारले आइतबार संस्थाको व्यवसायिक योजना प्रस्तुत गरेका थिए । सोमबार अन्तरवार्ता दिन काम पनि सकिएको छ । समितिले ३ जनालाई छनौट गरेर अर्थ मन्त्रालयमा शिफारिश गर्नेछ । त्यसपछि मन्त्रिपरिषदले एक जनालाई प्रशासक बनाउने छ ।
नेपाल इन्स्योरेन्स कम्पनीको २६औँ शाखा सर्लाहीमा
काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीले आफ्नो २६औँ शाखा सर्लाही जिल्लाको हरिबनमा सञ्चालनमा ल्याएकाे छ । उक्त शाखाको उद्घाटन यस इन्स्योरेन्सका नायव महाप्रबन्धक विक्रान्त पाण्डेले गरेका हुन् । इन्स्योरेन्सले शाखा विस्तारको क्रममा उक्त स्थानमा थप नयाँ शाखा खोलेको हो । यस शाखा कार्यालय संचालन पश्चात जनमानसमा बीमाको पहुँच वृद्धि गर्नमा सहयोग पुग्ने कम्पनीको विश्वास छ ।
सगरमाथा इन्स्योरेन्सको नाफा १७ करोड, ईपीएस ३१ रुपैयाँ
काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको ९ महिनामा नाफा बढाएको छ । कम्पनीले गत चैतसम्म १७ करोड रुपैयाँ खुदनाफा गरेको छ । गत आवको सोही अवधिमा सगरमाथाले १४ करोड ३६ लाख रुपैयाँ नाफा गरेको थियो । स्तरिय सेवाका कारण बीमितको विश्वास हासिल गर्न सफल भएको सगरमाथाले जनाएको छ । गत चैतसम्म कम्पनीले २८ करोड १२ लाख रुपैयाँ आम्दानी गरेको छ । गत आवको सोही अवधिमा २३ करोड ७४ लाख रुपैयाँ गरेको थियो । कम्पनीको जगेडा कोषमा ३८ करोड ८३ लाख रुपैयाँ छ । ९ महिनामा कम्पनीले १ अर्ब ३० करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । गत आवको सोही अवधिमा १ अर्ब १ करोड रुपैयाँ गरेको थियो । हालसम्म ७० करोड रुपैयाँ दावी भुक्तानी गरिसकेको कम्पनीले जनाएको छ । यस्तै अझै ७१ करोड रुपैयाँ दावी भुक्तानी गर्न बाँकी छ । कम्पनीको प्रतिसेयर आम्दानी ३१ रुपैयाँ ६३ पैसा छ ।