रुवायो लगानीकर्तालाई यूनाईटेड इन्स्योरेन्सले, बोनस पनि दिएन, हकप्रद सेयर निष्काशन गर्ने प्रयास असफल
काठमाडौं । यूनाईटेड इन्स्योरेन्स कम्पनीले सेयरधनीलाई निरास बनाएको छ । कम्पनीले जेठ २७ गते साधारणसभा बोलाएको छ तर लगानीकर्तालाई लाभांश नदिने भएको छ । अघिल्लो वर्ष पनि यस कम्पनीले १० प्रतिशत बोनस सेयर दिने घोषणा गरेर पछि रद्द गरेको थियो । पुर्नबीमा कम्पनीबाट आउनु पर्ने रकम कम्पनीले लिन नसकेपछि बीमा समितिले प्रोभिजन राख्न निर्देशन दिएपछि कम्पनी ३५ करोड रुपैयाँ नोक्सानमा गएको थियो । यस कम्पनीको उच्च व्यवस्थापन समिति भ्रष्ट छ भने सञ्चालक समिति पुरै अस्थिर छ । प्रवद्र्धकहरुको बीमा दावीमा भएको विवादका कारण बीमा दावी भुक्तानी, पुर्नबीमा दावी भुक्तानीमा अनेक विवाद र मुद्दाहरु चलिरहेका छन् । १ बराबर २.४ अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने यस कम्पनीको नयाँ प्रयास पनि विफल भएको छ । बीमा समितिको निर्देशन पालना नगरेको, अदालतको फैसला लागू नगरेको लगायत गम्भिर विषय उठाउँदै कम्पनीले हकप्रद सेयर निष्काशनमा रोक लगाईदिएको हो । प्रमोटरले चोरबाटोबाट कमाउने तर सर्वसाधारण लगानीकर्तालाई लाभांश नदिई थप पुँजी लगानी गर्न बाध्य तुल्याउने कम्पनीको प्रयास गलत भएकोले हस्तक्षेप जरुरी भएको बीमा समिति स्रोतले बतायो । कम्पनी नियमविपरित चलेको भन्दै बीमा समितिले यस कम्पनीको अग्नी बीमा व्यवसाय रोकिदिएको छ । बीमा समितिको निर्देशन अनुसार निर्जीवन बीमा कम्पनीहरुले २०७५ असार मसान्तसम्म चुक्ता पुँजी १ अर्ब बनाउनु पर्नेछ । यस कम्पनीको चुक्ता पुँजी ३० करोड रुपैयाँ मात्र छ । नाफा गरेर बोनस सेयर दिने सम्भावना शुन्य रहेको यस कम्पनीका लागि हकप्रद सेयर निष्काशन गर्ने बाटो पनि बीमा समितिले बन्द गरिदिएपछि कम्पनी थप संकटतर्फ धकेलिएको छ । सीजी इलेक्ट्रोनिक्ससँग सम्बन्धित विवादमा बीमा समितिको निर्देशन तथा त्यसैलाई सदर गर्ने उच्च अदालतको फैसला कार्यान्वयन नभएसम्म हकप्रद सेयर निष्काशन अनुमति दिन नसकिने बीमा समितिका अध्यक्ष चिरञ्जीवि चापागाईको भनाई छ । हकप्रद सेयर निष्काशनको लागि बीमा समितिको अनुमतिको प्रतिक्षा गरिरहेको यूनाईटेड इन्स्योरेन्सका अध्यक्ष उदयकृष्ण उपाध्यायले बताए । बीमा समितिबाट अनुमति पाएपछि विशेष साधारणसभा गर्ने सोचसहित नियमित साधारणसभा गर्न लागिएको उनले बताए । कम्पनीको आगामी वार्षिक साधारणसभा जेठ २७ गते हुने भएको छ । सो प्रयोजनको लागि जेठ १३ देखि जेठ २७ गतेसम्म कम्पनीको बुक क्लोज हुने कम्पनीले जनाएको छ ।
बीमा संस्थानको प्रशासकमा झापाका कविप्रसाद पाठक
काठमाडौं । सरकारले राष्ट्रिय बीमा संस्थानको प्रशासकमा झापाका कविप्रसाद पाठकलाई नियुक्त गरेको छ । मन्त्रिपरिषदको आइतबार बसेको बैठकले शिफारिशको पहिलो नम्बरमा रहेका पाठकलाई प्रशासक बनाएको हो । अर्थ मन्त्रालयले गठन गरेको प्रशासक नियुक्ति तथा शिफारिश समितिले प्रस्ताव आब्हान गर्दा ५ जनाले आवेदन दिएका थिए । व्यवसायीक योजना र अन्तरवार्तापछि समितिले पाठकलगायत ३ जनाको नाम शिफारिश गरेको थियो ।
बैंक अफ काठमाण्डू र गुराँस लाइफ इन्स्योरेन्सबीच बैंक्यास्योरेन्स सम्झौता
काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेड र गुराँस लाइफ इन्स्योरेन्स कम्पनीबीच बैंक्यास्योरेन्स सेवा प्रदान गर्ने सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकका तर्फबाट प्रमुख-बजार व्यवस्थापन विभागका रितेश लामिछाने र इन्स्योरेन्सका तर्फबाट सहायक महाप्रबन्धक सरेज बुढाथोकी छेत्रीले हस्ताक्षर गरेका छन् । यस सेवा अन्तर्गत बैंकका सम्पूर्ण ग्राहकहरुले बैंकका ७९ शाखाहरुबाट जीवन बीमा सेवाहरु प्राप्त गर्न सक्नेछन् ।