मेगा बैंकको ३३ हजार कित्ता संस्थापक सेयर बिक्रीमा
काठमाडौं । मेगा बैंकको संस्थापक सेयर बिक्री हुने भएको छ । बैंकका ६ जना संस्थापकले ३२ हजार ९६६ कित्ता सेयर बिक्री गर्न लागेका हुन् । ६ जना संस्थापकले सेयर बिक्री गर्न निवेदन दिएपछि बिक्रीको प्रक्रिया अघि बढाएको बैंकले जनाएको छ । बैंकका संस्थापक सेयरधनीले खरिद नगरे मात्र बाहिरका लागि बिक्री गरिने बैंकले जनाएको छ ।
गुराँस लाइफ इन्स्योरेन्सद्धारा दुई मृतकका परिवारलाई मृत्यु दावी भुक्तानी
काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्सले मृत्यु दाबी भुक्तानीवापत पर्साका बीमित बलबहादुर श्रेष्ठ र काभ्रेका बीमित दिलमान मोक्तानका परिवारलाई क्रमशः १४ लाख र ५ लाख रुपैयाँ भुक्तानी गरेको छ । वैदेशिक रोजगार म्यादी जीवन बीमा अन्तर्गत बीमा गराएका पर्साका बीमित श्रेष्ठको दुबईमा मृत्यु भएकाले इन्स्योरेन्सले उनको पिता डम्बरबहादुर श्रेष्ठलाई सो मात्राको रकम हस्तान्तरण गरेको छ । साथै, कम्पनीले बीमित मोक्तानको मलेसियामा मृत्यु भएकाले श्रीमती रेलिमाया मोक्तानलाई तथा घातक रोग वापतको सो मात्राको रकम नुवाकोट निवासी शमशेरबहादुर तामाङलाई हस्तान्तरण गरेको छ । कम्पनीका सहायक महाप्रबन्धक बालमुकुन्द रुपाखेतीले दुबै बीमितका परिवारलाई बीमा दावी भुक्तानी हस्तान्तरण गरेका हुन् ।
माछापुच्छ्रे बैंक र लुम्बिनी जनरल इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता
काठमाडौं । माछापुच्छ्रे बैंक र लुम्बिनी जनरल इन्स्योरेन्सबीच बैंकास्योरेन्स सेवा सम्बन्धी सम्झौता भएको छ । सम्झौतापत्रमा माछापुच्छ्रे बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुमन शर्मा तथा लुम्बिनी जनरल इन्स्योरेन्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत नुरप्रकाश प्रधानले हस्ताक्षर गरेका छन् । सम्झौताअनुसार अब माछापुच्छ्रे बैंकका ग्राहकहरूले बैंकको जुनसुकै शाखा कार्यालयहरूबाट सहज रूपमा लुम्बिनी जनरल इन्स्योरेन्सको बीमा सेवाहरु प्राप्त गर्न सक्ने बैंकले जनाएको छ । हाल बैंकले ८६ वटा शाखाहरु, २ वटा एक्स्टेन्सन काउन्टरहरु लगायत २७ शाखा रहित बैकिङ् सेवा मार्फत सम्पुर्ण बैकिङ् सुबिधा प्रदान गरीरहेको छ ।