महालक्ष्मीको बीमा सेवा एनसीसी बैंकबाट पनि पाइने
काठमाडौँ । नेपाल क्रेडिट एण्ड कमर्स बैंक(एनसीसी बैंक) लि. र महालक्ष्मी लाईफ इन्स्योरेन्स लि.बीच बीमा पोलिसी बिक्री गर्ने गरीे सोमबार सम्झौता भएको छ । सम्झौता अनुसार एनसीसी बैंकको कर्पोरेट तथा बिभिन्न शाखा कार्यालयहरुबाट महालक्ष्मी लाईफ इन्स्योरेन्स लि.को पोलिसी बिक्री गरिनेछ । सम्झौतामा नेपाल क्रेडिट एण्ड कमर्स बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्याल र महालक्ष्मी लाईफ इन्स्योरेन्स लि. का तर्फवाट प्रमुख कार्यकारी अधिकृत रमेशकुमार भट्टराईले हस्ताक्षर गरेका छन् ।
घातक रोगको उपचारका लागि सिटिजन लाइफले गर्यो ५ लाख भुक्तानी
काठमाडौं । सिटिजन लाइफइन्स्योरेन्सले घातक रोग दाबी भुक्तानी वापत रु ५ लाख बराबरको रकम भुक्तानी गरेको छ । कम्पनीले हृदयघात भएको कारण बुटवलका हरिसिंह ठकुरीलाई उपचार खर्चको लागि उक्त्त रकम एकमुष्ठ भुक्तानी गरेको हो । कम्पनीले आइतबार उपचारको लागि काठमाडौंमा रहेका ठकुरीलाई उपचार खर्च स्वरुप ५ लाख बराबरको घातक रोग दाबी भुक्तानीको चेक हस्तान्तरण गरेको थियो । सिटिजन लाइफको तर्फबाट कम्पनीका सीओओ दशरथमणि खड्काले हरिसिंह ठकुरीलाई सो चेक प्रदान गरे । हृदयघात भएका ठकुरीलाई उनले प्रस्तुत गरेको मेडिकल रिपोर्टको आधारमा बिना कुनै झन्झट तथा बिना कुनै बिल सहज, सरल एवम् छिटो दाबी गरिएको थियो ।
बीमा समितिको निर्देशन लत्याउँदै बैंकहरु, कुमारी बैंकको बैंकास्याेरेन्सबारे समितिले अनुसन्धान गर्ने
काठमाडौ । बीमा समितिले जारी गरेको नीति नियम विपरित बैंकहरुले बीमा सेवा बेच्न थालेको पाईएको छ । ग्राहक आकर्षित गर्न बैंकहरु अस्वस्थ्य प्रतिस्पर्धामा उत्रिएको भेटिएको छ । चार वटा निर्जीवन बीमा कम्पनीसँग बैंकास्योरेन्स गरेको कुमारी बैंकले आफ्ना ग्राहकलाई बीमा समितिको निर्देशनभन्दा बढी बीमा शुल्क छुट दिएर बीमा गर्न/ गराउन शाखा कार्यालयहरुलाई निर्देशन दिएको पत्र विकासन्यूजले प्राप्त गरेको छ । फागुन १४ गते कुमारी बैंकका प्रमुख कार्यकारी अधिकृतको कार्यालयबाट सबै कर्मचारीलाई जारी गरेको परिपत्रमा एसएमई लोन र कर्पोरेट लोन लिने ग्राहकको सम्पत्ति बीमा गर्दा बीमा समितिको निर्देशन भन्दा बढी छुट दिएर व्यापार विस्तार गर्न निर्देशन दिईएको छ । बैंकले ग्राहकलाई कर्पोरेट डिस्काउन्ट १० प्रतिशत र विशेष सम्बन्ध भएका ग्राहकलाई थप ४ प्रतिशत गरी १४ प्रतिशतसम्म छुट दिन निर्देशन दिईएको छ । बीमा समितिको सम्पत्ति बीमा निर्देशिका २०७५ ले सम्पत्ति बीमाका दर तोकेको छ । तोकिएको बीमा दरको आधारमा बीमा शुल्क गणना गरी सोही बमोजिमको बीमा शुल्क लिनु पर्नेछ । निर्देशिका बमोजिम जारी गरिने बीमा लेखको बीमा शुुल्कमा कुनैपनि प्रकारको छुट (डिस्काउन्ट), रिहायत, कटौति वा सहुलियत दिन पाईने छैन । तर, बीमा अभिकर्ताको प्रयोग नगरी सिधै बीमा लेख बिक्री (प्रत्यक्ष बीमा) गरिएको अवस्थामा हुलदंगा तथा आतंकबाद जोखिम समूह बापतको बीमा शुल्क बाहेक अन्य कुल बीमा शुल्क गणना गरेपश्चात १० प्रतिशतका दरले हुन आउने रकम छुट प्रदान गर्न सकिन्छ । कुमारी बैंकले निर्जीवन बीमाको प्रिमियम तिर्दा त्यसमा सहभागी हुने ग्राहकलाई १० प्रतिशत छुट दिने र एसएमई र कर्पोरेटका ग्राहकलाई प्रत्यक्ष १० प्रतिशतका अतिरिक्त ४ प्रतिशत बीमा शुल्कमा छुट दिने व्यवस्था गरेको छ । प्रिमियर ईन्स्योरेन्स, लुम्बिनी जेनेरल ईन्स्योरेन्स, प्रुडेन्सियल ईन्स्योरेन्स र सानिमा जेनेरल ईन्स्योरेन्सले कुमारी बैंकलाई संस्थागत अभिकर्ता बनाएका छन् । संस्थागत अभिकर्ताले बीमा शुल्कको ५ प्रतिशत कमिशन पाउने व्यवस्था छ । तर अभिकर्ताले ५ प्रतिशत कमिशन लिएपछि बीमितलाई छुट दिन नपाइने बीमा समितिका उच्च अधिकारीले बताए । ‘बैंकले १० प्रतिशत छुट पाउँछ । बैंकले पाएको छुट सबै ग्राहकलाई दिन्छ भने त्यो बैंकको आफ्नो कुरा भयो । थप चार प्रतिशत दिन मिल्दैन । उनीहरुले कसरी गरेका रहेछन् ? हामी अनुसन्धान गर्छौ’ बीमा समितिका उच्च अधिकारीले विकासन्यूजसँग भने । कुमारी बैंकले ग्राहकलाई १४ प्रतिशत छुट दिनै नसक्ने सानिमा जनरल इन्स्योरेन्स कम्पनीका नायब महाप्रवन्धक सुबोधलाल श्रेष्ठले बताए । ‘बैंकले बीमा कम्पनीको तर्फबाट सीधै पोलिसी बेचेमा आधारभूत बीमा शुल्कको १० प्रतिशत छुट दिन सक्छ । बैंकले अभिकर्ताको रुपमा बीमा गराएको हो भने ५ प्रतिशत मात्र कमिशन पाउँछ’ उनले भने–‘बैंकले दुई मध्ये एक प्रकारको छुटको सुविधा लिन सक्छ । १० प्रतिशतमा अतिरिक्त ४ प्रतिशत छुट दिनै सक्दैन । दिएको हो भने पनि हामीलाई त्यसबारे जानकारी छैन ।’ पछिल्लो समय व्यवसाय विस्तार र नाफा वृद्धिमा परेको चापसँग बैंकहरुले बीमा अभिकर्ताको रुपमा काम थालेका छन् । तर, बैंकहरुले बीमा सेवा प्रदान गर्ने क्रममा बीमा समितिले जारी गरेको नीति नियमहरु परिपालना नगरेको गुनासा बीमा क्षेत्रमा बढ्दै गएको छ ।