महालक्ष्मी लाइफ इन्स्योरेन्सले गर्यो बीमा सम्बन्धी जनचेतना कार्यक्रम

काठमाडौँ । महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडले बीमा जागरण अभियान अन्तर्गत चैत्र २३ गते गुल्मीको तम्घासमा बृहत जनचेतना कार्यक्रम सम्पन्न गरेको छ । प्रमुख अधिकारी अधिकृत रमेश कुमार भट्टराईको प्रमुख आतिथ्यमा सम्पन्न एक दिने उक्त कार्यक्रममा स्वागत मन्तव्य र महालक्ष्मीलाईफको बारेमा क्षेत्रिय प्रमुख अर्जुन गिरीले विस्तृत रूपमा प्रकाश पारेका थिए । कार्यक्रममा नेकपाका नेता हिरा एसी, नेपाली काङग्रेसका महेन्द्र भण्डारी, रेसुंगा नपाका अखिलेश्वर पाण्डे, उद्योग वाणिज्य संघ गुल्मीका निवर्तमान अध्यक्ष दुर्गाप्रसाद पाण्डे, नागरिक समाजका अगुवा पदमा प्रसाद पाण्डे जील्ला युवा समितिका अध्यक्ष राजेन्द्र बिक्रम कुवँर, पत्रकार महासंघका तोपलाल अर्याल र लोक दोहरी प्रतिष्ठानका वैकुण्ठ महतले महालक्ष्मी लाईफको उत्तरोत्तर प्रगति र छिट्टै खोलिने शाखा कार्यलयको सफलताको लागि शुभकामना व्यक्त गरे । ट्रेनर सुभाष केसीले अभिकर्ता उत्प्रेरणा बारेमा प्रष्ट पारेका थिए । कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत रमेशकुमार भट्टराईले नेपालमा जीवन बीमाको अवस्था, महालक्ष्मी लाईफ इन्स्योरेन्सको वर्तमान र भावी योजना, अभिकर्ताहरूको काम र कर्तव्य तथा जीवन बीमाको फाइदाहरू बारेमा जानकारी गराएका थिए । कार्यक्रममा नयाँ नियुक्त अभिकर्ता र बीमा पोलिसी खरीद गर्ने बिमितहरूलाई सम्मान गरिएको थियो ।

ज्योति लाईफमा बीमा गराएकालाई ग्राण्डी अस्पतालमा विशेष छुट

काठमाडौँ । ज्योति लाइफ इन्स्योरेन्स र ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालबीच संझौता भएको छ । आफ्नो ग्राहकहरुलाई बीमा सेवाका अतिरिक्त अन्य सेवा सुविधा विस्तार गर्ने क्रममा ग्राण्डी अन्तराष्ट्रिय अस्पताल धापासी काठमाण्डौसंग स्वास्थ्य सेवामा साझेदारी गर्ने सम्बन्धमा सम्झौता सम्पन्न गरेको भएको हो । उक्त सम्झौतामा ज्योति लाईफ इन्स्योरेन्समा आबद्ध निश्चत मापदण्ड पूरा गरेका ग्राहक, अभिकर्ता, कर्मचारी तथा शेयरधनीहरुलाई विशेष कार्ड जारी गरिने र उक्त कार्डबाहक तथा निजका परिवारका सदस्यहरुले ग्राण्डी अस्पतालबाट उपलब्ध हुने उच्च स्तरीय स्वास्थ्य उपचार सेवामा विशेष छुट प्राप्त गर्ने छन् । सम्झौता पत्रमा ज्योति लाईफ इन्स्योरेन्स कम्पनीका कार्यकारी उप–प्रमूख प्रकाशबिक्रम खत्री र अस्पतालका बजार तथा व्यवसाय विकास प्रमुख दिनेश पौड्यालले हस्ताक्षर गरेका छन् ।

नेपाल बीमक संघ फुट्यो, निर्जीवन बीमा कम्पनीहरुले गरे नयाँ कार्यसमिति गठन

काठमाडौं । बीमा कम्पनीहरुको साझा संगठन नेपाल बीमक संघ फुटेको छ । निर्जीवन बीमा कम्पनीहरु एकातिर संगठित भएका छन् भने जीवन बीमा कम्पनीहरु अर्कोतिर संगठित हुन छलफलमा जुटेका छन् । बिहीबार सम्पन्न संघको विशेष साधारणसभाले दीप प्रकाश पाण्डेको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति चयन गरेको छ । नयाँ कार्यसमितिमा निर्जीवन बीमा कम्पनीका सीईओहरु मात्र चुनिएका छन् । संघको उपाध्यक्षमा नुरप्रताप प्रधान चयन भएका छन् । उनी लुम्बिनी जनरल इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत हुन् । सगरमाथा इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत चंकी कुँवर क्षेत्री संघको महासचिवमा चुनिएका छन् । कोषाध्यक्षमा युगेशभक्त बादे श्रेष्ठ चयन भएका छन् । श्रेष्ठ आइएमई जनरल इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत हुन् । संघको कार्यसमिति सदस्यमा एनएलजी इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत सुनिलबल्लव पन्त, एभरेष्ट इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत कमल गौतम, प्रभु इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत संचित बर्जाचार्य, अजोड इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी कुमार बहादुर खत्री र सानिमा जनरल इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत सुवोधलाल श्रेष्ठ चयन भएकाे काेषाध्यक्ष यूगेश भक्त बादे श्रेष्ठले बताए । हाल ४० वटा बीमा कम्पनी रहेकोमा निर्जीवन बीमा कम्पनी २० वटा छन् । जीवन बीमा कम्पनी १९ वटा र एउटी पुर्नबीमा कम्पनी छ । निर्जीवन बीमा कम्पनीको सीईओहरुले एकातिर संगठित भएपछि जीवन बीमा कम्पनीको प्रमुख कार्यकारी अधिकृतहरु पनि नयाँ संगठन गर्ने तयारीमा छ । ‘२/३ चरणमा छलफल भएको छ । अब छिट्टै नयाँ संस्था दर्ता हुन्छ’ एक जीवन बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतले भने । बीमक संघले जीवन बीमा कम्पनीहरुलाई स्थान नदिएको आरोप पहिले देखि नै थियो । पहिला १७ वटा निर्जीवन बीमा कम्पनी र ९ वटा जीवन बीमा कम्पनी हुँदा जहिले पनि जीवन बीमा कम्पनीको प्रतिनिधिले निर्वाचन हार्दै आएका थिए । पछिल्लो समय भने जीवन बीमा कम्पनीको संख्या १९ वटा भएको छ । बीमक संघलाई नेपाल बैंकर्स संघ जस्तै प्रभावकारी संस्था बनाउनु पर्ने माग बीमा क्षेत्रमा भए पनि बीमकहरू छिन्नभिन्न भएका छन् । कम्पनीका सीईओहरू दुई संस्थामा विभाजित भएको छन् भने बीमा कम्पनीको प्रर्वद्धकहरुको अलग्गै संस्था सक्रिय छ ।