नेपाल इन्स्योरेन्स कम्पनीले साढे ७ प्रतिशत बोनस दिने, सेयर मूल्य निरन्तर घट्यो

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीले सेयरधनीलाई ७.५ प्रतिशत बोनस सेयर दिने भएको छ । साथै, कर प्रयोजनको लागि ४० लाख २२ हजार नगद लाभांश दिने भएको छ । बोनस सेयरपछि कम्पनीको चुक्ता पुँजी १ अर्ब ९ करोड ५५ लाख रुपैयाँ हुनेछ । कम्पनीले बोनस सेयर घोषणा गरेको दिन सेयर मूल्य भने घटेको छ । गत विहीबार प्रतिकित्ता ३५५ रुपैयाँमा कारोबार बन्द भएको यस कम्पनीको सेयर आईतबार ३५३ रुपैयाँमा बन्द भएको छ । दुई वर्षअघि यो कम्पनीको सेयर प्रतिकित्ता १५०० भन्दा माथि गएको थियो । पछिल्लो समय समग्र बीमा बजारको सेयर मूल्य घट्दै गएको छ ।

ज्योति लाइफको ‘ज्योति केयर्स’ बजारमा, थपियो बिमितले पाउने सुविधा

काठमाडौ । ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले ‘ज्योति केयर्स’ नामक प्रडक्ट बजारमा ल्याएको छ । शुक्रबार कम्पनीका अध्यक्ष नन्दकिशोर शर्माले उक्त प्रडक्टको औपचारिक शुभारम्भ  गरेका हुन् । ज्योति लाइफका बिमितहरुले अबदेखी घातक रोग लाग्दा अस्पतालबाट वित्तीय छुट प्राप्त गर्न सक्ने छन् । कार्यक्रममा बोल्दै कम्पनी सञ्चालक समिति अध्यक्ष शर्माले भने-‘जीवन बीमा सेवामूलक क्षेत्र भएकाले हामीले बिमितको हितमा काम गर्नु पर्छ भन्ने लक्ष्य राखेका छौँ, सोही उद्देश्यका साथ ‘ज्योति केयसर्’ कार्ड बजारमा आएको हो ।’ उनले आफूहरुले सहकार्य गर्दै आएका संस्थाहरुमा थप वृद्धी गर्ने र सो कार्यपनि बिमितिको हितमै केन्द्रीत हुनेमा जोड दिए । कम्पनीका कार्यबाहक प्रमुख कार्यकारी अधिकृत प्रकाशबिक्रम खत्रीले भने-‘हामी सञ्चालनमा आएको २ वर्षपनि पुगेको छैन, तर हामीले बजार ल्याएका कतिपय प्रडक्टहरु पहिलो नै बनेका छन् ।’ उनले आगामी दिनमा समेत त्यस्ता नौला प्रडक्टहरु ल्याएर बिमित हितमा काम गर्ने बताए । के हो त ज्योति केयर्स ? ‘ज्योति केयर्स’ सुविधा ५ लाख रुपैयाँ वा सो भन्दा बढीको बीमाङ्क बराबर सावधिक जीवन बीमा गर्ने सबै बिमितलाई उपलब्ध हुन्छ । बिमितलाई ५ प्रतिशतदेखी ३० प्रतिशत सम्म नगद छुट हुने व्यवस्था छ । साथै, बिमितले ईमेलको माध्यमबाट ज्योति केयरको बारेमा सूचना आदान–प्रदान गर्न सक्ने कार्यक्रममा बताइयो । हाल ७ वटै प्रदेशका कार्यालयहरुमा ‘ज्योति केयर्स’ को कार्ड तथा चिठ्ठी पुगिसकेको कम्पनीले जनाएको छ । कम्पनीले कार्ड पाउने बिमित तथा सबै सरोकारबालाहरुले यो सेवा प्राप्त गर्ने जनाएको छ । कम्पनीले आफ्नो स्थापनाको २० महिनामा १ सय ५ भन्दा बढी शाखा सञ्जाल बिस्तार गरेको जनाएको छ ।

मोटर बीमामा पटक पटक देखिन्छ समस्या, समाधान गर्ने कसरी ?

काठमाडौँ । बीमा व्यवसायमा बीमित र बिमकमा खासै समस्या छैन । तर मोटर बीमामा भने केही समस्या देखिएका छन् । बीमा समितिले हालै राजधानीमा आयोजना गरेको एक कार्यक्रममा मोटर बीमाको समस्या समाधान गर्न सके समग्र बीमा क्षेत्र नै लाभदायी हुने विषयमा चर्चा गरिएको थियो । बीमा बिज्ञ शेखरकुमार अर्यालले बीमा क्षेत्रमा मोटर बीमाले छवि धमिल्याउने काम गरिरहेको बताए । यसमा रहेका समस्या समयमै समाधान गर्न सकेमा बीमामा खासै अन्य समस्या रहन्न-उनले भने । यता, बीमा समितिका अध्यक्ष चिरञ्जीवि चापागाईले कार्यक्रममा उठान भएको कुराहरु हामीले आगामी दिनमा कार्यन्वयन गर्ने बताए । अध्यक्ष चापागाईले आवश्यक परे न्यायाधीश र कानून व्यवसायीहरुसँग छलफल गर्न तयार रहेको बताए । मोटर बीमाको समस्या बारे के भन्छन् बीमा कम्पनीहरु ? मोटर बीमाका समस्याबारे जेनेरल इन्स्योरेन्स कम्पनीका जेनेरल म्यानेजर एसके टमोटले मोटर बीमामा समस्या देखिनुमा मेडिकल रिर्पोटमा ढिलाई, बिमितले तयार पार्ने कागजात तथा सर्भे रिपोर्टमा लाग्ने समयले समस्या ल्याउने गरेको बताए । उनले यस्ता समस्याको समयमै समाधान गर्न आवश्यक रहेको बताए । तर, आफ्नो कम्पनीमा भने मोेटर बीमामा खासै समस्या नरहेको दाबी गरे । यस्तै, अजोड इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत(सिईओ) कुमारबहादुर खत्री भन्छन्–‘नक्कली कागजात बनाएर बीमा क्षेत्रलाई समस्या बनाउनेमा केही हिस्सा मोटर बीमाको छ, यसलाई सुधार गर्न सरकारी संयन्त्रले दह्रो पाईला चाल्न आवश्यक छ ।’ बीमा क्षेत्रमा इमान्दारिताको बाटो अपनाउन आवश्यक रहेको उनको बुझाई छ । यसैगरी सगरमाथा इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सिईओ) चंकी क्षेत्रीले मोटर बीमाको सम्बन्धमा केही समस्या देखिनुमा बिमितलाई दुर्घटनाको अवस्थामा पैसाको आवश्यकता पर्ने र एकाउण्ट बन्द भएको अवस्थामापनि पुनः पैसाको माग गर्दा समस्या हुने गरेको बताए । उनले पछिल्लो समयमा त्यस्ता कुरा सुधारको अवस्थामा रहेकोमा जोड दिए ।