गुराँस लाइफ इन्स्योरेन्सको बोनस दर ८७ रुपैयाँ कायम

काठमाडौँ । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सर्वाधिक बोनस दर रु.८७ सम्म कायम भएको छ । आव २०७४/०७५ को आर्थिक स्थितिको लेखाजोखा र दायित्व मूल्याङ्कन सम्बन्धी बीमाङ्कीय प्रतिवेदन बीमा समितिको असार २९ गतेको पत्रबाट स्वीकृत भएको भएको हो । स्थापनाकालदेखि नै विभिन्न किसिमका बीमितहरुको चाहना बमोजिम जीवन बीमा योजना ल्याउँदै ८० कार्यालयहरु मार्फत जीवनबीमाको सेवा प्रदान गर्दै आएको कम्पनीले जनाएको छ । कम्पनीले बिमितहरुलाई सर्वाधिक बोनस दर रु.८७ घोषणा गरेर बोनस वितरणमा अब्बल प्रमाणित गरेको दाबी गरेको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत नारायणकुमार भट्टराईले न्यून बीमा शुल्क दरमा नयाँ–नयाँ बीमा योजना मार्फत सुलभ, सरल एवम् आधुनिक सेवा प्रदान गरिरहने र भविष्यमा पनि उच्चतम बोनस दर कायम गरी बीमितहरुलाई अझ बढी लाभान्वित गर्ने प्रतिबद्धता व्यक्त गरे ।

माछापुच्छ्रे बैंकको स्मार्ट बचत खातामा १४ लाखको बीमा सुबिधा

काठमाडौँ । आर्थिक वर्ष २०७६/७७ को सुरुवातसंगै माछापुच्छ्रे बैंक लि.ले ‘माछापुच्छ्रे स्मार्ट बचत खाता’ मा रु.१४ लाख १० हजार बराबरको बीमा सुविधा थप गरेको छ । बैंकले स्मार्ट बचत खाता खोल्ने ग्राहकहरुलाई १० लाख सम्मको दुर्घटना बीमाको साथमा १८ जटिल प्रकृतिका रोगहरुको उपचारमा ३ लाख तथा अस्पताल भर्नामा रु. १ लाखसम्मको उपचार खर्च प्रदान गर्नेछ भने वार्षिक रुपमा १० हजार सम्मको औषधी खर्च समेत उपलब्ध गराउने छ । १ बर्ष अगाडि बिमा सुविधा, औषधि उपचार खर्च, अस्पताल भर्ना लगायतका बिभिन्न विशेषताहरुको साथमा सुरु गरेको स्मार्ट बचत खाताप्रति ग्राहकहरुमा बढ्दै गएको आकर्षणलाई लक्षित गरी उक्त बचत खातामा विषेशताहरु थप गरेको हो । रु.५ हजार न्यूनतम मौज्दातमै खोल्न मिल्ने माछापुच्छ्रे बैंकको स्मार्ट बचत स्मार्ट बचत खाताको बीमा सुविधाअन्तर्गत विभिन्न समयमा ग्राहकहरुले बीमा रकम प्राप्त गरिसकेका छ्न । जस अन्र्तगत बैंकले हालसम्म ११५जना भन्दा बढी ग्राहकलाई बीमा रकम प्रदान गरिसकेको छ । बैंकले स्मार्ट बचत खोले बापत ग्राहकहरुलाई निःशुल्क इन्टरनेट बैंकिङ्ग, निःशुल्क एमबीएल मोबाईल मनी, निःशुल्क डिम्याट खाता, निःशुल्क मेरो शेयर सुविधा, निःशुल्क डेबिट/क्रेडिट कार्ड, निःशुल्क आश्वा सुविधा र निःशुल्क अन्तर शाखा कारोबार जस्ता स्मार्ट सुविधाहरु समेत प्रदान गर्दै आएको छ ।

प्रिमियर इन्स्योरेन्सको साधारण सभाबाट ८४% बोनस सेयर पारित, चुक्ता पूँजी १ अर्ब ७ करोड पुग्ने

काठमाडौँ । प्रिमियर इन्स्योरेन्स कम्पनी(नेपाल) लिको २५ औं साधारण सभा मंगलबार सम्पन्न भएको छ । साधारण सभाले हाल कायम रहेको चुक्ता पूँजीको ५८ करोड ४० लाखको ८४ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको छ । बोनस सेयर पश्चात कम्पनीको चुक्ता पूँजी १ अर्ब ७ करोड ४५ लाख ६० हजार पुग्नेछ । कम्पनीले आव २०७४/०७५ मा कूल बीमा शुल्क १ अर्ब ५५ करोड ९ लाख ४१ हजार आर्जन गरेको र नाफा ९ करोड १३ लाख २ हजार आर्जन गरेको जनाएको छ ।