विश्वभरका पाँचमध्ये दुई बीमा कम्पनीले मात्रै गर्छन् ‘अन्डरराइटिङ’ मा एआई प्रयोग

काठमाडौं । विश्वभरका बीमा कम्पनीहरूले बढ्दो प्रतिस्पर्धा र बजारमा घट्दो नाफाको दबाबबीच अन्डरराइटिङ (जोखिम मूल्याङ्कन) प्रक्रियालाई स्वचालित बनाउन एआईको प्रयोग बढाइरहेका छन् । यद्यपित हालसम्म विश्वभकरका ५ मध्ये २ वटा बीमा कम्पनीले मात्रै अन्डरराइटिङमा एआई प्रयोग गरिरहेको पाईएको छ । सोलर्स कन्सल्टिङले सार्वजनिक गरेको अध्ययनअनुसार १० प्रमुख अन्तर्राष्ट्रिय बजारमा बीमा क्षेत्रमा एआईका १२६ वटा क्षेत्र पहिचान गरेका छन् । जसमध्ये १३ वटा अन्डरराइटिङ विभागमै सञ्चालनमा रहेका छन् ।  अध्ययनले विगतमा दाबी व्यवस्थापन र वितरण भन्दा डिजिटल रूपान्तरणमा पछाडि रहेको अन्डरराइटिङ विभागमा अहिले एआई लगानी तीव्र रूपमा बढ्न थालेको देखाएको छ । एआईको बढ्दो प्रयोगसँगै बीमा कम्पनीहरूको जनशक्ति संरचनामा पनि परिवर्तन देखिएको छ । सन् २०२५ मा अन्डरराइटिङसम्बन्धी ज्ञान भएका आईटी विज्ञको माग दोब्बरले बढेको छ । अध्ययनअनुसार हाल २० प्रतिशत व्यवसायिक रुपमा सञ्चालनमा रहेका बीमा कम्पनीहरुले  एआईमार्फत नयाँ व्यवसायका प्रस्तावहरू स्वतः वर्गीकरण गर्ने, विभिन्न ढाँचाका कागजातबाट आवश्यक विवरण निकाल्ने तथा प्रारम्भिक जोखिम विश्लेषण गर्ने काम गरिरहेका छन् । विश्लेषकहरूका अनुसार आगामी १२ देखि २४ महिनाभित्र एआईले जोखिम व्यवस्थापन, मूल्य निर्धारण  तथा अन्डरराइटिङको दैनिक कार्यशैलीमा उल्लेखनीय परिवर्तन ल्याउनेछ ।  हाल एआई मुख्यतः डकुमेन्ट प्रोसेसिङ र प्रारम्भिक छनोटमा सीमित भए पनि कम्पनीहरूले यसलाई मूल्य निर्धारण प्रणाली र डिजिटल अन्डरराइटिङ प्लेटफर्मसँग प्रत्यक्ष जोड्ने तयारी गरिरहेका छन्  । यसले विद्यमान बीमा पोर्टफोलियोको विश्लेषण तथा जोखिम मूल्याङ्कनलाई अझ प्रभावकारी बनाउने अपेक्षा गरिएको छ । यसबाट नियमित र दोहोरिने काम एआईले गर्ने तथा जटिल निर्णयमा भने मान्छेले नै बढी समय दिन सक्ने वातावरण बन्ने अध्ययनले उल्लेख गरेको छ । क्षेत्रअनुसार एआईको प्रयोग विधि फरक फरक देखिएको छ । अस्ट्रेलियामा कम्पनीहरू मर्जरपछि पुराना प्रणाली आधुनिकीकरण गर्दै व्यावसायिक अन्डरराइटिङलाई पूर्ण रूपमा डिजिटल बनाइरहेका छन् ।  लन्डन बजारमा स्प्रेडसिटमा आधारित कार्यप्रणाली हटाएर मूल्य निर्धारण प्लेटफर्मलाई अन्डरराइटिङ प्रणालीसँग जोड्ने काम गरिरहेका छन् । उत्तर अमेरिकामा व्यक्तिगत बीमाका लागि प्रयोग भइरहेका एआई प्रणालीलाई व्यावसायिक तथा  जोखिममा विस्तारमा भइरहेको छ । 

बीमा क्षेत्रमा १२ हजारभन्दा बढी कर्मचारी आवद्ध

काठमाडौं । पछिल्ला वर्षहरूमा नेपाली बीमा क्षेत्रमा आवद्ध कर्मचारीको संख्यामा वृद्धि हुँदै गएको देखिन्छ । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको बीमा प्रतिबिम्बअनुसार चालु आवको जेठ मसान्तसम्ममा बीमा क्षेत्रमा १२ हजारभन्दा बढी व्यक्तिले प्रत्यक्ष रोजगारी पाएका छन् । हाल सञ्चालनमा रहेका जीवन, निर्जीवन तथा लघु बीमा कम्पनीहरूमा अहिले १२ हजार ३९२ जनाले प्रत्यक्ष रोजगारी पाएका हुन् । नेपालमा हाल जीवन, निर्जीवन, तथा लघु बीमा कम्पनी गरी कुल ३७ बीमा कम्पनी सञ्चालनमा छन् ।  हाल आवद्ध कर्मचारीको संख्या गत आवको यही अवधिको तुलनामा १.२९ प्रतिशतले बढेको छ । गत आवको यही अवधिमा बीमा कम्पनीहरुमा १२ हजार २३४ कर्मचारी आवद्ध थिए ।   प्राधिकरणको तथ्यांकअनुसार जीवन बीमा कम्पनीहरुमा आवद्ध कर्मचारीको संख्या ६ हजार १२९ जना रहेको छ । जुन गत आवको यही अवधिको तुलनामा ०.२९ प्रतिशतले बढी हो । गत आवको जेठ मसान्तसम्ममा बीमा कम्पनीहरुमा ६ हजार १११ जना कर्मचारी आवद्ध थिए । त्यस्तै जेठ मसान्तसम्ममा निर्जीवन बीमा कम्पनीहरुमा ६ हजार २६३ कर्मचारी आवद्ध छन् । गत आवको यही अवधिमा बीमा कम्पनीहरुमा १२ हजार २३४ कर्मचारी आवद्ध थिए ।     

स्वतन्त्र चालक फाउन्डेसनका सदस्यले आइजीआई प्रुडेन्सियलबाट बीमा सुविधा पाउने

काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेड र स्वतन्त्र चालक फाउन्डेसन नेपालबीच बीमा सेवासम्बन्धी सम्झौता भएको छ । सम्झौताअनुसार स्वतन्त्र चालक फाउन्डेसनसँग आबद्ध सदस्यहरूले आइजीआई प्रुडेन्सियलमार्फत दुर्घटना तथा स्वास्थ्य बीमासम्बन्धी सेवा, क्यासलेस उपचार सुविधा तथा दाबी प्रक्रियामा सहज र छिटो सेवा प्राप्त गर्नेछन् । सम्झौतापत्रमा आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडका बागमती प्रदेश प्रमुख श्रीराम भण्डारी र स्वतन्त्र चालक फाउन्डेसन नेपालका संस्थापक अध्यक्ष मुक्तिनाथ फुयाँलले हस्ताक्षर गरेका छन् । दुवै संस्थाले दुर्घटनापछि आवश्यक समन्वय, क्यासलेस उपचार सेवा उपलब्ध गराउने, बीमा दाबी प्रक्रियालाई सरल बनाउने तथा छिटो भुक्तानी सुनिश्चित गर्न सहकार्य गर्ने प्रतिबद्धता जनाएका छन् । सम्झौतापछि आइजीआई प्रुडेन्सियलका बागमती प्रदेश प्रमुख भण्डारीले फाउन्डेसनका सदस्यलाई कम्पनीका विभिन्न बीमा सेवाबाट लाभ लिन आग्रह गरे । उनले गुणस्तरीय सेवा उपलब्ध गराउन कम्पनी प्रतिबद्ध रहेको बताए । यस्तै, स्वतन्त्र चालक फाउन्डेसन नेपालका संस्थापक अध्यक्ष मुक्तिनाथ फुयाँलले आइजीआई प्रुडेन्सियलबाट छिटो र प्रभावकारी बीमा सेवा प्राप्त हुने विश्वास व्यक्त गर्दै फाउन्डेसनका सदस्यलाई क्रमशः कम्पनीका बीमा योजनामा आबद्ध गराउँदै लैजाने बताए ।