व्यवसाय निरन्तरताका लागि एमएसएमईमा बीमा पहुँच बढाउन जोड

काठमाडौं । संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (यूएनडीपी) नेपाल र नेपाल बिमा प्राधिकरणले सूक्ष्म, साना तथा मझौला उद्यम (एमएसएमई) मा बीमा पहुँचसम्बन्धी अध्ययन प्रतिवेदन सार्वजनिक गरेका छन् । नेपाल आर्थिक पत्रकार समाज (सेजन) को सहकार्यमा सोमबार सार्वजनिक गरिएको ‘रिस्क म्यानेजमेन्ट इन नेपाल्स एमएसएमईज : द इन्स्योरेन्स प्रोटेक्सन ग्याप’ प्रतिवेदनले बीमा पहुँच विस्तारका लागि नीतिगत तथा नियामकीय सुधार आवश्यक रहेको औँल्याएको छ । अध्ययनले एमएसएमईलाई प्राकृतिक विपद्, जलवायुजन्य जोखिम र व्यवसाय अवरोधबाट जोगाउन बीमालाई वित्तीय उत्पादन मात्र नभई व्यवसाय निरन्तरता र आर्थिक उत्थानशीलताको महत्वपूर्ण माध्यमका रूपमा विकास गर्नुपर्ने सुझाव दिएको छ । यूएनडीपीको इन्स्योरेन्स एन्ड रिस्क फाइनान्स फ्यासिलिटी (आईआरएफएफ) को सहयोगमा इन्टिग्रेटेड डेभलपमेन्ट स्टडिज (आईआईडीएस) ले अध्ययन तयार गरेको हो । प्रतिवेदन सार्वजनिकसँगै एमएसएमई क्षेत्रमा बीमा पहुँच विस्तार र वित्तीय उत्थानशीलताबारे नीतिगत संवाद पनि गरिएको थियो । अध्ययनअनुसार एमएसएमईले रोजगारी सिर्जना र आर्थिक वृद्धिमा महत्वपूर्ण योगदान दिए पनि विभिन्न जोखिमप्रति अत्यधिक संवेदनशील छन् । त्यसैले विपद् जोखिम व्यवस्थापन र व्यवसायको दीर्घकालीन स्थायित्वका लागि प्रभावकारी बीमा प्रणाली आवश्यक रहेको प्रतिवेदनले उल्लेख गरेको छ । कार्यक्रममा पूर्वअर्थमन्त्री रामेश्वर खनालले एमएसएमईको जोखिम व्यवस्थापनमा निक्षेप तथा कर्जा सुरक्षण कोष र नेपाल बिमा प्राधिकरणको भूमिका थप प्रभावकारी बनाउनुपर्ने बताए । उनले बीमा शुल्कमा उपलब्ध सरकारी सहायतालाई थप सुदृढ गर्नुपर्ने धारणा राखे । यूएनडीपी नेपालका आवासीय प्रतिनिधि क्योको योकोसुकाले एमएसएमई नेपालको अर्थतन्त्रको मेरुदण्ड भएकाले बीमा संरक्षणको दायरा विस्तार गर्नु आवश्यक रहेको बताइन् । उनले समावेशी बीमा प्रणाली विस्तारका लागि सरकार, बिमा प्राधिकरण, निजी क्षेत्र र विकास साझेदारबीच सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरिन् । नेपाल बिमा प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशीलदेव सुवेदीले अध्ययनका सिफारिसले एमएसएमईका लागि बीमालाई दिगो विकासको रणनीतिक साधनका रूपमा स्थापित गर्न र आगामी नीतिगत सुधारमा मार्गनिर्देशन गर्न सहयोग पुग्ने विश्वास व्यक्त ग रे। कार्यक्रमको अन्त्यमा सहभागीहरूले अध्ययनका सिफारिस कार्यान्वयन गर्दै एमएसएमई क्षेत्रमा रहेको बीमा संरक्षणको अन्तर घटाउन साझा प्रतिबद्धता जनाएका थिए ।

ओझाको संयोजकत्वमा बीमा क्षेत्र सुधारका लागि अध्ययन समिति गठन

काठमाडौं। अर्थ मन्त्रालयले बीमा क्षेत्रको सुधारका लागि अध्ययन गरी सुझाव पेस गर्न तीन सदस्यीय समिति गठन गरेको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मन्त्रिस्तरीय निर्णयमार्फत सुशील कुमार ओझाको संयोजकत्वमा समिति गठन गरेका हुन् ।  समितिका सदस्यमा सहदेव तिवारी र श्रीकृष्ण थापा मगर रहेका छन् । समितिलाई बीमा क्षेत्रको समग्र अवस्था अध्ययन गरी सुधारका लागि आवश्यक सुझावसहितको प्रतिवेदन ९० दिनभित्र पेस गर्ने कार्यादेश दिइएको मन्त्रालयले जनाएको छ ।

जीवन बीमा कम्पनीको नयाँ व्यापार चम्कियो, एक वर्षमा ४९ अर्बमाथि संकलन

काठमाडौं । गत आर्थिक वर्ष २०८२/८३ मा जीवन बीमा कम्पनीहरूको नयाँ व्यापारमा उत्साहजनक प्रगति देखिएको छ ।  नेपाल बीमा प्राधिकरणले सोमबार (आज) सार्वजनिक गरेको तथ्यांकअनुसार सञ्चालनमा रहेका १४ वटा जीवन बीमा कम्पनीले एक वर्षमा ४९ अर्ब ४० करोड ३३ लाख रुपैयाँ प्रथम बीमाशुल्क (नयाँ व्यापार) संकलन गरेका छन् । अघिल्लो आव २०८१/८२ मा कम्पनीहरूले ४० अर्ब १७ करोड ६० लाख रुपैयाँ प्रथम बीमाशुल्क संकलन गरेका थिए । अघिल्लो आवको तुलनामा बीमा कम्पनीहरूको नयाँ व्यापार २२.९७ प्रतिशतले बढेको छ । १ वर्षको अवधिमा सबैभन्दा धेरै नयाँ व्यापार भित्र्याउनेमा नेपाल लाइफ इन्स्योरेन्स रहेको छ । कम्पनीले एक वर्षमा १३ अर्ब ७ करोड ९२ लाख रुपैयाँ प्रथम बीमाशुल्क संकलन गरेको छ । जुन अघिल्लो आवको तुलनामा २४.६२ प्रतिशतले बढेको छ । अघिल्लो आवमा कम्पनीले १० अर्ब ४९ करोड ५१ लाख रुपैयाँ प्रथम बीमाशुल्क संकलन गरेको थियो । दोस्रो धेरै व्यापार भित्र्याउनेमा नेशनल लाइफ इन्स्योरेन्स कम्पनी रहेको छ । कम्पनीले एक वर्षको अवधिमा ६ अर्ब ९४ करोड ५२ लाख रुपैयाँ प्रथम बीमाशुल्क आर्जन गरेको छ । अघिल्लो आवमा कम्पनीले ५ अर्ब ८४ करोड ९३ लाख रुपैयाँ प्रथम बीमाशुल्क संकलन गरेको थियो । अघिल्लो आवको तुलनामा समीक्षा वर्षमा कम्पनीको नयाँ व्यापार १८.७३ प्रतिशतले बढेको छ । तेस्रो धेरै व्यापार भित्र्याउने कम्पनीमा सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी रहेको छ । कम्पनीले एक वर्षमा ३ अर्ब ७४ करोड ५५ लाख रुपैयाँ संकलन गरेको छ । कम्पनीले अघिल्लो आवमा ३ अर्ब ६ करोड ९१ लाख रुपैयाँ प्रथम बीमाशुल्क संकलन गरेको थियो । अघिल्लो आवको तुलनामा समीक्षा वर्षमा कम्पनीको नयाँ व्यापार २२.०४ प्रतिशतले बढेको छ । त्यसैगरी, १ वर्षमा लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपाल (एलआईसी नेपाल) ले ३ अर्ब ५३ करोड ७३ लाख रुपैयाँ, सिटिजन लाइफले ३ अर्ब १० करोड ७७ लाख रुपैयाँ, हिमालयन लाइफले २ अर्ब ९३ करोड २६ लाख रुपैयाँ, आइएमई लाइफले २ अर्ब ७७ करोड ४२ लाख रुपैयाँ, एसियन लाइफले २ अर्ब ७१ करोड ० लाख रुपैयाँ, सानिमा रिलायन्स लाइफले २ अर्ब ३३ करोड ५३ लाख रुपैयाँ र रिलायबल नेपाल लाइफले २ अर्ब २७ करोड ३८ लाख रुपैयाँ नयाँ बीमा शुल्क संकलन गरेका छन् । अघिल्लो आवको तुलनामा समीक्षा वर्षमा एलआईसी नेपालको नयाँ व्यापार १६.४३ प्रतिशत, सिटिजन लाइफको ४२.२७ प्रतिशत, हिमालयन लाइफको ४.६० प्रतिशत, आइएमई लाइफको ६४.९८ प्रतिशत, एसियन लाइफको २६.५२ प्रतिशत, सानिमा रिलायन्स लाइफको १९.८६ प्रतिशत र रिलायबल नेपाल लाइफको ३८.७४ प्रतिशत नयाँ व्यापार बढेको छ । त्यस्तै, प्रभु महालक्ष्मी लाइफले २ अर्ब १५ करोड २० लाख रुपैयाँ, मेट लाइफले १ अर्ब ६४ करोड ११ लाख रुपैयाँ, सन नेपाल लाइफले १ अर्ब ३७ करोड ६ लाख रुपैयाँ र राष्ट्रिय जीवन बीमा कम्पनीले ७९ करोड ७६ लाख रुपैयाँ प्रथम बीमाशुल्क संकलन गरेका छन् । अघिल्लो आवको तुलनामा समीक्षा वर्षमा प्रभु महालक्ष्मी लाइफको  नयाँ व्यापार ३४.६१ प्रतिशत, मेट लाइफको १३.१७ प्रतिशत र सन नेपाल लाइफको १७.७४ प्रतिशतले बढेको छ । राष्ट्रिय जीवन बीमा कम्पनीको भने नयाँ व्यापार २६.२६ प्रतिशतले घटेको छ ।