नेपालको निर्यात १० खर्ब पुर्याउने
नेपाल उद्योग वाणिज्य महासंघ र निजी क्षेत्रले शिथिल अर्थतन्त्रको विस्तार र नेपालमा लगानी प्रवर्द्धनका लागि विभिन्न कार्यक्रम र नीतिगत पैरवी गरिरहेको छ । जसमा सरकारको भरपुर सहयोग रहेको छ । हामीले लगानी सम्वद्ध कानुनहरुमा समस्या रहेको विषय उठायौं । सरकारले कानुनमा संसोधन गर्यो । द्धिपक्षीय लगानी प्रवद्र्धनका लागि सम्झौता आवश्यक रहेको भन्यौं । त्यसको सरकारले खाका तयार पारेको छ । अब इच्छुक देशहरुसँग सम्झौता गर्नुपर्छ । हामीले नयाँ चरणको आर्थिक सुधार आवश्यक रहेकोले सुधार आयोगको प्रस्ताव गर्यौं । आयोग बनेर सुझाव सरकारसमक्ष पेश गर्यौं । त्यसलाई सरकारले आत्मसात गरेको मात्र नभई बजेट र मौद्रिक नीतिमा केही सुझाव समावेश पनि भएका छन् । आज भन्दा तीन महिना अघि हामीले असल शासनका बिषयमा चर्चा गरेका थियौं । लगत्तै प्रधानमन्त्रीले शुसासन आयोग नै गठन गरि काम थाल्नु भएको छ । यसमा निजी क्षेत्रलाई समावेश गर्ने आसय रहेको बुझिएको छ । वर्तमान सरकारको एक वर्षको अवधिमा अर्थतन्त्र सुधारमा प्रयत्न गरेको छ । अन्तराष्ट्रिय अभ्यास अनुसार व्यवसायिक कम्पनी तथा संस्थालाई महत्वपूर्ण व्यवसायिक व्यक्ति (सीआईपी)बाट सम्मानित हुने व्यक्तिहरुलाई सरकार र समाजले निक्कै महत्व दिएको हुन्छ । सरकारका सबै मन्त्रालयहरुले यसको महत्व आत्मसात गरेका हुन्छन् । विमानस्थलमा विशेष प्रवेश र भिआइपी लाउन्जको सुविधा हुन्छ । राष्ट्रिय विमान सेवाहरुमा सेवा अपग्रेड र चेकइन लगायतका दु्रत सेवा उपलब्ध हुन्छन् । नेपालमा पनि सिआइपी लाउन्ज नबनेसम्म भिआइपी लाउन्जको सुविधा दिनु उपयुक्त हुन्छ । आन्तरिक विमानस्थलमा पनि सिआइपी लाउन्जको व्यवस्था गरिनु उपयुक्त हुन्छ । अन्तराष्ट्रिय र राष्टिय स्तरमा हुने सहभागितामा विशेष महत्व दिइएको हुन्छ । यी र यस्तै बिषयहरुमा निजी क्षेत्रको समन्वयमा वाणिज्य मन्त्रालय र व्यापार तथा निर्यात प्रवद्र्धन केन्द्रले तय गरेको वा गर्ने सेवा र सुविधा प्रदान गर्न सरकारका सबै निकाय समक्ष अनुरोध छ । यी सुधारसँगै नेपालको अर्थतन्त्रमा निजी क्षेत्रले निर्वाह गर्न सक्ने भूमिका र त्यसले अर्थतन्त्रको मुहार र आकार नै फेर्न सक्ने सम्भावना सम्मानित हुने व्यक्तित्व र संस्थाबाट नै पनि हेर्न सकिन्छ । अन्य संघसंस्थाहरुसँगै महासंघका वस्तुगत संघहरु तथा एसोसिएट सदस्यहरुको योगदान प्रसंशनीय छ । हाम्रो सम्भावना हेर्दा, निर्यात वार्षिक करिब १० खर्ब पुर्याउन सकिन्छ । कुल गार्हस्थ्य उत्पादनको ०.२ प्रतिशतमात्रै रहेको विदेशी लगानी केही बर्षमै १० प्रतिशत पुर्याउन सकिन्छ । अहिले हाम्रो विदेशी विनियम संचिति एकदमै राम्रो छ । हामीले पछिल्लो दुई वर्षमा चीन, भारत, दुवइ, थाइल्याण्ड लगायतका देशमा बिजनेस समिट आयोजना गरि लगानी जुटाउने काम भइरहेको छ । चीनमा प्रधानमन्त्रीको प्रमुख आतिथ्यतामा नै कार्यक्रम गर्याैं । हालसालै स्पेनको सिभिया र म्याडिडमा प्रधानमन्त्रीसँगै त्यहाँका लगानीकर्ताहरुसँग छलफल गर्ने अवसर जुर्यो । विश्वका विभिन्न मुलुकहरुमा भएको छलफल अन्तरक्रियाबाट लगानीकर्ताहरु नेपाल आउन चाहिरहेको महसुस भइरहेको छ । सरकारलाई निजी क्षेत्रको प्रवद्र्धनमा गरेको सत्प्रयासका लागि धन्यवाद छ र यो साथ निरन्तर रहने विश्वास छ । आजको नारा जस्तै निजी क्षेत्रको सम्मान, समृद्धिको आधार हो । हामीले निजी क्षेत्रको मर्यादाक्रमको बिषय उठाएका छौ । यसले निजी क्षेत्रलाई धेरै नै उत्साहित बनाउने हुँदा कार्यान्वयनका लागि अनुरोध छ ।
अपेक्षामा तुसारापात गरिएको औषत मौद्रिक नीति
आगामी आर्थिक बर्ष ०८२/८३ को लागि सरकारले बजेट तथा नीति कार्यक्रम ल्याइसकेपछि नेपाल राष्ट्र बैंकले शुक्रबार मौद्रिक नीति समेत सार्वजनिक गरेको छ । नयाँ गभर्नर प्रा.डा विश्वनाथ पौडेलको नेतृत्वमा आएको नयाँ मौद्रिक नीतिलाई लिएर यतिबेला विभिन्न कोणबाट चर्चा परिचर्चा भइरहेका छन् । पहिलो त आर्थिक बर्ष सुरु हुनु केही दिन अगावै मौद्रिक नीति आउनु सकारात्मक पाटो हो । जसले गर्दा मौद्रिक नीति अनुरूप बैंक तथा वित्तीय संस्थाहरूलाई नयाँ योजनाहरू बनाएर अघि बढ्न पर्याप्त समय मिलेको छ । अर्को यसपटकको मौद्रिक नीतिले बैंर्करहरूका सुझावलाई सतप्रतिशत जसो सम्बोधन गरेको छ । नेपाल बैंकर्स संघका अध्यक्ष सन्तोष कोइरालाले नै मौद्रिक नीतिमा बैंकर्सका ९० प्रतिशत सुझाब समेटिएको बताएका छन् । वास्तवमा जनताको अथाह निक्षेप सुरक्षाको दायित्व बोकेका र संस्थालाई हरेक हिसाबले अगाडि लैजानुपर्ने जिम्मेवारीमा रहेका बैंकर्सहरूको सुझावलाई गभर्नरले प्राथमिकता दिएर सम्बोधन गर्नु राम्रो हो । किनकी डाक्टरलाई मात्र बिरामीका समस्या थाहा हुन्छ भने झै अहिलेको वित्तीय क्षेत्रका समस्याको नशा बैंकर्सहरूले नै बढ्ता छामेका छन् । त्यसकारण वित्तीय क्षेत्रका समस्या समाधान गर्न बैंकर्सहरूको सुझाव सम्बोधन हुनु मौद्रिक नीतिको एउटा राम्रो पक्ष हो । बैंकर्सहरूले पनि अर्थतन्त्र गतिहिन हुनुको कारण सेयर बजार र घरजग्गा कारोबारमा आएको सुस्तताले बढी काम गरेको निष्कर्ष निकालेका थिए । त्यसैलाई सम्बोधन गर्दै आगामी आर्थिक बर्ष २०८२/८३ का लागि ल्याइएको मौद्रिक नीतिमा आवासीय घर निर्माण र खरिद गर्न प्रवाह गरिने कर्जाको सीमा २ करोड रूपैयाँबाट बढाई ३ करोड रूपैयाँ कायम गरिएको छ । पहिलो घर निर्माण र खरिद गर्दा कर्जा प्रवाहका लागि कर्जा मूल्य अनुपात ८० प्रतिशतसम्म र जग्गाको हकमा ७० प्रतिशतसम्म कायम गर्ने व्यवस्था गरिएको छ । यसले घरजग्गा, प्लटिङ व्यवसायमा रौनक आउने अपेक्षा गरिएको छ । निश्चय पनि मौद्रिक नीतिको यस प्रोभिजनले घरजग्गा क्षेत्रको मन्दीलाई हटाएर यस क्षेत्रको चहलपहल बढाउन सक्छ । जसले समग्र रुपमा अर्थतन्त्रलाई गतिशील बनाउन, राजस्व आम्दानी बढाउन भुमिका खेल्ने नै छ । तर सार्वजनिक वृत्तमा अहिले धेरैजसो बैंक तथा वित्तीय संस्थाहरूले आफ्नो खराब कर्जाको हिसाब लुकाएको र यथार्थमा त्यस्तो खराब कर्जाको दर दोहोरो अंकमा पुगिसकेको भनेर हल्ला पनि चलाइएका छन् । यदि अवस्था त्यस्तै हो भने र बैंकहरुको खराब कर्जाको स्थिति १० प्रतिशत नाघेको हो भने घरजग्गा क्षेत्रमा गरिएको पछिल्लो उदारता थप घातक हुनसक्छ । किनकी बैंक तथा वित्तीय क्षेत्रमा जम्मा भएका रकम सरकारको होइन बैंकहरुका पनि होइनन् त्यो आम पब्लिकको रकम हो । त्यहाँ त पछिल्ला समय विदेशीएकाहरूले पठाएका रेमिट्यान्स थुप्रिएका छन् । बैक तथा वित्तीय संस्थाहरूलाई विश्वास गरि आम पब्लिकले थुपारेका पैसा सजगता पूर्वक अर्थतन्त्रको वृद्धि, रोजगारी सिर्जना र सरकारको विकास निर्माणको लक्ष्यमा लगाउनु मौद्रिक नीतिको दायित्व हो । ताकी त्यस्तो नीतिले सरकारको पनि लक्ष्य उद्देश्यमा सहयोग पुगोस् र जनताको निक्षेप पनि सुरक्षित होस् । अधिकांश रकम जनताको रहने कारण पनि मौद्रिक नीतिको प्रमुख प्राथमिकता सो रकमको सुरक्षा नै हुनुपर्छ । जस्तो अहिले घरजग्गा क्षेत्रमा भएका लगानीमा धेरैजसो समस्या देखिएका हुन् । बीचमा त्यस क्षेत्रलाई कसी कसाउ गर्दा घरजग्गा क्षेत्रमा मन्दी पनि देखियो । अहिले पुन त्यस क्षेत्रमा जाने कर्जा प्रवाहलाई सहजीकरण र खुल्ला गरिएको छ । खासगरी पहिलो घरजग्गा किन्न चाहनेलाई सुविधा छ । त्यसले घरजग्गा क्षेत्रलाई पनि र अर्थतन्त्रलाई सहजीकरण गरोस् त्यो नै आम अपेक्षा हो । अर्को मौद्रिक नीतिले सेयर धितो कर्जामा व्यक्तिगततर्फको १५ करोडको सीमा हटाएर २५ करोड पुर्याएको छ । यसले सेयर बजारमा लगानीकर्ताको मनोबल बढ्नुको साथै सेयर माग बढ्नेछ र सेयर बजार बढ्ने देखिन्छ । हुन त बैंक तथा वित्तीय क्षेत्रमा अरु धेरै ब्यवस्था पनि नयाँ आएका छन् । जसले समग्रमा सेयर बजारलाई सघाउने देखिन्छ । त्यसैगरी मौद्रिक नीतिमा ब्याजदर करिडोर सिमा घटाइएको छ । नीतिगत दरलाई ५ प्रतिशतबाट घटाइ ४.५ प्रतिशत कायम गरिएको छ । जसले ब्याजदर घटाउनेछ र कर्जाको माग बढाउने आँकलन गर्न सकिन्छ । अहिले बैंकहरुमा अधिक तरलता (८ खर्ब बढी) रहेको अवस्था छ । यसले बैंकहरुमा राखिने निक्षेपको ब्याज समेत कम हुने कारण निक्षेप निरुत्साहित हुने तथा पुँजी पलायनको डर समेत रहन्छ । मौद्रिक नीतिमा चालु पुँजी कर्जासम्बन्धी मार्गदर्शनलाई कृषि, साना तथा घरेलु उद्योग, शिक्षा, स्वास्थ्य, खेलकुद, सञ्चार र मिडिया हाउस लगायतको व्यवसायको प्रकृति र कर्जा भुक्तानी आम्दानी चक्रको आधारमा आवश्यक परिमार्जन गरिने भनिएको छ । यसले साना तथा घरेलु उद्योगहरूको चालु पुँजी सम्बन्धी समस्या हल गर्न सहयोग पुग्छ । त्यसैगरी मौद्रिक नीतिमा रामेश्वर खनाल नेतृत्वको उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले सुझाएको जस्तै सम्पत्ति व्यवस्थापन कम्पनी स्थापना गर्ने कुरा आएको छ । यसले बैंकहरुमा थुप्रिएका गैर वित्तीय सम्पत्ति व्यवस्थापनका लागि सहयोग पुग्छ । खराब कर्जा बढिरहेको अहिलेको बैंकहरुको टाउको दुखाइको विषय नै थुप्रिएको गैर वित्तीय सम्पातिको व्यवस्थापन हो । त्यसकारण त्यो एउटा नयाँ र अति नै आवश्यक कुरा आएको छ । तर अहिले जुन ढंगले पैसाको प्रवाह बढाउने हिसाबले मौद्रिक नीति आएको छ, त्यसले समग्र वित्तीय समस्या हल गर्छ भन्न सकिँदैन । किनकी नेपाली अर्थतन्त्र अहिले संरचनागत समस्याले जकडिएको छ । आर्थिक, व्यावसायिक वातावरण नै खलल छ । अर्थतन्त्रको इन्जिन नै बिग्रिएको अवस्था छ । फलस्वरुप पनि वित्तीय क्षेत्रमा जति नै लगानी योग्य पुँजी (तरलता) थुप्रिए पनि कर्जाको माग छैन । कर्जाको माग बढ्न नसक्नुमा देशको धेरैजसो आर्थिक नीति, रोजगार नीति तथा कार्यक्रम, वित्त नीतिले काम गर्न नसकेर युवा पलायनले गर्दा हो । फलस्वरुप पनि बजारमा माग छैन । बजार माग सिर्जना नहुँदा उद्यमी व्यवसायीहरूले कर्जाको माग पनि गरेनन् । फलस्वरुप तरलता थुप्रिएको अवस्था हो । त्यसकारण अर्थतन्त्रको समग्र संरचनात्मक सुधार नगरी फगत बर्ष बर्षमा वित्त नीतिलाई हरेर ल्याइने मौद्रिक नीतिको औजारले मात्र अर्थतन्त्र सुधार हुँदैन । तरलता थुप्रियो, ऋणको माग छैन भनेर जबर्जस्ती कर्जा प्रवाह बढाउने र सहज मुद्रा प्रवाहको नीतिले मात्र समस्याको समाधान गर्दैन । बरु त्यसले भविष्यमा थप समस्याहरू निम्त्याउन पनि सक्छ । त्यसकारण जोखिमको क्षेत्रमा मौद्रिक नीतिले जनताको निक्षेपको सुरक्षालाई हेरेर नीति ल्याउनु पर्छ । सजगता पूर्वक ल्याइनु पर्छ । खासगरी मौद्रिक नीति निक्षेपकर्तालाई पहिलो प्राथमिकतामा राखेर ल्याइनुपर्ने पैसाको नियमन गर्ने नीति हो । किनकी त्यस्तो नीति ठीक नभए बैंकहरुमा थप समस्या आउन सक्छन् । फलस्वरुप जनताको निक्षेप डुब्ने खतरा हुन्छ । जस्तो कि सन् २००८ को विश्वव्यापी संकट पनि अधिक खुल्लापनको कारण सिर्जना भएको थियो । कर्जा प्रवाहलाई अधिक सहजता दिएसँगै कतिपय अमेरिकी बैंकहरू नै डुबेका थिए त्यतिबेला । त्यसकारण मौद्रिक नीति बैंकहरुको वित्तीय अवस्था र समस्याहरूको गहिरो अध्ययनपछि आउनु पर्छ । ताकि त्यसपछि आउने नीतिले बैंकहरुलाई पनि, अर्थतन्त्रलाई पनि, उद्यमी व्यवसायीहरूलाई पनि सबै सरोकारवालाई लाभग्राही बनाओस् । तर गभर्नर प्राडा विश्वनाथ पौडेल नेतृत्वको राष्ट्र बैंकले यसपटक पनि विगतकै जस्तो केही तथ्याङ्कीय हेरफेर गरेर मौद्रिक नीति ल्याएको छ । समग्र अर्थतन्त्रको समस्याहरूलाई दीर्घकालिन हल गर्ने सोच सहित मौद्रिक नीति आएको छैन । बरु लोकप्रिय हिसाबको, सबैले राखेका माग र मुद्धाहरुलाई केही न केही सम्बोधन गरेको, लोकरिझ्याइँ हिसाबले मौद्रिक नीति आएको छ । मौद्रिक नीतिले अर्थतन्त्रलाई चलायमान बनाउन थुप्रै व्यवस्था गरेको भएपनि नयाँपन भने दिन सकेको छैन । रोजगारी र युवा उद्यमशीलता बढाउने कुरामा ध्यान दिएको छैन । कर्जा प्रवाह र कर्जामा पहुँचका विषयमा बोल्दै आएका गभर्नरले मौद्रिक नीतिमा त्यसबारे आवश्यक सम्बोधन गरेकै छैनन् । गभर्नरको जुन विश्वस्तरको अध्ययन र काम गरेको भनिएको अनुभव मौद्रिक नीतिमा कत्ति पनि देखिएको छैन । यत्तिको नीतिहरू विगतमा पनि आएका हुन् । थोर बहुत फेरबदल र हेरफेरले मात्रै मुद्राको सही प्रवाह हुन सक्दैन । त्यसको लागि वैज्ञानिक नीति र कार्यक्रम आउनै पर्छ । दिनहुँ भाषण र सभा सम्मेलनमा गएर बोलेको जस्तो हुँदैन, सिर्जनशील हिसाबको नीति तथा कार्यक्रमले मात्र अर्थतन्त्रमा सुधार आउँछ । नेपाली मोटो, भुगोल, संस्कार, संस्कृति र सम्भावना अनुकूल वैज्ञानिक र सिर्जनशील ति कार्यक्रमले डोर्याउँदा मात्र अर्थतन्त्रले लय समात्ने हो । जनताको निक्षेप नडुब्ने र त्यही पुँजीलाई सही ठाउँमा डोर्याएर आर्थिक विकास गर्ने औजारको रुपमा मौद्रिक नीतिले काम गर्न सक्थ्यो । त्यो ढंगले मौद्रिक नीति आएन । पुरानै शैलीमा औषत मौद्रिक नीति आयो । जुन गभर्नरबाट अपेक्षा गरिएको भन्दा निकै कम हो । (गौतम आर्थिक लेखक तथा विश्लेषक हुन् ।)
बच्चा जन्मन डराउने प्रवृत्ति मानव अस्तित्वकै जोखिम
कुनै पनि देश हुनका लागि जनसङ्ख्या चाहिन्छ । जनसङ्ख्या बिना देश हुँदैन । पहिलो शर्त जनसङ्ख्या हो । जनसङ्ख्या भयो भने जनसङ्ख्याले देश बनाउँदो पनि रहेछ । कति वर्ष देश नभएको जनसङ्ख्याले देश बनाएको हामीले देखेका छौँ । इजरायलसँग देश थिएन । दोस्रो विश्वयुद्धको लगत्तैपछि इजरायल देश बन्यो । किनभने, त्यो बनाउने जनसङ्ख्या थियो । भूगोलले देश बनाउँदैन । भूगोल त जनसङ्ख्या र बसोबासभित्रको नियन्त्रणको क्षेत्र देश हुँदोरहेछ । त्यसो भएर जनसङ्ख्या सबैभन्दा महत्वपूर्ण कुरा हो । मैले अक्सर भन्ने गर्छु, यदि मानव जाति हुँदैनथ्यो भने यो पृथ्वी अर्थहीन हुन्थ्यो । यहाँको विकास कसले बुझिदिने, विकासको आवश्यकता किन पर्ने, जङ्गली जनावरलाई विकास हुनुले के फाइदा ? यहाँको सुन्दरताको अनुभूति कसले गर्दिने ? कति सुन्दर पृथ्वी, कस्तो प्रकृति, कस्तो प्राकृतिक छटा, कस्तो सृष्टि, कस्तो लय, कस्तो विनाश, कस्तो साइकल सृष्टिको, लयको र विनाशको ! यो सौर्यमण्डल पृथ्वी नभए के अर्थ हुन्थ्यो ? कसले थाहा पाउन्थ्यो, यो ब्रम्हाण्डको के अर्थ थियो ? यी तारा नक्षेत्रहरु र ग्रहहरु घुम्नुको के अर्थ थियो ? यिनको अस्तित्वको के अर्थ थियो ? त्यसलाई नै बुझ्ने मान्छे भएन भने अर्बौं र खर्बौं अझ धेरै खर्ब वर्षहरु कति वर्ष यो भनेको त एउटा परिकल्पित कुरा हो । यो परिकल्पना कसले गर्यो, समय कसले बाँड्यो, कसले समय सिर्जना गर्यो, कुन मान्छेको जन्म र कुन मान्छेको मृत्युलाई के आधार बनाएर अघि र पछि बनाइबनाइकन समय बाँडेर, यो सबै मान्छेको लिला हो । यही मान्छे भएन भने के काम भयो र ? जनसङ्ख्या छ र प्रकृति–सृष्टिको अर्थपूर्ण छ । मानिस छैन भने प्रकृति र सृष्टि अर्थपूर्ण छैन । धर्ती मात्रै हो, जहाँ मानिस छ । त्यसकारण यस धर्तीको सौर्यमण्डलमा मात्रै होइन कि विश्व ब्रम्हाण्डमा सबैभन्दा महत्वपूर्ण सौर्यमण्डल कुनै छ भने हाम्रै सौर्यमण्डल हो । ग्यालेक्सी कुनै छ भने हाम्रै ग्यालेक्सी हो । ग्रह कुनै छ भने हाम्रै ग्रह, यही पृथ्वी नै विश्वका सृष्टिमध्ये, नक्षेत्रका उपजहरुमध्ये, ब्रम्हाण्डका उपजहरुमध्ये यो ग्रह नै विश्वको सृष्टिको सर्वोत्कृष्ट हो । यो ग्रहमा सिर्जना भएका, यो ग्रहलाई यस गरिमामय स्थानमा पु¥याउने कामको वास्तवमा अर्थ नै मानव जातिको अस्तित्वसँग छ । तसर्थ, यदि मानव जाति नभए के काम ? तसर्थ, हामी मानव जातिको अस्तित्व, मानव जातिको सुख, समृद्धि, सुखपूर्ण अस्तित्व, सुखपूर्ण अस्तित्व भएन भने फेरि अस्तित्व लोप हुन्छ । त्यसकारण अस्तित्व रक्षाका लागि कतिपय जीवजन्तु किन खत्तम हुँदैछन् भने सुखपूर्ण छैन । मानव जातिको अस्तित्व अहिलेसम्म खतरामा छैन । तर मानव जातिका आनीबानी आदि कुराहरुले गर्दा अस्तित्व अलिकति खतरामा पर्ने सम्भावना छ । त्यसकारण यसपट्टि अब ध्यान दिनेबेला भयो । एजिङ पपुलेशनका कारणले दुनियाँलाई अलिक चिन्तित बनाउन थालेको छ । जनसाङ्ख्यिकी बनोट नकारात्मक दिशातर्फ फर्किनु भनेको राम्रो सङ्केत भएन । जनसङ्ख्या एकदमै बढेर बिस्फोटको एउटा समय थियो । हामी जनसङ्ख्या बिस्फोट भन्थ्यौँ । त्यसबेला परिवार नियोजन संस्थाहरु बने । रेडियो खोल्नेबित्तिकै परिवार नियोजन ! सन्तानहरुले डाँडाकाँडा ढाकुन् नभन भनेर कराउँथ्यो । कत्रो चिन्ता थियो, सन्तानहरुले डाँडाकाँडा ढाकोस् नभन भनेर । बुढाबूढीले आर्शिवाद दिँदा सन्तानले डाँडाकाँँडा ढाकुन् भनेर भन्नु हुन्थ्यो, रेडियो खोल्नै हुँदैनथ्यो, खोल्नेबित्तिकै सन्तानहरुले डाँडाकाँडा ढाकोस् नभन भनेर गीत गाउँथ्यो । दुनियाँमा जनसङ्ख्या एकदम तीव्र गतिका साथ बढिराखेको थियो । विकासले जनसङ्ख्याको बढ्दो ‘टेण्ड’लाई घट्दोतर्फ फर्कायो र कतिपय देशमा जनसङ्ख्या स्टेबल (स्थिर) छैन र माइनस (ऋणात्मक) तिर गएको छ । जहाँ बढी विकास छ, त्यहाँ ऋणात्मकतिर गएको छ अथवा विकासले जनसङ्ख्यालाई स्टेबल (स्थिर) राख्नुपर्दथ्यो तर स्थिर राख्न सकेन । जनसङ्ख्या मानवीय नियन्त्रणभन्दा कहिले बिस्फोटक दिशामा गइदिने, कहिले फेरि नकारात्मक दिशामा जाने प्रवृत्तिहरु देखा परे । विकास अनिवार्य छ । अवश्यमा भावी छ । विकास गर्नैपर्छ र हुनैपर्छ । विकास हुन्छ नै, अवश्य भावी छ । विकासको अर्थ जनसङ्ख्या हस हो भने इट्स भेरी डेन्जरस् । त्यसकारण यो चिन्ताको विषय पनि हो । मुख्य कुरा जनसङ्ख्याको विषय भनेको डेमोग्राफिक ब्यालेन्स हो । यो घट्दै गएर नजाओस् । यसका कारणहरु के छन् त ? विवाह ढिलो गर्नु हो की ? विकास र उन्नतिको आकाङ्क्षाले गर्दा सन्तानप्रति कर्तव्य बोध हुन नसकेको हो की ? अथवा मानवीय भाव, मातृत्वभाव, पितृत्वभावको न्यूनता आएको हो कि ? अर्थात् मानवीय भावको न्यूनता आएको हो की ? बच्चाहरुप्रतिको प्राकृतिक स्नेहमा न्यूनता आएको हो कि ? के भइराखेको हो ? यसका मनोवैज्ञानिक विश्लेषणहरु हुनु आवश्यक छ । मान्छे यति स्वार्थी भयो की आफ्नो भविष्यका लागि सन्ततिको वास्ता नगर्ने । अथवा जन्माउँदै नजन्माउने भएपछि धर्ती बाँझो हुने भयो, बाँझो भयो भने सबै फेरि गयो । त्यसले ब्रम्हाण्डको अर्थ छैन । पृथ्वीमा मात्रै मानव छ । मानव मात्रै श्रेष्ठ छ । प्रकृतिले सिर्जना गरेका सबैभन्दा श्रेष्ठतम् कुरामा के हो भन्दा मानव मस्तिष्क हो । त्यही मास्तिष्क भएको मानिस धर्तीमा भएन भने ! मानिसले गज्जब गरेको छ, कहाँ छ चन्द्रमा ताकेर जान्छ, बस्छ र फर्किएर आउँछ । आकास आकास नै दुई चार सय मान्छे बोकेर, कति कति टन भारी बोकेर आकाशमार्ग गरेर जान्छ । बादलभन्दा धेरै छिटो उड्छ । मान्छेले त उधुम गरेको छ । हामीलाई देख्दा सामान्य लाग्न थाल्यो तर यी सामान्य कुरा त होइनन् नी ! मान्छेले यही प्रगति गरेको छ । अनि त्यही मान्छे भएन भने ? त्यसकारण म सम्पूर्णलाई आग्रह गर्न चाहन्छु, हामी सचेत हुन जरुरी छ । मानिस जति मूल्यवान चिज अर्को छैन । यो हाम्रा लागि मात्रै होइन । यो सृष्टि सिर्जनाकै लागि मानव जति मूल्यवान् चिज अर्को छैन । प्लिज मान्छे मार्नेहरु मान्छे मार्न छोड, युद्ध गर्नेहरु युद्ध गर्न छोड, मान्छे मार्ने हतियार उत्पादन गर्नेहरु हतियार उत्पादन गर्न छोड । गोष्ठी जनसङ्ख्या डेमोग्राफिक इम्ब्यालेन्स भयो भनेर गर्दै गर्ने, उता हतियार बनाउँदै गर्ने, एकैपटक ‘मासडिस्ट्रक्शन’का हतियार बनाइदिने । यसबारेमा चिन्ता गर्दै गोष्ठी सेमिनार गर्दै गर्ने, खर्च पनि गर्ने । अर्को कुरा, मेरा पनि छोराछोरी छैनन् । सायद मैले समयमै बिहे नगरेर पनि होला । मैले छोराछोरी भएन भनेर जचाउनतिर लागिन । ध्यान दिइनँ तर हामी यति व्यस्त हुनु हुँदैन, जसले सन्तान वा उत्तराधिकारी जन्माउने काम नगरोस् । हामीलाई हरेक अफिसमा उत्तराधिकारी चाहिन्छ । एउटा सचिव जानेबित्तिकै अर्को सचिव तुरुन्तै नियुक्त गर्नुपर्छ । सचिव बढुवा हुने बित्तिकै फेरि सहसचिवलाई बढुवा गर्नुपर्छ । रिक्त हुनेबित्तिकै फेरि आह्वान गर्न लोकसेवा चाहिन्छ । उत्तराधिकारी हरेक ठाउँमा चाहिने, अनि घरमै उत्तराधिकारी छैन ! त्यसो भएर पहिलो कुरा मानवीय अस्तित्व र सृष्टिको सार्थकताका लागि हो । यो सानो कुरा होइन । सृष्टिको सार्थकताका लागि डेमोग्राफिक इस्यु सर्वाधिक महत्वको यसकारणले हो । यही धर्तीमा कतै जनसङ्ख्या धेरै छ, कतै कम छ भने यताको र उताको ल्याउँला । डिभी खोल्दै लाँदै गरेको हामीले त देखेकै हो नि । जमिन धेरै छ, मान्छेको आवश्यकता छ भने डिभी हालेर झिकाउन सकिहालिन्छ । तर, धर्तीमै डिभी हाल्दा पनि नपाइने भयो भने के गर्ने ? मान्छे छैन भने डिभी हाल्ने त कोही पनि हुँदैन । अनि के गर्ने ? त्यसकारण यसमा आत्मनिर्भर हुनुपर्यो । मैले केही सयम अघि युवाको एउटा कार्यक्रममा भनेको थिएँ, २० वर्षपछि बिहे गर्न सरकारले उमेर खोल्दिएको छ । भन्यो भने फेरि केहीले इस्यु बनाएर कुद्छन् । तर, हाम्रो तराईमा २० वर्षसम्म छोरी टिकाउनु भनेको साह्रै गाहे कुरा भइराखेको छ । अविवाहित हिसाबले टिकाउन धेरै गाह्रो भइराखेको छ । मैले युवाहरुलाई भनेको थिएँ कि सकेसम्म २० वर्षपछि तुरुन्तै बिहे गरिहाल । छोराछोरी तीन वटा बनाउ । ३० वर्षभित्र तीन वटा छोराछोरी बनाउ, अनि काममा लाग । ठूलो त हुर्किसक्छ नि कान्छो हुँदासम्म । कान्छी छोरी हुँदासम्म जेठी छोरी हुर्किसकेको हुन्छ । आजकाल के छ भने, बाबुआमालाई पैसा कमाउन थालेपछि आजकाल कोक्रामा सुताउने स्कुल छन् । बच्चाबच्चीलाई स्कुल हाल्दिने । कोक्रामा सुताउने स्कुल, बामे सराउने स्कुल, ओल्टाउने पल्टाउने स्कुल, धुलो खेलाउने स्कुल, प्याप्या बजाउने सबै खालका स्कुल छन् हेरविचार गर्नलाई । त्यतापट्टि धेरै चिन्ता गर्नु पर्दैन । तसर्थ, विभिन्न व्यावसायिक विविधताले पनि आजकल सजिलो बनाएको छ । यसमा पनि धेरै चिन्ता गर्नु परेन । देशलाई पुग्ने जनसङ्ख्या हुनु प¥यो । हामी कहाँ देशलाई पुग्ने जनसङ्ख्या छ । जनसङ्ख्याको व्यवस्थापन अझै हुन सकेको छैन । त्यसकारण हाम्रा युवाहरु के गीत गाउँछन् भने ४० कटेपछि रमाउला । महिलाहरु प्रजनन् क्षमता ४० कटेपछि अत्यन्तै न्यून हुन्छ वा प्रायः हुँदैन । अनि ४० कटेपछि रमाउला भनेर हुन्छ ? त्यसकारण २० वर्ष पुगेपछि बिहे गर र सन्तान जन्माउ । त्यसमा युवायुवतीहरुलाई प्रेरित गर्नुपर्छ, प्रोत्साहित गर्नुपर्छ । यो गम्भीर कुरा हो । जतिबेला प्रजनन् क्षमता बढी छ, त्यति बेला जन्माउनुपर्छ । पछि ढुक्कले काम पनि गर्न पाइन्छ, केटाकेटी पनि हुर्किहाल्छन् र पढ्छन्, आफ्नो काममा लाग्छन् । छोराछोरीको उन्नति प्रगति पनि राम्ररी देख्न पाइन्छ । नातिनातिना खेलाउने रहर पनि पूरा गर्न पाइन्छ, पनाति–पनातिनीले खेलाउने रहर पुर्याउन पाइन्छ । अब अलिकति ६०/७० वर्षभन्दा मुनिका मान्छेलाई नातिनातिनी खेलाउने भनेको रहर भनेको के हो, थाहा हुँदैन । नातिनातिनी खेलाउने, पनाति–पनातिनी खेलाउने संयुक्त परिवार प्रणाली छ, यो असाध्यै महत्वको व्यवस्था हाम्रा पूर्वजहरुले स्थापना गरेका छन् । परिवार भनेको एकल परिवार होइन । भालेपोथी र बच्चा चराको पनि हुन्छ नि । त्यो परिवार हुन्छ ? गाईको पनि एउटा बाछो हुन्छ, बाछी हुन्छ । त्यो परिवार हुन्छ ? हुँदैन । परिवार भनेको परिवारका रुपमा हुनुप¥यो । त्यो हाम्रो समाजमा हुन्छ । यसलाई हामीले कायम गर्नुपर्छ । पारिवारिक प्रणाली, मानवता, पारिवारिक सद्भाव, नाता सम्बन्ध, बसुधैब कुटुम्बकम् विश्व नै कुटुम्ब भनेको छ । कुटुम्बको कसैलाई केही मतलब नै छैन । आफैँआफैँ मै खाउँ, मै लाउ, सुखसयल वा मोज म गरुँ । आफ्नो स्वार्थका लागि श्रीमतीसँग सम्बन्धबिच्छेद गर्छ, कान्छी ल्याउनलाई जेठीसँग सम्बन्धबिच्छेद गर्छ, धुरुधुरु रुवाएर । त्यस्ता पनि यहाँ छन् नि । त्यो खालका तरिका छोड्नुपर्छ । मानवीय भावना, पारिवारिक भावना, पारिवारिक आत्मियता, छिमेक सम्बन्ध, छिमेकी–छिमेकीको बीचमा सुमधुर सम्बन्ध, समुदायमा सुमधुर सम्बन्ध हाम्रो तरिका यो हो । स्वार्थ मात्रै सिक्ने होइन, उन्नति गर मानवीय भावनाका साथ । मानवताका साथ उन्नति गर । प्रगति आफ्नो गर, सहयोग अरूलाई गर । यो भावना हामीमा हुनुपर्छ । हामीले हरेक स्वस्थ र सक्षम नागरिक तयार गर्नु छ । हाम्रो जनसाङ्ख्यिक प्रश्नको अर्को महत्वपूर्ण कुरा त्यो हो । एउटा एक्जिस्ट्यान्सको कुरा, दोस्रो स्वस्थ, सक्षम, देशभक्त, कर्मठ र सक्षम हुनुपर्छ । त्यसका लागि शारीरिक र मानसिक दुवै हिसाबले स्वस्थ हुनुपर्छ । अहिले मानिस शारीरिक हिसाबले पनि कम स्वस्थ छ । ‘फुड ह्याबिट’ले गर्दा स्वस्थ छैन । उपलब्ध खान त खानु पर्यो नि, जो उपलब्ध त, त्यो स्वस्थ छैन । समस्या त्यो छ । किनेर पनि स्वस्थ खान पाइँदैन । विषादीयुक्त चीज किनेर खानुपर्छ । विषादी किनेर खानुपर्ने बाध्यतामा हामी छौँ । यो बाध्यता कसरी हटाउने, डेमोग्राफिक प्रश्नको एउटा अर्को कुरा हो कि हामीले स्वस्थ जीवन रहनका लागि पेट भर्ने खाना होइन, स्वस्थ रहने खानाको प्रबन्ध गर्नुपर्छ । यो जनसङ्ख्या नीति, डेमोग्राफिक पोलिसीले इन्डिकेट गर्दिने र अरू सरोकारवाला मन्त्रालयले आ–आफ्ना काम गर्ने । समाज सचेत भएर यस्ता प्रयासहरुमा लाग्ने । अहिले समाज गम्भीर हुनुपर्ने ठाउँमा गम्भीर छैन । कति छिटो आवेशमा आउँछ, कति छिटो उत्तेजना आउँछ मान्छेलाई, छक्क पर्छु । के भएको फेरि ? हामी त एउटा सभ्रान्त पुर्खा र पुस्ताका सन्तान हौँ । हामीलाई त त्यो सभ्यता कता गयो गयो, अर्काको चरित्र हत्या गर्न मन लाग्छ, अरूलाई जथाभावी गालीगलौज गर्न मन लाग्छ, के भएको ? हाम्रो त विनयशीलता थियो, झुक्थ्यौँ, भेट्दा नमस्ते गर्दैथ्यौँ । आजकाल नमस्ते गर्नु भनेको ढाडै कुप्रिहाल्छ कि जस्तै गर्छन् । हात जोडियो भने छुट्दैन कि जस्तो डरले हात हामी जोड्न सक्दैनौँ । नक्कल गर्न सुगालाई छ महिना लाग्छ, हामीलाई एकै छिनमा, कोही भेट्याैँ भने हाई ! गर्छौं । एकपटक होटलमा गयो भने, बच्चाबच्चीहरुले हुक्का राखेको हुन्छ, एउटाले खाउँ न भन्छ, एकैछिनमा ख्वार्रख्वार्र पार्छ । बिग्रिन कति सजिलो र कति छिटो हुन्छ तर सप्रिन ! जिन्दगीभर राम्रो काम गर्नुस्, बल्ल राम्रो मान्छे हुनुहुन्छ । एक दिन बाटो बिराउनुस्, नराम्रो काम गर्नुस् खराब मान्छेमा तपाईंको चर्चा हुन्छ । त्यसकारण बिग्रिन सजिलो छ । सप्रिन जिन्दगीभरि अडानमा बस्नुपर्छ । आपूmलाई नियन्त्रण गर्नुपर्छ र आत्मनियन्त्रक हुनुपर्छ । हामी नेपालीले जिम्मेवार, आत्मनियन्त्रक जसले पहिले गलत विचार लिनबाट, गलत क्रियाकलाप गर्नबाट, गलत काम गर्नबाट जोगाउनु पर्यो र राम्रा विचार, राम्रा अभिव्यक्ति र राम्रा कामतर्फ हामीलाई लगाउनु पर्यो । अहिले त मान्छे कस्तो भयोभन्दा राम्रो केही भन्नै हुँदैन । राम्रो देख्यो भने कच्याककुचुक पार्न मन लाग्ने । कति राम्रो गुलाफको भन्यो भने, ह्याँ के राम्रो त्यो, यस्तो पनि हुन्छ भनेर फाल्छन् । राम्रो भनेको सुन्नै नहुने । एउटा मात्रै राम्रो भनेको सुन्न पर्ने, हजुर राम्रो हुनुहुन्छ भन्यो भने, अँ, ठीक छ । अरू केही राम्रो भन्नै नहुने । मान्छेमा त्यो प्रवृत्ति, कस्तो सङ्कीर्णता मान्छेमा आइराखेको छ ? एक ढङ्गले भन्ने हो भने समाजमा अस्वस्थता शारीरिक, मानसिक यो खानपिनले गरेको हो कि, यो विषादी किनेर खाएर हो कि, के भएको मान्छे, विषाक्त मनस्थिति, विषाक्त विचार, विषाक्त अभिव्यक्ति, विषाक्त क्रियाकलाप ? त्यस्तो खालको प्रवृत्ति मान्छेहरुमा छ । त्यसकारण हामीले स्वस्थ, विषादी र विषाक्तताबाट मुक्त त्यस्तो मानव र नागरिक, जो देश बनाउने कुरापट्टि लाग्नुपर्छ । देश बनाउका लागि आफू आफू बने पुग्छ । सबै मान्छे बन्दिए भने सरकारले बाटा बनाए पुग्थ्यो । आफू आफू मान्छे बन्यो भने सरकारले धेरै केही गर्नु पर्दैन नि । अब यहाँ कस्तो भने प्रशस्त धन छ, तर धन भए पनि पढ्ने बेलामा छात्रवृत्ति चाहिन्छ । सरकारको काम के हो, निःशुल्क शिक्षा चाहिँदैन भन्छ । सरकारलाई कर तिर्नु न भन्दा भरसक यो हिसाब मिलाउँ न है भनेर त्यहाँ कर्मचारीहरुलाई भन्छ । ए सिए साप तपाईंलाई यहाँ हिसाब जाँच्न मात्रै होइन, हिसाब मिलाउनुस्, तपाईंलाई यसो दसैँ आउन लागेको छ भन्छ । सिएलाई पनि मिलाएर यताउति गरेर गर्छ । ठेकदार कहाँ जाँचकी आउँछ, उसलाई मिलाएर जस्तो गुणस्तरको भए पनि पास गराउने प्रवृत्ति छ । यस्ता कुराबाट जोगिनुपर्छ । देश बनाउने भनेको सजिलो होइन । असल मान्छेहरुबाट मात्रै देश बन्न सक्छ । त्यसकारण एउटा जनसाङ्ख्यिकी असन्तुलनतर्फको यात्रा छ । अहिले जति जनसङ्ख्या वृद्धिदर चाहिन्छ, त्यो नभएर त्यसको नकारात्मक प्रवृत्तितिर हामी छौँ । अहिले हामी १.९ प्रतिशतमा छौँ तर दुईभन्दा बढी चाहिन्छ । दुईभन्दा बढी चाहिने ठाउँमा त्योभन्दा कमको वृद्धिदर भनेको यो अलिकति डरलाग्दो कुरा हो, सानोतिनो असरले माइनसमा स्वाट्ठै जान सक्छ । अब ‘डेमोग्राफिक डिभिडेन्ट’ भएन भने वा डेमोग्राफिक सन्तुलन भएन भने त्यसले दुष्परिणाम ल्याउँछ । त्यस्तो डेमोग्राफिक सन्तुलन स्वस्थ, तन्दुरुस्त, सक्षम व्यक्तिहरुको समाज हामीले निर्माण गर्नुपर्छ । यसका निम्ति हाम्रो शिक्षा, हाम्रो स्वास्थ्य, हाम्रो विकास, हाम्रो भोजन, हाम्रा काम क्रियाकलाप आदि कुराहरु स्वस्थकर हुनु पर्दछ । मान्छेले काम गरिरहँदा आम्दानी मात्रै हेर्ने होइन, स्वास्थ्य हेरिनुपर्छ । स्वास्थ्यबिनाको आम्दानी के गर्ने ? त्यसकारण आम्दानी हेर्दा स्वास्थ्य प्राथमिकतामा राखेर हेरिनुपर्छ । उद्यमीहरुले, व्यवसायीहरुले मजदूरलाई काममा लगाउँदा उहिलेको जस्तो होइन, अब मजदूरको स्वास्थ्यलाई मध्यनजरमा राखेर काम लगाउनुपर्छ । अस्वस्थ वातावरणमा होइन, स्वस्थ वातावरणमा, प्रसन्न चित्त हुनाका लागि सम्मानजनक ढङ्गले काम लगाउने, पुग्ने खालको तलबको प्रबन्ध, सामाजिक जीवन चल्नुप¥यो, त्यो चल्ने गरीको तलब वा आम्दानी, आम्दानी र खर्चका बीचमा हरेक नागरिकको बचतको स्थिति, यी कुराहरुको सन्तुलनबाट जनसाङ्ख्यिक सन्तुलन ल्याउन सकिन्छ र उपयोगी जनसाङ्ख्यिकी स्थिति देशमा मौजुदा हुन्छ । यी चीजहरु हामीले गर्नुपर्नेछ । हामी विश्व मानव जातिका लागि योगदान गर्न सक्छौँ । हाम्रा शान्तिवादी पक्ष, मानवतावादी पक्ष, मानव पक्ष विचार र व्यवहारहरुले क्रियाकलापहरुले विश्व मानव समुदायमा सकारात्मक योगदान पु¥याउन सक्छौँ । आज पुर्याइराखेका छौँ तर कसरी भन्दा युद्ध भइराखेका ठाउँमा नेपाल संयुक्त राष्ट्रसङ्घीय शान्ति स्थापनार्थ जान्छ, त्यसमा सुरक्षाकर्मी (फोर्स) उपलब्ध गराउने देशमा नेपाल पहिलो छ । नेपालले मान्छे बचाउने कुरामा योगदान गरेको छ । मान्छेबाट मान्छे बचाउने कुरामा, त्यहीँका दुईपक्षीय मान्छेहरु लडेर, त्यहीँको समाजलाई बर्बाद पार्ने कुरालाई जोगाउने कुरामा हामी लाग्नु परिराखेको छ । योभन्दा सिर्जनशील कुरामा लाग्न पाए कति राम्रो हुन्थ्यो ! हाम्रो त्यो जनसङ्ख्या, हामी त्यहाँ जान जरुरी छ किनभने हामी असंलग्न राष्ट्रका मान्छे हौँ, हामी तटस्थ छौँ र त्यो हामी कायम गर्छौं । हाम्रो शत्रु भनेपछि लड्न पनि सक्ने र तटस्थ बस्ने, नलड्ने भनेपछि नलड्न पनि सक्ने, तटस्थ भएर बस्न पनि सक्ने, निष्पक्ष भूमिका खेल्न पनि सक्नेछौँ । त्यसैकारण त हामी सानो देश भएर पनि विश्वसनीय छौँ । सानो देश भए पनि हामी विश्वसनीय छौँ । सानो सेना छ, हाम्रो सानो सुरक्षा शक्ति छ तर पनि हामी किन ‘पिसकिपिङ फोर्स’मा नम्बर एक छौँ भन्दा हाम्रो निष्पक्षता र हामी अप्ठ्यारा ठाउँहरुमा गएर पनि हाम्रो कर्तव्य पूरा गर्छौं । तर, हामीले त्यस कुरालाई उत्पादनको काममा लगाउन पाएको भए, ती मान्छेलाई हामीले कृतिम बौद्धिकता (एआई) तिर लगाउन पाएको भए, विज्ञान र प्रविधिको प्रयोग गरेर विकासका काममा त्यो जनसङ्ख्या त्यतापट्टि लगाउन पाएको भए हामीलाई पनि फाइदा हुन्थ्यो, विश्वलाई पनि फाइदा हुन्थ्यो । तर, आजको वर्तमान वास्तविकता के हो भने त्यसरी सम्पूर्ण मानव जाति मानवीय भावनाले एकअर्कामा स्नेह र सद्भावका साथ यस विश्वलाई सुन्दर बनाउने र यसको भविष्य सुरक्षा गर्ने कुरामा लागिराखेको छैन, लाग्न सकिराखेको छैन । विश्वका शक्ति राष्ट्रहरुले यो सोच्नुपर्ने विषय हो । वास्तवमा ‘सुप्रिमेसी, ‘डोमिनेसन’ र ‘कन्ट्रोल’ अहङ्कारका उपज हुन्, स्वार्थका उपज हुन् । मित्रता, बन्धुत्व, सहअस्तित्व, सहकार्य यी कुरा शालीनता, मानवता र विनम्रताका पक्षहरु हुन् । यी कुरा शान्तिका पक्षहरु हुन् । नेपाल सदैव शान्तिको पक्षमा छ । यस्तो देशमा हामी ‘डेमोग्राफिक इस्यू’मा ‘कन्सस्’ हुनुपर्दछ कि हामी कस्तो र कुन साइजको जनसङ्ख्या, कमसेकम जनसङ्ख्या वृद्धिदर पहिलो कुरा ऋणात्मकतातिर जान दिनु हुँदैन । दोस्रो, स्वस्थ, दक्ष, सक्रिय, इमान्दार, निष्ठावान् जनशक्ति, जसभित्र बसुधैब कुटुम्बको भावना छ, मानवतावादी भावना छ, त्यस्तो जनशक्ति, कर्मठ जनशक्ति तयार गर्न सकियोस् । यसले योजनाबद्ध ढङ्गले आफ्नो देश र विश्वको सम्बन्धमा विचार गर्न र काम गर्न सकोस् । मन्त्रालयले मेहनत गरेर जनसङ्ख्या नीति ल्याएको छ । यसलाई मन्त्रिपरिषद्ले स्वीकृत गरेको छ । यसमा कमीहरु छँदै छैनन्, हुँदै हुँदैनन् भन्न सकिँदैन, कमीहरु भएदेखि हामी ग्रहणशील छौँ । जोसुकै साथीहरुले पनि यसमा भएका कमीकमजोरीहरु र सुधार गर्नुपर्ने र विकास गर्नुपर्ने कुराहरु देखाइदिन सक्नुहुन्छ । ती कुराहरु खास गरेर मन्त्रालयले ग्रहण गर्नेछ र त्यसलाई राष्ट्रिय नीतिको परिमार्जनका रुपमा फेरि परिमार्जित नीतिका रुपमा अगाडि बढाइनेछ । यो नीति ग्रहण गरौँ र आलोचनात्मक चेत भन्छन्, त्यो होइन, विश्लेषणात्मक चेत हामीलाई चाहिन्छ । आलोचनात्मक चेतले देश आक्रान्त भइसक्यो । जेमा पनि आलोचना । जेमा पनि आलोचना होइन, रचनात्मक सुझाव र टिप्पणी हुनुपर्छ । विश्लेषण गरेपछि राम्रो र नराम्रो छुट्याउन सकिन्छ र यहाँनिर कमजोर भयो भनेर देखाउन सकिन्छ । त्यो खालको प्रवृत्ति विकास गर्न जरुरी छ । त्यो कुरा आओस् भन्ने म आग्रह गर्न चाहन्छु । यस कार्यक्रमको आयोजनाका लागि स्वास्थ्य मन्त्रालयलाई म विशेष धन्यवाद भन्न चाहन्छु । यी कुराहरुको अर्थ हो, तपाईंहरु सबै स्वस्थ रहनुहोस्, प्रसन्न चित्त रहनुहोस् । प्रसन्न चित्त रहन सकेन भने ‘डिप्रेसन’ भनेको त्यही हो । चित्त अर्कासँग हुँदैन, आफैँसँग हुन्छ । अरू बनाउने कुरा छोड्दिनुस्, आफैँसँग भएको चित्त पनि ठीक ठाउँमा राख्न सक्नु हुन्न भने के ठीक राख्नु हुन्छ त ? श्रीमान्को असन्तुष्टि होला, श्रीमतीको असन्तुष्टि होला, छोराछोरीको असन्तुष्टि होला, बाबुआमाको असन्तुष्टि कसरी सम्बोधन हुन्छ, आफ्नै चित्त ठेगानमा छैन भने ? त्यसकारण ‘बी ह्याप्पी’ (प्रसन्न हुनुस्) । प्रसन्न चित्त रहौँ, सबैलाई प्रसन्न चित्तका साथ स्वस्थ रहन आग्रह गर्दछु । आज विश्व जनसङ्ख्या दिवस, डेमोग्राफिक इस्यूमा विशेष ध्यान दिऊँ । हाम्रो युवा पुस्तालाई जनसङ्ख्याप्रति सजग रहन सचेत गराऔँ । (प्रधानमन्त्री केपी शर्मा ओलीले २७ असार, २०८२ मा जनसङ्ख्या नीति सार्वजनिकीकरण कार्यक्रममा व्यक्त गरेको विचारका आधारमा तयार गरिएको)