देशको रूपान्तरणका लागि सम्पत्ति सुरक्षासहित लगानी उत्प्रेरक वातावरण र ऐन नियम आवश्यक
विकासका लागि आवश्यक पूर्वाधारसहित लगानीयोग्य सुरक्षित वातावरणको प्रत्याभूति हुनुपर्छ । देशको रुपान्तरणमा नेतृत्वको दृढ संकल्प, पूर्वाधारको विकास तथा लगानी सुरक्षाको प्रत्याभूति र प्रकृयागत सहजतासहित लगानी प्रोत्साहित दीर्घकालीन नीति नियमहरूको व्यवस्था निकै महत्त्वपूर्ण हुन्छ । कम्तीमा एक दशकसम्म करका दरहरू स्थिर रहने गरी लगानी उत्प्रेरक कर प्रणाली र हडतालरहित उपयुक्त श्रम नीति नियमहरूको व्यवस्थाका साथै अग्रगामी कार्यप्रणाली सहितको जिम्मेवार राज्य संयन्त्र हुनुपर्छ । चन्दा, हडताल, तोडफोड तथा हिंसारहित स्थिर राजनैतिक प्रणाली भएमा देशमा लगानीको सुरक्षित वातावरण बन्छ । यसका साथै राज्यद्वारा उद्योगस्थलमा आवश्यक पूर्वाधारको व्यवस्था गरेर औद्योगिक वातावरणको सिर्जना गर्ने हो भने विदेश पलायन भइरहेको पुँजी राष्ट्रको समृद्धिमा उपयोग हुनेछ। औद्योगिक वातावरणको सिर्जना हुने हो भने अमेरिका, बेलायत, चीन, सिंगापुर, इन्डिया आदि देशहरू झैं नेपालमा पनि सयौं अर्ब डलरको प्रत्यक्ष वैदेशिक लगानी भित्रिन सक्छ । तुलनात्मक रूपमा प्रकृयागत सहजता, लगानीयोग्य सरल र पारदर्शी नीति नियमहरू, लगानीको स्वागत र सम्मान हुने वातावरण, बन्द हडतालरहित श्रम नीति भएका तथा शान्ति सुरक्षा र प्रतिफल बढी हुने देशमै वैदेशिक लगानी आकर्षित हुने गरेको पाइन्छ । त्यसैले यी विषयहरूमा ध्यान दिई नीतिगत र प्रकृयागत सुधारका साथै व्यावहारिक संयन्त्रको विकास गरेर हामीले वैदेशिक लगानीको आकर्षक गन्तव्य देशको सूचीमा आफूलाई पार्न सक्छौं । विदेशी लगानी भित्र्याउने भन्दैमा नेपाली ग्राहकहरूलाई मात्र आधार बनाएर नेपालीहरूबाट फाइदा कमाएर लाभांशको रूपमा देशको ठूलो रकम विदेश लैजाने र देशको अर्थतन्त्रमा नकारात्मक असर पर्ने गरी हुने लगानीलाई स्वीकार्न सकिँदैन । नेपालीहरूको जीवनस्तर उकास्नुका साथै देशको अर्थतन्त्रमा उल्लेख्य योगदान पुर्याउने खालका वैदेशिक लगानीलाई प्रोत्साहित गर्नुपर्छ । विदेशी मुद्रा आर्जन हुने नेपाली सीप, कला, संस्कृति र विशेष दक्षता भएका क्षेत्रहरू जस्तै नेपाली हस्तकलाका सामग्रीहरू तथा त्यसका जैविक कच्चा पदार्थहरुको उत्पादन, ट्रेकिङ, ट्राभल, पर्वतारोहण आदि उद्योग व्यवसायहरुमा विदेशी लगानी आवश्यक छैन । देशको चमत्कारिक विकासका लागि आयातलाई निर्यातमा बदल्ने गरी निर्यातजन्य वस्तुहरूको उत्पादन गर्ने उद्योगहरूमा विदेशी लगानीलाई प्रोत्साहित गरिनुपर्छ । देशको समग्र कृषि क्षेत्रको चमत्कारिक विकासमा उत्पे्ररणा हुने, अत्याधुनिक प्रविधि, औजार तथा स्थानीय स्रोत–साधनको उपयोगद्वारा कृषि उत्पादनमा क्रान्ति ल्याउने र नेपाली कृषकहरूको उत्पादन खरीद गर्ने वा सीधै अन्तर्राष्ट्रिय बजारीकरणमा सहयोग गर्ने गरी नेपाली कृषकको रणनीतिक साझेदारको रूपमा कृषि क्षेत्रका ख्याति प्राप्त विज्ञ विदेशी लगानीकर्तालाई लगानीका लागि आह्वान गरिनुपर्छ । बजारको प्रत्याभूतिसहित वैज्ञानिक कृषि प्रणालीमा स्वदेशी विदेशी संयुक्त लगानीलाई प्राथमिकता दिई कृषि क्रान्तिमा यथाशीघ्र होमिनु पर्छ । नेपाली औषधी उत्पादकसँगको सहकार्यमा वनस्पतिहरूमा निहित औषधीय गुणहरू पत्ता लगाई विभिन्न किसिमका औषधीहरूको व्यावसायिक उत्पादनमा क्रान्ति ल्याउने गरी हुने वैदेशिक लगानीलाई स्वागत गरिनुपर्छ। स्वदेशी लगानीकर्तालाई कार्यक्षमता र कार्यसम्पादन पृष्टभूमिको आधारमा समय सीमा तोकेर आह्वान गर्न सकिन्छ । स्वदेशी लगानीलाई विशेष सहुलियतका साथ प्रोत्साहन गरिनुपर्छ । जलविद्युतको बृहत उत्पादन आन्तरिक खपतका साथै विदेश निर्यातका निम्ति पनि हुनुपर्छ । नेपालमा उत्पादित विद्युत औद्योगीकरण, विकास निर्माण, यातायात तथा मानव जीवनका हरेक पक्षहरुमा आन्तरिक खपतलाई पहिलो प्राथमिकता दिइनुपर्छ । लगानीयोग्य सहज वातावरण र आकर्षक सेवा सुविधाहरूको व्यवस्था गरी विदेशी लगानीकर्ताहरुलाई लगानीका क्षेत्रहरु तोकेर आह्वान तथा स्वागत गरिनुपर्छ । घरायसी, कार्यालय तथा औद्योगिक प्रयोजनका यन्त्र उपकरण, निर्माणजन्य यन्त्र उपकरण र सामग्रीहरूको वृहत उत्पादनमा वैदेशिक लगानी आह्वान गर्न सकिन्छ । खानी विभागसंगको सहकार्य वा समन्वयमा तामा, फलाम, सुनचाँदी, आल्मुनियम, पेट्रोलियम पदार्थ, प्राकृतिक ग्यास, युरेनियम, रत्नपत्थर आदि खानीको उत्खननमा स्वदेशी तथा विदेशी लगानीलाई स्वागत गरिनुपर्छ । खानीजन्य तयारी वस्तु, अत्याधुनिक कृषि औजार, यातायातका साधन आदिको बृहत उत्पादनद्वारा स्थानीय आवश्यकता परिपूर्ति गर्नुका साथै उत्पादित वस्तुहरू विश्व बजारमा निर्यात गरेर खर्बौं आर्जन गर्न सकिने भएकाले यी वस्तुहरूको उत्पादनमा वैदेशिक लगानी विशेष महत्वका साथ आह्वान गरिनुपर्छ । कृषि र औद्योगिक क्रान्तिबाट छोटो अवधिमा देशको रूपान्तरण गरी विश्व समुदायमा आफ्नो हैसियत सगरमाथा झैं उँचो राख्ने पुण्य काममा यथाशीघ्र जुट्नुपर्छ । सिंगापुर, चीन, मलेशिया, दुबई आदि देशहरूको रूपान्तरणमा विदेशी लगानीको निकै ठूलो हात छ । लगानी प्रोत्साहित नीति नियमको व्यवस्था र शान्तिपूर्ण वातावरण भए पनि सडक, विद्युत, सञ्चारजस्ता पूर्वाधार नभएको क्षेत्रमा लगानी गर्न कोही पनि इच्छुक हुँदैनन् । त्यसैले सिंगापुर, चीन, मलेशिया, दुबई आदि देशहरूले वैदेशिक ऋण लिएर आवश्यक भरपर्दा पूर्वाधारहरू खडा गरी लगानी आह्वान गरेका थिए । त्यसपछि मात्र ती देशहरूमा अत्यधिक वैदेशिक लगानी भित्रिएको थियो । सयकडौं बहुराष्ट्रिय कम्पनीहरू खुले र लाखौंले रोजगारी पाए । राज्यकोष सयौं गुणा वृद्धि हुँदै गयो, देशको सर्वाङ्गीण क्षेत्रको विकास हुँदै गयो र छोटो अवधिमा ती देशहरूको कायापलट भयो । कृषि तथा प्राकृतिक स्रोत सम्पदामा आधारित औद्योगीक क्षेत्रको क्रान्तिबाट देशको कायापलट गर्नको लागि हामीले पनि सोही बमोजिमको लगानीमैत्री नीति अवलम्बन गर्नुपर्छ । देशमा विद्यमान खानीहरूको आवश्यक अध्ययन अनुसन्धान गरी आर्थिक रूपले उपयुक्त खानीहरू भएका स्थानहरूमा राज्यले जतिसक्दो चाँडो सुरक्षित र टिकाउ सडकहरू तथा पर्याप्त विद्युत आपूर्तिको व्यवस्था गर्नुपर्छ । लगानीमैत्री नीति नियम र कर प्रणाली, सुरक्षित वातावरण र आवश्यक पूर्वाधारको व्यवस्था गरी लगानी आह्वान गरिएमा हाम्रो देशमा पनि विश्वभरको लगानी भित्रिन सक्छ । पूर्वाधारको विकास तथा कृषि, खानी र औद्योगिक क्षेत्रको क्रान्तिले एक दशकभित्रै हाम्रो देशको कायापलट हुन सक्छ ।
‘संस्कार र अनुशासनले बनाउँछ स्थिर पुँजी बजार’
हाम्रो जीवन बहुआयामिक छ । हामीले सन्तुलनसहित पेशागत, पारिवारिक, सामाजिक र सांस्कृतिक जीवनलाई समय दिनुपर्छ । पेशागत जीवनमा जिम्मेवारी पुरा गर्नुपर्छ भने पारिवारिक जीवनमा परिवारसँग समय बिताउनुपर्छ । सामाजिक जीवनमा समुदाय र सम्बन्ध सुदृढ गर्नुपर्छ भने सांस्कृतिक जीवनमा पर्व र परम्परालाई सम्मान गर्नुपर्छ । नेपाल संवत् हाम्रो गौरवशाली इतिहासको प्रतीक हो । म्ह:पूजा, तिहार र छठले हामीलाई उज्यालो, आशा, संस्कार र कृतज्ञता सिकाउँछन् । यी पर्वहरूले हामीलाई धेरै ठुलो महत्व र अवसर प्रदान गरिरहेका हुन्छन् । ठीक यही मूल्य र मान्यता हामी पूँजी बजारमा पनि अपनाउन सक्छौं । विश्वास, पारदर्शिता, अनुशासन र दीर्घकालीन सोच नै स्थिर र दिगो बजारको आधार हो । यी संस्कारहरू र पर्वहरूको सामीप्यताले गर्दा सम्पूर्ण पूँजी बजारमा आबद्ध रहनु हुने लगानीकर्ताहरू, सदस्यहरू, नियामक निकाय, पूँजी बजारमा सक्रिय व्यक्तित्वहरू र सम्पूर्ण नेपालीहरूको मुहारमा खुसी ल्याओस् भन्ने हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु । बजारको स्थिरता सम्पूर्ण पूँजी बजारमा आबद्ध रहनुहुने लगानीकर्ताहरू, सदस्यहरू, नियामक निकाय, पूँजी बजारमा सक्रिय व्यक्तित्वहरूको सहकार्यमा निर्भर गर्दछ । ब्रोकर एसोसिएसन पनि हाम्रो बजारको मेरुदण्ड हो । तपाईंहरूको निष्ठा, ज्ञान र सेवा बिना बजार दिगो रहन सक्दैन । सकारात्मक लगानी, संस्कृतिको विकास केवल नियम र प्रणालीबाट होइन, हाम्रो व्यवहार, सोच र समर्पणबाट पनि निर्भर गर्छ । पेशागत, पारिवारिक, सामाजिक र सांस्कृतिक जीवनमा सन्तुलन आवश्यक छ । पेशागत जिम्मेवारीले अनुशासित बनाउँछ । पारिवारिक जीवनले संवेदनशील र सहयोगी बनाउँछ । सामाजिक जीवनले जिम्मेवार र समर्पित बनाउँछ । सांस्कृतिक जीवनले उत्साह, आशा र उज्यालो दिन्छ । यी चारै आयाम सन्तुलनमा हुँदा जीवन मात्र सफल हुँदैन, हाम्रो पेशागत क्षेत्र र पूँजी बजार पनि बलियो र पारदर्शी हुन्छ । महस्पूजा, तिहार, छठको उज्यालो, आशा र कृतज्ञता बजारका लागि प्रेरणा हो । अन्धकारभन्दा उज्यालो रोजौं, नकारात्मकता होइन, विश्वास र पारदर्शिता कायम राखौं । व्यक्तिगत र सामाजिक जिम्मेवारी बुझौं, हरेक कारोबारमा अनुशासन र इमानदारी कायम राखौं । संस्कृति, अनुशासन, इमानदारी, पारदर्शिता र दीर्घकालीन सोचसँगै अघि बढ्दा मात्र बजार स्थिर, दिगो र सशक्त बन्न सक्छ । नेपाल ब्रोकर्स एसोसिएसनलाई यस कार्यक्रम आयोजना र बजार विकासमा देखाएको निरन्तर सहयोगको लागि हार्दिक धन्यवाद दिन चाहन्छु । (स्टक ब्रोकर एशोसिएसन अफ नेपाल (एस्बान) ले आयोजना गरेको दिपावली तथा छठ पर्वको अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा नेपाल स्टक एक्सचेञ्जका प्रमुख कार्यकारी अधिकृत (सीईओ) चुडामणि चापागाईंको मन्तव्य)
पूँजी बजारको विकासका लागि स्टक ब्रोकरको भूमिका
गत भदौ २३ र २४ गते भएको युवाहरु (जेन–जी) को आन्दोलनमा शहादत प्राप्त गर्नुहुने सबै सहिदहरुप्रति स्टक ब्रोकर्श एशोसिएन अफ नेपाल र मेरो व्यक्तिगत तर्फबाट हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु । साथै सो आन्दोलनमा शहिद हुनुहुने परिवारका एक जना सदस्यलाई हाम्रो एशोसिएसन अन्तरगतका सदस्यहरुको संस्थामा रोजगारीको अवसर प्रदान गरिने यहाँहरूसमक्ष जानकारी गराउँदछु । यसैगरी आजको यस उल्लासमय क्षणमा देश तथा विदेशमा रहनुभएका करिव ७१ लाख भन्दा बढी लगानीकर्ताहरु एवं सम्पूर्ण स्टक ब्रोकर्श एशोसिएन अफ नेपालका सदस्यज्यूहरुमा हर्ष उल्लास छाओस, आर्थिक प्रगति उन्नति राम्रो हुँदै जाओस र देशमा वर्तमान समयमा देखिएको राजनीतिक अन्योलताले निकास पाओस भन्ने शुभकामना व्यक्त गर्दछु । यही आउँदो कार्तिक ०९ गते स्टक ब्रोकर्श एशोसिएन अफ नेपालले आफ्नो ३२ औं स्थापना दिवश मनाउने तयारी गरिरहेको छ । यसबीचमा यस एशोसिएसनले नेपालको पूँजी बजारको विकास र स्थायित्वका साथै यस मातहतका सदस्यहरुबाट प्रवाह हुने सेवाहरुलाई विस्तारित गरी धितोपत्र बजारको पहुँच विस्तार गर्दै अगाडि बढ्नुका साथै नियामक निकाय नेपाल धितोपत्र बोर्ड, बजार सञ्चालक नेपाल स्टक एक्सचेन्ज लि. तथा राफसाफ निकाय सिडिएस एण्ड क्लियरिंग लि. सँग सहकार्य गर्दै हामीले प्रत्यक्ष रुपमा तथा आआफ्ना सदस्यहरुको नेतृत्वमा नेपालको पूँजी बजारको निर्माण, सञ्चालन तथा आधुनिकीकरणमा आफ्नो तर्फबाट सक्रिय भूमिका निर्वाह गर्दै आएको सबैमा जानकारी गराउन चाहन्छु । हाम्रो एशोसिएसन अन्तरगत हाल ९० वटा धितोपत्र दलाल व्यवसायी र २ वटा धितोपत्र व्यापारीले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई धितोपत्र दलाल व्यवसाय सञ्चालन गर्दै आएका छन । यि धितोपत्र व्यावसायीहरुले नेपालको पूँजीबजारमा संलग्न रहेका ७१ लाभन्दा बढी लगानीकर्ताहरुलाई धितोपत्र खरिदबिक्री तथा डिपोजिटरी सेवा प्रदान गर्दै आएका छन् । नेपालको पूँजीबजारको शुरुवात भएको ३३ वर्ष भएता पनि नेपालमा पूँजी बजारको विकास, स्थायित्व र आधुनिकीकरणको दिशामा हामीसँगै पूँजी बजारको शुरुवात गरेका अन्य देशहरुको तुलनामा अझै पनि धेरै कामहरु हामीले गर्न बाँकी नै रहेको छ । अझ भनौं विकास र विस्तारको चरण बामे सर्ने स्थितीमै छ । विशेष गरी पोलिसि, पूर्वाधार, प्रविधि र प्रडक्टका हिसाबले थुप्रै कार्यहरु गर्नुपर्नेे आवश्यकताको महसुश हामीले गरेका छौं । धितोपत्र ऐन २०६३ बनाई लागू गरेयता दुई दशक बितिसकेको छ । यसबीच पूँजी, प्रविधि, प्रडक्ट तथा पूर्वाधारका क्षेत्रका साथै लगानीकर्ताहरुको लगानी विहेवियरमा आमूल परिवर्तनहरु आइसकेकाछन् । ती सबै विषयहरुलाई समेटेर बलियो र आधुनिक धितोपत्र बजारको आधार निर्माणका लागि धितोपत्र ऐनमा समयसापेक्ष संशोधन एवं सुधार हुन नसकिरहेको अवस्था छ । यसमा सबै सरोकारवाला निकायहरुलाई पुँजी बजारका वृद्धि र विकासका लागि एक भएर अघि बढ्न आग्रह गर्दछु । आधुनिक जमानामा पनि पूर्वाधारका हिसाबले लगानीकर्ताहरु विभिन्न निकायमा भौतिक रुपमा उपस्थित भएर सेयर कारोबार गर्नुपर्ने बाध्यतामा छन् । डिम्याट खाता, बैंक खाता, ब्रोकर खाता, आस्बा भनेर कार्यालयको चक्कर काट्दै दिन बिताउनु पर्ने बाध्यता छ । अहिलेसम्म हामीले भिडियो केवाइसि, सेन्ट्रल केवाइसी जस्ता विषयलाई पूर्णरुपमा अवलम्बन गर्न सकिएको छैन । ब्रोकर कार्यालयमा भौतिक रुपमा वा अनलाइनबाट खाता खोलेसी लगानीकर्ताहरुले अन्य खाताको अनिवार्यतालाई पूरा गर्न फेरी धेरै निकायमा दौडनुपर्ने बाध्यता छ । एक पटक खरिद गरिएको धितोपत्र बिक्री नहुन्जेल त्यसलाई तरल सम्पत्तिको रुपमा कहिँ कतै पनि प्रयोग गर्न नपाइने व्यवस्था छ । पुनः प्रयोगका लागि बिक्री वा भौतिक रुपमा उपस्थिति भई धितोको रुपमा प्रयोग गरी ऋण सम्म लिन पाइने बाहेक अन्य व्यवस्था लागू गर्न सकिएको छैन । कमसेकम धितोपत्र लेण्डिङ बरोइङ्ग गर्ने सुविधा भएको वा अफलाइन कारोबार गरी राफसाफ गर्ने व्यवस्थामात्रै सञ्चालनमा ल्याउन पाएको भए लगानीकर्ताहरुसँग रहेका धितोपत्रहरु लगानीकर्ताहरुले आफूलाई आवश्यक परेको बखतमा पुनः प्रयोगमा ल्याउन सक्ने अवस्था बन्ने थियो । प्रडक्टको कुरा गर्नुपर्दा धितोपत्र बजार सञ्चालनमा आएको ३३ औं वर्ष वितिसक्दा पनि हामीसँग अहिले पनि नियमित कारोबार हुने औजारको रुपमा केवल सूचिकृत कम्पनीका साधारण शेयरहरु मात्रै छन् । यसबाहेक एकाध रुपमा नन कन्भर्टिएबल डिबेन्चर र सामुहिक लगानी कोषहरु छन । हामीले धितोपत्र ऐनको संकुचनका कारण र हामी बजार सहभागि देखि लिएर नियामक निकायमा सहभागी सबैको उदासिनताका कारण डेरिभेटिभ औजारहरु जस्तै अप्सन, फ्युचर्सजस्ता प्रडक्टहरु तयार गरी सञ्चालनमा ल्याउन सकेका छैनौं । यसबाहेक स्पट कारोबारमै समेत इन्ट्रा डे, सर्ट सेल सुविधाहरुलाई प्रयोगमा ल्याउन सकेका छैनौं । हाल धितोपत्र बोर्डले मार्जिन कार्यविधि बनाउन समिति बनाएको छ यसलाई सबै स्टेकहोल्डरको सुझावका आधारमा व्यवहारिक बनाएर यथासक्दो छिटो कार्यान्वयनमा ल्याइयोस भन्ने अनुरोध गर्न चाहन्छु । नीतिगत अवस्थाको बारेमा त केही कुरा माथि नै भनिसकेको छु । हामीले हाम्रो ऐनको संकुचताका कारण र ऐनमा व्यवस्था छैन भन्ने भनाईका कारण नियमहरु बनाउन सकेका छैनौं । नियम बिना विनियम र निर्देशिका तथा सर्कुलर जारी हुन सक्दैनन् । तर पनि ऐनको दफा ११६ र ११७ मा बोर्डले चाह्यो भने आवश्यकता बमोजिमका विषयहरुमा उपरोक्त दफाहरुलाई टेकेर नियम र विनियम जारी गर्न सक्दछ । सोही नियम र विनियमलाई टेकेर २०६७ सालमा केन्द्रिय निक्षेप नियमावली र राफसाफ विनयमावली जारी गरेको छ । नेपालमा पूँजी बजारको विकास, विस्तार र आधुनिकीकरणमा कानूनी व्यवस्था र आधार अनिवार्य छ । त्यसका लागि भएको ऐनको व्यवस्थालाई उपयोग गर्दै आगामी दिनहरुमा थप नीति नियमहरु बन्दै बजारलाई सुद्धृढ र व्यवस्थित बनाउने तर्फ बोर्डले तदारुकताका थप कदम अगाडि बढाउने छ भन्ने आशा र विश्वास गरेको छु । आजको समयमा पूँजी बजार कुनै पनि देशको लागि अपरिहार्य जस्तै बनेको छ । विकसित देशका पूँजी बजारमा लगानीका लागि उपयोग गर्न सकिने औजार भनेको केवल कम्पनीका सूचिकृत धितोपत्र मात्रै होइनन् । नकि डिबेन्चर, सामुहिक लगानी योजनाका युनिटहरु र सरकारी ऋणपत्रहरु मात्रै । आजको दिनमा लगानीका औजारका रुपमा इण्डेक्स फण्ड, फरेन करेन्सी, कमोडिटिज लगायत डिजिटल सम्पत्तिहरु समेत ठूलो मात्रामा उपलब्ध भई कारोबार प्रचलित भएका छन् । नेपालमा पनि नियामक निकाय नेपाल धितोपत्र बोर्डले सो दिशातर्फ अग्रसर हुनका लागि के कस्ता पूर्वाधार, के कस्ता कानून, के कस्ता जनशक्ति तथा के कस्ता लगानीकर्ताहरु आवश्यक हुने हो सो विषयमा मध्यनजर गर्दै सोही अनुरुप आवश्यक तयारी गर्दै जानेछ भन्ने आशा पनि मैले आजको यो कार्यक्रममा व्यक्त गर्न चाहन्छु । विशेषगरी अहिलेको वर्तमान परिवेशमा नेपालीहरु रोजगारी र अध्ययनका लागि विश्वका हरेक कुना कुना पुगिसकेकाछन् । कोही रोजगारीमा छन् कोही उद्यम व्यावसायमा छन् त कोही स्वरोजगारमा । हाम्रो बजारमा यस्ता उन्नत औजारहरुको कारोबार नहुने भएको हुँदा उनीहरुले आफू जहाँछन् सोही देशमा रहेको पूँजी बजारमा वा मुद्रा बजारमा वा अन्य बजारमा लगानी अवसरको प्राप्तिका लागि आफ्नो रकम लगानी गर्दै आएका छन् । यदि सो लगानी रकम नेपालमा भित्रिने हो भने यसबाट ठूलो राजस्व राज्यलाई प्राप्त हुनुका साथै थप वैदेशिक मुद्रा नेपाल भित्रिने थियो भने सोही अनुरुप रोजगारी समेत सिर्जना हुने थियो । साँच्चिकै देशमा आर्थिक समृद्धि हासिल गर्ने हो भने हाम्रो नियामक लगायत सम्पूर्ण स्टेकहोल्डरले यस्ता कुरालाई मध्यनजर गर्दैे पूँजीबजार बलियो बनाउन लाग्नुपर्दछ भन्ने दृढ विश्वास छ । बितेका दिनहरुमा नेपालमा मात्रै नभएर विश्वव्यापी रुपमै विभिन्न आन्तरिक तथा बाह्य विषयहरुमा विभिन्न देशहरु भित्र आन्दोलन, लडाईं तथा व्यापारिक द्वन्द्वहरुको अवस्था बढेर गएको अवस्था छ । अहिले हाम्रा नियामकहरुमा पनि विभिन्न माग राखेर आन्दोलन गर्दै आउनु भएको छ । नेपालको पुँजी बजार अहिले कमजोर अवस्थामा छ भने लगानीकर्ताको मनोवल खस्किदो छ । नेपाल शान्तिको प्रतिक मानिएको गौतम बुद्ध जन्मिएको देश हो । तसर्थ सबै आन्दोलनरत पक्षलाई झैझगडा र तिक्तताभन्दा माथि उठेर छलफल र वार्ताको मध्यमबाट शान्तिपूर्ण तरिकाले समस्याको समाधान निकाल्न आग्रह गर्दछु । अन्त्यमा म यो अवसरमा सबै सम्पूर्ण नियामक निकायबाट पाल्नुहुने अतिथिहरु, सदस्य ब्रोकर्स, लगानीकर्ताहरू, सञ्चारकर्मी साथीहरु र बजारमा प्रत्यक्ष वा अप्रत्यक्ष योगदान पुर्याउने सबैलाई पुनः दशैं, तिहार, नेपाल सम्मवत र छठका अवसरमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै यस पर्वले हामी सबैमा नयाँ उत्साह, सकारात्मकता र एकता ल्याओस् भन्ने मेरो हार्दिक कामना छ । साथै, आगामी वर्ष हाम्रो पूँजी बजार अझ सबल, स्थिर र पारदर्शी होस् भन्ने शुभकामना व्यक्त गर्दै म मेरो भनाइ यहीँ समाप्त गर्न चाहन्छु । (स्टक ब्रोकर एशोसिएसन अफ नेपाल (एस्बान) ले आयोजना गरेको दिपावली तथा छठ पर्वको अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा अध्यक्ष सागर ढकालले राखेको मन्तव्य)