‘वैदेशिक रोजगारीलाई सुरक्षित, मर्यादित र भरपर्दो बनाउन सरकार प्रतिबद्ध छ’

आज वैदेशिक रोजगार बोर्डको १८औं वार्षिकोत्सवको यस पावन अवसरमा म सम्पूर्ण नेपाली श्रमिक वर्ग, उनीहरूका परिवारजन तथा श्रम आप्रवासनका सरोकारवालाहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु । साथै हालसम्म वैदेशिक रोजगारको क्रममा निधन भएका श्रमिकका परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्दै घाइते श्रमिकहरूलाई समेत हार्दिक सम्झना गर्दछु । नेपालको संविधानले वैदेशिक रोजगारीलाई शोषणमुक्त, सुरक्षित र व्यवस्थित बनाउन राज्यलाई स्पष्ट दायित्व प्रदान गरेको छ । संविधानको मर्मअनुसार राज्यले बाध्यतावश हुने वैदेशिक रोजगारीलाई न्यूनीकरण गर्दै विदेश जानुपर्ने जनशक्तिलाई सुसूचित, सचेत र दक्ष बनाएर मात्र पठाउने तथा वैदेशिक रोजगारीबाट आर्जित पूँजी, सीप, प्रविधि र अनुभवलाई स्वदेशमा उत्पादनमूलक क्षेत्रमा लगानी गर्न प्रोत्साहन गर्ने नीति अवलम्बन गरेको छ । संवैधानिक मर्म र राष्ट्रिय आप्रवासन नीति, २०८२ लाई आत्मसात् गर्दै वैदेशिक रोजगारीलाई सुरक्षित, भरपर्दो र मर्यादित बनाउन, श्रमिकका हक–अधिकारको प्रत्याभूति गर्न तथा कल्याणकारी कार्यक्रमहरू प्रभावकारी रूपमा कार्यान्वयन गर्न वैदेशिक रोजगार बोर्डले विगत १८ वर्षमा उल्लेखनीय उपलब्धिहरू हासिल गरेको छ । वैदेशिक रोजगारीमा जाने नेपालीहरूलाई सीपयुक्त र प्रतिस्पर्धी बनाउन बोर्डले सञ्चालन गरेका निःशुल्क सीप विकास तालिम तथा क्षमता अभिवृद्धि कार्यक्रमहरू अत्यन्त प्रभावकारी बनेका छन्। रोजगारीको क्रममा देखिने कानुनी उल्झन समाधानका लागि प्रदान गरिएका कानुनी सहायता, अंगभंग, बिरामी तथा मृत्यु भएका श्रमिकका परिवारलाई दिइने आर्थिक सहयोग, मृत्युपश्चात् शव ढुवानी तथा व्यवस्थापनमा राजदूतावास र नियोगहरूसँग गरिएको समन्वय संवेदनशील र प्रशंसनीय छन् । यद्यपि वैदेशिक रोजगारीलाई थप सुरक्षित, मर्यादित र व्यवस्थित बनाउन सीप विकास तथा क्षमता अभिवृद्धि कार्यक्रमहरूको दायरा अझ विस्तार गर्न आवश्यक देखिन्छ । वैदेशिक रोजगारीमा उत्पन्न हुने समस्या समाधानका लागि बोर्डले सुरु गरेको ‘श्रमाधान कल सेन्टर’ र ‘टेलिमेडिसिन सेवा’ श्रमिक हितका दृष्टिले अत्यन्त उपयोगी र जीवनपरक पहलका रूपमा देखा परेका छन् । साथै, सचेतनामूलक रेडियो तथा टेलिभिजन कार्यक्रमहरूको निरन्तरताले सुरक्षित आप्रवासन संस्कृतिको निर्माणमा ठोस योगदान पुर्‍याएको छ । यसैगरी, सबै कल्याणकारी सेवाहरू पूर्ण रूपमा अनलाइन प्रणालीमार्फत उपलब्ध गराई सेवाग्राहीको पहुँचलाई सहज, सरल, पारदर्शी र छरितो बनाउँदै डिजिटल सुशासन प्रवद्र्धनतर्फ बोर्डले चालेका कदमहरू प्रशंसनीय छन् । बोर्डको वार्षिक प्रगति सन्तोषजनक देखिएको छ । यद्यपि बेरुजु व्यवस्थापनतर्फ ध्यान दिई आर्थिक कार्यप्रणालीलाई थप प्रभावकारी बनाउन निर्देशन गर्दछु । साथै यस आर्थिक वर्षका लागि तर्जुमा गरिएका कार्यक्रमहरूको प्रभावकारी र पारदर्शी कार्यान्वयनका लागि शुभेच्छा प्रकट गर्दछु । यस अवसरमा म वैदेशिक रोजगार बोर्डका सदस्यहरू, कार्यकारी निर्देशक, सचिवालयमा कार्यरत कर्मचारीहरू, मन्त्रालयका पदाधिकारीहरू, विकास साझेदार संस्था तथा कार्यक्रमसँग सम्बन्धित सबै पक्षलाई हार्दिक धन्यवाद ज्ञापन गर्न चाहन्छु । तपाईंहरूको समर्पण, मेहनत र उत्तरदायित्वकै कारण आज बोर्ड राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा विश्वसनीय संस्था बन्न सफल भएको छ । चेतनाको स्तर वृद्धि हुँदै जाँदा नेपालको बदलिँदो राजनीतिक परिदृश्य र जनअपेक्षालाई आत्मसात् गर्दै अबको चरणमा वैदेशिक रोजगारीको विकल्पस्वरूप स्वदेशमै सम्मानजनक रोजगारीका अवसरहरू सृजना गर्न सीपमा आधारित उद्यम तथा पुनःएकीकरण कार्यक्रमहरूलाई विस्तार गर्न प्राथमिकता दिनुपर्छ । विदेशबाट फर्किएका नागरिकहरूको अनुभव र पूँजीलाई उत्पादन, पर्यटन, कृषि तथा प्रविधि क्षेत्रमा उपयोग गर्न नीतिगत र संरचनागत सुधारका कार्यहरू अघि बढाउनुपर्दछ । यसतर्फ मन्त्रालयलाई ठोस कार्ययोजना बनाई अगाडि बढ्न निर्देशन गर्दछु । साथै श्रम आप्रवासनका विभिन्न चरणमा हुने शोषण र ठगीको नियन्त्रण तथा नियमन गर्दै आकर्षक रोजगार गन्तव्यको खोजी गर्न र वैदेशिक रोजगारीलाई सुरक्षित, मर्यादित, भरपर्दो र क्रमशः निःशुल्क बनाउन नीतिगत पहल आवश्यक छ । वैदेशिक रोजगार प्रणालीलाई पारदर्शी, सरल, सहज, शर्तरहित, प्रविधिमैत्री र छरितो बनाई आप्रवासनबाट फर्किएका श्रमिकहरूको दिगो र सम्मानजनक पुनःएकीकरण गर्दै सामाजिक सुरक्षा सुनिश्चित गर्नेतर्फ अग्रसर हुन निर्देशन गर्दछु । अन्त्यमा, देशका लागि पसिना बगाइरहनु भएका श्रमिक परिवार र मातृभूमिप्रति समर्पित सबै नेपाली श्रमिक दाजुभाइ–दिदीबहिनीहरूलाई म गहिरो सम्मानका साथ नमन गर्दछु । तपाईंहरूको योगदानले हाम्रो अर्थतन्त्रलाई सशक्त बनाएको छ र विश्वमा नेपालको प्रतिष्ठा उचो पारेको छ । वैदेशिक रोजगार बोर्डको १८औं वार्षिकोत्सवले श्रमिक कल्याण, सुरक्षित आप्रवासन र दिगो रोजगारीका अभियानमा नयाँ उत्साह, प्रेरणा र जिम्मेवारी थपोस् भन्ने शुभकामना व्यक्त गर्दछु । धन्यवाद ! – वैदेशिक रोजगार बोर्डको १८औं स्थापना दिवसमा प्रधानमन्त्री सुशीला कार्कीको मन्तव्य

महिनावारीसँग जोडिएको स्वास्थ्य

किशोरी र महिलाको महिनावारीका बारेमा अनेक वृत्तचित्र, चलचित्र बनेका छन् र ४०–४५ वर्षपछि महिलाको रजनोवृत्ति अर्थात् महिनावारी बिस्तारै सुक्दै जाने समस्याका बारेमा न त प्रायः छलफल हुन्छ, न यसका बारेमा महिला स्वास्थ्यसम्बन्धी अनुसन्धान गरिन्छ ।      महिनावारी सुक्नु रोग होइन तर जसरी महिनावारी हुुँदा कसैकसैलाई साधारण समस्या हुुन सक्छ, महिनावारी सुुक्दा पनि साधारण समस्या देखापर्नुु स्वाभाविक हो भनेर बुुझ्नसके महिलालाई सजिलो हुुने थियो । 'मेरो महिनावारी ४५ वर्षमा सुकेको थियो । पहिले त मलाई केही तातो हुने, खलखली पसिना पनि आउँथ्यो । मलाई मेरो साथीले हर्मोन औषधि दिइन् तर त्यसले मलाई झन् समस्या गरायो । मैले औषधि पनि छोडेँ र मैले त यस अवस्थालाई सामान्य रुपमा लिएको छु । अहिलेसम्म रजोनिवृत्तिका समस्या भएको छैन,' ७५ वर्षीया एक जनस्वास्थ्य विज्ञले केही दिनअघि मलाई इमेलमा लेखेकी थिइन् ।      'मेरो महिनावारी सुकेको चार वर्ष भयो । पहिलेपहिले त कहिले दुई/तीन महिनामा हुन्थ्यो । त्यतिबेला केही बढी रगत जान्थ्यो । फापर, ढिँडो, सिस्नो खाएँ । मलाई ढुक्क पो भएको थियो ।  मलाई कुनै समस्या नै भएन,' गाउँकी एक महिलासँगको भेटमा भनेकी थिइन् ।      नेपाली महिलाको महिनावारी सामान्यतया ४५–५२ वर्षको उमेरको हाराहारीमा पुगेपछि बन्द हुन्छ ।अन्तरराष्ट्रियस्तरमा अमेरिकी तथा जापानी महिलाका बीचमा अधिकांश रजोनिवृत्तिपछिको अवस्थालाई लिएर धेरै अनुसन्धान भएको पाइन्छ । नेपालमा भने ‘मेनोपोज सिमटम इन नेपाल’की डा कान्ति गिरीले सन् २००१ मा काठमाडौं, भक्तपुर, ललितपुर, कास्की, मकवानपुर र चितवनका १५० महिलामा गरिएको एउटा अध्ययन पाइन्छ । रजोनिवृत्ति वा महिनावारी सुकेपछि कतिपय महिलालाई केही समस्याहरू पर्न सक्छन् । यद्यपि, धेरै महिलालाई केही समस्या पर्दैन । यो कुनै रोग होइन भनेर मानिसहरूले बुझ्न गाह्रो भएकाले र महिनावारी सुकेपछि के औषधि गर्ने भन्ने प्रश्न पनि नेपाली महिलाहरूले गर्छन् ।      परिवार नियोजनको अस्थायी साधन प्रयोग गर्दा पनि महिनावारी गडबड हुन सक्छन् । गाउँघरमा त ५० वर्षसम्म पनि यसरी कतिपय महिलाले डिपो वा नरप्लान्ट (परिवार नियोजनका साधन) प्रयोग गर्दा महिनावारी नै नहुने हुन्छ । अनि महिनावारी सुकेको हो कि यो साधनको प्रभावले भएको हो भन्ने छुट्याउन नै गाह्रो पर्छ । लगातार यस्तो साधन प्रयोग गर्दा हड्डी ‘फुसफुसे’ भएर भाँचिने समस्या हुन्छ । त्यसैले ३५ वर्षपछि परिवार नियोजनका साधन प्रयोग गर्दा बढी होसियार हुनुपर्छ । तर यो विषयमा कतै छलफल नै हुँदैन ।      रजोनिवृत्तिको बेला कसैलाई समस्या हुन्छ, कसैलाई हुन्न भनेर जाँच्ने यन्त्र त छैन । तर भोजन, आराम, सकारात्मक विचारले समस्या हुनेलाई पनि, समस्या नहुनेलाई पनि स्वास्थ राम्रो हुन्छ । तर युवावस्थामा शरीरलाई मोटो बनाएर, व्यायाम नगरेर सबै कुरा उमेर ढलेपछि गरौंला भनेर भनियो भने रजोनिवृतिमा समस्या हुन सक्छ । त्यसैले पहिले नै होस पुर्याए राम्रो हुन्छ ।      मेरी आमाको ४५ वर्षमा नै रजोनिवृत्ति भयो मेरो १० वर्षअघि ५० वर्षमा नै भयो, केही समस्या नै भएन । तर कसै कसैलाई राति निन्द्रा नलाग्ने, रिस उठ्ने, खान मन नलाग्ने र कसै कसैलाई जिउ चिलाउने र स्तनको आकार सानो हुँदै जान सक्छ । यसको कारण शरीरमा एस्ट्रोजेन नामक हर्मोन कम हुँदै जानु हो । चुरोट र सूर्ती प्रयोग गर्ने महिलाहरूलाई यस्तो समस्या बढी हुने गरेको देखिएको छ । त्यसैले स्वस्थ रहने हो भने गाउँघरका महिलालाई चुरोट र तमाखु छोड भन्नै पर्छ । तर नेपालको गाउँघरमा महिलाहरुलाई धु्रमपान र स्वास्थ्यमा पर्ने असरको बारेमा प्राय थाहा हुँदैन ।      प्रायः कति जनालाई त थाहा पनि हुँदैन कि महिनावारी बन्द हुने प्रक्रिया एकैपल्टमा हुँदैन । सुरुआतमा महिनावारी कहिले हुने, कहिले नहुने वा दुई–तीन महिना बिराएर हुने गर्छ । यो महिनावारी बन्द हुने प्रक्रिया हो भन्ने नबुझ्दा कतिले त मलाई रोग लाग्यो कि भनेर डराउँछन् । अनि लौ पाठेघरको क्यान्सर भयो भनेर तर्सिन्छन् ।      रजोनिवृत्तिको विषयमा भएका अनुसन्धानहरुले के देखाएका छन् भने यस्ता समस्याहरुलाई महिलाहरुको भोजन, शारीरिक व्यायाम, जीवन प्रतिको दृष्टिकोण, मानसिक तनाव आदि कुराले धेरै फरक पार्छ । साथै युवावस्थाको स्वस्थ खानपिनले पनि धेरै भूमिका खेल्छ । जीवनमा पछि पैसा चाहिन्छ भनेर बैंकमा पैसा राख्ने महिलाहरूले रजोनिवृत्ति पनि स्वस्थ रहोस् भनेर युवावस्थादेखि नै स्वास्थ्यमा लगानी गर्नुपर्छ । अर्थात स्वस्थ खाना, स्वस्थ जीवनशैली अपनाउनुपर्छ । कतिपय महिलाले पनि यसलाई उमेरअनुसारको स्वाभाविक प्रक्रिया ठान्दछन् भने कतिपयले धर्म–कर्मतर्फ लाग्ने समयको रुपमा पनि लिएको पाइन्छ । अहिले त रजोनिवृत्ति भइसकेका महिलाहरू अफिसमा काम पनि गरिरहेका हुन्छन् ।      रजोनिवृत्तिको अवस्थामा पुगेपछि स्वास्थ्यको विशेष ध्यान राख्नु पर्ने चाहीँ हुन्छ । ३५–४० वर्षको उमेरपछि नै शरीरका हाडमा घनत्व कम हुँदै जान्छ, रजोनिवृति भएपछि या झन बढ्न जाने हुनाले शारीरिक व्यायाम, भोजन आदिमा विशेष ध्यान दिनुपर्छ । विभिन्न अध्ययनले देखाएका छन् तातो हुने धेरै पसिना आउने आदि रजोनिवृत्ति हुँदा हुने समस्यालाई कम गर्न भटमासको प्रयोग गर्नुपर्छ । प्रोटिन र लौहतत्व पाइने र भटमासको  विशेष तत्वले मुटुको रोगबाट बचाउन मद्दत पनि गर्छ । शरीरमा एस्ट्रोजनको कमी हुँदै जाँदा छालामा रहेको चिल्लोपन हराउँदै जानसक्छ । यस्तो बेलामा छाला र गुप्ताङ्मा चिलाउने समस्या हुनसक्छ । यस्तो बेलामा तोरी, नरिवल, तिल, बदामको तेल प्रयोग गर्न उचित हुन्छ ।      केही महिलाहरूलाई रजोनिवृत्ति अवस्थामा मन दिक्क हुने, मन छिनछिनमा परिवर्तन हुने हुन्छन् । यस्ता परिवर्तन कतिले सजिलै आत्मसाथ गर्न सक्छन् त कतिलाई यस्ता परिवर्तनले चिन्तित बनाउँछ । यस्ता परिवर्तनले कस्तो असर गर्छ भन्ने कुरा महिलाको शारिरीक अवस्था र सम्पूर्ण स्वास्थ्य स्थितिले पनि निश्चित गर्छ । यससँगै ती महिलाको आर्थिक स्थिति, कामकाज, पारिवारिक जीवन, सामाजिक जीवन, परिवर्तनलाई आत्मसाथ गर्नसक्ने क्षमता तथा रीतिरिवाजले पनि निश्चित गर्छ । यो मानसिक रोग होइन तर यस्तो समस्याले धेरै दुःख दिए मनोचिकित्सकसँग परामर्श लिन सकिन्छ ।      व्यायाम गर्ने महिलाहरुलाई रजोनिवृत्ति भएपछि शरिर एकैछिनमा तातो हुने, एकैछिनमा चिसो हुुने समस्या पनि केही कम गर्छ । '५० वर्ष पुगेपछि मेरो घुँडा दुख्ने समस्या भएको थियो, महिनावारी पनि सुक्यो । तर विस्तारै व्यायाम गरेपछि दुखाई कम हुन्छ । अहिले मैले नियमित रुपमा योग गर्न थालेको छु । मलाई  रमाइलो लाग्छ', ६० वर्षीय निलिमाले भनेको कुरा मलाई साह्रै घत लागेको थियो । व्यायामलाई बोझको रुपमा नलिएर आफूलाई फाइदा पुर्याउँछ भन्ने विश्वास गरेपछि अलिअलि गर्दै व्यायाम गर्ने बानी पर्दै जान्छ, स्वस्थ भइन्छ । रजोनिवृत्ति समस्या बन्दैन ।      रजोनिवृत्ति भएकी महिलालाई मानसिक तनावले पनि समस्या पर्न सक्छ । जस्तो कामको धेरै बोझ भए, धेरै थकाई, दिनदिनै झगडा भएमा, उमेर बढेपछि बुढो भए भनेर चिन्ता गरेमा मानसिक तनाव बढ्न जान्छ । यसरी महिनावारी सुक्दा तनाव धेरै पैदा भए शरीरलाई नै नकारात्मक असर गर्दछ । तनाव कम गर्ने धेरै उपायहरु छन् । कतिपय उपायहरु हामी हाम्रो जीवनमा उपयोग गर्छौ । कतिपय महिलाहरुले तनाव परेका बेला प्राथना गर्ने, योग गर्ने, ध्यान गर्ने, नाच्ने आदि गर्छन् । यस्ता क्रियाकलापले भावना व्यक्त गर्ने र आनन्दको भएर तनाव कम गर्न पनि मद्दत गर्छन् । महिनावारी सुक्ने बेलामा समस्याहरु कम होस् र शरिर स्वस्थ रहोस् भनेर स्वस्थ पोषणको साथै व्यायाम, हिँडाइबाट मानसिक तनाव, अनिन्द्रा, मोटोपन इत्यादि त घटाउँछ नै र आत्मविश्वास पनि बढाउँछ । रासस  

पैसाको पुस्ता : जेनजेडलाई पनि थाहा होस् !

बैंकका बारेमा मेरो मनमा बाल्यकालमै एउटा चित्र बसेको छ जुन आजपर्यन्त ताजा छ । बिहान सबेरै घरबाट बैंक हिँडेका बुवा तीन घण्टा टाढाको राजापुर बजार पुगेर दिनभर लाइनमा बस्थे । फर्किँदा अघिअघि झमक्क साँझ अनि पछिपछि लखतरान थाकेका बुवा हुन्थे ।  पैसा राख्ने वा झिक्ने कारोबार गर्दाको दैनिकी सधैं यस्तै हुन्थ्यो । कर गरीगरी बुवासँगै राजापुर गएका बेला मैले दिनभर कृषि विकास बैंकको शाखा अगाडिको ठूलो आँप रुखको छाँयामा निरस समय गुजारेको बिर्सेको छैन । बैंक धाउँदाको दुःख बुवालाई थियो । तर, त्यो झन्झट र दिनभरको प्रतीक्षाले म कहालिन्थें ।   हुन त त्यतिबेला बैंकमा खाता खोल्ने कुरा नै सबैको वशमा थिएन । सायद सचेतना वा आवश्यकता पनि थिएन । धेरैको बचत गर्ने अवस्था थिएन । बैंकको महत्त्व र सुविधाको ज्ञान पनि थिएन । कारोबार बाक्लो हुने सहरमा मात्र बैंकका शाखा हुन्थे । गाउँका मानिसले बैंकमा खाता खोलिहाले पनि पैसा राख्न वा झिक्न बुवाले जस्तै दिनभरको समय छुट्याउनु पर्थ्यो । झमेला बिसाउनु पर्थ्यो ।  बर्दियाको गोलास्थित खोनपुर गाउँको हाम्रो घरमा एउटा सानो पसल थियो । पसल सानै भए पनि त्यस बेला गाउँका लागि त्यो सहरतिरको सानोतिनो भाटभटेनीजस्तै हुन्थ्यो । परिणाम कम भए पनि कपडादेखि चप्पलसम्म, बिस्कुटदेखि चकलेटसम्म र महिलाले कपाल बाट्ने डोरीदेखि टुकी बाल्ने मट्टीतेलसम्म पाइन्थ्यो । पसल भएकाले रुपैयाँ–पैसाको कारोबार हुने नै भयो । त्यसमाथि नगदे तथा अन्नबाली, कुखुरा, फलफूल आदि बेचविखनको आम्दानी पनि बुवाको हातमा हुन्थ्यो । गाउँमा सरसापट आदिमा पैसा ओहोरदोहोर भए पनि सायद बचत हुँदो हो, त्यसैले बैंकमा बुवाको खाता थियो ।  त्यसबेला पैसा बोकेर तिरनतारन गर्न जानु झन् महाभारत थियो । विसं २०५० साल आसपासको एक दिन मेरा काकाको कामको सन्दर्भमा नगद १० हजार रूपैयाँ बोकेर बर्दियाको गोलाबाट नेपालगन्ज जानु परेको थियो । घरदेखि करिब २ घण्टाको साइकल यात्रा गरी कर्णाली नदीको कोठियाघाटमा डुङ्गा तरेपछि नेपालगन्जको बस समाउन सकिन्थ्यो । तिनताका कोठियाघाटको पूर्वी किनाराबाट बस लाग्थे । बाटो कच्ची थियो अनि कोचाकोच मान्छे ओसार्न पाइलैपिच्छे रोक्दैगुड्दै गर्नाले पूरै दिन लाग्थ्यो नेपालगन्ज पुग्न ।  पार्टपुर्जा बज्ने थोत्रो गाडीभित्रको अटेसमटेस भीडमा एक्लै भए पनि टिनएज उमेरको मेरा लागि त्यसबेलाको यात्रा रोमाञ्चक थियो । किनभने गाउँमा बस्ने त्यसमाथि विद्यार्थीलाई सितिमिति बस चढ्ने मौका अघिपछि पाउने कुरै भएन । नेपालगञ्जको रमझम देख्न पाइने यादले आतुर मनको बीचमा त्यो नगद रुपैयाँ आइरहन्थ्यो । अनि मनको उमङ्गमा पानी फेरिरहन्थ्यो । जिन्स पेन्टको खल्तीको त्यो रूपैयाँ कता हराउने हो वा चोरिने हो भनेर मन ढुकढुक हुन्थ्यो । डराउँदै, सम्हालिँदै दिनभरको यात्राभर कैयौं पटक झसङ्ग हुँदै पकेट छाम्दै म नेपालगन्ज पुगेको थिएँ । अहिले सम्झिँदा अनौठो लाग्छ ।   विसं २०५४ सालमा पत्रकारिता पढ्न काठमाडौं छिरेपछि पुतलीसडक भएर ओहोरदोहोर गर्दा बैंक अफ काठमाडौं, इन्भेष्टमेन्ट बैंक लगायतका आकर्षक सजावटका बैंकहरू देख्थें । मनमा लाग्थ्यो, यस्तो बैंकमा खाता खोल्न पाए पैसै नभए पनि ‘पैसावाल फिल’ आउँदो हो ! पत्रकारिता गर्दै आइएदेखि एमए पढ्दासम्म खाता खोल्ने हैसियत जुरेन । महिना पुग्न केही महिना बित्नु पर्ने अनि त्यही पनि नगद पैसामा तलब आउने भएकाले बैंक खाताको खाँचो पनि परेन ।  माघ १९, २०६१ को तत्कालीन राजा ज्ञानेन्द्र शाहको ‘सत्ता कू’ले देशभरका लागि रेडियो पत्रिका कायाकैरन र नेपाल दर्पण उत्पादन गर्ने कम्युनिकेशन कर्नरमा कार्यरत हामी रेडियोकर्मीहरूको जागिर हल्लियो । रेडियोमा समाचार बन्देज गरी समाचार कक्षमा सेनाको तैनाथी भयो । पत्रकार महासंघको आह्वानमा भएको प्रदर्शनमा सहभागी हुँदा एक रात र एक दिन प्रहरी थुनामा पर्नुपर्यो । यसैबीचमा एउटा भ्रष्टाचार विरोधी परियोजनामा सञ्चार अधिकृतको जागिर खुल्यो अनि त्यसमा म छानिएपछि २०६२ साउनमा काठमाडौं पनि छोड्नु पर्यो र पहिलो बैंक खाता खोल्ने शौभाग्य मिल्यो ।  तलबी खाताका रूपमा एनबी बैंक (तत्कालीन नेपाल बंगलदेश बैंक)मा जीवनको पहिलो बैंक खाता खुलेपछि पुतलीसडकतिर बरालिँदा दिउँसै देख्ने ‘पैसावाल फिलिङ्गस’को एउटा केटाकेटी सपना पनि पूरा भयो । त्यो बैंक ओरालो लागेपछि मैले जीवनको पहिलो त्यो खाता बन्द नै गरिदिएको थिएँ । पछि त्यो बैंक नबिल बैंकमा विलय भयो ।  परियोजनामा जोडिएको केही समयपछि कलेजमा पत्रकारिता पढाउन थालें । पढाएको तलब बुझ्न एनआईसी बैंकमा अर्को खाता खोल्नु पर्यो । अनि विसं २०६३ साल तिर एक दिन त यस्तो पनि आयो, इन्भेस्टमेन्ट बैंक कार्यालयमै आएर १ रूपैयाँमै सबै कर्मचारीका खाता खोलेर गयो । निःशुल्क एटीएम कार्डसमेत थमाइ दियो । सायद यसपछि बैंक खाता आम मानिसको गच्छेमा पनि आयो ।   ६० को दशक अघिसम्म बैंक खाता नभएकाहरूका लागि पैसा पठाउन र पाउन निकै सकस थियो । काठमाडौंमा पढ्दाको सुरुवातमा पैसाको खाँचो हुँदा निकै दुःख पाइन्थ्यो । आउनेबित्तिकै वरिष्ठ पत्रकार हरि लम्सालको सिफारिसमा एउटा साप्ताहिक पत्रिकामा काम सुरु गरेपछि कामको खाँचो कहिल्यै परेन । तर, पैसा कहिल्यै समयमा नआउने । साथी सर्कल पनि सबै आफूजस्तै भएपछि सरसापट पनि कोसँग माग्नु ? आफन्त सिला खोजे पनि नभेटिने युग थियो । विद्यार्थी भनेपछि नजिकका पसलेले उधारो पनि नपत्याउने, स्टोभ बाल्ने एक रुपैयाँको सलाई समेत उधारो नपाइने । पैसा सकियो भने कोही आउने मान्छे खोज्दा खोज्दै महिनौं लाग्थो गाउँतिर । एक केजी चामल किन्ने पैसा समेत नभएर रुँदै भोकै रात काट्नु परेका याद ऊर्जाशील सम्झनाका रूपमा मनमा गढेका छन् ।  पैसाको सही मोलको ज्ञानबोध पनि आफै कमाउन थालेपछि नै प्रकट हुँदो रहेछ ।  पैसा मगाउन कि घरबाटै कोही आउनु पर्दथ्यो कि कोही आफन्त काठमाडौं आउने संयोग जुर्नु पर्दथ्यो । पत्रकारिताको काम गर्दै अनि पढ्दै पनि रहेकाले सामान्य खर्च टरिहाल्थ्यो । फोनलाइन जोड्ने, ग्यास जोड्ने, कम्प्युटर किन्ने जस्ता अलि एकमुष्ट ठूलो रकम लाग्ने खर्चका लागि परिवारकै भर पर्नु पर्ने स्थिति हुन्थ्यो । अलिअलि स्वाभिमान अलिअलि घमण्डले पनि दुःख बेसाइदिन्थ्यो । तर, सम्झी ल्याउँदा त्यसबेलाको संघर्षले धेरै सिकायो अनि यो समाजमा गरिखान सक्ने गरी टिक्ने बनायो सायद । पैसाको सही मोलको ज्ञानबोध पनि आफै कमाउन थालेपछि नै प्रकट हुँदो रहेछ ।  आजको जस्तो मोबाइलबाट तुरुन्तै पैसा पठाउने पाउने सुविधा थिएन । पैसोको खास महत्त्व पनि अभावमै अनुभूत हुँदो रहेछ । आज पनि मलाई सम्झना आउँछ – पहिलो तलबको । मैले विसं २०५५ सालको जेठ/असारतिर तलबको खाम हात पारेको थिएँ । मेरो जीवनको पहिलो कमाइ । पत्रकारिताको पहिलो आर्जन । शौचालय छिरेर फटाफट खाम खोलेको थिएँ । त्यसमा एक हजार रूपैयाँको एउटा नोट थियो । त्यो नोट मास्न मलाई साह्रै गाह्रो भयो । मैले त्यो नोट सम्हाली राखेको थिएँ । पहिलो कमाइको साह्रै माया लागेर सकभर त्यो नोट नभजाउने अठोटमा थिएँ । जसोतसो गुजारा चलिरहेको थियो । कुपण्डोलको बीचतिर क्याम्पेन कलेज पछाडि डेरा थियो । प्रायः शनिबार बर्दियाको पशुपतिनगरमा रहेको हाम्रो घरदेखि झण्डै ४५ मिनेट टाढाको पीसीओबाट सँगैको कोठामा डेरागरी बस्नेहरूले जोडेको फोनमा बुवाको फोन आउँथ्यो । कल छुटे बाहिर गएर फोन फर्काउँथें । मिनेटको १५ रुपैयाँ लाग्ने फोन शनिबार आधा छुट हुन्थ्यो ।   एक दिन बुवाको फोन कल छुट्यो । फोन फर्काउन पसलतिर गएँ । म सँग त्यही १ हजारको नोट र अर्को एउटा १० रुपैयाँको नोट थियो । बुवा उता भए कलब्याक गर्न भनिहाल्छु, बुवा नभए त्यही १० रुपैयाँको एक कलले नै पुगी हाल्छ, हजारको नोट भजाउन्न भन्ने जुक्तिमा थिएँ । पीसीओवाला सामान्य जिनजानकै थिए, उनले मेरो फोन उठाउँदै एकछिन होल्डमा बस है म हेर्छु भने । मैले सोचेछु, फोन टेबलमा राखेर बुवा खोज्न वरपर हेर्न गए, समय कटेर १० रुपैयाँको नोटले नपुग्ने भो, हजार रुपैयाँ भजिने भो भन्ने रन्कोले टीनएजर मेरो मुखबाट फुत्त फुत्किहाल्यो– ‘माँटोक्ने फोन होल्डमा राख्दियो यार !’ तुरुन्त सम्हालिएर सोचेँ, ओ...ह..सुन्यो होला यार त्यसले । अनि फेरि मुखबाट फुत्किहाल्यो– ‘ला...माँ टोक्ने भनेँ, सुन्यो होला यार... माँ टोक्नेले ।’ अनायासै तीनपल्ट आमाचकारी गाली कानमा ठोक्किए पनि उताबाट शान्त जवाफ आयो, ‘सुने पनि माइण्ड गर्दैन भाइ, बुवा यता देखिनु भएन । फर्किसक्नु भयो सायद ।’ पीसीओवाला दाइको यो जवाफले म मरेतुल्य लजाएँ । सरी दाइ भन्दै फोन राखेँ । त्यो हजार रुपैयाँ जोगिएको खुसीमा आफ्नो गल्तीमा खासै ध्यान दिइनँ र पसलबाट टाप कसेँ । तर, पछि सम्झेर मन पोल्दै गएको थियो, केही वर्षपछि ती दाइ गम्भीर बिरामी भएर नेपालगन्जको भेरी अस्पतालमा भर्ना भएर उपचार गराइरहेको थाहा पाएँ, अनि केही थान पुस्तक र फलफूलसहित भेटेर माफी मागेपछि मात्र मैले आफूलाई माफी पाएको महसुस गरेको थिएँ । घरबाट पैसा सजिलै नपाउँदा आफ्नो पहिलो कमाई त्यो १ हजार रुपैयाँको नोटको माया झन् बढेको थियो । त्यही मायाले सिर्जेको त्यो अवोध उदण्डता सम्झेर अहिले पनि हाँसोको खित्का र लाजको धर्सो सँगै आउँछ मनमा।  बुवा पुस्ताका कुरा अहिले दन्तेकथा जस्ता लाग्छन् । भर्खर टीनएज कटेका मेरा बुवा र मामाले २०३९ सालतिर कालिकोटको नाग्मबाट बर्दियाको गोला पुगेर जग्गा किन्दा नगद रुपैयाँ र अपुग होला भनि भएका सबै गरगहना तथा कासका भाँडाकुडा बोकेर गरेको यात्रावर्णन अहिले पत्याउनै मुश्किल लाग्छ। ती स्मृतिहरू, ती अनुभवहरू, आजको डिजिटल बैंकिङ र रेमिटेन्सको युगमा अझै सजीव लाग्छन् । देशविदेशबाट अहिले पैसा पठाउन र पाउन कुनै डर र सकस छैन । छिनभरमै सबै सुविधा छ । अचेल पैसाका लागि बैंक जानै पर्दैन । मोबाइलमै बैंक आउँछ । मोबाइलबाटै सबथोक आउँछ । मेरा पत्रकार तथा साहित्यकार साथी पदम गौतम युरोपबाट नेपाल आएका बेला गत वर्ष भन्थे, ‘नेपालको डिजिटल बैंकिङ यति सहज भएछ कि पान पसलमा पनि क्यूआर गर्न पाइने रहेछ । कतिपय कुरामा त युरोपभन्दा पनि सजिलो लाग्यो ।’ वास्तवमा अहिलेको मोबाइल बैंकिङले हाम्रो जीवनशैली नै बदलिदिएको छ– तरकारी पसलमा समेत क्युआर स्क्यान सुविधा छ । पानी, बत्तीको महसुल बुझाउन लाइन बस्नु पर्दैन । बालबच्चाको स्कुल फि पनि मोबाइलबाटै तिर्न सकिन्छ । थिएटर, केबलकार, जहाज, गाडीका टिकट लिन पनि लाइन बस्ने बाध्यता टरेको छ । कामकाजीहरुको तलब पाउन अनि पठाउन पनि अब डिजिटल डिभाइसबाटै सम्भव भएको छ । यस्तो भएको छ कि कारोबारका लागि इन्टरनेट र स्मार्ट मोबाइल फोन मिसिएर यो सुविधा एउटा जादुको छडी जस्तो भएको छ । अब ‘स्मार्टफोन वा कम्प्युटर’ नै सानो बैंक जस्तै भएको छ । बुवापुस्ताका कुरा अहिले दन्त्यकथा जस्ता लाग्छन् । भर्खर टीनएज कटेका मेरा बुवा र मामाले २०३९ सालतिर कालिकोटको नाग्मबाट बर्दियाको गोला पुगेर जग्गा किन्दा नगद रुपैयाँ र अपुग होला भनी भएका सबै गरगहना तथा काँसका भाँडाकुडा बोकेर गरेको यात्रावर्णन अहिले पत्याउनै मुस्किल लाग्छ । डेढ साताको पैदल यात्राका क्रममा बास बस्नुअघि आसपासमा मान्छे नपुग्ने जमीनमा खाल्टो खनेर गाड्दै बिहान फेरी खोतलेर पोको पार्दै सुरक्षित रुपमा धन ओसारेको झण्डै ४५ वर्ष अघिको त्यो पैसाको सनसनीपूर्ण पैदल यात्राका बारेमा छुट्टै लेख्नेछु ।  बैंक नहुँदा वा बैंकमा पहुँच नहुँदा बुवा पुस्ताले भोगेको त्यो कष्ट र अहिलेको पुस्ताले पाएको यो सहज कारोबारी जीवनबीचको फरक छाम्न घोत्लिने हो भने चमत्कारी परिवर्तन लाग्छ । अहिले प्रविधिले विदेशदेखि देशको गाउँसम्म बैंकिङ सेवा जोडेको छ । बैंकको प्रविधि गति समातेर चल्न सके, साथीभाई वा आफन्तसँग ‘एक दुई हजार सापटी दे न’ भन्नै पर्दैन । डिजिटल बैंकिङ, क्रेडिट सुविधा, मोबाइल वालेटहरूले पैसाको प्रबन्ध सजिलो मात्र बनाएका छैनन्, हाम्रो आत्मसम्मानमा पनि टेको दिन थालेका छन् ।  पङ्तिकारका निजी वा पारिवारिक सन्दर्भको पृष्ठभूमि भए पनि यो बेबी बूमर र जेनेरेशन एक्स पुस्ताको अनुभव त्यसपछिको जेनेरेशन वाइ, जेड र अल्फा हुँदै आउने पुस्ताले पनि थाहा पाउन जरुरी छ । बुवाहरूको पालामा जस्तो घण्टौं टाढा पुगेर पनि उसै गरी लाइन बस्नु पर्ने दुरके सितारा जस्ता बैंक अब हाम्रो हातको मोबाइलको पर्दा भित्र हाम्रै वशमा छ । बस, नचाउन जान्नु पर्यो । खासमा अब नगद पनि जरुरी हुन छाडेको छ । लगभग सबैतिर नगद बिनै कारोबार सहज भैसकेको छ । बस इन्टरनेटको पहुँच चाहियो । पारदर्शी, सुरक्षित अनि नहराउने डर, न चोरी होला भन्ने पीर । नेपाल राष्ट्र बैंकका अनुसार २०८२ असार मसान्तमा देशभर १ सय ७ बैंक तथा वित्तिय संस्थामार्फत सेवा प्रवाह भैरहेको छ । नेपालका सबै स्थानीय तहमा बैंकका शाखा खुलेका छन् भने देशको कुल ६० प्रतिशत जनसंख्या बैंक सेवा र ९० प्रतिशत बढी जनसंख्या इन्टरनेट सेवाको पहुँचमा छ । यो दिनप्रति झन् झन् सहज र विस्तारित हुँदै गएको छ ।