विकासन्युज

बाहिरिए राष्ट्रिय बीमा कम्पनीका सीईओ श्रेष्ठ, निमित्तको जिम्मेवारी कोइरालालाई

काठमाडौं । राष्ट्रिय बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) डा. शिवहरि श्रेष्ठले राजीनामा दिएका छन् । कम्पनीको सञ्चालक समितिको गत साउन ३१ गते बसेको बैठकले श्रेष्ठको राजीनामा स्वीकृत गरेको कम्पनी सचिव कविता लामाले जानकारी दिइन् । वि.सं. २०८१ वैशाखमा कम्पनीको सीईओ नियुक्त भएका श्रेष्ठ २७ महिनापछि पदबाट बाहिरिएका हुन् । उनीअघि कम्पनीको सीईओ रहेका शेखर बरालले पनि १५ महिना नपुग्दै राजीनामा दिएका थिए । कम्पनी सचिव लामाका अनुसार श्रेष्ठको राजीनामा स्वीकृत भएसँगै नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) सुवास कोइरालालाई निमित्त प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिइएको छ ।

कामना सेवा विकास बैंकले बोलायो साधारणसभा, १५ प्रतिशत लाभांश पारित हुने

काठमाडौं । कामना सेवा विकास बैंकले २०औं वार्षिक साधारणसभा बोलाएको छ । बैंकले भदौ ३१ गते साधारणसभा आयोजना गर्ने भएको हो । साधारणसभामा लाभांश वितरणसम्बन्धी प्रस्ताव पेस हुने बैंकले जनाएको छ ।  बैंकले आर्थिक वर्ष २०८२/८३ को सञ्चित मुनाफाबाट लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । प्राथमिकताप्राप्त सेयरधनीलाई ९ प्रतिशत लाभांश दिने प्रस्ताव छ ।  उक्त लाभांश प्राथमिक सेयर बाँडफाँट भएको मितिदेखि असार मसान्त २०८३ सम्मको अवधिका लागि अनुपातिक रूपमा दिइनेछ । त्यस्तै, अन्य सेयरधनीलाई चुक्ता पुँजीको १५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव छ । उक्त लाभांशमा करसमेत समावेश हुनेछ । साधारणसभामा आर्थिक वर्ष २०८२/८३ को वार्षिक वित्तीय विवरण पनि पेस हुनेछ ।  लेखापरीक्षकको प्रतिवेदनसहित वित्तीय विवरण अनुमोदनका लागि प्रस्तुत गरिनेछ । सभामा वासलात, नाफा–नोक्सान हिसाब र नगद प्रवाह विवरण पेस गरिनेछ ।  नाफा–नोक्सान बाँडफाँट हिसाबलगायत वित्तीय विवरणसँग सम्बन्धित अनुसूची पनि अनुमोदनका लागि प्रस्तुत हुनेछन् । त्यस्तै, बाह्य लेखापरीक्षक नियुक्त गर्ने प्रस्ताव पनि साधारणसभामा पेस हुने बैंकले जनाएको छ । अन्य विभिन्न प्रस्तावमाथि समेत छलफल हुनेछन् । गत वर्ष बैंकले बोनस सेयर र नगद लाभांश गरी कुल १५.७८९५ प्रतिशत लाभांश वितरण गरेको थियो ।  बैंकले भदौ १८ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । जसअनुसार भदौ १७ गतेसम्म कायम सेयरधनीले मात्र लाभांश पाउनेछन् । 

‘हेमबहादुर मल्ल सम्मान’ मकाजु र खनाललाई प्रदान

काठमाडौं । नेपाल जन–प्रशासन संघले सार्वजनिक प्रशासन, सार्वजनिक सेवा, व्यवस्थापन तथा संस्थागत विकासका क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याउँदै आएका दुईजनालाई ‘हेमबहादुर मल्ल सम्मान’ प्रदान गरेको छ। सोमबार (आज) काठमाडौंमा एक कार्यक्रमबीच राष्ट्रपति रामचन्द्र पौडेलले दुईजनालाई सम्मान प्रदान गरे ।  साल्ट ट्रेडिङ कर्पाेरेसन लिमिटेडको आर्थिक सहयोगमा यो सम्मान प्रदान गर्दै आएको छ ।  ‘हेमबहादुर मल्ल सम्मान पुरस्कार’ २०८१ नेपालकै उत्कृष्ट नमूना अस्पतालका रूपमा स्थापित धुलिखेल अस्पतालको चिकित्सक डा. रामकण्ठ माकाजु श्रेष्ठलाई प्रदान गरिएको छ ।  अस्पतालको स्थापना तथा सञ्चालनलगायत गुणस्तरीय सार्वजनिक सेवाको श्रीवृद्विमा पुर्याएको विशिष्ट योगदानको कदरस्वरूप श्रेष्ठलाई प्रदान गरेको हो । त्यसैगरी, ‘हेमबहादुर मल्ल सम्मान २०८२’ पूर्वअर्थसचिव तथा पूर्वअर्थमन्त्री डा. रामेश्वर प्रसाद खनाललाई प्रदान गरेको छ ।  सार्वजनिक प्रशासन तथा सार्वजनिक सेवाको श्रीबृद्वि,सार्वजनिक जिम्मेवारीमा रहँदा नीति, प्रशासन तथा सार्वजनिक सेवाका क्षेत्रमा उनले निर्वाह गरेको भूमिका र योगदानलाई सम्मान गर्दै सम्मान गरेको हो । दुवैजनाले सम्मानस्वरुप २ लाख रूपैयाँ पुरस्कार र कदरपत्र प्राप्त गरेका छन् । पुरस्कार छनोट समिति पूर्वसचिव कृष्ण ज्ञवालीको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरी विभिन्न मापदण्ड र आधारमा सम्मानित व्यक्ति छनोट गरिएको थियो ।  नेपाल जन–प्रशासन संघले विसं २०६० देखि सार्वजनिक प्रशासन, व्यवस्थापन, सार्वजनिक वितरण, सार्वजनिक सेवा तथा जनसरोकारका क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याउने व्यक्तित्वलाई ‘हेमबहादुर मल्ल सम्मान’ प्रदान गर्दै आएको छ । स्वर्गीय हेमबहादुर मल्लले साल्ट ट्रेडिङ कर्पोरेसनको नेतृत्वमा रहेर सार्वजनिक वितरण, सेवा तथा व्यवस्थापनका क्षेत्रमा पुर्‍याएको योगदानको स्मरण स्वरूप साल्ट ट्रेडिङ कर्पोरेसनको साझेदारीमा यो सम्मान स्थापना गरिएको हो । यस सम्मानबाट यसअघि सार्वजनिक प्रशासन, व्यवस्थापन, स्वास्थ्य, शिक्षा, न्याय, कूटनीति, सामाजिक सेवा तथा अन्य सार्वजनिक सरोकारका क्षेत्रमा योगदान पुर्‍याएका २१ जना विशिष्ट व्यक्तित्व सम्मानित भइसकेका छन् । आज दुईजना सम्मानित भएसँगै हालसम्म सम्मानित हुने संख्या २३ पुगेको छ ।  सम्मान कार्यक्रममा राष्ट्रपति पौडेलले सार्वजनिक सेवा र राष्ट्र निर्माणमा महत्त्वपूर्ण योगदान पुर्‍याएबापत सम्मानित दुवैजनालाई बधाई दिए ।   यस्ता सम्मानले समाजका मानिसहरूलाई असल काम गर्न प्रेरित गर्ने र यसले भोलिका प्रशासक, व्यवस्थापक, चिकित्सक तथा उद्यमीहरूलाई समाजप्रति थप जिम्मेवार बन्दै उत्कृष्टता हासिल गर्न उत्प्रेरणा दिने उनले विश्वास व्यक्त गरे । तीव्र प्रविधिको विकास, एआईजस्ताले परम्परागत प्रशासनिक अभ्यासहरूलाई परिवर्तन गरे पनि मानवीय मूल्यहरूको महत्त्व कहिल्यै नसकिने राष्ट्रपति पौडेलले स्पष्ट पारेका छन् । उनका अनुसार प्रविधि र क्षमता अरूबाट लिएर पनि उपयोग गर्न सकिन्छ, तर आचरण, नैतिकता र इमान्दारिता अन्तस्करणको विषय हो ।  राष्ट्रपति पौडेलले सक्षम संस्था, दक्ष नेतृत्व र उत्तरदायित्वको संस्कृतिमा नै दिगो विकास निर्भर रहने बताए । साथै उनले जनप्रशासन संघजस्ता पेशागत संस्थाहरूले नीति निर्माण, प्रशासनिक सुधार र सुशासनका क्षेत्रमा अझ प्रभावकारी भूमिका खेल्नुपर्नेमा जोड दिएका छन् ।  

चार वटा विधेयक दफावार छलफलका लागि संसदीय समितिमा पठाइयो

काठमाडौं । प्रतिनिधि सभाले चार विधेयकहरूलाई दफावार छलफलका लागि सम्बन्धित संसदीय समितिमा पठाएको छ । सभाको सोमबारको बैठकले विधेयकहरूमाथि प्राप्त संशोधन र सैद्धान्तिक छलफलपछि दफावार छलफलका लागि सम्बन्धीत समितिमा पठाएको हो ।  बैठकमा प्रधानमन्त्री बालेन शाहको तर्फबाट अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक, सेवाको सर्त र सुविधा सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८३’ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए । उक्त प्रस्ताव सभाले स्वीकृत गरेको हो । परराष्ट्रमन्त्री शिशिर खनालले ‘राहदानी (पहिलो संशोधन) विधेयक, २०८३’ लाई दफावार छलफलका लागि समितिमा पठाउन गरेको प्रस्ताव पनि बैठकले स्वीकृत गरेको छ ।  महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा सामाजिक सुरक्षा मन्त्री सीता वादीले ‘मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) (पहिलो संशोधन) विधेयक, २०८३’ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भनी प्रस्तुत गरेको विधेयक समेत सभाले स्वीकृत गरेको छ । साथै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारीले ‘खानी तथा खनिज पदार्थ विधेयक, २०८३’ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भनी प्रस्तुत गरेको प्रस्ताव पनि सभाले स्वीकृत गरेको छ । अब यी चारवटै विधेयकमाथि सम्बन्धी समितिमा दफावार छलफल हुनेछ ।  

एलआरआर मोटर्सले नेपाल ल्यायो ‘स्काईवेल’, नाडा अटो शोमा सार्वजनिक हुने

काठमाडौं । लक्जरी चिनियाँ विद्युतीय सवारी ब्राण्ड ‘स्काईवेल’लाई एलआरआर मोटर्सले नेपाल ल्याएको छ । एलआरआरले बीई ११ मोडलका स्काईवेल ईभी नेपाल ल्याएको हो ।  कम्पनीले अहिले दुइ भेरियन्ट नेपाल ल्याएको छ । यी ईभी नाडा अटो शो २०२६ को पहिलो दिन भदौ ९ गते औपचारिक रुपमा सार्वजनिक गरिने कम्पनीले जनाएको छ । सोमबार उत्पादक कम्पनी स्काईवेलका उपाध्यक्षले एलआरआर मोटर्सका प्रतिनिधि, कर्मचारी र अटोमोबाइल्स प्रेमीहरुका बीचमा औपचारिक रुपमा स्काईवेलको लोगो अनावरण गरेका छन् । कम्पनीका अनुसार ७१.९८ किलोवाट आवर क्षमताको एनएमसी ब्याट्री प्याकमा आएको बीई ११ ले एक पटकको पूर्ण चार्जमा ५२० किलोमिटर रेन्ज दिनेछ । साथै, ५१.९१ किलोवाटको एलएफपी ब्याट्री अप्सनमा आएको बीई११ ले एक पटकको चार्जमा ४१० किलोमिटर रेन्ज दिनेछ । यो ईभी डिसी फास्ट चार्जरबाट चार्ज गर्दा ३५ मिनेटमै ७० प्रतिशतसम्म चार्ज हुने कम्पनीले जनाएको छ । यी दूबै भेरियन्टमा १५० किलोवाट क्षमताको मोटर छ । यसमा ८ सय हाई(भोल्टेज आर्किटेक्चर रहेको छ, जसले फास्ट चार्जिङलाई सपोर्ट गर्छ ।   पानारोमिक सनरुफ, ३६० डिग्री क्यामेरा, भेन्टिलेडेट सिट, प्रशस्त स्पेश र आधुनिक बडी डिजाइनले यो ईभीलाई लक्जरी बनाएको छ । साथै, यो ईभीमा १९८ एमएमको भव्य ग्राउण्ड क्लियरेन्स छ । उत्कृष्ट ग्राउण्ड क्लियरेन्सका कारण यो ईभी नेपालको जस्तोसुकै बाटोमा पनि सहजै हिड्न सक्ने दाबी कम्पनीको छ । ५ सिट क्षमताको यो ईभीको वारेन्टी र मूल्य लगायतका विषय भने औपचारिक रुपमा गाडी सार्वजनिक गर्दा जानकारी गराइने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार आक्रामक मूल्यमा यो ईभी सार्वजनिक हुनेछ ।

ग्लोबल फिनटेक फेस्टमा नेपालको आइमार्क ‘बेस्ट पेमेन्ट्स सोलुसन’का लागि छनोट

काठमाडौं । नेपालको डिजिटल भुक्तानी सेवा प्रदायक आइमार्क प्रालि विश्वकै प्रतिष्ठित फिनटेक सम्मेलन ग्लोबल फिनटेक फेस्ट २०२६ अन्तर्गत ‘बेस्ट पेमेन्ट्स सोलुसन’ विधाको अवार्डका लागि मनोनयनमा परेको छ। अन्तर्राष्ट्रिय फिनटेक अवार्डको महत्वपूर्ण विधामा नेपाली कम्पनी छनोट भएको यो पहिलोमध्ये एक उपलब्धि मानिएको छ । भारतको मुम्बईमा आगामी सेप्टेम्बर ८ देखि ११ गतेसम्म आयोजना हुने ग्लोबल फिनटेक फेस्टमा विश्वभरका बैंक, वित्तीय संस्था, केन्द्रीय बैंक, नियामक निकाय, फिनटेक कम्पनी, स्टार्टअप र प्रविधि क्षेत्रका प्रतिनिधिहरू सहभागी हुनेछन् । ‘बेस्ट पेमेन्ट्स सोलुसन’ विधामा आइमार्कसँगै क्याम्सपे, बैंक अफ इन्डिया, स्प्रिन्टपीजीएक्स र इन्भ्वाइसमार्ट पनि सर्टलिस्टमा परेका छन् । गत वर्ष यही विधाको अवार्ड भारतीय डिजिटल भुक्तानी कम्पनी पेटिएम ले जितेको थियो । नेपाली कम्पनी अन्तर्राष्ट्रिय फिनटेक अवार्डको प्रतिस्पर्धामा उत्रिनु नेपालको डिजिटल भुक्तानी क्षेत्रका लागि महत्वपूर्ण उपलब्धि भएको सरोकारवालाले बताएका छन् ।   यस वर्षको जीएफएफको मुख्य विषय ‘पोटेन्सियल टु इम्प्याक्ट’ रहेको छ । सम्मेलनमा एजेन्टिक एआई, टोकनाइजेसन, क्वान्टम प्रविधि, डिजिटल भुक्तानी, वित्तीय समावेशीकरण, जोखिम व्यवस्थापन, डेटा तथा डिजिटल रूपान्तरणजस्ता विषयमा छलफल हुनेछ । आयोजकका अनुसार सम्मेलनमा एक लाखभन्दा बढी सहभागी, पाँच हजारभन्दा बढी संस्था, चार हजार पाँच सयभन्दा बढी स्टार्टअप र एक हजारभन्दा बढी वक्ता सहभागी हुने अपेक्षा गरिएको छ । ८० भन्दा बढी देशका प्रतिनिधि र ८० भन्दा बढी नियामक निकायको सहभागिता रहने जनाइएको छ ।  ग्राहककेन्द्रित सेवामा आइमार्कको जोड आइमार्कले सुरक्षित, भरपर्दो र नवीन डिजिटल भुक्तानी समाधान विकास गर्दै आएको जनाएको छ ।  कम्पनीले ग्राहककेन्द्रित सेवा, चुस्तता, उत्कृष्टता, सहकार्य, पारदर्शिता र निरन्तर सुधारलाई आफ्नो कार्यसंस्कृतिको आधार बनाएको बताएको छ । कम्पनीका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत रामप्रसाद ढुङ्गाना ले टोलीको निरन्तर मेहनत, ग्राहक र साझेदारको विश्वासका कारण अन्तर्राष्ट्रिय फिनटेक मञ्चमा नेपालको प्रतिनिधित्व गर्ने अवसर प्राप्त भएको बताए । उनका अनुसार आइमार्कको यो मनोनयनले नेपाली डिजिटल भुक्तानी प्रविधि अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा प्रवेश गरेको संकेत दिएको छ । साथै नेपालमा विकास भइरहेका डिजिटल भुक्तानी समाधानलाई विश्व बजारमा चिनाउने महत्वपूर्ण अवसर पनि सिर्जना भएको छ ।

कांग्रेस प्रमुख सचेतक थापा र अस्ट्रेलियाका राजदूतबीच भेटवार्ता

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी प्रमुख सचेतक बासना थापा र नेपालका लागि अष्ट्रेलियाका राजदूत साइमन अर्न्स्टबीच शिष्टाचार भेटवार्ता भएको छ । नेपाली कांग्रेस संसदीय दलको कार्यालयमा सोमबार (आज) भएको भेटमा नेपाल–अष्ट्रेलिया सम्बन्ध, संसदीय सहकार्य, शिक्षा, जनस्तरीय सम्बन्ध तथा आपसी हितका विषयमा छलफल भएको थियो । भेटमा प्रमुख सचेतक थापाले नेपाल र अष्ट्रेलियाबीचको सम्बन्धलाई थप बलियो बनाउन संसदीय तहको सहकार्यलाई प्राथमिकता दिनुपर्ने बताइन् ।  उनले दुवै देशका सांसदबीच नियमित संवाद र अनुभव आदानप्रदान बढाउनुपर्नेमा जोड दिइन् । थापाले नेपाल-अष्ट्रेलिया संसदीय मैत्री समूहलाई प्रभावकारी रूपमा परिचालन गरी दुई देशका सांसदबीचको संस्थागत सम्बन्ध विस्तार गर्नुपर्ने बताइन् । साझा हितका विषयमा सहकार्य र पारस्परिक समझदारी बढाउन संसदीयमैत्री समूह महत्त्वपूर्ण माध्यम बन्न सक्ने उनको भनाइ थियो । त्यस अवसरमा उनले नेपालको सामाजिक तथा आर्थिक विकासमा अष्ट्रेलियाले लामो समयदेखि गर्दै आएको सहयोगको प्रशंसा गरिन् । विशेषगरी अष्ट्रेलिया अवार्ड स्कलरसिप, क्षमता अभिवृद्धि तथा तालिमका अवसरमार्फत नेपालको मानव संसाधन विकासमा अष्ट्रेलियाले पु‍र्याएको योगदानप्रति उनले आभार व्यक्त गरिन् । थापाले उच्च शिक्षाका लागि अष्ट्रेलिया नेपाली विद्यार्थीको प्रमुख गन्तव्य रहेको उल्लेख गर्दै अष्ट्रेलियामा अध्ययनरत विद्यार्थी तथा त्यहाँ बसोबास गर्ने नेपाली समुदायले दुई देशबीचको सम्बन्धलाई थप मजबुत बनाउन महत्त्वपूर्ण भूमिका खेलिरहेको बताइन् । भेटमा थापाले राजदूत अर्न्स्टमार्फत अष्ट्रेलियाको प्रतिनिधिसभाका सभामुख मिल्टन डिकप्रति हार्दिक अभिवादन तथा शुभकामना व्यक्त गरिन् । भेटवार्तामा राजदूत अन्स्र्टले नेपाल-अष्ट्रेलिया सम्बन्धलाई थप सुदृढ बनाउन संसदीय सहकार्य र जनस्तरीय सम्बन्ध महत्त्वपूर्ण रहेको बताए ।  उनले शिक्षा, मानव संसाधन विकास तथा संसदीय सहकार्यलगायतका क्षेत्रमा हुँदै आएको सहकार्यलाई आगामी दिनमा थप विस्तार गर्न अष्ट्रेलियाका तर्फबाट निरन्तर सहयोग रहने प्रतिबद्धता व्यक्त गरे ।

कांग्रेसले भदौ ११ मा महिला उद्यमशीलता सम्मेलन गर्ने

काठमाडौं । नेपाली कांग्रेसले महिला उद्यमशीलताको प्रवर्द्धन र आर्थिक सशक्तीकरणलाई केन्द्रमा राख्दै ‘महिला उद्यमशीलता सम्मेलन’ आयोजना गर्ने भएको छ । कांग्रेस केन्द्रीय कार्यालय, सानेपामा भदौ ११ गते आयोजना हुने एकदिने सम्मेलनमा महिला उद्यमीका चुनौती, सम्भावना, वित्तीय पहुँच, बजार विस्तार, प्रविधिको प्रयोग तथा लगानीका अवसरबारे छलफल गरिने कांग्रेसले जनाएको छ । सम्मेलनको उद्देश्य महिलाको आर्थिक सशक्तीकरणसँगै उद्यमशीलताको विकासमार्फत नेपालको आर्थिक रूपान्तरणमा महिला उद्यमीको भूमिका थप प्रभावकारी बनाउनु रहेको कांग्रेसको भनाइ छ । सम्मेलनले महिला उद्यमीबीच अनुभव आदानप्रदान, लगानी तथा वित्तीय पहुँच विस्तार, बजार प्रवर्द्धन र व्यावसायिक नेटवर्किङका लागि साझा मञ्च उपलब्ध गराउने अपेक्षा गरिएको छ । सम्मेलनसँगै कांग्रेस केन्द्रीय कार्यालय परिसरमा ८० भन्दा बढी महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनीसमेत आयोजना गरिनेछ । प्रदर्शनीमा उद्यमीहरूले आफ्ना उत्पादन तथा सेवा उपभोक्ता, व्यवसायी, लगानीकर्ता र सम्भावित साझेदारसमक्ष प्रत्यक्ष प्रस्तुत गर्ने अवसर पाउनेछन् । सम्मेलनमा महिला उद्यमशीलतासँग सम्बन्धित तीनवटा विषयगत प्यानल छलफल हुनेछन् । व्यवसाय, वित्तीय क्षेत्र, प्रविधि, लगानी, पर्यटन, सूचना प्रविधि तथा निजी क्षेत्रका अनुभवी व्यक्तित्वहरूले प्यानलमा सहभागिता जनाउने कांग्रेसले जनाएको छ । प्यानल छलफलमा महिला उद्यमीले भोग्दै आएका व्यावहारिक समस्या, लगानी तथा वित्तीय पहुँचका चुनौती, प्रविधि र डिजिटल बजारको सम्भावना तथा व्यवसाय विस्तारका अवसरबारे छलफल हुनेछ । कार्यक्रमको अर्को प्रमुख आकर्षण ‘मेरो उद्यमशील यात्रा’ सत्र रहनेछ । उक्त सत्रमा सफल महिला उद्यमीहरूले आफ्नो उद्यम यात्रा, संघर्ष, चुनौती, सफलता र सिकाइका अनुभव सुनाउनेछन् । यसबाट उद्यमशीलतामा प्रवेश गर्न चाहने नयाँ पुस्ताका महिलालाई प्रेरणा र व्यावहारिक मार्गदर्शन मिल्ने कांग्रेसको अपेक्षा छ । त्यसैगरी सम्मेलनस्थलमा लगानी, वित्तीय पहुँच तथा सरकारी सेवासम्बन्धी जानकारी केन्द्र सञ्चालन गरिनेछ । केन्द्रमार्फत व्यवसाय दर्ता, वित्तीय पहुँच, लगानी, सरकारी सेवा तथा उद्यम विस्तारका लागि उपलब्ध अवसरबारे जानकारी दिइनेछ । कांग्रेसका अनुसार सम्मेलन भदौ ११ गते बिहान ८ बजे सानेपास्थित केन्द्रीय कार्यालय परिसरमा सुरु हुनेछ । सम्मेलनमा १० हजारभन्दा बढीले अवलोकन गर्ने अपेक्षा गरिएको छ । महिला उद्यमशीलताको विकासमार्फत रोजगारी सिर्जना, उत्पादन वृद्धि, आयआर्जन, आत्मनिर्भरता र समुन्नत समाज निर्माणमा योगदान पुर्‍याउने उद्देश्यले सम्मेलन आयोजना गर्न लागिएको कांग्रेसले जनाएको छ ।