विकासन्युज

यात्री पी-२ स्कुटर एकै पटकको चार्जमा १५७ किलोमिटरसम्म गुड्ने

काठमाडौं । नेपाली सवारी ब्रान्ड यात्री मोटरसाइकल र सिप्रदी ट्रेडिङको साझेदारीमा निर्मित नयाँ विद्युतीय स्कुटर ‘यात्री पी-२’ औपचारिक रूपमा सार्वजनिक भएको छ ।  नेपालमै डिजाइन, इन्जिनियरिङ र उत्पादन गरिएको यो स्कुटरलाई सिप्रदी यात्रीले विभिन्न ब्याट्री क्षमताका विकल्पसहित बजारमा ल्याएको हो ।  ग्राहकको आवश्यकता अनुसार पी-२ लाई ५.२ किलोवाट घण्टा, ३.७ किलोवाट घण्टा र ३ किलोवाट घण्टा गरी तीन फरक ब्याट्री मोडलमा उपलब्ध गराइएको छ ।  कम्पनीका अनुसार ५.२ किलोवाट ब्याट्री भएको मोडलले एक पटकको पूर्ण चार्जमा १५७ किलोमिटरसम्मको दूरी तय गर्छ ।  त्यस्तै, ३.७ किलोवाट घण्टाको मोडलले ११२ किलोमिटर र ३ किलोवाट घण्टा क्षमताको ब्याट्रीले ९० किलोमिटरसम्मको दूरी तय गर्ने दाबी गरिएको छ । यस स्कुटरमा ३.३ किलोवाट क्षमताको द्रुत (डीसी) चार्जिङ सुविधा समेत रहेको छ ।  लामो दूरीको यात्रालाई सहज बनाउन सिप्रदी यात्रीले देशभर ३५ भन्दा बढी स्थानमा यस्ता द्रुत चार्जिङ केन्द्र स्थापना गर्ने योजना बनाएको छ ।  आधुनिक प्रविधिलाई प्राथमिकता दिइएको पी-२ मा एन्ड्रोइड अटो, एप्पल कारप्ले, वास्तविक समयको ऊर्जा मापक (रियल टाइम इनर्जी मिटर) र आधुनिक सुचना पाटी (स्मार्ट डिस्प्ले) समावेश गरिएका छन् ।  नेपालका तराईदेखि पहाडी तथा कठिन सडकहरू (जिरी, काठमाडौं, मुलकोट, कटारी, भरतपुर, वालिङ आदि) मा व्यापक परीक्षणपश्चात् मात्र यसलाई बजारमा उतारिएको हो ।  नेपालमा विद्युतीय दुईपाङ्ग्रे सवारी उत्पादनलाई व्यावसायिक रूप दिन सिप्रदी यात्रीले उत्पादन केन्द्रमा करिब ६० करोड रुपैयाँ लगानी गर्ने र वार्षिक ५० हजार थानसम्म स्कुटर उत्पादन गर्ने लक्ष्य राखेको छ ।

जेनजी शहीद परिवार र घाइतेका माग कार्यान्वयन गर्न समर्पित संयन्त्र गठन गरिने

काठमाडौं । जेनजी आन्दोलनका शहीद परिवार तथा घाइते व्यक्तिहरूका माग सम्बोधन गर्न नेपाल सरकारले समर्पित संयन्त्र ( डेडिकेटेड टिम) मार्फत काम अघि बढाउने भएको छ । गृह मन्त्रालयमा सोमबार गृहमन्त्री सुधन गुरुङको नेतृत्वमा भएको छलफलमा कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतम, प्रतिनिधिसभाका सदस्यहरू, मुख्य सचिव, गृहसचिव, जेनजी आन्दोलनका शहीद परिवार तथा घाइतेका प्रतिनिधिहरूको सहभागिता थियो ।  छलफलमा ८२ भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका शहीद परिवार तथा घाइते व्यक्तिहरूका माग कार्यान्वयनका लागि मन्त्रिपरिषद्बाट ८२ मंसिर २४ गते स्वीकृत १० बुँदे सम्झौता र ८३ असार १८ गते स्वीकृत २४ बुँदे प्रस्तावको कार्यान्वयनबारे छलफल भएको थियो ।  माग कार्यान्वयनका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गत सहसचिवको अध्यक्षतामा रहेको सहजीकरण समितिलाई जेनजीसम्बन्धी विषय मात्र कार्यान्वयन गर्ने समर्पित संयन्त्रका रूपमा जिम्मेवारी तोक्ने निर्णय भएको छ ।  साथै, शहीद परिवार तथा घाइते व्यक्तिहरूलाई सिंहदरबार प्रवेशमा आवश्यक सहजीकरण गर्ने निर्णयसमेत भएको छ । छलफलमा जेनजी परिषद् घोषणा, जेनजी शहीद दिवस घोषणा, दौलत थापालाई ‘जिउँदो शहीद’ घोषणा, २४ बुँदे प्रस्ताव संशोधन, संसद् भवन परिसरमा जेनजीको शालिक निर्माण तथा जेनजी पार्क निर्माण लगायतका विषयमा सकारात्मक छलफल भएको जनाइएको छ । उक्त विषयहरूलाई क्रमशः कार्यान्वयन गर्दै जाने विषयमा छलफलमा सहभागीहरूबीच सामूहिक प्रतिबद्धता भएको छ ।  जेनजीका मागहरू शीघ्र सम्बोधन गर्न सबै जनप्रतिनिधि तथा सम्बन्धित निकायहरू समान बुझाइका साथ समन्वयात्मक र एकीकृत ढङ्गले क्रियाशील रहने प्रतिबद्धतासमेत व्यक्त गरिएको छ ।

नेपालमै डिजाइन र निर्माण भएको इलेक्ट्रिक स्कुटर यात्री पी-२ को अर्थमन्त्री डा. वाग्लेले गरे अनावरण

काठमाडौं । नेपाली इलेक्ट्रिक सवारी साधन निर्माता कम्पनी यात्री र साझेदार सिप्रदीले आफ्नो नयाँ उत्पादन यात्री पी २ इलेक्ट्रिक स्कुटर औपचारिक रूपमा सार्वजनिक गरेका छन् ।  सोमबार आयोजित समारोहका बीच अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले उक्त स्कुटरको अनावरण गरे । नेपालमै पूर्ण रूपमा डिजाइन, इन्जिनियरिङ र निर्माण गरिएको यो स्कुटर यात्री अटोमोबाइल्सको दोस्रो ठूलो उत्पादन हो । यसअघि कम्पनीले यात्री पी १ मोटरसाइकल बजारमा ल्याइसकेको छ । कार्यक्रममा यात्रीका संस्थापक असीम पाण्डे, सिप्रदी ट्रेडिङका उच्च अधिकारीहरू लगायतको उपस्थिति रहेको थियो । स्कुटरको अनावरण गर्दै अर्थमन्त्री  डा.  वाग्लेले नेपालमा केही हुँदैन भन्ने नकारात्मक सोचेलाई यात्री पी २ ले कडा जवाफ दिएको बताए ।  उनले भने, ‘हामीले एप्पलको फोनमा डिजाइन्ड इन क्यालिफोर्निया लेखेको देखेका छौं, अब यात्रीको माध्यमबाट डिजाइन इन बुढानीलकण्ठ भन्न पाउँदा निकै गर्व लागेको छ । यसले नेपालीहरूको राष्ट्रिय आत्मविश्वास  बढाएको छ ।’ ‘नेपालमा सबै कुरा खतम छ भन्ने भाष्यबाट अब हामी बबालतिर गएका छौं । यो स्कुटरले नेपालको इलेक्ट्रिक मोबिलिटीमा एउटा नयाँ मानक  सेट गर्नेछ,’ उनले थपे । नेपाली भूगोल सुहाउँदो इन्जिनियरिङ यात्री पी २ लाई विशेष गरी नेपालको उकालो-ओरालो र कच्ची बाटोलाई ध्यानमा राखेर इन्जिनियरिङ गरिएको कम्पनीले जनाएको छ । यसलाई शिवपुरी-नागार्जुन क्षेत्रको करिब ६०० मिटर उचाइको टेरेनमा परीक्षण गरिएको छ ।  यो स्कुटर बुढानीलकण्ठस्थित स्टुडियोमा डिजाइन गरिएको हो भने धादिङको गजुरीमा यसको उत्पादन प्लान्ट रहेको छ । सिप्रदीको साथ र व्यावसायिक भविष्य नेपालको प्रतिष्ठित कम्पनी सिप्रदी ट्रेडिङले यात्रीसँग सहकार्य गरेको छ ।  नेपालकै ठूलो करदातामध्येको एक सिप्रदीले यात्री जस्तो युवा इन्जिनियरहरूको स्टार्टअपलाई साथ दिनुले यसको व्यावसायिक भविष्य थप सुनिश्चित भएको डा. वाग्लेले उल्लेख गरे । कार्यक्रममा यात्री अटोमोबाइल्स संस्थापक असीम पाण्डेले स्कुटरको प्राविधिक पक्ष र इन्जिनियरिङबारे जानकारी गराएका थिए । यात्री पी २ ले सहरी यात्रालाई सहज, किफायती र वातावरणमैत्री बनाउने विश्वास कम्पनीको छ । यसको मूल्य नाडा अटो शोमा सार्वजनिक हुनेछ । 

यात्री पी-२ केवल स्कुटर मात्र होइन, नेपाली सिर्जना र आत्मविश्वासको प्रतीक हो: सीईओ श्रेष्ठ

काठमाडौं । सिप्रदी ट्रेडिङका प्रमुख कार्यकारी अधिकृत (सीईओ) राजनबाबु श्रेष्ठले नेपालमा डिजाइन तथा निर्माण गरिएको विद्युतीय स्कुटर ‘यात्री पी–२’ नेपाली सिर्जना, नवप्रवर्तन र आत्मविश्वासको प्रतीक भएको बताएका छन् । यात्री पी-२ को अनावरण समारोहलाई सम्बोधन गर्दै श्रेष्ठले पी-२ एउटा विद्युतीय स्कुटरमा मात्र सीमित नरहेको बताए ।  उनका अनुसार यो नेपाली इन्जिनियरिङ क्षमता, प्रविधि र आफ्नै उत्पादन विकास गर्न सक्ने आत्मविश्वासको उत्कृष्ट उदाहरण हो । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा श्रेष्ठले नेपालीले पनि अत्याधुनिक प्रविधिमा आधारित उत्पादन सिर्जना गर्न सक्छन् भन्ने विश्वास पी-२ ले बलियो बनाएको बताए । उनले भने, ‘यात्री पी-२’ एउटा नयाँ विद्युतीय स्कुटर मात्र होइन, यो विश्वासको प्रतीक हो । नेपालीले पनि अत्याधुनिक प्रविधिमा आधारित उत्पादन सिर्जना गर्न सक्छन् भन्ने कुराको यो बलियो उदाहरण हो ।’ श्रेष्ठले सिप्रदी ट्रेडिङको ४४ वर्षभन्दा लामो यात्राको चर्चा गर्दै नेपालको अटोमोबाइल तथा गतिशीलता क्षेत्रमा विश्वस्तरीय प्रविधि भित्र्याउन, रोजगारी सिर्जना गर्न र पूर्वाधार विकासमा संस्थाले महत्त्वपूर्ण योगदान पुर्‍याउँदै आएको बताए । यात्रीसँगको सहकार्य सवारी साधन बिक्रीमा मात्र सीमित नरहेको उनको भनाइ छ ।  नेपाली उत्पादन र प्रविधिमा आधारित आफ्नै औद्योगिक पारिस्थितिक प्रणाली निर्माण गर्ने दीर्घकालीन उद्देश्यका साथ सहकार्य अघि बढाइएको उनले बताए । नेपाल प्रविधिको उपभोक्ताबाट सिर्जनाकर्ता बन्नुपर्नेमा जोड दिँदै श्रेष्ठले त्यसका लागि आफ्नै क्षमतामाथि विश्वास गर्नुपर्ने बताए ।  यात्री पी-२ को निर्माणले नेपाली युवा इन्जिनियर तथा उद्यमीहरूमा अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न सक्ने क्षमता रहेको प्रमाणित गरेको उनको दाबी छ । श्रेष्ठले नेपाली उत्पादनमूलक उद्योगलाई सरकारले रणनीतिक राष्ट्रिय सम्पत्तिका रूपमा स्वीकार गर्नुपर्नेमा जोड दिए ।  स्वदेशी उत्पादनलाई प्रोत्साहन, अनुसन्धान तथा विकासमा सहयोग र स्थानीय उद्यमीका लागि अनुमानयोग्य तथा समान अवसरको वातावरण सिर्जना गर्ने नीति आवश्यक रहेको उनले बताए। नेपाली उत्पादन सफल हुँदा त्यसको लाभ व्यवसायमा मात्र सीमित नहुने श्रेष्ठको भनाइ छ ।  यसले रोजगारी सिर्जना, सीप विकास तथा स्थानीय आपूर्ति शृङ्खला सुदृढीकरणमा समेत महत्त्वपूर्ण योगदान पुर्‍याउने उनले बताए । श्रेष्ठले सिप्रदी र यात्रीबीचको सहकार्य पी-२ स्कुटरमा मात्र सीमित नरहेको बताए ।  यसलाई विद्युतीय गतिशीलताका क्षेत्रमा दीर्घकालीन प्लेटफर्म निर्माण गर्ने दिशामा अघि बढाइएको उनको भनाइ छ। भविष्यमा नेपाली प्रविधिलाई अन्तर्राष्ट्रिय बजारसम्म पु‍र्याउने सम्भावना रहेको उल्लेख गर्दै उनले पी-२ त्यसतर्फको सुरुवात मात्र भएको बताए । उनले नेपालको भविष्य आफूले के भित्र्याउँछौं भन्नेमा मात्र नभई आफूले के निर्माण गर्न सक्छौं र विश्वलाई के दिन सक्छौं भन्नेमा निर्भर रहेको बताए । ‘आज हामीले स्कुटरसँगै नेपालप्रतिको एउटा अटल विश्वासको पनि अनावरण गरेका छौं,’ श्रेष्ठले भने ।

टाटाको गाडी किन्न मुक्तिनाथको कर्जा, ईभीमा ६० र आईसीईमा ७० प्रतिशत

काठमाडौं । मुक्तिनाथ विकास बैंक र नेपालमा टाटा गाडीको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ प्रालिबीच टाटाका पिकअप तथा साना व्यावसायिक सवारी साधन खरिदका लागि कर्जा उपलब्ध गराउनेसम्बन्धी समझदारी भएको छ । समझदारीपत्रमा मुक्तिनाथ विकास बैंकका प्रमुख कार्यकारी अधिकृत तारा मानन्धर र सिप्रदी ट्रेडिङका उपाध्यक्ष सौरभराज थपलियाले हस्ताक्षर गरे । सम्झौताअनुसार सिप्रदी ट्रेडिङका अधिकृत डिलरमार्फत टाटा ब्रान्डका पिकअप तथा साना व्यावसायिक सवारी साधन खरिद गर्ने ग्राहकले मुक्तिनाथ विकास बैंकका १७६ वटै शाखाबाट सहुलियत ब्याजदरमा कर्जा सुविधा पाउनेछन् । बैंकले विद्युतीय सवारी साधन खरिदका लागि अधिकतम ६० प्रतिशतसम्म र आन्तरिक दहन इन्जिनयुक्त (आईसीई) सवारी साधनका लागि अधिकतम ७० प्रतिशतसम्म कर्जा उपलब्ध गराउने जनाएको छ । यस सहकार्यबाट व्यवसाय, कृषि तथा साना उद्यममा प्रयोग हुने व्यावसायिक सवारी साधन खरिद गर्न चाहने ग्राहकलाई वित्तीय पहुँच सहज हुने अपेक्षा गरिएको छ ।  साथै यसले साना व्यवसाय तथा उद्यमको विस्तारमा समेत सहयोग पुग्ने बैंकको विश्वास छ । यसैबीच, मुक्तिनाथ विकास बैंकले अटो कर्जा, कृषि कर्जा तथा लघु, साना तथा मझौला उद्यम (एसएमई) कर्जामा न्यूनतम ब्याजदरमा कर्जा प्रवाह गर्ने विशेष योजना पनि ल्याएको जनाएको छ ।

नबिल बैंकको डीसीईओ बने गणेश अवस्थी

काठमाडौं । नबिल बैंकको नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ)मा गणेश प्रसाद अवस्थी बढुवा भएका छन् । बैंकको सञ्चालक समितिको बैठकले अवस्थीलाई डीसीईओमा बढुवा गर्ने निर्णय गरेको हो । अवस्थी हाल बैंकको नायब महाप्रबन्धक (डीजीएम) पदमा कार्यरत छन् । बैंकिङ क्षेत्रमा साढे दुई दशकभन्दा बढीको अनुभव सँगालेका अवस्थीले सहायक महाप्रबन्धक (एजीएम) पदबाट नबिल बैंकमा प्रवेश गरेका हुन् । क्रेडिट तथा निक्षेप परिचालनमा दख्खल राख्ने अवस्थीले सन् २००१ मा तत्कालीन एनआईसी बैंकबाट बैंकिङ करियर सुरु गरेका थिए । त्यसपछि उनले कुमारी बैंकमा शाखा प्रमुखका रूपमा काम गरेका थिए भने सन् २००८ मा ग्लोबल आइएमई बैंकमा प्रवेश गरेका थिए । ग्लोबल आइएमई बैंकमा १३ वर्षभन्दा बढी समय काम गरेपछि उनी नबिल बैंकमा आबद्ध भएका हुन् । विभिन्न बैंकिङ फोरममा सहभागी हुँदै आएका अवस्थी क्रेडिट व्यवस्थापन, व्यावसायिक क्षमता अभिवृद्धि तथा ग्राहक सेवामा केन्द्रित छन् । उनले त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्र र व्यवस्थापन विषयमा स्नातकोत्तर गरेका छन् । साथै, हार्वर्ड बिजनेस स्कुलबाट ‘डिस्रप्टिभ स्ट्राटेजी’ विषयसमेत अध्ययन गरेका छन् ।

जहाँ केही छैन, त्यहाँ उभिएर सुन्दर सपना देख्नु नै नेतृत्व हो : डा. रामकण्ठ माकजु

काठमाडौं । नेपाल जन–प्रशासन संघले धुलिखेल अस्पतालका संस्थापक एवं वरिष्ठ चिकित्सक डा. रामकण्ठ माकजु श्रेष्ठलाई ‘हेमबहादुर मल्ल सम्मान पुरस्कार २०८१’ बाट सम्मान गरेको छ । काठमाडौंमा आयोजित विशेष समारोहकाबीच राष्ट्रपति रामचन्द्र पौडेलले डा. श्रेष्ठलाई सो सम्मान प्रदान गरेका हुन् । सम्मान ग्रहण गर्दै डा. श्रेष्ठले यो पुरस्कार आफ्नो व्यक्तिगत उपलब्धि मात्र नभएर इमान्दारीपूर्वक गरिएको काम र सेवाप्रतिको समर्पणको कदर भएको बताए । यसले आफूलाई भविष्यमा अझ जिम्मेवार भएर अघि बढ्ने ऊर्जा थपेको उनको भनाई थियो ।  विगत ३० वर्षदेखि सानो कर्मथलोमा निरन्तर सेवामा समर्पित डा. श्रेष्ठले नेतृत्वलाई एउटा सिर्जनात्मक कार्यको रूपमा व्याख्या गरेका छन् । ‘नेतृत्व भनेको आवश्यकता भएको तर केही पनि नरहेको ठाउँमा उभिएर एउटा सुन्दर सपना देख्नु र त्यसलाई विपनामा परिणत गर्नु गर्नु हो,’ उनले भने ।  एउटा सानो टोलीबाट सानो डाँडामा सुरु भएको अस्पताललाई आज झण्डै १७ सय कर्मचारीहरू कार्यरत रहेको उत्कृष्ट संस्थाका रूपमा स्थापित गर्न सफल भएको उनले बताए ।  साथै काठमाडौं विश्वविद्यालयसँगको सहकार्यमा विगत २५ वर्षभित्र २० हजार युवाहरूलाई विभिन्न स्वास्थ्य विधामा शिक्षित एवं प्रशिक्षित गराउन सफल भएको पनि उनले प्रस्तुत गरे ।  दिगो संस्था निर्माण र सकारात्मक दृष्टिकोणको आवश्यकता औंल्याउँदै डा. श्रेष्ठले नेतृत्व र व्यवस्थापनमा कमजोरी खोज्नुभन्दा सबल पक्षलाई उजागर गर्नुपर्नेमा उनले जोड दिएका छन् ।  नेपाल कडा परिश्रम गर्ने हिम्मत भएका मानिसहरूको देश भएको उल्लेख गर्दै उनले मुलुकको मुख्य समस्या व्यक्ति वा समुदायमा नभई अनुकरण गर्न मिल्ने बलिया संस्थाहरू निर्माण गर्न नसक्नुमा रहेको औंल्याएका छन् । ‘हाम्रो देशमा सयौं वर्षसम्म टिकिरहने संस्थाहरू एकदमै थोरै छन्, त्यसैले अबको प्रयास सिक्न र सिकाउन सकिने दिगो संस्थाहरूको सिर्जना गर्नुतर्फ केन्द्रित हुनुपर्दछ,’ डा. श्रेष्ठले भने ।

मिस-सेलिङमा प्राधिकरणको कडा निर्देशन, ‘एफडी हो’ भन्दै बीमा बेचे कारबाही

काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा योजनाको बिक्रीमा हुने गलत अभ्यास (मिस सेलिङ) नियन्त्रण गर्न कडाइ गरेको छ । प्राधिकरणले बीमा कम्पनी तथा अभिकर्तालाई बीमा योजनालाई ‘फिक्स्ड डिपोजिट (एफडी)’, ‘ब्याज दिने योजना’, ‘डबल मनी योजना’ वा ‘निश्चित लगानी प्रतिफल’ जस्ता शब्द प्रयोग गरी बिक्री नगर्न निर्देशन दिएको छ । बीमा व्यवसाय बीमितको आर्थिक जोखिम हस्तान्तरण तथा वित्तीय सुरक्षासँग सम्बन्धित संवेदनशील सेवा भएकाले बीमा योजना बिक्री गर्दा बीमितलाई सही, पूर्ण तथा तथ्यपरक सूचना उपलब्ध गराउनु बीमक तथा सम्बन्धित अभिकर्ताको दायित्व रहेको प्राधिकरणले जनाएको छ । प्राधिकरणले बीमा ऐन, २०७९, बीमा नियमावली, २०८१ तथा प्राधिकरणबाट जारी अन्य नियामकीय व्यवस्थाको अधीनमा रही बीमालेख बिक्री गर्दा हुने मिस–सेलिङ नियन्त्रणका लागि विभिन्न व्यवस्था गरेको हो । प्राधिकरणको निर्देशनअनुसार बीमा योजनालाई कुनै पनि निक्षेप वा लगानी योजनाका रूपमा प्रस्तुत गरी बिक्री गर्न पाइने छैन । त्यस्तै, बीमालेखका शर्त तथा प्राधिकरणबाट स्वीकृत लाभभन्दा बाहिर गई निश्चित बोनस, प्रतिफल, रकम वा अन्य लाभ प्राप्त हुने भन्दै आश्वासन दिनसमेत रोक लगाइएको छ । बीमा कम्पनीले स्वीकृत गरेका प्रचार सामग्रीबाहेक अभिकर्ताले आफूखुसी सामाजिक सञ्जाल वा अन्य माध्यमबाट बीमा योजनाको प्रचारप्रसार गर्न नपाउने व्यवस्था गरिएको छ । बीमा प्रस्ताव पेस गर्दा उक्त योजना निक्षेप वा फिक्स्ड डिपोजिट नभएको विषयमा समेत ग्राहकलाई स्पष्ट रूपमा बुझाउनुपर्नेछ । बीमा योजना सिफारिस गर्दा बीमितको आवश्यकता, आर्थिक क्षमता, उमेर, आयस्रोत तथा बीमाको उद्देश्यलाई ध्यानमा राखी उपयुक्त योजना छनोट गर्नुपर्ने प्राधिकरणले जनाएको छ । त्यस्तै, बीमकले अभिकर्ताले प्रयोग गर्ने बिक्री सामग्रीको परीक्षण, ग्राहकका गुनासोको विश्लेषण तथा सम्बोधन र सामाजिक सञ्जालमार्फत हुने बीमा प्रचारप्रसारको नियमित अनुगमन गर्ने व्यवस्था मिलाउनुपर्नेछ । मिस–सेलिङसम्बन्धी गुनासोको छुट्टै अभिलेख राखी त्यस्ता गुनासोको संख्या, प्रकृति, समाधान तथा गरिएको कारबाहीसम्बन्धी विवरण प्रत्येक त्रैमासिक रूपमा प्राधिकरणमा पेस गर्नुपर्ने व्यवस्था पनि गरिएको छ । प्राधिकरणले जारी गरेको परिपत्र तथा अन्य नियामकीय व्यवस्थाको उल्लंघन गरी बीमालेख बिक्री गर्ने, गलत सूचना दिने, भ्रामक प्रचार वा अतिरञ्जित दाबी गर्ने तथा बीमालेखका वास्तविक प्रकृति लुकाउने बीमा अभिकर्ता र बीमकमाथि बीमा ऐन, २०७९ बमोजिम कारबाही हुने जनाएको छ ।