इन्द्रसरा खड्का

जनकपुरमा भारतीय विश्वविद्यालयको अवैध नर्सिङ धन्दा, सीटीईभीटीको नाममा ठगी

काठमाडौं । भारतीय विश्वविद्यालयले नेपालको प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद (सीटीईभीटी)बाट मान्यता लिएको भन्दै अवैध रूपमा नर्सिङ पढाइरहेको पाइएको छ । जनकपुरको मालपोत मार्गमा विगतमा मिथिला नर्सिङ क्याम्पस सञ्चालन भइरहेको भवनमा गुपचुप रुपमा नर्सिङ कार्यक्रम सुरु भएको खबर नेपाल नर्सिङ परिषदमा आएपछि यो घटना बाहिर आएको हो ।  परिषदले गोप्य सूचना पाएपछि सामाजिक सञ्जालमा थुप्रै भ्रामक विज्ञापन समेत फेला परेको नर्सिङ परिषदले जनाएको छ । विज्ञापनमा सीटीईभीटी जस्तै देखिने ड्रेस र त्यहाँ विद्यार्थीलाई दोस्रो वर्षमा अध्ययनरत भन्दै गरेको विज्ञापन देखिएपछि विगतका वर्षहरूदेखि यो अवैध गतिविधि सुरु भएको हुनसक्ने अनुमान परिषदले गरेको छ ।  गोप्य सूचना र विज्ञापन पछि यो विषयमा थप अनुसन्धान गर्न परिषदले सीटीईभीटीलाई जानकारी गराएको जनाएको छ ।  यस्ता गलत गतिविधिबाट जोगिन भन्दै परिषदले सूचनासमेत जारी गरेको परिषदका अध्यक्ष प्राध्यापक सरला केसीले बताइन् ।  उनका अनुसार एसियन इन्टरनेश्नल युनिभर्सिटी मणिपुर विश्वविद्यालयले सीटीईभीटीको सम्बन्धन जोडेर जनकपुरमा तीन वर्षको डिप्लोमा नर्सिङ कोर्ष सुरु गरिरहेको छ । जहाँ ‘करिअर केयर कन्सलटेन्सी’ नामक संस्थाले एसईई उत्तीर्ण गरेका विद्यार्थीलाई भर्ना गरी तीन वर्षे कोर्स सुरु गरेको छ ।  नेपालको सीटीईभीटीको मान्यता प्राप्त गरेको भन्दै भारतीय विश्वविद्यालयले अवैध रुपमा नर्सिङ कोर्स सञ्चालन गरिरहेको संकेत परिषद्ले पाएपछि उसले सार्वजनिक सूचना नै जारी गरेको छ । सूचनामा भनिएको छ, ‘हाल विभिन्न सामाजिक सञ्जालमा डिप्लोमा इन नर्सिङ असिस्टेन्ट कोर्स लगायतका कार्यक्रमहरूमा नेपाल बाहिर अध्ययन गराउने भनि विज्ञापन गरेको पाइएको सम्बन्धमा परिषदको ध्यानाकर्षण गराएको पाइएको छ ।’ परिदषका अनुसार भारतको एसियन इन्टरनेशनल युनिभर्सीटी मणिपुरले नेपालको सीटीईभीटीको नाम जोडेर तीन वर्षे डिप्लोमा इन नर्सिङ असिस्टेन्ट कोर्स गराइरहेको पाइएको छ ।  टिकटकमा प्रचार सामाजिक सञ्जालमा सञ्जिव कुमार शाह नामक टिकटक आइडीमा अनेक प्रचार गरिएका छन् । के तपाईं नर्सिङ गर्ने सोचमा हुनुहुन्छ र सिट पाउनुभएको छैन ? नेपाल सीटीईभीटीबाट सम्बन्धन प्राप्त संघम युनिभर्सिटी राजस्थानी र एसियन इनटरनेश्नल युनिभर्सिटी मणिपुर, सन्दीप युनिभर्सिटी, महाराष्टलाई सम्झनुहोस भनिएको छ ।  जहाँ सम्पर्कको लागि करिअर केयर कन्सलटेन्सी जनकपुरधाम मुरली चोक भनिएको छ र सम्पर्कको लागि नम्बर पनि राखिएको छ । नर्सिङ कोर्समात्र नभई एचए, बिटेक इन्जिनियरिङ लगायतका अन्य कोर्सबारे पनि त्यहाँ प्रचार गरिएको छ । विज्ञापनमा बोल्नेहरूलाई नै कोर्सको शुद्ध उच्चारण गर्नसमेत आउँदैन ।  प्रचारमात्र होइन त्यहाँ हुबहु सीटीईभीटीसँग मेल खाने ड्रेसमा पढिरहेका विद्यार्थीहरू पनि देखिन्छन् । परिषदका रजिष्ट्रार सकुन्तला प्रजापति विभिन्न भारतीय विश्वविद्यालय र सीटीईभीटीको नामबाट धेरै विद्यार्थीको जीवन बर्बाद भएको हुन सक्ने बताउँछिन् । उनी भन्छिन्, ‘सामाजिक सञ्जालमै म दोस्रो वर्षमा अध्ययनरत भनेका बहिनीहरूको आवाज पनि सुनिन्छ, अब उनीहरूको भविष्य के हुन्छ ?’ ठगीको उजुरी अवैध रुपमा नर्सिङ कोर्स सुरु भइरहेको यकिन भएपनि त्यो कहिलेबाट सुरु भएको हो, हाल कति विद्यार्थी अध्ययनरत छन् भन्ने विषयमा भने एकिन जानकारी भएको छैन । बरु यो संस्था अवैध हो भन्ने थाहा पाएपछि विद्यार्थी र अभिभावक मानसिक तनावमा परेका छन् । कतिपयले ठगीको मुद्दा दर्ता गराउने तयारी पनि गरिरहेका छन् । अध्यक्ष केसीका अनुसार त्यो संस्थालाई इण्डियन नर्सिङ काउन्सिलले पनि मान्यता दिएको छैन। उनी भन्छिन्, ‘यसले त विद्यार्थीलाई नराम्ररी ठग्यो कतिको भविष्य बर्वाद बनायो एकिन छैन, किन कि न त्यो संस्था दर्ता छ न त्यहाँ पढेका विद्यार्थीले नाम दर्ता नै गर्न पाउँछन्, त्यहाँ ‘डिप्लोमा नर्सिङ असिस्टेन भन्ने कोर्स सुरु गरेको रहेछ जो हामी परिषदमा दर्ता हुँदैन ।’ ‘भारतमा प्लस टु नगरी नर्सिङको पढाइ हुँदैन । नेपाली सीटीईभीटीको सम्बन्धन भनेको छ । नेपाली सीटीईभीटीले विदेशी विश्वविद्यालयलाई सम्बन्धन दिँदैन, उनी भन्छिन्, ‘यो सबै झुट हो । तर, कक्षा चाहिँ सुरु  भइरहेको छ । भन्ने जानकारी आएको छ । यो केसमा हामी भन्दा पनि विशेष सीटीईभीटी जोडिएको छ, हामी नाम दर्ता गर्ने बेलामा मात्र जोडिन्छौ । सीटीईभीटीलाई जानकारी गराएका छौं । यो विषयमा छानबिन हुँदैछ ।’  केसीका अनुसार जुन विषय अहिले पढाइ भइरहेको छ भन्नमा आएको छ यो विषयको कोर्समा नाम दर्ता लाइसेन्स नै दिँदैन । परिषदले एसईईपछि तीन विषयमा मात्र नाम दर्ता गर्छ । एउटा एसईईपछि पढाइ हुने डेढ वर्षको एएनएम कोर्स जुन अहिले बन्द भइसकेको छ । अर्को एसईईपछि तीन वर्ष पढ्ने पीसिएल नर्सिङ  र अर्को प्लसटु गरेर चार वर्ष पढेका बिएस्सी गरेका नर्स र अर्को मिडवाइफ गरेकाहरूको मात्र परिषदमा नाम दर्ता हुन्छ । अहिले त्यहाँ पढाइ भइरहेको भनिएको विषयमा नेपालमा नाम दर्ता नै नहुने केसी बताउँछिन् ।  सीटीईभीटीको टोली जनकपुरमा सीटीईभीटीबाट मान्यता प्राप्त कोर्स भन्दै भारतीय विश्वविद्यालयले नर्सिङ पढाइ सुरु गरेको विषयमा अध्ययन गर्न सीटीईभीटीको टोली जनकपुर गएको छ । सीटीईभीटीका सचिव महेश भट्टराईले यो विषयमा अध्ययन गर्न टोली जनकपुर गएकाले अध्ययन गरेपछि मात्र एकिन जानकारी दिन सकिने बताए ।  उनले सीटीईभीटीले विदेशी विश्वविद्यालयलाई मान्यता दिने प्रावधान नभएकाले मान्यता दिने अवस्था नभएको बताए । ‘हामीलाई पनि जानकारी आएको छ, खास कुरो के हो अध्ययन हुन्छ, टोली गइसकेको छ, खासमा कुरोको चुरो केहो टोली फर्केपछि भन्न सकिन्छ,’ भट्टराईले भने ।  उनले अवैध रुपमा गतिविधि सञ्चालन भएको पाइए कारवाही गर्ने बताए । उनी थप्छन्, ‘हामीले  विदेशी शैक्षिक संस्थालाई सम्बन्धन दिनै मिल्दैन र दिँदैनौं पनि, सीटीईभीटीको नाममा गलत धन्दा गर्नेलाई त्यत्तिकै छोडिँदैन, कारवाही गर्छौं ।’ यो विषमा भने स्थानीय सरकारलाई कुनै जानकारी छैन । अवैध नर्सिङ कोर्स सञ्चालन गरेको विषयमा आफूलाई कुनै जानकारी नभएको जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोजकुमार शाह बताउँछन् ।  ‘हामीलाई यो विषयमा कुनै जानकारी पनि छैन, कसैले भनेको पनि छैन, बरु संस्थाको नाम भन्नुहोस् हामी त्यो ठाउँमा तुरुन्तै छापा मार्छौं ,’ उनले भने । जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी उमेश कुमार दाहालले पनि यो विषयमा आफूलाई कुनै जानकारी नभएको बताए । जिल्ला प्रहरी कार्यालयले पनि कुनै जानकारी नभएको जनाएको छ ।  परिषदका अध्यक्ष केसी भन्छिन्, ‘सबैलाई नर्सिङ पढ्ने हुटहुटी छ, यो बच्चाहरूको बिजोग हुन्छ एउटा तीन वर्ष समय जान्छ, अर्को पैसा जान्छ सँगै मानसिक तनाव पनि हुने भयो । यत्रो लगानी गरिसकेपछि त्यो लगानीको अर्थ नहुने भएपछि  त विद्यार्थीमात्र होइन अभिभावकलाई पनि मानसिक तनाव हुने भयो । अहिले अभिभावक बच्चा सबैलाई भर्ना नगर्न नगराउन सुसूचित गराएका छौं ।’ 

पढाइसँगै कमाइ : कक्षाकोठा र कार्यस्थलको खाडल पुर्दै इम्बार्क कलेज

काठमाडौं । स्याङ्जाका एक युवक प्लस टु पास गरेपछि काठमाडौं आए । उनले काठमाडौंमै स्नातक तह र स्नातकोत्तर गरे । स्नातकोत्तर सकेर बसिरहेका उनी कामको खोजीमा छन् । एक वर्षदेखि कामको खोजीमा रहेका उनले अझै पढाइअनुसारको जागिर पाउन सकेका छैनन् । व्यवस्थापनबाट स्नातकोत्तर गरेका उनी स्नातकोत्तर गर्दैदेखि लोकसेवाको तयारीमा लागे । तर, पटक–पटक परीक्षामा सफल हुन सकेनन् । अहिले उनी आयोगको तयारीसँगै कामको खोजीमा छन् । हातमा सर्टिफिकेट छ, मार्केटमा काम पनि छ तर उनले काम पाएका छैनन् । कारण पढाइ अनुसारको सीप नहुनु । ‘कलेजमा पढ्दा किताबको कुरा मात्र पढाइयो, कामको कुरा सिकाइएन, अहिले काम खोज्न जाँदा कम्तीमा यति वर्षको अनुभव हुनुपर्छ भन्ने आवेदनमै उल्लेख गरिएको हुन्छ,’ उनी भन्छन्, ‘काम गर्ने अवसर पाए पो अनुभव हुन्छ, कामै गर्न नपाए कसरी अनुभव हुन्छ ?’ आयोगको परीक्षामा समेत नाम निकाल्न नसकेपछि अब उनको योजना विदेश जाने छ । उनी पढाइ अनुसारको सीप नहुँदा काम पाउन नसकेको बताउँछन्  । अधिकांश नेपाली विद्यार्थीको हालत यी युवाको जस्तै हो । किताब भित्रका कुरा पढे पनि कसरी त्यही कुरा व्यवहारमा लागू गर्ने भन्ने सिकाइ नहुँदा विद्यार्थी सर्टिफिकेट भएपनि काम पाउन सक्दैनन् ।  पढाइसकेपछि मात्र जागिर गर्नुपर्छ भन्ने सोचले जीवनको २५/२६ वर्ष उमेर पढाइमै बित्छ । त्यसपछि बजारमा काम खोज्न जाँदा अहिलेको बजारको मागअनुसार फिट नहुँदा काम नपाएका युवाहरूको ठूलो जमात छ । कतिपय जमात खाडीतिर पसे पनि अझै नेपालमा कामको खोजीमा रहेका युवाहरूको समूह पनि ठूलो छ ।  विद्यार्थीले काम नपाउनु र कम्पनीले आवश्यक कामदार नपाउनु नेपालको ठूलो समस्याका रूपमा देखिएको छ । नेपालको शिक्षा र बजारमा गहिरो खाडल छ । यही समस्यालाई मध्यनजर गर्दै पछिल्लो समय केही कलेजहरूले रणनीति नै परिवर्तन गरेका छन् । विशेषगरी उपत्यकामा रहेको विदेशी विश्वविद्यालयबाट सम्बन्धन लिएर खुलेका नयाँ र केही पुरानै कलेजहरूले पुरानो तौरतरिका फेरेका छन् ।  यो शैलीलाई फेरेर नयाँ शैलीका साथ अर्थात् पढाइलाई रोजगारसँग जोडेर सञ्चालनमा आएको एउटा कलेज हो इम्बार्क कलेज । यो कलेजले सञ्चालनको आठ महिनामै विद्यार्थीलाई शिक्षासँगै सीप र रोजगारी दिइरहेको छ ।  ८ महिनामा दुइटा कार्यक्रम थप ललितपुरको पुल्चोकमा रहेको इम्बार्क कलेजले नेपाली विद्यार्थीलाई नेपालकै उद्यमशीलता जोड्ने प्रयास गरिरहेको छ । गोल्छा समूह र ग्लोकल प्राइभेट लिमिटेडको संयुक्त लगानमा सञ्चालित कलेजले रोहेम्पटन विश्वविद्यालय लण्डन (युके) सँग सहकार्य गर्दै  शिक्षामा फरक उद्देश्यका साथ अध्यापन सुरु गरेको हो । बिजनेस म्यानेजमेन्ट, बीएसस्सी, एमबीए, एशोसिएशन अफ चार्टर्ड सर्टिफाइड एकाउन्टेन्टस (एसीसीए)का कार्षहरू सुरु गरिरहेको यो कलेज सञ्चालनमा आएको ८ महिना भयो  । कलेज विद्यार्थीलाई किताबी ज्ञानमात्र नभई सीपसँगै रोजगारी दिने ग्यारेन्टी गरेको छ । यही उद्देश्यले इम्बार्कले दुइटा नयाँ कार्यक्रम सुरु गरेको छ ।  जसमा इम्बार्क कलेजले ‘अप्रेन्टिससिप कार्यक्रम’र ‘स्टार्टअप क्षमता विकास’ कार्यक्रम छन् । अप्रेन्टिससिप कार्यक्रम’ ले उद्योगका लागि दक्ष जनशक्ति र विद्यार्थीका लागि रोजगारी सुनिश्चित गर्ने उद्देश्य राखेको छ भने स्टार्टअप कार्यक्रमले आयातमा निर्भरता घटाएर स्वदेशी नवप्रवर्तन र प्रविधि क्षमताको विकास गर्ने उद्देश्य राखेको छ ।  व्यावसायिक शिक्षा र रोजगारीको खाडललाई हटाउने उद्देश्यले यी दुइटा कार्यक्रम सुरु गरेको कलेजका कार्यकारी निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ) आशिष ठाकुरले बताए ।  व्यावहारिक सीप तालिम (अप्रेन्टिससिप) र नवप्रवर्तन (स्टार्टअप) क्षमता विकास कार्यक्रमले भविष्यमा व्यावसायिक नेतृत्वहरू विकास गर्न, रोजगारी सुनिश्चित गर्न र उद्यमशीलता प्रवर्द्धन गर्ने ठाकुरको दाबी छ ।  उनी भन्छन्, ‘यो कार्यक्रमले शैक्षिक जीवनपछि व्यावसायिक जीवनमा प्रवेश गर्दा हुने अनिश्चिततालाई अन्त्य गर्छ । हामीले व्यावसायिक शिक्षालाई प्रत्यक्ष उद्योगसँग जोडेर नेपालमा करियर–रेडी शिक्षाको नयाँ मापदण्ड स्थापित गरेका छौं ।’ यी कार्यक्रमले विद्यार्थीलाई पढाइसँगै नेपाली उद्योग र उद्यम क्षेत्रका कम्पनीसँग काम गर्न पाउने अवसर पाउने छन् ।  कम्पनीसँग सम्झौता इम्बार्क कलेजले कानुनी रूपमा दर्ता भई १० वर्षभन्दा कम समय सञ्चालन भएका र वार्षिक १५ करोडभन्दा कम कारोबार गरिरहेका नवप्रवर्तन कम्पनीहरूसँग सहकार्य गरेको छ । युवा व्यवसायीले सञ्चालनमा ल्याएका यस्ता कम्पनीमा पढ्दै गरेका विद्यार्थीलाई आवद्ध हुन सहज हुने भएकाले यस्ता कम्पनी छनोट गरेको कलेजले बताएको छ ।  स्टार्टअप क्षमता विकास कार्यक्रमले सरकारको राष्ट्रिय स्टार्टअप नीति २०८० र औद्योगिक उद्यम ऐन २०७६ सँग मेल खाने गरी नवप्रवर्तनशील व्यवसायहरूलाई छनोट गरेको हो । यस्ता व्यवसायहरूमा नवप्रवर्तन, मापनयोग्यता र बजार प्रभाव भएका स्टार्टअपहरू पर्छन् ।  सीईओ ठाकुर भन्छन्, ‘नेपालमा उद्यमशीलताको सम्भावना अपार छ । तर, रणनीतिक स्रोतहरू सम्मको पहुँच सीमित छ । हाम्रो कार्यक्रमले नवप्रवर्तनलाई दीगो व्यवसायमा रूपान्तरण गर्न समग्र क्षमता विकासमा जोड दिन्छ ।’ के भन्छन् कम्पनी ?  विद्यार्थीहरूले रोजगारी नपाएको गुनासो गरिरहेको बेला यता कम्पनीहरू भने कामदार पाउन नै गाह्रो भइरहेको बताउँछन् । अटो क्षेत्रदेखि प्रविधिका क्षेत्रमा काम गर्ने कम्पनीहरू दक्ष कामदार खोज्न भन्दै अहिले कलेजहरूसँगै सहकार्य गरिरहेका छन् ।  विशेषगरी आईटी र व्यवस्थापनका विषय पढाइ हुने कलेजहरूमा नेपालकै नाम चलेका कम्पनीहरू सहकार्य गरिरहेका छन् । उनीहरूले आफ्नो कम्पनीलाई आवश्यक पर्ने कामदार विद्यालयबाटै छनोट गर्दा आवश्यकता अनुसारको कामदार पाउन सकिने बताइरहेका छन् । डिजिटल क्षेत्रमा काम गर्दै आइरहेको लोन ट्री कम्पनीका मार्केटिङ म्यानेजर आकृति बस्नेत संस्थालाई आवश्यक जनशक्ति पाउन गाह्रो हुने बताउँछिन् । डिजिटल क्षेत्रमा काम गरिरहेका संस्थालाई अहिलेको प्रविधि र परिवेशसँग पोख्त जनशक्ति आवश्यक पर्ने तर त्यो अनुसारको जनशक्ति पाउन गाह्रो हुने गरेको उनी बताउँछिन्। उनी नेपालको शिक्षा क्षेत्र र बजार क्षेत्रमा रहेको अन्तर कम गर्न इम्बार्क जस्ता कलेजहरूले सहयोग गरिरहेको बताउँछिन् । बस्नेत भन्छिन्, ‘म पनि पढ्दै काम गर्दै गरेको विद्यार्थी हुँ, इम्बार्क कलेजमा अहिले पढ्दै पनि छु र काम पनि गरिरहेकी छु, यस्तै अवसर र सिकाइको सुरुवात देशभरका शैक्षिक संस्थामा हुने हो भने विद्यार्थी र उद्यम क्षेत्रमा देखिएको खाडल कम हुन्छ ।’ बस्नेत डिजिटल क्षेत्रमा त्यो पनि स्टार्टअप क्षेत्रमा काम गरिरहेको संस्था र विद्यार्थीलाई पढाइसँगै कामको अवसर खोजिरहेको इम्बार्कको उद्देश्य उस्तै र एकै प्रकारका हुँदा सहकार्य गरेको बताउँछिन् । कलेजसँग समन्वय गर्दा कम्पनीलाई आवश्यक पर्ने कामदार खोज्न अब बाहिर जानुपर्ने अवस्था नहुने उनको अपेक्षा छ । बस्नेतको जस्तै अपेक्षा इम्बार्कसँग समन्वय गरेका अन्य कम्पनीहरूको पनि छ । कलेजका सीईओ ठाकुर विद्यार्थीलाई पढाउनुभन्दा पनि सिकाउन जरुरी रहेको बताउँदै सिकाइ जे पढिन्छ र त्यहीबाट हुने बताउँछन् । यसैलाई मध्येनजर गर्दै इम्बार्कले विभिन्न कम्पनीलाई कलेजभित्र ल्याउने प्रयास भइरहेको बताउँछन् । उनी कम्पनीलाई कलेजमा ल्याउँदा विद्यार्थीलाई जागिरको लागि सहज हुने र कम्पनीलाई पनि आवश्यकता अनुसारको कामदार छनोट गर्न सहज हुने विश्वास गर्छन् । व्यवस्थापनका कोर्षहरू पढाउँदा विद्यार्थीलाई व्यवहारिक ज्ञान बढी दिनुपर्ने हुन्छ । उनी भन्छन्, ‘इम्बार्क कलेजको पढाइमा विद्यार्थीले के ज्ञान प्राप्त गरे र कस्तो काम सिके भन्ने जान्नु पहिलो प्राथमिकता हो ।’ 

एआई कोर्षमा विद्यार्थीको आकर्षण, कति लाग्छ खर्च ?

काठमाडौं । कृत्रिम बौद्धिकता (एआई) मानव जीवनको एक अभिन्न अंगजस्तै भइसकेको छ । कुनै पनि विषयमा जिज्ञासा भयो वा त्यसको कुनै चित्त बुझ्दो जवाफ आएन भने सबैभन्दा पहिले एआईलाई सोध्ने अभ्यास बढिरहेको छ ।  ओपनएआईको च्याटजीपीटी, एक्सएआईको ग्रोक, गुगलको जेमिनाई, क्लाउडी एआई र चिनियाँ एआई डीपसीक लगायतका एआईले जिज्ञासुको जिज्ञासा सजिलै मेटाइदिन्छन् ।  सूचना र प्रविधि क्षेत्रमा एआईको विकास तीव्र भएसँगै नेपालमा पनि विद्यालय तथा कलेजहरूले एआई विषय पढाउन सुरु गरेका छन् । जसमा विद्यार्थीको आकर्षण निकै बढिरहेको बुझिएको छ । आज हामीले एआई पढाउने विद्यालय तथा कलेजको बारेमा चर्चा गर्दैछौं ।  सनवे कलेज  सूचना प्रविधि क्षेत्रमा १५ वर्षदेखि जनशक्ति उत्पादन गर्दै आइरहेको कलेज हो सनवे कलेज । काठमाडौंको मैतीदेवीमा रहेको यो कलेजले पछिल्लो समय एआईसँगै कम्प्युटर साइन्सकाे कक्षा  सञ्चालन गरिरहेको छ । स्नातक तहमा एआई विषयमा दक्ष एक सयभन्दा बढी विद्यार्थी बर्सेनि बजारमा पठाउँदै आएको दावी कलेजको छ। २०२२ सालदेखि एआई विषय पढाउन सुरु गरेको कलेजले गत वष ११२ विद्यार्थी भर्ना गरेको थियो । अहिले पनि ब्याचलरमा भर्ना कार्यक्रम जारी रहेको कलेजले जनाएको छ ।  ‘यहाँ यति सिटमात्र विद्यार्थी लिन पाइन्छ भन्ने छैन, कम्तीमा एक सय बढीमा जति विद्यार्थी पढ्न आउनुहुन्छ, उहाँहरू सबैलाई हामी पढाउँछौं,’ एडमिसन शाखामा कार्यरत निशा गौतम भन्छिन्, ‘यो वर्षको लागि अहिले भर्ना जारी छ, विद्यार्थीहरू भर्नाको लागि आइरहनुभएको छ ।’  यो कलेजले अब छिट्टै स्नातकोत्तरका पनि एआई कोर्ष सुरु गर्ने योजना बनाएको छ । कलेजका अनुसार यो विषयमा विद्यार्थीको आकर्षण बढेसँगै स्नातकोत्तरमा पनि कार्यक्रम सुरु हुन लागेको छ ।  कलेजले विद्यार्थीलाई पढाउनेमात्र नभई जब प्लेसमेन्ट सुविधा पनि दिइरहेको छ । विभिन्न ६० बढी कम्पनीसँग साझेदारी गर्दै काम सुरु गरेको छ । यो कोर्ष पूरा गर्न एउटा विद्यार्थीले करिब १० लाख रुपैयाँ तिनुपर्ने हुन्छ ।  सफ्टवेरिका कलेज डिल्लीबजारमा रहेको सफ्टवेरिका कलेज पनि एआई पढाउँदै आइरहेको छ  । यो कलेजले सन् २०२१ सालदेखि स्नातक तहमा एआई पढाउन सुरु गरेको थियो । बदलिँदो विश्वको परिवेश र नागरिकको जीवनलाई मध्यनजर गर्दै एआई पढाउन सुरु गरेको विषयमा अहिले थप विद्यार्थीको आकर्षण बढेको कलेजले जनाएको छ ।  २.४ जीपीए ल्याएको विद्यार्थीले पनि सफ्टवेरिकामा एआई पढ्न पाउँछन् । कलेजले कुनै सीमित विषय पढेका विद्यार्थीलाई मात्र यो विषय पढ्न पाइने भन्ने नरहेको कलेजका बजार रणनीति म्यानेजर सुमन बस्यालले बताए । सफ्टवेरिकामा तीन वर्षीय स्नातक कोर्स छ । यो कोर्स पुरा गर्न एक जना विद्यार्थी १३ लाख रुपैयाँ खर्च गर्नुपर्छ । कलेजले विभिन्न किसिमका छात्रवृत्तिको पनि व्यवस्था गरेको छ ।  लुम्बिनी प्राविधिक विश्वविद्यालय आईटी क्षेत्रमा शिक्षा दिँदै आइरहेको लुम्बिनी प्राविधिक विश्वविद्यालयले तीन वर्ष अगाडिदेखि एआई पढाउन सुरु गरेको छ । विश्वविद्यालयमा ४८ जनाको सिट निर्धारण गरिएको छ । पहिलो वर्ष १६ जना विद्यार्थी भर्ना भएकोमा दोस्रो वर्ष बढेर २० पुगेको थियो ।  यो वर्ष भर्ना खुलेको दुई सातामै ४० जना विद्यार्थी आइसकेको लुम्बिनी प्राविधिक विश्वविद्यालयले जनाएको छ । ‘हामीसँग अझै केही सिट बाँकी छ, भर्ना जारी राखेका छौं । अरू विद्यार्थी पनि आउनुहुन्छ भन्ने अपेक्षा छ,’ विश्वविद्यालयका कम्प्युटर अपरेटर प्रकाश चौधरीले भने । लुम्बिनी प्राविधिक विश्वविद्यालयमा यो कोर्ष चार वर्षमा पुरा हुन्छ । चार वर्षमा पूर्ण शुल्क तिरेर पढ्ने विद्यार्थीले पाँच लाख रुपैयाँभन्दा बढी तिर्नुपर्छ ।  तर प्रायः सबै विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था गरेको विश्वविद्यालयको दाबी छ ।  चौधरीका अनुसार १२ जना विद्यार्थीलाई ७५ प्रतिशत छुट दिइएको छ भने १३ देखि २० सम्म र्याङ्किङ भएका विद्यार्थीलाई पनि ५० प्रतिशत छुट दिदाँ धेरै खर्च नलाग्ने उनको भनाइ छ ।  इस्लिङटन कलेज सूचना तथा प्रविधि क्षेमा विद्यार्थी उत्पादन गर्दै आइरहेको इस्लिङटन कलेजले एआई विषय पढाउन थालेको चार वर्ष भयो । अहिले १ सय ६० जना विद्यार्थी भर्ना भइसकेका छन् । गत वर्ष १ सय ३० जना विद्यार्थी भर्ना भएका थिए भने पहिलो वर्ष ३० जना विद्यार्थी भर्ना भएका थिए ।  यो कलेजमा कोर्ष पुरा गर्न तीन वर्ष लाग्छ । यो कोर्ष पढ्ने विद्यार्थीमध्ये ६० प्रतिशत ग्राजुएट हुनेबित्तिकै जागिर सुरु गर्ने भएकाले पनि यसमा रुचि बढेको हुनसक्ने एआई कोर्ष लिडर दिपेश्वर सिलवाल बताउँछन् ।  यो कलेजले तेस्रो वर्षमा अध्ययनरत विद्यार्थीलाई लक्षित गर्दै कसरी काम खोज्ने, कस्तो कम्पनीमा इन्टर्न गर्ने भन्ने विषयमा सिकाउँछ । यसका लागि केही कम्पनीसँग साझेदारी पनि गरेको छ । यसमा विद्यार्थीले इन्टर्नसिप गर्छन् भने यसैबाट जागिर पनि उनीहरूले पाउने गर्छन् ।  काठमाडौं विश्वविद्यालय एआई विषयमा विद्यार्थीको रुचि बढेसँगै काठमाडौं विश्वविद्यालयले अहिले सिट संख्या समेत बढाएको छ । पहिले काभ्रेको पाँचखालमा ३० जनालाई अध्ययन गराउँदै आएको केयुले अहिले धुलिखेलमा सारेर ६० जना विद्यार्थी पढाउन थालेको छ ।  केयुले विद्यार्थीको संख्या अझै बढे पहिले अध्ययन भइरहेको ठाउँमा पनि विद्यार्थी पढाउन मिल्ने गरी व्यवस्थापन गर्ने तयारी भइरहेको डिपार्टमेन्ट अफ एआई प्रमुख डा. मनोज शाक्यले बताए । उनका अनुसार केयुमा एआई विषय पढ्ने विद्यार्थीले प्लस टुमा फिजिक्स, केमेस्ट्री र म्याथ लिएर पढेको हुनुपर्छ । अथवा कम्प्युटर साइन्स गरे पनि हुन्छ ।  द ब्रिटिस कलेज ब्रिटिस कलेजले स्नातक तहको बिएस्सी कम्प्युटर साइन्सअन्तर्गत एआई अध्ययन गराउँदै आएको छ । युनिभर्सिटी अफ वेस्ट अफ इङ्ल्याण्डको सहकार्यमा कलेजले कार्यक्रम सुरु गरेको हो ।  कलेज प्रशासनका अनुसार यो कलेजमा पनि एआई पढ्ने विद्यार्थीको संख्या अहिले बढ्दै गएको छ । चार वर्षे यो कोर्स पुरा गर्न विद्यार्थीले करिब २० लाख रुपैयाँसम्म तिर्जुपर्ने हुन्छ ।  मदन भण्डारी विज्ञान तथा प्रविधि विश्विद्यालय एआईप्रति विद्यार्थीको रुचि बढेपछि मकवानपुरको चित्लाङमा रहेको मदन भण्डारी विज्ञान तथा प्रविधि विश्विद्यालयले स्नातक तहमा पनि कार्यक्रम सुरु गर्ने योजना बनाएको छ । स्नातकोत्तर र पीएचडीमा एआई विषय पढाउँदै आएको विश्वविद्यालयले ब्याचलरका कार्यक्रम सुरु गर्ने योजना बनाएको छ ।  स्नातकोत्तरको पहिलो ब्याचमा ९ जना विद्यार्थी भर्ना भएकोमा दोस्रो ब्याचमा संख्या बढेर १२ जना अध्ययन गरिरहेका छन् भने पीएचडीमा दुईजना विद्यार्थी अध्ययन गरिरहेका छन् ।  विश्वविद्यालयले बढीमा १६ जना विद्यार्थीलाई मात्र भर्ना गर्न सक्छ । एआई विभाग प्रमुख राजीब सुब्बा भन्छन्, ‘हामीले धेरै विद्यार्थी लिनुभन्दा पनि कम र क्वालिफाइड विद्यार्थीलाई मात्र भर्ना गर्छौं, हामी अनुसन्धान बेसमा काम गर्ने भएकाले अरूभन्दा फरक छौं ।’ यहाँ अध्ययन गर्ने विद्यार्थीले दुई वर्षको कोर्ष पुरा गर्न डेढ लाख खर्च गर्नुपर्छ ।  एआईमा विद्यार्थीको आकर्षण बढ्दै  एआई विषय पढाइरहेका सबै कलेजले विद्यार्थीको सिट संख्या बढाएका छन् । यो विषयमा विद्यार्थीको रुचि बढेसँगै सिट संख्या पनि बढाएको कलेजहरू बताउँछन् । विश्वमा एआई हाबी भइरहेको बेला नेपाली शिक्षा पनि यहीअनुसार अघि बढ्न सक्नुपर्ने कलेजहरूको टिप्पणी छ । विश्व परिवेशलाई मध्यनजर गर्दै सञ्चालन गरिएका कोर्षमा विद्यार्थीको रुचि बढ्दै गइरहेको हो । विभिन्न कलेजले सञ्चालन गरिरहेका एआई कोर्षहरू फरकफरक छन् । कतिपय कलेज, विश्वविद्यालयले तीन वर्षे र कतिपयले चार वर्षे कोर्सहरू सञ्चालन गरिरहेका छन् ।  एआई विषय पढ्न म्याथम्याटिक्स, स्टाटिस्टीक, प्रोग्रामिङ र डाटा स्ट्रक्चर्स, आर्टिफिसिएल इन्टेलिजेन्स फन्डामेन्टल, मेसिन लर्निङ, एआई एपिल्केसन कम्प्युटर भिजन लगायत एआईसँग सम्बन्धित सबै विषयहरू पढ्नुपर्छ भने साथै रिसर्च मेथड पनि पढ्नुपर्छ ।  विद्यार्थीहरू उद्यमी बनून, आफ्नो काम आफै गरून्, जागिरभन्दा पनि आफ्नै बिजनेस गरून् भन्ने हिसाबले उद्यमशीलता पनि पढाउने गरेको कलेजहरूको प्रतिक्रया छ । एआई कोर्सभित्र २० वटा विषय पढाइ हुने गरेको सफ्टवेरिका कलेजका मार्केट स्टाटेजी म्यानेजर सुमन बस्यालले बताए ।  नेपालमै अवसर अहिले सूचना प्रविधिको बजार ठूलो छ । हरेक कम्पनीमा प्रविधिको विकास बढ्दो छ । सफ्टवेयर डेभलप गर्न, डेटा एनालाइज गर्न र सफ्टवेयर इन्जिनियरिङको काम पनि एआई पढेका विद्यार्थीले गर्न सक्छन् । एआई पढेका विद्यार्थीलाई अहिले नेपालमा पनि थुप्रै अवसर रहेको केयुको एआई विभागका प्रमुख डा. शाक्य बताउँछन् ।  नेपालमा पनि एआईको कम्पनी छ । एआई रिसर्चरदेखि लिएर डेटा साइन्स डेभलपर, डेटा साइन्स इन्जिनियर, विभिन्न काम नेपालमै भइरहेका छन् । यस्ता विद्यार्थीले यो क्षेत्रमा काम गर्न पाउँछन् । 

शिक्षासँगै सीप सिकाउने ग्लोबल कलेज

काठमाडौं । के तपाईं प्लस टु पास हुनुभयो ? यदि स्नातक तह नेपालमै पढ्ने योजना बनाउनुभएको छ भने पक्कै राम्रो कलेजको खोजीमा हुनुहुन्छ होला । अहिले नेपालमा स्वदेशी विश्वविद्यालय वा विदेशी विश्वविद्यालयबाट मान्यताप्राप्त थुप्रै कलेजहरू छन् ।  जसले  स्वदेशमै विद्यार्थीलाई गुणस्तरीय शिक्षा मात्र दिइरहेका छैनन् उद्यमी बन्न पनि सिकाइरहेका छन् । यसै मध्येको एउटा कलेज हो– ग्लोबल कलेज ।  काठमाडौंको मध्यबानेश्वरमा रहेको ग्लोबल कलेजले प्लस टु पास गरिसकेका विद्यार्थीलाई स्वदेशमै गुणस्तरीय सेवा दिँदै आएको छ । यो कलेजको उद्देश्य विद्यार्थीलाई पढाएर जागिर खाने बनाउनुमात्र होइन, बरु उनीहरूलाई नवप्रवर्तनमा लाग्न प्रेरित गर्नु पनि हो  ।   सैद्धान्तिक ज्ञानभन्दा व्यवहारिक शिक्षाको आवश्यकता औंल्याउँदै सञ्चालनमा आएको यो कलेजले विद्यार्थीको आवश्यकताअनुसार शिक्षा दिइरहेको दाबी कलेजको छ । यसले पूर्वाञ्चल विश्वविद्यालय, त्रिभुवन विश्वविद्यालय र अन्तर्राष्ट्रिय स्तरका विश्वविद्यालयबाट सम्बन्धन लिएर विभिन्न कार्यक्रमहरू सञ्चालन गरिरहेको छ । ग्लोबल कलेज र उसको नेटवर्किङमा सञ्चालन भएका कलेजमा विभिन्न विश्वविद्यालयका कार्यक्रमहरू सञ्चालन भइरहेका छन् । ग्लोबल कलेजको त्रिभुवन विश्वविद्यालयअन्तर्गत कार्यक्रमका प्रमुख डा. देवराज पनेरु ग्लोबल कलेजअन्तर्गत विभिन्न चार कलेजले ब्याचरलमा फरक फरक विषयको अध्ययन गराइरहेको बताए । विषयअनुसार कलेज रोज्न सकिने उनको भनाइ छ । जसमध्ये तीनवटा कलेज मध्यबानेश्वरमै छन् र एउटा लिबर्टी कलेज अनामनगरमा छ ।  कुनमा के हुन्छ पढाइ ? पनेरुका अनुसार चारवटै कलेज विद्यार्थीको आवश्यकता र रुचिका आधारमा खोलिएका हुन् । जसमा फरकफरक कार्यक्रमहरू सञ्चालन छन् । उनले प्लसटु पास गरिसकेका विद्यार्थीले लिबर्टी कलेजमा ब्याचलर अफ कम्प्यूटर सिस्टम एण्ड इन्फर्मेसन टेक्नोलोजी (बीसीएसआइटी), ब्याचलर अफ होटल म्यानेजमेन्ट (बीएचएम), ब्याचलर अफ बिजनेस एडमिनिस्ट्रेसन (बीबीए) र बीबीए फाइनान्स अध्ययन गर्न सकिने बताए । विद्यार्थीले आफ्नो रुचि र कक्षा ११ र १२ मा अध्ययन गरेका विषयका आधारमा विषय रोज्न सक्ने उनी बताउँछन् ।   ग्लोबल कलेज इनटरनेशनल ग्लोबल कलेज इन्टरनेशनल काठमाडौंको मध्यबानेश्वरमा छ । कलेजले व्यापारिक केन्द्र र कर्पोरेट संस्थाहरूको सहकार्यमा विद्यार्थीलाई अध्ययन अवधिभर इन्टर्नसीपको अवसर प्रदान गर्दै आइरहेको छ । यहाँ स्नातक र स्नातकोत्तर तहका कार्यक्रमहरू सञ्चालन भइरहेका छन् । यो कलेजले स्नातक तहअन्तर्गत  बीबीए, बीएचएम, बीटीटीएम कार्यक्रम सञ्चालन गरिरहेको छ  । स्नातकोत्तरमा एमबीए कार्यक्रम पनि सञ्चालन भइरहेको छ ।  त्यस्तै, ग्लोबल कलेजले ग्लोबल कलेज अफ सोसल साइन्स एण्ड टेक्नोलोजी बीटेक इन एआई यो वर्षदेखि सञ्चालनमा ल्याएको छ  । प्लस टुमा विज्ञान विषयअन्तर्गत केमेस्ट्री र म्याथम्याटिक्स विषय लिएर अध्ययन गरेका विद्यार्थीले मात्रै यो विषय पढ्न पाउने छन् । यही कलेजमा बीए एलएलबी पाँच वर्षको कोर्स पनि सञ्चालन भएको छ । यस्तै, ग्लोबल कलेज अफ म्यानेजमेन्टमा  त्रिभुवन विश्वविद्यालयको कार्यक्रम बीबीएस पनि पढाइ हुने पनेरु बताउँछन् ।   नवप्रवर्तनमा विद्यार्थी केन्द्रित शैक्षिक संस्था सेवासँगै नाफा कमाउने उद्देश्यले सञ्चालन हुन्छन् । तर ग्लोबल कलेज विद्यार्थी थुपार्नुमात्र आफ्नो उद्देश्य नरहेको दाबी गर्छ । कलेजले विद्यार्थी भर्ना भएपछि चार वर्षे पढाइको सम्पूर्ण जिम्मा कलेजले लिन्छ र हालसम्म यहाँबाट शतप्रतिशत विद्यार्थी उत्कृष्ट नतिजासहित उत्तीर्ण भएको कलेजका सूचना अधिकारी धर्म ओझा बताउँछन् ।  ‘यो कलेज अरू कलेजभन्दा केही भिन्न छ, जुन यसको विशेषता हो । यसले पाठ्यक्रमकेन्द्रित मात्र गर्दैन, बाहिरको सीपलाई पनि उत्तिकै जोड दिन्छ । विद्यार्थी भर्ना भएर नियमित कक्षा सुरु भएपछि हरेक हप्ता अघिल्लो साताभरि अध्ययन/अध्यापन गरेका विषयको परीक्षा साप्ताहिक रूपमा सञ्चालन गरिन्छ,’ उनले भने ।  यस्तो गर्दा विद्यार्थीको पढाइमा ध्यान जाने उनको भनाइ छ । ओझाका अनुसार यस्तो अभ्यासबाट विद्यार्थीहरूको डिभिजन सुरु हुन्छ र कमजोर देखिएका विद्यार्थीलाई अतिरिक्त कक्षाको व्यवस्था हुन्छ । विद्यार्थीले स्कूलपछि ब्याचलर गर्दा चार वर्षको कोर्स गरिसकेपछि लाइफ स्किल, करिअर स्किल पुरा गरेर जानुपर्ने हुन्छ । ब्याचलरको चार वर्षको कोर्सले उसको ४० वर्षको रिटर्निङ गर्छ । पढ्दाखेरि ज्ञानसँगै सीप दिने गरी कार्यक्रमहरू चारवटै कलेजमा सञ्चालन गरेको पनेरु बताउँछन् ।  उनी भन्छन्, ‘ग्लोबल कलेजले अहिलेसम्म विद्यार्थीलाई दिन सकेको भनेको करिअर स्किलको ग्यारेन्टी हो ।’  यहाँका विद्यार्थीले आफ्नो तेस्रो वर्षको कोर्स पूरा गरिसकेपछि चौंथौ वर्षमा इन्टर्नसीपको अवसर पाउँदै आएका छन् । कक्षाकोठा भित्रको सिकाइ र पाठ्यक्रम मात्र नभई कक्षा बाहिरको सिकाइ र विशेषगरी व्यवहारिक सिकाइमा  कलेजले जोड दिँदै आएको छ ।    प्राचार्य देवराज पनेरु ‘ज्ञान र सीप एट्टिटुयुडबाट आउँछ,’ प्राचार्य पनेरु भन्छन्, ‘हाम्रो उद्देश्य हाम्रा विद्यार्थी ग्राजुएट हुँदा सर्टिफिकेटमात्र होइन, सीपको सर्टिफिकेट पनि उनीहरूसँगै जानुपर्छ भन्ने हो ।’  ग्लोबल कलेजले विद्यार्थीलाई काम गर्ने ठाउँको खोजी गरेर सीप क्षमता अनुसारको काम पनि दिइरहेको छ ।  ख्यातिप्राप्त शिक्षक ग्लोबल कलेज र त्यसको नेटवर्किङमा सञ्चालन आएका सबै कलेजमा क्षमतावान विशेषविज्ञ शिक्षकहरू छन् । उनीहरूले विद्यार्थीलाई आफूसँग भएको सबै ज्ञानहरू सिकाउँछन् ।  प्राचार्य पनेरु ब्याचलरमा सञ्चालन भएका हरेक कार्यक्रममा अध्याापन गराइरहेका शिक्षक ख्यातिप्राप्त शिक्षक रहेको दावी गर्छन् । ‘हाम्रो कलेजमा पढाउने जति पनि शिक्षक हुनुहुन्छ उहाँहरू काठमाडौंको सबैभन्दा बेस्ट शिक्षक हुनुहुन्छ, म यो दाबीका साथ भन्छु । हाम्रो क्राइट एरिया नै फराकिलो छ, विभिन्न प्रक्रिया पार गरेर आएपछि मात्र बल्ल यहाँको शिक्षक बन्न पाइन्छ, ’ उनले भने ।  ब्याचलरमा जीपीए हेरिँदैन  कुनै पनि विद्यार्थी कमजोर हुँदैनन् । सबै विद्यार्थी क्षमतावान हुन्छन् । जो विद्यार्थीलाई राम्रोसँग गाइड गर्ने शिक्षक वा शैक्षिक संस्था हुँदैन तब मात्र विद्यार्थी अदक्ष हुन्छन् । प्राचार्य पनेरु स्नातक तहमा अध्ययन गर्न कुनै पनि विद्यार्थीको जीपीए नहेरिने बताउँछन् ।  ‘ग्लोबल कलेज र नेटवर्ककको २५ वर्षको यात्रामा के थाहा भयो भने विद्यार्थीलाई राम्रो वातावरण दिइयो भने सबैले राम्रो गर्न सक्छन् । करिकुलम र कर्पोरेटलाई हामीले सँगै लैजानुपर्ने हुन्छ । यसले गर्दा पछि कुनै पनि समस्या आउँदैन,’उनले भने। कति छन् विद्यार्थी ? कलेजले क्षमताअनुसार विद्यार्थीको सिट संख्या छुट्याएको छ । जुनसकै कार्यक्रममा पनि एउटा सेक्सनमा ४६ जना विद्यार्थी राखेर अध्ययन गराइन्छ । बीबीएमा दुईवटा सेक्सन बनाएर ९६ जना भर्ना गर्न मिल्छ भने फाइनान्समा ४५, बीएचएममा ४८ विद्यार्थीलाई भर्ना लिइन्छ । ग्लोबल कलेजले पनि बीटीटीएममा ९६ जना विद्यार्थी भर्ना गर्छ । यस्तै, बीएएलएलबीमा ६० जना विद्यार्थीका लागि सिट छुट्याइएको छ । पूर्वाञ्चाल विश्वविद्यालयका कार्यक्रममा भने अनलिमिटेड कोटा हुँदा क्षमताअनुसार भर्ना लिन सकिने पनेरु बताउँछन् ।  सुविधासम्पन्न संरचना  ग्लोबल कलेजको भवन बाहिरमात्रै भव्य नभई भित्र पनि उत्तिकै सुविधा सम्पन्न छ । यहाँको ल्याबमा एकै पटक ४० देखि ४५ जना विद्यार्थीले प्रयोगात्मक सिकाइ क्रियाकलाप (प्राक्टिकल) गर्न पाउँछन् । पढ्ने इच्छा भएका विद्यार्थीलाई यो स्कुल सधैं खुला हुन्छ । शनिबार पनि पुस्तकालयमा गएर अध्ययन गर्न सकिन्छ । हरेक कक्षामा स्मार्ट बोर्ड राखिएकाले विज्ञानका सैद्धान्तिक विषयहरूलाई तत्कालै स्मार्टबोर्डबाट देखाइन्छ । हरेक विद्यार्थीले यहाँ अनिवार्य रूपमा प्रिजेन्टेसन गर्नुपर्छ । यसले विद्यार्थीको लेखनसँगै, वाककला, सीप र भाषागत ज्ञान समेत बढ्नसक्छ । यसका साथै विभिन्न ‘इन्टरनेशलन एक्सपोजर’ का माध्यमबाट विभिन्न देशको भ्रमण समेत गराउने गरिएको छ । जसबाट विद्यार्थीहरुलाई राष्ट्रिय क्षेत्रका साथै अन्तर्राष्ट्रिय क्षेत्रमा भएको विकास, प्रविधिको प्रयोग, वैज्ञानिक क्षेत्रमा भएका नयाँ आविष्कार आदि क्षेत्रको जानकारी लिने अवसर हुन्छ ।  ‘विद्यार्थीका लागि करिअर काउन्सिलिङ, प्रिजेन्टेसन, प्रोजेक्ट वर्क, रिसर्चजस्ता विषयमा केन्द्रित गर्ने गरेको छ ।  खेललाई पनि प्राथमिकता विद्यार्थीलाई पढ्न मात्र होइन, खेलकुदजन्य क्रियाकलाप पनि उत्तिकै आवश्यक हुन्छ । ग्लोबलले पढासँगै खेललाई पनि उत्तिकै जोड दिइरहेको छ । विद्यार्थीलाई दैनिक रूपमा ब्रेक समयमा खेल्न कलेजभित्रै बास्केटबल, फुटसल ब्याडमेन्ट खेल्ने ठाउँ पर्याप्त छ ।  कलेजले हप्तामा एक पटक कलेजभित्रै विद्यार्थीहरूबीच प्रतिस्पर्धा गराउँछ भने वर्षमा एक पटक खेल प्रतियोगिता नै आयोजना गर्छ । क्रिकेट, फुटबल लगायतका खेल खेलाउन कलेजमा स्पेस नहुँदा बाहिर लिएर खेलाउने गरिन्छ । विद्यार्थीलाई पढाइसँग खेलको लागि कलेजले विशेष व्यवस्था गरेको छ ।  स्नातक नेपालमै गर्दा फाइदा  कक्षा १२ पास गर्नेबित्तिकै नेपाली विद्यार्थी  अध्ययनका लागि विभिन्न देशमा जान्छन् । उनीहरू पढाइसँगै काम पनि गरिरहेका हुन्छन् । कतिपय विद्यार्थी कामकै लागि पनि विद्यार्थी भिषामा विदेश गइरहेका हुन्छन् । प्राचार्य पनेरु कक्षा १२ पास गरेर विद्यार्थीहरूलाई विदेश नजान सल्लाह दिन्छन् । उनी विदेश जाने विद्यार्थीले नेपालमै ब्याचलर गरेर बाहिर जाँदा केही सहज हुने बताउँछन् ।  भन्छन्, ‘म पनि युरोपमा पीएचडी गरेर आएको हुँ, पाँच वर्ष त्यहाँका विश्वविद्यालयमा पढाउने मौका पनि पाएँ, आफै विद्यार्थी पनि भएर रिसर्च गर्ने मौका पनि पाएँ । आफै भुक्तभोगी भएकाले म विद्यार्थीलाई ब्याचलर नेपालमै गरेर जान सल्लाह दिन्छु ।’  आर्थिक अवस्था राम्रो भएका अभिभावकले भने विदेशका राम्रा विश्वविद्यालयमा पढाउँदा राम्रो हुने उनको भनाइ छ ।  ‘तपाईंको आर्थिक अवस्था राम्रो छ, पढ्नैका लागि मात्र विदेश जाने हो भने राम्रै हुन्छ, तर पढाइसँगै काम गर्ने सोचमा जानुहुन्छ वा छात्रवृत्ति दिने भन्ने हिसाबले जानुहुन्छ भने तपाईंहरू नजाँदा नै राम्रो हुन्छ,’ उनी भन्छन् ।  

यी हुन् पढाइसँगै काम दिलाउने काठमाडौंका कलेज

काठमाडौं । पढाइ केवल डिग्रीका लागि होइन, जीवनलाई दिशा दिने एउटा महत्वपूर्ण यात्रा हो । धेरै विद्यार्थीको उद्देश्य स्पष्ट छ- पढेर राम्रो जागिर पाउने । कक्षा १२ सम्म पुस्तकमै सीमित हुने धेरै विद्यार्थीहरू, प्लसटु सकेपछि भने भविष्यको करियर र आम्दानीतर्फ ध्यान दिन थाल्छन् । ‘आफ्नो खर्च आफैं कमाउने’ सपना बोकेर हिँड्नेहरूको संख्या बढ्दो छ, तर अवसर भने सजिलै हात लाग्दैन ।  नेपालमा अझै पनि स्नातकोत्तरसम्म पढेर मात्र काम खोज्ने प्रवृत्ति प्रबल छ । तर, पछिल्ला वर्षमा यो सोच बदलिँदै गएको छ । अब विद्यार्थीहरू पढाइसँगै काम गर्ने मौका दिने कलेज खोज्न थालेका छन् । यसैले स्नातक तहको पढाइका लागि कलेज छनोट गर्दा, गुणस्तरीय शिक्षासँगै ‘जब प्लेसमेन्ट’को सुविधा दिने शैक्षिक संस्थाहरू पहिलो रोजाइमा परिरहेका छन् ।  विद्यार्थीको यस्तै आवश्यकतालाई ध्यानमा राख्दै, काठमाडौं उपत्यकाका केही कलेजहरूले पढाइसँगै रोजगारको अवसर उपलब्ध गराइरहेका छन् । हामी आज पढाइसँगै काम खोजी दिने कलेजको विषयमा चर्चा गरेका छौं ।  आईएसएमटी कलेज काठमाडौंको तीनकुने स्थित गैरीधारामा रहेको आईएसएमटी कलेज उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीको रुचिमा पर्ने कलेज हो । लण्डनको सन्डरल्याण्ड विश्वविद्यालयबाट मान्यता प्राप्त यस कलेजले १४ वर्षदेखि नेपालको उच्च शिक्षामा योगदान पुर्याउँदै आएको छ । शैक्षिक क्षेत्र र उद्योगीबीचको खाडल पूरा गर्ने जनशक्ति उत्पादन गर्नु यसको मुख्य उद्देश्य हो ।  ब्याचलर अफ साइन्स इन इन्फरमेसन टेक्नोलोजी (बिएसआइटी), ब्याचलर अफ बिजनेस एडमिनिस्ट्रेसन (बीबीए) , ब्याचलर अफ होटल म्यानेजमेन्ट (बीएचएम) र साइबर सेक्युरेटीका कार्यक्रमहरू यहाँ सञ्चालन भइरहेका छन् । काठमाडौं बाहिर चितवन पोखरा विराटनगरमा पनि यो कलेज सञ्चालनमा छ । जहाँ मास्टर्समा एमबीए पनि पढाइ हुन्छ ।  आफ्नो करिकुलम एकदमै उत्कृष्ट भएको दाबी गर्दै आएको यो कलेजले विद्यार्थीलाई पढाउनेमात्र नभई काम गर्ने अवसर समेत प्रदान गरिरहेको छ । उद्योगमा आधारित पाठ्यक्रमले तीन वर्ष पढेर विद्यार्थी ग्य्राजुएट हुने बित्तिकै त्यो उद्योगको बजारलाई आत्मसात् गर्न सक्ने दाबी कलेजको छ । ‘मध्यम, निम्न मध्यमसँगै सबै वर्गले पढ्न मिल्ने गरी शुल्क निर्धारण गरिएको छ’ कलेजका बिजनेस डेभलपमेन्ट हेड वासुदेव वस्ती भन्छन्, ‘यहाँ अध्ययनरत विद्यार्थीले कतिपय काम गर्न सुरु गरिसकेका हुन्छन्, कतिपयले पढ्दा पढ्दै काम कसरी गर्ने भन्ने कुरा सबै थाहा पाइसकेको हुन्छन्, यो कलेजको फोकस भनेको विद्यार्थीले पढ्दै गर्दा र पढिसकेपछि काम पाउन भन्ने नै हो ।’ यो कलेजले वर्षमा दुई पटक ‘जब फेयर’ कार्यक्रम गर्छ । जहाँ नेपालका टप ४०/४५ कम्पनीहरू कलेजमै आउँछन् । ती कम्पनीले विद्यार्थी छनोट गरेर जागिरको अफर गर्छन् ।  ‘यसो हुँदा विद्यार्थीलाई पढाइ सकेर काम खोज्न कहाँ जाने होला कुन कम्पनी कस्तो छ भन्ने विद्यार्थीलाई थाहा हुन्छ,’ उनी भन्छन्, ‘कम्पनी कलेजमै आउँदा सबै विद्यार्थीलाई जान्ने अवसर हुन्छ । कम्पनीको प्रोफाइल हेर्छ, कुन कम्पनीमा आफ्नो भविष्य देख्छ, वित्तीयसँगै त्यहाँको वातावरण सबै कस्तो छ भन्ने थाहा हुन्छ ।  यसैले पनि हामी विद्यार्थीको प्लेसमेन्टमा हामी बढी फोकस छौं ।’  सफ्टवेरिका कलेज  डिल्ली बजारमा रहेको सफ्टवेरिका कलेज पनि विद्यार्थीलाई पढाउनेमात्र नभई रोजगारीको अवसर दिने कलेजमा पर्छ । आधुनिक र प्रयोगमुखी सिकाइको दृष्टिकोण अपनाउँदै विद्यार्थीलाई उद्यमी बन्न तयार गराइरहेको यो कलेजले विद्यार्थीको व्यक्तित्व विकास र सफ्ट स्किल्स शिक्षालाई पनि प्राथमिकता दिएको छ । सफ्टवेरिकामा स्नातक तहमा कम्पयुटर साइन्स विथ आर्टिफिसिएल इन्टेलिजेन्स (एआइ), कम्पयुटिङ, इथिकल ह्याकिङ एण्ड साइवर सेक्युरेटी कोर्षहरू पढाइ हुन्छन् ।  यसका लागि अत्यधुनिक कम्प्युटर प्रयोगशाला, प्राविधिक तथा नेटवर्किङशाला प्रयाप्त रहेको कलेजले दाबी गर्दै आएको छ ।  कलेजका प्राचार्य प्रमोद पौडेल कलेजले स्नातक तहमा इन्फर्मेसन टेक्नोलोजी आइटीलाई जोड दिँदै आएको बताउँछन् ।  उनी भन्छन्, ‘हाम्रा पूर्व विद्यार्थीहरू देशमा मात्र होइन विदेशका ठूला कम्पनीमा काम गरिरहनुभएको छ, कतिपय भाइबहिनीहरूले आफै कम्पनी खोलेर अरूलाई काम दिइरहेका छन्, धेरैजसो अहिले पनि काम गर्दै हुनुहुन्छ, यसमा कलेजको ठूलो भूमिका छ ।’ कलेजले वर्षमा दुई पटक ठूलो कार्यक्रम गर्छ । जुन वार्षिक कार्यक्रमको रुपमा क्यालेण्डरमै राखिएको छ । सफ्टवेरिकामा अध्ययनरत एक विद्यार्थी भन्छन्, ‘वर्षमा दुर्ई पटक ठूला कार्यक्रम हुन्छन्, जहाँ हामीले आफ्नो प्रोजेक्टहरू प्रदशर्नी गर्छौ, हामीलाई कम्पनीको विषयमा जानकारी लिन सहज हुन्छ ।’ उनी पढाइसँगै ती कम्पनीमा इन्टर्नसिप गर्ने अवसर पनि पाइरहेको बताउँछन् । उनले सातामा एक पटक विभिन्न कम्पनीसँग काम गर्ने अवसर पनि कलेजमै पाएको बताए ।    टेक्सास इन्टरनेशनल कलेज चाबहिलमा रहेको टेक्सास इन्टरनेश्नल कलेज पनि विद्यार्थीको रोजाइमा पर्ने कलेज मध्येमा पर्छ । यो कलेजले पनि विद्यार्थीलाई पढाइमामात्र केन्द्रित नभई पढिसकेका विद्यार्थीलाई इन्टर्नसिपको अवसर पनि सिर्जना गर्दै आएको छ । टेक्सासले स्नातक अन्तर्गत ब्याचलर अफ साइन्स इन कम्पयुटर साइन्स एण्ड इन्फर्मेसन टेक्नोलोजी (सिएसआइटी), व्याचलर अफ कम्पयुटर एपिलकेसन (बिसीए), ब्याचलर अफ बिजनेस म्यानेजमेन्ट (बीबीएम), ब्याचलर अफ सोसियल वर्क, व्याचलर अफ बिजनेस स्टडी कार्यक्रम सञ्चालन गरिरहेको छ ।  कलेजका बिजनेस डेभलपमेन्ट डिरेक्टर नारायण पोख्रेल कलेजलका विद्यार्थीलाई पढ्दा पढ्दै करियर सुरु गर्ने बनाइरहेकोे दाबी गर्छन् । उनका अनुसार अहिले टेक्सासमा स्नातक तहको छैटौं सेमेष्टरमाथिका अधिकांश विद्यार्थी काम गर्दे पढ्दै गरेका छन् ।  ‘विद्यार्थीले जे पढ्छ आफ्नो रुचिअनुसारको कोर्स छान्न हामी दिन्छौ,’ उनी भन्छन्, ‘विद्यार्थीले कोर्स पढिसक्दा दीर्घकालिन पेशा छनोट गरिसक्नुपर्छ भन्ने कुरालाई कक्षा कोठामा जोडिएर पढाउँछौं ।’ टेक्सासले वर्षमा दुई पटक करिअर काउन्सिलका कार्यक्रमको आयोजना गर्छ । जहाँ विभिन्न विषयका विज्ञहरू कलेजमा आएर विद्यार्थीलाई ओरेन्टेसन दिने गर्छन् । यसका लागि कलेजले विभिन्न आइटी कम्पनीदेखि अन्य विज्ञ कम्पनीसँग सहकार्य गरी काम सुरु गरिरहेको छ ।  ‘हाम्रो उद्देश्य भनेको विद्यार्थीले पढ्दा पढ्दै आफ्नो रुचि अनुसारको काम सुरु गर्नुपर्छ भन्ने हो, यसका लागि कलेजले सहकार्य गरिरहेको छ,’ पोख्रेलले भने ।  द ब्रिटिस कलेज नेपालमा अन्तर्राष्ट्रिय शिक्षा प्रदान गर्दै आएको कलेज हो द ब्र्रिटिस कलेज । जसले विद्यार्थीलाई बेलायती डिग्री र हालको रोजगार बजारसँग सम्बन्धित कोर्सहरू सञ्चालन गर्दै आएको छ । करिब १५ वर्षदेखि विद्यार्थीलाई विश्वव्यापी सिकाइको अनुभव र अन्तराष्ट्रिय अवसरहरू प्रदान गर्ने उदेश्यले सञ्चालन भइरहेको छ ।  यो कलेजले ब्याचलर तहमा बिबीएस, बिबीएससी, बिएससी कम्प्युटिङ, साइबर सेक्युरेटी, एआइ,  डेटा साइन्स, कार्यक्रमहरू सञ्चालन गरिरहेको छ । कलेजको इन्र्टनसिप प्लेसमेन्ट सिवानी अधिकारी कलेजले एमओयू गरेका कम्पनीसँग सहकार्य गरेर विद्यार्थीलाई इन्टर्नसिपको व्यवस्था गरिरहेको बताउँछिन् ।  ‘हामीले विभिन्न कम्पनीसँग सहकार्य गरेका छौं, उहाँहरूलाई आवश्यक परेको जनशक्ति हामीलाई पठाउनुहुन्छ, हामी विद्यार्थीलाई जानकारी गराउँछौं इच्छुक विद्यार्थीले आवेदन दिनुहुन्छ,’ उनले भनिन् ।  ब्रिटिस कलेजले वर्षमा एक पटक जब फेयर पनि गर्छ । कलेजले बिहान कार्यक्रम सञ्चालन गर्दा दिउँसो विद्यार्थीलाई काम गर्ने समय पनि मिल्ने भएकाले अधिकांश विद्यार्थी काम गर्दै पढिरहेको उनको भनाइ छ ।   ग्लोबल कलेज इन्टरनेशनल  ग्लोबल कलेज इन्टरनेशनल काठमाडौंको मध्यबानेश्वरमा छ । कलेजले व्यापारिक केन्द्र र कर्पोरेट संस्थाहरूको सहकार्यमा विद्यार्थीलाई अध्ययन अवधिभर इन्टर्नसिपको अवसर प्रदान गर्छ । यहाँ स्नातक र स्नातकोत्तर तहका कार्यक्रमहरू सञ्चालन भइरहेका छन् । यो कलेजले स्नातक तह अन्तर्गत  बीबीए, बीएचएम, बिटीटीएम कार्यक्रम सञ्चालन गरिरहेको छ  ।  विद्यार्थीले आफूलाई मन लागेको विषय रोज्न सक्नेछन् भने स्नातकोत्तरका एमबीए कार्यक्रम पनि सञ्चालन भइरहेको छ । त्यस्तै, ग्लोबल कलेजले ग्लोबल कलेज अफ सोसल साइन्स एण्ड टेक्नोलोजी बिटेक इन एआइ यो वर्षदेखि सञ्चालनमा ल्याएको छ  ।  विज्ञान विषय लिएर कक्षा ११ र १२ मा क्यामेस्ट्री र म्याथम्याटिक्स विषय लिएर अध्ययन गरेका विद्यार्थीले मात्रै यस कोर्ष पढ्न भर्ना पाउने छन् । यही कलेजमा बिएएलएलबी पाँच वर्षको कोर्स पनि सञ्चालन भएको छ । यस्तै, ग्लोबल कलेज अफ म्यानेजमेन्टले  त्रिभुवन विश्वविद्यालयको कार्यक्रम बिबीएस पनि पढाइ हुने पनेरु बताउँछन् । ​​​​​​ लिबर्टी कलेज यो कलेजले होटेल म्यानेजमेन्ट पढेका ८ जना विद्यार्थीलाई शून्य लागतमा इन्र्टनसिपका लागि जापान पठाएको छ । कलेजमै जापनिज भाषा समेत पढाउँदै आएको कलेजले स्वदेशमात्र नभई विदेशमा पनि विद्यार्थीलाई इन्टर्नसिपको व्यवस्था गर्दै आएको छ ।  नेपालमा काम गर्दै आइरहेका विभिन्न कम्पनीहरूसँग साझेदारी गर्दै विद्यार्थीका लागि काम गर्ने वातावरण दिँदै आएको छ । कलेजका प्राचार्य डा.देवराज पनेरुका अनुसार पोखरा विश्वविद्यालयबाट मान्यताप्राप्त कार्यक्रमहरू सञ्चालन भइरहेका छन् ।  कलेजले बीसीएस आइटी, बीएचएम, बीबीए र बीबीए फाइनान्सका कार्यक्रमहरू छन् । कलेजको उद्देश्य भनेकै पढ्दै कमाउँदै हो । बैंक तथा वित्तीय संस्थाहरुदेखि विभिन्न कम्पनीसँग सहकार्य गर्दै पेड इन्टर्नसीप गराउँदै आएको उनको दाबी छ ।  लिबर्टी कलेजमा सिक्दै काम गरेर कमाउने अवसर रहेको पनि जानकारी दिए ।  कान्तिपुर इन्टरनेश्नल कलेज रोजगारी सुनिश्चित गर्न दिगो व्यावसायिक उद्यमशिलता र गुणस्तरिय शिक्षा दिने उद्देश्यले सञ्चालित भइरहेको छ कान्तिपुर इन्टरनेश्नल कलेजले बिएएलएलबी, बिबीए, बीएचसिएम, बिएचएम लगायतका कार्यक्रमहरू सञ्चालन भइरहेका छन् ।  पूर्वाञ्चल विश्वविद्यालयसँग सम्बन्धन प्राप्त यो कलेजले गुणस्तरीय शिक्षा प्रदान गर्ने लक्ष्यका साथ विद्यार्थीहरूलाई दक्ष, सक्षम, समर्पित र योग्य पेशेवरका रूपमा तयार गर्दै होटल तथा पर्यटन उद्योग, बैंकिङ क्षेत्र, कर्पोरेट हाउस, कन्सल्टेन्सी, इन्जिनियरिङ जस्ता विभिन्न क्षेत्रमा आवश्यक जनशक्ति उत्पादन गरिरहेको दाबी गर्दै आइरहेको छ ।  एशियन इन्स्टिच्युट  एशियन इन्स्टिच्युट अफ टेक्नोलोजी एण्ड म्यानेजमेन्ट (एआइटीएम) राष्ट्रिय तथा अन्तर्राष्ट्रिय र्कायक्रमहरू सञ्चालन गर्दै आएको छ । सन् २०१२ देखि ललितपरको खुमलटारमा रहेको यो कलेजले बेलायतमा रहेका विभिन्न विश्वविद्यालय तथा प्रतिष्ठित शैक्षिक संस्थाहरूसँग सहकार्य गर्दै नेपाली विद्यार्थीलाई उच्च शिक्षामा सेवा दिँदै आइरहेको छ ।  यहाँ हस्पिटालिटी म्यानेजमेन्ट (बीए), बिजनेस म्यानेजमेन्ट (बीए), कम्प्युटिङ एण्ड इन्फर्मेसन टेक्नोलोजी (बीएससी) का कार्यक्रमहरू सञ्चालन गरिरहेको छ । यो कलेजले पनि विद्यार्थीलाई पढाइसँगै बाह्य ज्ञान, सीप अनुभव सिक्ने अवसर विद्यार्थीलाई दिँदै आएको छ । यो कलेजले पनि विद्यार्थीलाई पढाइमा मात्र नभई जब प्लेसमेन्टको अवसर पनि दिइरहेको छ । किंग्स कलेज उद्यमशिलतमा आधारित शिक्षा सिक्न चाहने विद्यार्थीका लागि सबैभन्दा राम्रो कलेज हो किंग्स कलेज । काठमाडौंको बबरमहलमा सञ्चालित यो कलेजले व्यवसाय सुरु गरिरहेका र गरिसकेका विद्यार्थीहरूलाई उद्यमशिलताका विषयमा सिकाउने काम गरिरहेको छ । यहाँ स्नातक तहमा अध्ययन गर्ने विद्यार्थी नै प्रोफेशनल हुन्छ ।  उद्यमी सोच भएका विद्यार्थीहरूका लागि यो कलेज छनोट गर्न राम्रो हुने कलेजका प्रीन्सिपल बिक्रम प्रजापती बताउँछन् । यो कलेजले जब प्लेसमेन्टका लागि छुट्टै प्रोफेशनल डेभलपमेन्ट एण्ड करियर विभाग नै गठन गरेको छ । जहाँ सीप अनुभव र सहयोग प्रदान गरिरहेको छ । जहाँ विद्यार्थीले गरिरहेको काम नयाँ तरिकाले राम्रो बनाउने भन्नेमा ध्यान दिने गरेको उनी बताउँछन् । ‘प्रजापती भन्छन्, ‘कूनै संघ संस्थाले हामीलाई यस्तो जनशक्ति चाहिएको छ भने हामीसँग भएका विद्यार्थीको प्रोफाइल हेर्छौ त्यो प्रोफाइल अनुसार मेल खाने अफर आयो भने विद्यार्थीलाई पठाइदिन्छौं ।’ हिमालयन ह्वाइट हाउस  इन्जिनियरिङ, व्यवस्थापन र प्रविधि शिक्षामा उत्कृष्ट शिक्षा प्रदान गरिरहेको अर्को कलेज हो हिमालयन ह्वाइट हाउस इन्टरनेशनल कलेज । पुतलीसडकमा रहेको यो कलेजले विद्यार्थीहरूलाई अत्याधुनिक प्रविधिसहितको शिक्षण, सिकाइ र अनुसन्धान वातावरणमा आधारित व्यावहारिक शिक्षा प्रदान गरिरहेको छ । कलेजका प्राचार्य तोयानारायण पौडेल विद्यार्थीलाई पढाइसँगै विभिन्न संघ संस्थामा इन्र्टनशीपको व्यवस्था कलेजले गरिरहेको बताउँछन् । ‘कलेजले वर्षमा जब फेयर लगायतका विभिन्न कार्यक्रमहरू वर्सेनि गर्छ, विभिन्न संघसस्थाहरू आफै आएर आफ्नो संस्थाको लागि योग्य विद्यार्थी छनोट गर्छन्,’ उनी भन्छन्, ‘यसबाट विद्यार्थीलार्य पनि काम खोज्न बाहिर जान पर्दैन, संस्थाले पनि आफूलाई योग्य जनशक्ति पाउँछ ।’  तोय नारायण पौडेल यस्ता कार्यक्रमले गैरप्राविधिक विषय लिएर पढिरहेका विद्यार्थीलाई सहयोग गरिरहेको बताउँछन् । तर, प्राविधिक विषय पढिरहेका विद्यार्थीलाई भने पढ्दै काम गर्दै गर्न समस्या हुने उनको भनाइ छ । पढाइको लागि नै समय अपुग भइरहेको बेला स्नातक तह चार वर्षमा यस्ता विषय लिएर पढिरहेका विद्यार्थीलाई  पढ्दै कमाउँदै गर्दा समस्या हुने उनी बताउँछन् ।  प्राविधिक विषयका विद्यार्थीलाई पढिसकेपछि बाहिर काम खोज्दै जान नपरोस् भन्ने उद्देश्यले विभिन्न कम्पनीहरू कलेजले नै सहकार्य गरिदिने गरेको पौडेल बताउँछन् ।   

९ हजार बढी कन्सल्टेन्सी अवैध, सुनौलो भविष्य देखाउने नाममा पैसा असुलेर गायब

काठमाडौं । केही समयअघि एकजना विद्यार्थी जिल्ला प्रहरी परिसर, काठमाडौं पुगे । आफूलाई विदेश पठाइदिने नाममा ठगी गरी कन्सल्टेन्सी नै गायब भएको भन्दै जाहेरी दिए । राम्रो विदेशी विश्वविद्यालयमा पठाइदिने भन्दै  पैसा लिएको कम्पनी एकाएक गायब हुँदा न उनी विदेश जान पाए न त आफ्नो पैसा पाए ।  बरु उनको धेरै समय न्याय खोज्दैमा बित्यो । काठमाडौंमा रहेको एक कन्सल्टेन्सीले उनलाई विदेश पठाइदिने भन्दै पैसा माग्यो । केही दिन उनलाई त्यो देशमा पढाइ हुने विषय विश्वविद्यालयको विषयमा बुझाउने काम गर्‍यो ।  त्यसका लागि आवश्यक तयारी कक्षा पनि सुरु गरायो । यसका लागि आवश्यक कागजात पनि बटुल्न लगायो । ती विद्यार्थी कन्सल्टेन्सीले भनेजस्तो सबै कागजात तयार पारे ।  चार/पाँच महिना प्रशिक्षणजस्तै केही कुरा सिकाएको जस्तो गर्‍यो । ‘अब १५/२० दिनपछि विदेश पठाउँछु सबै रकम दिनूस्’ भन्दै कन्सल्टेन्सीले पैसा माग्यो । ती विद्यार्थीले सबै पैसा बुझाए । जब पैसा बुझाएर केही दिनपछि विदेश पठाउने भनिन्छ, त्यसको पछिल्लो दिनदेखि कन्सल्टेन्सी पनि बन्द हुन्छ र ती व्यक्ति पनि फरार हुन्छन् । त्यसपछि पीडित विद्यार्थी प्रहरी कहाँ पुग्छन् । एक-दुई जना मात्र होइन, यसरी धेरै विद्यार्थी अहिले कन्सल्टेन्सीबाट ठगीमा परेका छन् । प्रहरी प्रधान कार्यालय, नक्सालका प्रहरी नायब उपरीक्षक विनोद कटुवाल यस्ता धेरै विद्यार्थी कन्सल्टेन्सीबाट पीडित भएर प्रहरी कहाँ पुग्ने गरेको बताउँछन् । उनले काठमाडौं उपत्यकामा विद्यार्थीहरूलाई शैक्षिक परामर्श दिने नाममा खोलिएका कन्सल्टेन्सीबाट विद्यार्थीहरू ठगीमा पर्ने घटना बढ्दै गएको बताए ।  केही कन्सल्टेन्सीले नेपाली युवाहरूलाई विभिन्न देश पुग्न सहयोग गरे पनि कतिपय कन्सल्टेन्सीले विद्यार्थीलाई ठगेर संस्था नै गायब हुने गरेका छन् ।   सबै कन्सल्टेन्सीले गलत गरिरहेको छन भन्ने हुँदैन, केहीले नेपाली युवाको भाग्यरेखा पनि कोरिदिएका छन्, तर कहिले विद्यार्थी नराम्ररी ठगिरहेको पाइएको छ ।  उनी यस्ता विषयमा प्रहरीले अनुसन्धान गर्दा व्यक्ति फेला पर्न गाह्रो हुने अवस्था रहेको बताउँछन् । संस्थाको नामबाट अनुसन्धान गर्दा अर्को व्यक्तिले नागरिकताबाट संस्था दर्ता गरेको भेटिन्छ ।   ‘कतिपय केशमा संस्था पत्ता लाग्छ । तर, जसको नाममा दर्ता हुन्छ त्यो व्यक्तिलाई यो विषयमा कुनै जानकारी नै हुँदैन,’ प्रहरी नायब उपरीक्षक भन्छन्,‘ कतिपय कन्सल्टेन्सीले नक्कली कागजात बनाएर पठाइदिने, कतिपयले पासपोर्ट राखेर आवश्यक पैसा माग्ने गरेको गुनासो पनि प्रहरीमा आउने गरेको छ, यस्ता विकृति बढ्दै गएका छन्।’  उनी अब कम्पनी दर्ता गर्दा विवाइसी फारम अनिवार्य गर्नुपर्ने आवश्यकता रहेको बताउँछन् ।  गत आर्थिक वर्षमा मात्र नेपालबाट विभिन्न ६४ मुलुकमा एक लाख १३ हजार बढी नेपाली विद्यार्थी अध्ययनको लागि पुगेका छन् । यस्ता शैक्षिक संस्थाहरूले   विद्यार्थीहरूलाई परामर्श दिइरहेका छन् । ९ हजार संस्था अवैध गैरकानुनी रुपमा सञ्चालनमा आएका कन्सल्टेन्सीले विद्यार्थीलाई ठगेको गुनासो बढेपछि वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले कन्सल्टेन्सीको अनुगमन नै सुरु गरेको छ । अनुगमन गर्दा बजारमा दर्ताबिनाका कन्सल्टेन्सीहरू प्रशस्त रूपमा सञ्चालन भएको पाइएको विभागले जनाएको छ । विभागले १ सय ५० वटा शैक्षिक संस्थामा अनुगमन गरेको छ । विभागका महानिर्देशक कुमारप्रसाद दहालले बजारमा लगभग १० हजार वटा शैक्षिक परामर्श संस्थाहरू सञ्चालनमा रहँदा झन्डै ९ हजार वटा शैक्षिक परामर्श संस्था दर्ताबिना र अनुमतिबिना सञ्चालन भइरहेको बताए ।  उनका अनुसार बजारमा अहिले तीन प्रकारका शैक्षिक संस्थाहरू रहेका छन् । एउटा अनुमति लिएर कानुनसंगत काम गरिरहेका अर्को अनुमति लिने प्रोसेसमा भएका र तेस्रो अनुमति पनि नलिएका तर शैक्षिक परामर्शभन्दा भिन्न तरिकाले काम गरिरहेका छन् ।  दहालले कतिपय शैक्षिक परामर्श संस्थाहरू मेनपावर कम्पनीको अथवा श्रमिक पठाउने काम गरिरहेको पाइएको बताए । विद्यार्थीहरूलाई सहज गर्छौं भनेर खोलिएका संस्थाले लुट्ने काम गरिरहेका छन् । उनी भन्छन्, ‘यस्ता ढाट्ने, छल्ने, लुट्ने कन्सल्टेन्सीलाई खोजी खोजी कारवाही गर्छौ, कुनै पनि उपभोक्तालाई कसैले पनि ढाट छल गर्न पाइँदैन ।’  उनले आफूले सुरु गरेको यो अनुगमन आफू रहँदासम्म जारी राख्ने बताए ।  ‘सरकारी नीति र कानुनभन्दा बाहिर पनि एउटा बजार सञ्चालनमा छ, त्यो बजारलाई हामी अनौपचारिक बजार भन्छौं र त्यसलाई एक प्रकारले ग्रे मार्केट पनि भनिन्छ,’ दहाल भन्छन्, ‘राजस्वको कुरा परै जाओस् त्यो बजारमा कुनै प्रकारको ऐन, कानुन, नीति, नियम लागू भएको छैन ।’ ७ सय २० संस्था मात्र दर्ता बजारमा १० हजार शैक्षिक परामर्श संस्था रहेको कुरा आइरहँदा शिक्षा मन्त्रालयले भने हालसम्म ७ सय २० वटा संस्थामात्र आधिकारिक रूपमा सञ्चालनमा रहेको बताएको छ । मन्त्रालयबाट अनुमति पाएका १ हजार ४ सय ७३ दर्ता संस्था छन् । ती संस्थामध्ये गत आर्थिक वर्षमा ९ सय २४ वटा संस्थाले नवीकरणका लागि निवेदन दिए । तर, ७ सय २० वटा संस्थाले मात्र आवश्यक कागजात बुझाएर संस्था नवीकरण गराएका छन् ।  ७ सय २० संस्थाले नवीकरण गर्दा फेरि २० सय ४ वटा संस्था भने बीचमै रोकिएका छन् । अब तत्काल ती संस्थाहरू नवीकरण हुने बाटो पनि रोकिएको छ । मन्त्रालयमा दर्ता भएका १ हजार ४ सय ७३ संस्थामध्ये हाल ७ सय २० संस्थामात्र आधिकारिक रूपमा दर्ता भएर सञ्चालनमा रहेको संस्था हुन् । शिक्षा ऐन, २०२८ ले यस्ता संस्था सञ्चालनका लागि अनुमति दिने आधिकारिक निकाय शिक्षा मन्त्रालय हो भनेको छ । यो ऐनले शिक्षा मन्त्रालय वा मन्त्रालयले तोकेको निकायबाट मात्र शैक्षिक परामर्शसँग सम्बन्धी भाषा शिक्षण सम्बन्धी र तयारी कक्षासम्बन्धी अनुमति दिन सक्छ भनेको छ ।  शैक्षिक संस्थामा विकृति बढेको भन्दै उपभोक्ता संरक्षण विभागले अनुगमन गरिरहँदा यस्ता सञ्चालन अनुमति दिने संस्था शिक्षा मन्त्रालयले भने मौन रहेको छ । मन्त्रालयले कुनै कदम नचालेको भन्दै आलोचनासमेत भइरहेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको शैक्षिक परामर्श तथा प्रमाणीकरण शाखाका प्रमुख सेमन्त कोइराला अहिले कानुन नहुँदा कुनै पनि काम गर्न मन्त्रालय असक्षमजस्तै रहेको स्वीकार्छन् ।  ‘हामीसँग अहिले कानुन छैन, कानुन विना कुनै कारवाहीको काम गर्न सक्दैनौं तर यति भन्दैमा हामी चुप लागेर बसेका छैनौं, हामीले गृह मन्त्रालयलाई बारम्बार पत्राचार गरेर अनुगमनको काम गरिदिनु भनेका छौं सम्भवतः नेपाल प्रहरीले पनि त्यसलाई हेरेको हुनुपर्छ,’ उनले भने ।  नेपाल शैक्षिक परामर्श (इक्यान)को अनुमान अनुसार देशभर करिब ५ हजार कन्सल्टेन्सी छन् भन्ने अनुमान थियो।  'नियन्त्रणमा राख्ने रणनीति'  इक्यानका अध्यक्ष शेषराज भट्टराईले अहिले बाहिर आइरहेका समाचार र अनुगमनले नेपालमा कन्सल्टेन्सी काम गर्ने सबै कम्पनी कानुन विपरीत छन् भन्ने सन्देश गएको बताए । उपभोक्ता संरक्षण विभागले गरिरहेको अनुगमन सकारात्मक भए पनि यसको सन्देश फरक तरिकाले गइरहेको बताए । ‘कन्सल्टेन्सीले गरेको विकृतिप्रति जति उपभोक्ता संरक्षण विभाग चिन्तित छ, इक्यान पनि चिन्तित छ,’ उनी भन्छन्, ‘यो मर्यादित होस् व्यवस्थित होस् भन्ने चाहना हाम्रो पनि हो, राज्यको कानुन विपरीत जान खोज्नेलाई प्रतिबन्ध गर्नैपर्छ ।’ उनी राज्यले निजी क्षेत्रलाई काम गर्न उत्साह गर्ने बताए पनि जहिले आफ्नो नियन्त्रणमा राख्ने गरेको बताउँछन् । इक्यानका पूर्वअध्यक्ष तथा नेपाल शैक्षिक परामर्श व्यवसायी महासंघका अध्यक्ष राजेन्द्र बरालले ८ सय कन्सल्टेन्सी अवैध हुनु चिन्ताको विषय भएको बताए । उनले विभागले गरेको अनुगमन पहिले नै आवश्यक रहे पनि ढिलो गरी अनुगमन सुरु भएको बताए ।   शैक्षिक परामर्श महासंघ शिक्षा सबैका लागि पहिले देश र त्यसपछि विदेश भन्ने अभिभाराका साथ नेपालमै पढ्ने विद्यार्थी बाहिर जाने विद्यार्थीलाई शैक्षिक परामर्श दिन तत्पर रहेको बताउँदै यस्तो अवस्थामा पनि विभिन्न ऐन र नियम बनाइ बाँध्न खोजेको उनको भनाइ छ ।  उनले कम्पनी ऐन ६३ अनुसार दर्ता भइरहँदा एउटा दफामा कुनै पनि नाम जुधाएर चाहिं अर्को कम्पनी खोल्न पाइने छैन भनिएको भए पनि  कम्पनी रजिस्ट्रारको कार्यालयका कर्मचारीहरूले एउटा चलेका कम्पनीको नाममा विभिन्न २० वटा कम्पनी दर्ता गराएर नाम जुधाएर विकृति र विसंगतिको रुपमा स्थापित हुन खोजिरहेको आरोप लगाए ।   नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष हेमराज ढकाल कुनै पनि व्यापार व्यवसाय सुरु गर्दा विधि र विधानसंवत गर्नुपर्ने बताउँछन् । ‘सरकारी निकाय निजी क्षेत्रले राम्रो गरेको देख्न सक्दैन,’ उनी भन्छन्, ‘व्यवसायमा लागेका साथीहरूले पनि कहाँ दर्ता हुनुपर्ने हो, राजश्व कहिले तिर्ने हो, यावत कुरा समयमै गरिदिँदा कसैले आवाज उठाउन सक्दैन ।’  उनी निजी क्षेत्रमा वाणिज्य विभागले पनि धेरै अनुगमन गरेर दुःख दिएको हो कि भन्ने कुराहरू सुन्नमा आएको बताउँदै सरकारले आफू पनि नगर्ने र अरूलाई पनि गर्न नदिने पहिल्यै देखिको परिपाटी रहेको सुनाए । निजी क्षेत्रका साथीहरू कानुनको दायरामा रहेर, सबै नियम पालना गरेर व्यवसाय गर्न सकिने बताउँदै लुकीछिपी व्यापार नगर्न व्यवसायीलाई आग्रह गरे ।  

भेटियो विभेदको पाठशाला : छात्रवृत्तिमा पढ्ने विद्यार्थीलाई अलग राख्ने मोर्गन कलेजको चाल

काठमाडौं । काठमाडौं उपत्यकाका निजी स्कुल तथा कलेजले छात्रवृत्ति कोटामा पढ्ने विद्यार्थीहरूमाथि विभेद गरेको पाइएको छ ।  काठमाडौं महानगरले निजी स्कुल र कलेजलाई अनिवार्य १० प्रतिशत छात्रवृत्ति प्रदान गर्न बाध्य पारेको छ । महानगरको छात्रवृत्तिमा कलेजले सहमति जनाए पनि यो विषयमा धेरै विद्यालय सञ्चालकको असन्तुष्टि देखिन्छ ।  नाफा कमाउने उद्देश्यले सञ्चालन गरिएका कलेजहरूले छात्रवृत्तिमै पढिरहेका विद्यार्थीबाट पनि विभिन्न बहानामा धेरथोर शुल्क लिइरहेकै हुन्छन् । आफ्नो कलेज र विद्यालयको प्रतिष्ठाको विषय जोडिएकाले राम्रो जीपीए ल्याएका विद्यार्थीलाई केही छुट पनि दिएको हुन्छ ।  काठमाडौंमा एउटा यस्तो कलेज भेटियो जहाँ महानगरको छात्रवृत्ति कोटामा नाम निकालेर पढ्न गएका विद्यार्थीलाई शुल्कमात्रै मागिएन, पढ्ने कोठा नै छुट्टै बनाइयो । उक्त विषयमा विद्यार्थीले गुनासो गरेपछि बल्ल सत्य बाहिर आएको हो । कलिला विद्यार्थीलाई यस्तो विभेद गर्ने कलेज हो– काठमाडौंको बसुन्धरामा रहेको मोर्गन इन्टरनेशनल कलेज । अहिले सवत्र यो कलेजको आलोचना भइरहेको छ । उक्त गुनासोपछि काठमाडौं महानगरको टोलीले गत बिहीबार कलेज पुगी अनुगमन गरेको थियो । अनुगमनको लागि कलेज पुगेको महानगरको टोली र कलेज प्रशासनबीच चर्काचर्की नै परेको थियो ।  महानगरको अनुगमन टोलीले कलेजलाई तीन दिनभित्र आवश्यक कागजातसहित उपस्थित हुन निर्देशन दियो । अनुगमन गर्दा के–के पाइयो ? गत बिहीबार मोर्गन कलेजमा काठमाडौं महानगर भित्रका विभिन्न विभागहरूले संयुक्त रूपमा अनुगमन  गरेका थिए । शिक्षा विभागमा प्राप्त उजुरीहरूको आधारमा गरिएको अनुगमनले विद्यालयको सञ्चालनमा गम्भीर अनियमितताहरू फेला पारेको छ ।  महानगरको सहरी योजना आयोग, राजस्व विभाग, कृषि तथा पशुपन्छी विभाग, सार्वजनिक निर्माण विभाग, सहरी व्यवस्थापन विभाग र शिक्षा विभागको संयुक्त टोलीले विद्यालयको अनुगमन गरेको थियो ।  सहरी योजना आयोगका सदस्य शैलेन्द्र झाले अनुगमनको क्रममा छात्रवृत्ति कार्यक्रमको जाँचबाट सु? गरिए पनि विद्यालयमा अन्य कैयौं समस्याहरू फेला परेको जानकारी दिए । ‘हामीले विद्यालयमा अनुगमन सु? गरेपछि विभिन्न अनियमितताहरू देख्यौं,’ झा भन्छन्, ‘संयुक्त टोलीको अनुगमनपश्चात विद्यालयको सञ्चालन, भौतिक पूर्वाधार र वैधानिकतामाथि नै प्रश्न उठेको छ, अब सबै विषयमा छानबिन हुन्छ ।’  विद्यालयले आफूलाई ‘इन्टरनेशनल’ भन्ने गरेको तर अन्तर्राष्ट्रिय मापदण्ड पूरा नगरेको पनि महानगरले जनाएको छ । इन्टरनेशनल नाम राख्ने विद्यालयले सोहीस्तरको पाठ्यक्रम, शिक्षक, र पूर्वाधार सुनिश्चित गर्नुपर्ने हुन्छ । शिक्षा विभागका निमित्त प्रमुख केशव ज्ञवालीले कलेजले छात्रवृत्ति पाउने विद्यार्थीहरूबाट २४ हजारदेखि ३० हजारसम्मको शुल्क माग गरेको जानकारी दिए ।  महानगरले विद्यालय सञ्चालनको अनुमति पत्र, शुल्क संरचना र छात्रवृत्ति सम्बन्धी विवरण, भौतिक पूर्वाधार (कक्षाकोठा, सुरक्षा, क्यान्टिन) सम्बन्धी कागजात, राजस्व र कर सम्बन्धी रेकर्ड,  विद्यालय  स्थानान्तरण सम्बन्धी कागजात लगायतकाका कागजातहरूको प्रमाणित प्रतिलिपि तीन दिनभित्र शिक्षा विभागमा पेश गर्न निर्देशन दिएको छ । के भन्छ मोर्गन कलेज ? मोर्गन कलेजले भने विद्यार्थीमाथि कुनै पनि विभेद नगरेको दाबी गरेको छ । विद्यालयमा विद्यार्थीको संख्या बढी हुँदा बिहान/दिउँसो गरी विद्यार्थीलाई पढाइरहेको दाबी गर्दै कुनैपनि विद्यार्थीलाई विभेद नगरेको जनाएको छ ।  ‘हामीले कुनै पनि विद्यार्थीलाई छुट्याएर कसैलाई राम्ररी पढाउने, कसैलाई भुल्याउने काम गर्दैर्नौं । यो कलेज विद्यार्थीको रोजाइमा परेको कलेज हो, बाहिर जुन कुरा अहिले ल्याएको छ यो कदाप िहोइन,’ कलेज प्रशासनले भन्यो ।  कलेजका अनुसार अहिले ६७ जना विद्यार्थी महानगरको छात्रवृत्ति कोटाबाट अध्ययन गरिरहेका छन् । कलेका प्रधानाध्यापक दिपेन्द्र भण्डारीले भने यो विषयमा धेरै कुरा गर्न चाहनेन् ।  उनले बाहिर आएको कुरामा कुनै पनि सत्य नभएको जिकिर गरे । ‘हामीले सबै विद्यार्थीलाई एउटै व्यवहार गर्छौं, कसैलाई काखा र कसैलाई पाखा गर्ने भन्ने हुँदैन, यो सबै कुरा सत्य होइन,’ उनले भने । मोर्गन कलेजमात्र होइन, अधिकंश कलेजले छात्रवृत्तिबाट अध्ययन गर्ने विद्यार्थीलाई हेर्ने र गर्ने नजर फरक हुन्छ । विज्ञहरू महानगरले मात्र नभइ अन्य संघसंस्था र सरकारले दिएको छात्रवृत्तिका विद्यार्थीलाई पनि यस्तै विभेद हुने गरेको बताउँछन् ।  निजी कलेजहरू पैसाका लागि खोलिएका र निकै महँगा हुने भएकाले उनीहरू मनैदेखि यस्ता विद्यार्थी पढाउन इच्छुक हुँदैनन् । शिक्षाविद् प्राडा विद्यानाथ कोइराला आफू पनि यो विषयमा लामो समयदेखि भुक्तभोगी भएको बताउँछन् । आफूले विभिन्न संघसस्थाको सहयोगमा पढाइदिन्छु भनेर ल्याएका विद्यार्थीले पनि यस्तै व्यवहार सहनुपरेको भन्दै उनले लामो समयदेखि यो समस्या नजिकबाट महसुस गरेको सुनाए ।  रौतहटका विद्यार्थी रामजी रामले छात्रवृत्ति कोटाबाटै पढ्दा पनि अदालत जानु परेको सम्झँदै उनी हरेक कलेजले हरेक स्वरूपमा छात्रवृत्तिका विद्यार्थीलाई गर्ने व्यवहार फरक हुने गरेको शिक्षाविद कोइराला बताउँछन् ।  रौतहटमा एउटा चमार परिवारमा जन्मेका रामजी रामले सरकारी छात्रवृत्तिबाट एमबीबीएस अध्ययन गर्दा पनि नेशनल मेडिकल कलेजले २ लाख ७५ हजार पाँच सय ?पैयाँ थप मागेपछि उनी अदालतसम्म पुग्नुपरेको थियो ।  ‘२०७२ सालमा छात्रवृत्ति कोटामा एमबीबीएस गरेका रामजी सर्वोच्चमा रिट दायर गरेर अदालतको आदेशपछिमात्र चिकित्सक बनेको उदाहरण हाम्रो सामु छ,’ शिक्षाविद कोइरालाले भने । उनी छात्रवृत्ति दिने सरकार र संस्थाले शुल्क मात्र तिर्दा यस्तो समस्या सिर्जना हुने गरेको बताउँछन् । ‘विद्यार्थीलाई शुल्कमात्रै होइन, झोला, कापी, किताबको पनि आवश्यकता पर्छ । यो कुरामा ध्यान नदिँदा विद्यार्थीले धेरै समस्या भोग्नुपरिरहेको छ,’ शिक्षाविद कोइरालाले भने ।   विद्यार्थीले पनि गर्छन् विभेद छात्रवृत्तिबाट अध्ययन गरिरहेका विद्यार्थीलाई कलेजलेमात्र होइन, सँगै अध्ययन गर्ने सार्थीहरूले पनि विभेद गरिरहेका हुन्छ । महँगा कलेजका महँगो शुल्क तिरेर पढ्न सामान्य आयस्रोत हुने परिवारका सन्तानले पढ्न सक्दैनन् । छात्रवृत्तिबाट पढेका विद्यार्थीले पनि अनिवार्य कलेजको अभ्यासमा चल्नुपर्छ । उनले लगााउने लुगा, जुत्ता, बोक्ने झोला कम मूल्यको हुन्छ । यस्तो अवस्थामा विद्यार्थीहरू हाँसोको पात्र बन्ने गर्छन् ।  शिक्षाविद् कोइराला यस्तो अवस्थामा आफूसँग जे छ त्यसमै गर्व अनुभुति गर्नुपर्नेमा जोड दिन्छन् । विदेशमा विद्यार्थीलाई सरकार वा संघसस्थाले गर्ने फेलोसिप र स्कलरसीप प्रचलित छ । फेलोसिपमा भनेको कुनै व्यक्तिलाई काम चलाउनको लागि अलिअलि पैसा दिने गरिन्छ । स्कलरसीप भनेको सबै पूर्ति गर्नुपर्ने हुन्छ । शिक्षाविद कोइराला स्कलरसिप दिने भनेपछि उसलाई चाहिँदा अरू आवश्यकता पनि पूर्ति गर्नुपर्ने अवस्था देखिएको बताउँछन् ।  उनी यस्तो समस्याबाट विद्यार्थीलाई जोगाउन महानगरले छात्रवृत्ति मात्र दिएर नहुने बताउँछन् । साथै यस्ता विद्यार्थीलाई खानबस्नदेखि लुगा कपडा सबैको व्यवस्था गर्नुपर्छ ।  यसका लागि थुप्रै अन्य सहयोगी हातहरू पनि खोज्न सकिन्छ ।  वर्षमा ४ हजार बढीलाई छात्रवृत्ति काठमाडौं महानगरले एसईई पास भइसकेका विद्यार्थीलाई निजी कलेजमा पढ्ने अवसर दिँदै आएको छ । छात्रवृत्तिका लागि सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीले आवेदन फर्म भरेर प्रवेश परीक्षा दिनुपर्छ ।  गत वर्ष महानगरले महानगरभित्र रहेका संस्थागत विद्यालयमा ४ हजार ६ सय २४ विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको थियो । विद्यालयको भर्ना अनुपात क्षमता र अन्य सूचकका आधारमा महानगरले छात्रवृत्ति कोटा निर्धारण गर्ने गर्छ । महानगरले गरिब, विपन्न, आर्थिक अवस्था कमजोर भएका र पिछडिएका क्षेत्रका विद्यार्थीका लागि हरेक वर्ष छात्रवृत्ति प्रदान गर्दै आएको छ । 

लाखौंलाई सास्ती दिइरहेको दुखाइ नहुने रोग

काठमाडौं । कुनै रोग यस्ता हुन्छन्, लाग्ने बित्तिकै त्यसको लक्षण देखा पर्छ । व्यक्ति तुरुन्त अस्पताल जाँचको लागि पुग्छ र उपचारपछि निको हुन्छ । तर, यस्ता डर लाग्दा रोग पनि छन् जसको कुनै दुखाइ नै हुँदैन ।  यि रोगले शरीरभित्र  थाहै नदिई वितण्डा मच्चाइरहेको हुन्छन् । जब व्यक्तिलाई दुखाइ सुरु हुन्छ तबसम्म यि रोगले शरीरको अर्को भागसम्म हैकम जमाइसकेको हुन्छ । यस्ता डरलाग्दा रुपमा देखिइने यो रोग हो क्यान्सर ।  क्यान्सरमा पनि स्तन क्यान्सर र प्रोस्टेट  र सर्भाइकल क्यान्सर दोस्रो, तेस्रो चरणमा पुगिसक्दा पनि कुनै दुखाइ हुँदैन । दुखाइ बिना हुने यस्तो रोगले अस्पतालसम्म पुग्दा धेरै ठाउँ फैलिसकेको हुन्छ । यसको उपचार गर्दा निको त हुन सक्छ तर समय पैसाको नास हुन्छ । यस्ता रोगबाट अहिले नेपालीहरू ग्रसित भइरहेका छन् ।   नेपालमा शरीरका विभिन्न रोगमा लाग्ने क्यान्सर रोग नराम्ररी फैलिँदै गएको छ । बदलिँदो जीवनशैली, गलत खानपानले फैलने रोगले व्यक्तिको ज्यान समेत लिइरहेको छ । अन्य क्यान्सर लाग्दा दुखाइ हुने भएपनि कतिपय क्यान्सर भने बिना दुखाइ शरीरभित्र फैलिरहेको हुन्छ ।  यो मध्येकाे एउटा डर लाग्दो रुपमा फैलिरहेको क्यान्सर हो स्तन क्यान्सर । पुरुष महिला दुवैमा स्तन क्यान्सर नेपालका महिलाहरूमा अहिले सबैभन्दा बढी देखिइरहेको रोग हो स्तन क्यान्सर । विकसित मुलुकसहित नेपालमा फैलिरहेको यो रोग प्राय महिलाहरूमा मात्रै लाग्ने रोग भनेर चिनिन्थ्यो । तर, पछिल्लो समय पुरुषमा पनि स्तन क्यान्सर देखिन थालेको छ । ब्रेष्ट क्यान्सर सर्जन डा. प्रफुल्ल शाक्यले स्तन क्यान्सरको दुखाइ नहुँदा अस्पताल पुग्ने बिरामीहरू ढिलो गरी अस्पताल आउने गरेको बताए । सामान्यतया स्तन क्यान्सर भएको थाहा पाउन स्तनमा गिर्खाहरू भएको थाह हुनुपर्छ । तर, सबै गिर्खा क्यान्सर नहुने उनी बताउँछन् ।  कतिपय महिलाको महिनावारीको समय आउँदा स्तन भारी हुने र वरिपरि गिर्खाहरू जस्तै देखिन्छन् । तर, ति गिर्खाको दुखाइ महसुस हुन्छ । दुखाइ पनि छैन, गिर्खा आइरहेको छ भने एक पटक जाँच गर्नुपर्ने चिकित्सकहरू बताउँछन् ।  स्तन क्यान्सर ९९ सय प्रतिशत दुखाइ विहीन हुन्छ,’ डा. शाक्य भन्छन्, ‘दुखाइ पनि हुँदैन, कुनै लक्षण पनि देखिंदैन, जब दुखाइको महसुस हुन्छ, तब ढिला भइसकेको हुन्छ ।’  उनी दुखाइ नभएपनि कतिपय लक्षण भने व्यक्ति आफैले अनुमान गर्न सकिने बताउँछन् । स्तन क्यान्सर भएको छ भने स्तनबाट रगत वा पीप जस्तै तरल पदार्थ चुहिन्छ भने निप्पल पनि भित्र गएको हुन्छ । यो समस्या देखिने बित्तिकै जाँच गर्नुपर्ने उनको सुझाव छ । स्तन क्यान्सर के कारण हुन्छ भन्ने यकिन कारण छैन ।  अहिलेसम्मका बिरामीको केश अध्ययन गर्दा पनि अधिकांश वंशाणु भएको पाइएको छ । जसको आमा, हजुर आमामा यो समस्या वा यसैको कारण मृत्यु भएको छ भने त्यस्तो व्यक्तिलाई स्तन क्यान्सर हुन सक्ने सम्भावना धेरै हुन्छ ।  डा. शाक्य हरेक महिलाले महिनावारी हुँदा आफ्नो स्तन वरिपरि आफ्नो हातले छाम्न सल्लाह दिन्छन् । उनी भन्छन्, ‘चार दिन महिलाको स्तन नरम भएको हुन्छ, यो बेला आफ्नै हालको औँलाले स्तन वरिपरी छामछुम पर्दा गिर्खा भएको थाह हुन सक्छ । यदि गिर्खा भएजस्तो लाग्छ भने चिकित्सकको सल्लाह लिहाल्नुपर्छ ।’ स्तन क्यान्सर समयमै उपचार भए सतप्रतिशत निको हुन्छ । २०२४ सालमा गरिएको एक अध्ययनले ग्रामिण क्षेत्र भन्दा शहरी क्षेत्रका महिलामा स्तन क्यान्सर बढी देखिएको छ । महिलामा हुने अन्य क्यान्सर मध्ये स्तन क्यान्सर १९ प्रतिशत हिस्सा ओगटेको विज्ञहरू बताउँछन् । विशेषगरी ४० वर्ष पछि देखिन सक्ने भनिएको स्तन क्यान्सर आजभोलि १९÷२० वर्षका युवतीहरूमा पनि देखिन थालेको छ ।   विश्वको तथ्यांक अनुसार प्रत्येक ६ जना मध्ये एक जनाको मृत्यु क्यान्सरबाट हुने गरेको छ । नेपालमा पनि प्रत्येक वर्ष २० हजार बढी व्यक्तिमा क्यान्सरको पहिचान हुन्छ भने कुल मृत्युको ११.११ प्रतिशत व्यक्तिको मृत्यु क्यान्सरबाट हुने गरेको छ ।  प्रोस्टेट क्यान्सर महिलामा बिना दुखाइ देखिने स्तन क्यान्सर जस्तै पुरुषमा हुने प्रोस्टेको क्यान्सरको पनि कुनै दुखाइ महसुस हुँदैन । बिना दुखाइ हुने यो रोग नेपाली युवाहरूमा पनि बढ्दै गएको छ । प्रोस्टेट भनेको एक ग्रन्थी हो । जुन पुरुषको प्रजनन् प्रणालीको रुपमा चिनिन्छ । यसले पिसाबको नलीलाई घेरेर राखेको हुन्छ ।  यो पिसाब थैलीको मुनिको भागमा हुन्छ । यसको काम शुक्राणुलाई पोषण दिने हो । यसले स्वस्थ वीर्य उत्पादन गर्छ  भने पिसाबलाई यसैले रेगुलेट गर्छ ।  यो भागमा हुने क्यान्सलाई प्रोस्टेट क्यान्सर भनिन्छ । प्रोस्टे घटबढ भइरहन्छ । यो बढ्दैमा क्यान्सर हुन्छ भन्ने हुँदैन । छिनछिनमा पिसाब गर्न मन लाग्ने, पिसाब गर्न जाँदा नआउने, तुरुक-तुरुक चुहिरहने, सधैं टाढासम्म पर्ने पिसाब आज नजिक पनि नसक्ने वा पिसाबको धार नै परिवर्तन हुँदा प्रोस्टेटमा समस्या भएको मानिन्छ ।  कन्सलटेन्ट युरोलोजिष्ट डा. इशान मल्ल यो समस्या हुने बित्तिकै क्यान्सर हुन्छ भन्ने नहुने बताउँछन् । तर, यस्तो बेला सम्भावना भने धेरै हुनसक्ने  बताउँछन् । कहिलेकाँही पिसाबको नलीमा समस्या छ अथवा पिसाबको थैलीमै समस्या छ भने पनि हुँदा यस्तो लक्षण देखिन सक्छ, जुन क्यान्सर हुँदैन । नेपालमा एक लाख व्यक्ति मध्ये करिब २.९ व्यक्तिमा यस्तो समस्या हुने गरेको छ । प्रोस्टेट क्यान्सर अहिले पहिलेको भन्दा बढ्दै गएको छ ।  स्तन क्यान्सर र प्रोष्टेट क्यान्सरको लक्षण उस्तै–उस्तै हुन्छ । प्रोस्टेट क्यान्सर हुँदा पनि दुखाइको कुनै अनुभुती हुँदैन । डा. इशान भन्छन्, ‘स्तन क्यान्सर जस्तै प्रोस्टेट क्यान्सरमा पनि दुखाइ हुँदैन तर जब पिसाबमा रगत देखिन्छ, ढाड दुख्यो, हड्डी दुख्न थाल्यो भने  प्रोस्टेट भएर अरु भागमा सरिसकेको हुन सक्छ ।’ उनका अनुसार अस्पतालमा आउने प्रोस्टेटका बिरामी लक्षणदेखि सकेपछि मात्र पुग्छन् । जसको प्रोस्टेट त्यो ठाउँ भन्दा अन्य ठाउँ सरिसकेको हुन्छ । डा. मल्ले यसको एकमात्र उपाय भनेको सन्तुलित आहार र अर्लि टेष्ट रहेको बताउँछन् । ५० वर्ष पुगिसकेका पुरुषहरूले वर्षको एक पटक अनिवार्य जाँच गर्नुपर्छ । जसको परिवारमा यस्तो समस्या देखिएको ति व्यक्तिले ४५ वर्ष पछि  अनिवार्य जाँच गर्नुपर्ने उनी बताउँछन् ।  प्रोस्टेट क्यान्सरमात्र नभइ परिवारमा स्तन क्यान्सर, ओभरी क्यान्सर जस्ता कुनै पनि क्यान्सर भएका व्यक्तिले जाँचमा निकै ध्यान दिनुपर्छ । क्यान्सर नसर्ने तर घातक रोग भित्र पर्ने एक गम्भीर प्रकृतिको रोग हो । जुन कोशिकाहरूको एक समूहको अनियन्त्रित वृद्धि हो । यो रोग लाग्यो भन्ने सुन्ने बित्तिकै अहिले पनि नागरिक निकै त्रसित हुन्छन् ।  फोक्सो, कलेजो, आन्द्रा, पाठेघर लगायत विभिन्न ठाउँमा क्यान्सर हुन्छ । जस्तोसुकै क्यान्सर भएपनि पैसा र शरीर दुवैलाई क्षति गर्छ । नेपालमा स्तन क्यान्सर, पाठेघरको मुखको क्यान्सर, फोक्सो, आन्द्रा, आमाशय लगायतका विभिन्न किसिमका क्यान्सर भएका बिरामीहरू पाइन्छन् । नेपालमा सबैभन्दा पुरुषमा फोक्सो क्यान्सर हुने गरेको छ ।  अन्क्लोजिष्ट डा. रजनी झा नेपाली महिलामा सबैभन्दा बढी पाठेघरको  मुखको क्यान्सर र स्तन क्यान्सर देखिने गरेको बताउँछिन् । अहिले पाठेघरको क्यान्सर भन्दा स्तन क्यान्सर महिलामा बढी देखिने गरेको छ ।  पाठेघरको मुखको क्यान्सर  पुरुषमा देखिने प्रोस्टेट क्यान्सर महिलामा देखिने स्तन क्यान्सर जस्तै पाठेघरको मुखको क्यान्सरको पनि सुरुवाती लक्षण थाह  हुँदैन । जब फैलिसकेको हुन्छ त्यसपछि मात्र लक्षण देखिन्छ । पाठेघरको मुखको क्यान्सर गर्भाशय र यौनी बिचको भागमा हुन्छ । यो हर्मन प्यापीलोमा भाइरस (एचपिभी)को संक्रमणबाट लाग्छ । सबै प्रकारका एचपिभी क्यान्सर हुँदैनन् तर केहीले सर्भाइकल क्यान्सर  गराउने सम्भावना हुन्छ ।  पाठेघरको मुखको क्यान्सर यौन सम्पर्कका कारण हुने रोग हो । कलिलो उमेरमै बिहे भएका महिलामा यो क्यान्सर हुने सम्भावना धेरै हुन्छ । डा. झा भन्छिन्, ‘१४,१५ वर्षको उमेरमा सम्पर्क राख्दा, हर्मोनल एक्टिभिटीज धेरै हुन्छ, यस्तो उमेरमा यो रोग लाग्ने सम्भावना धेरै हुन्छ, जसका कारण यो रोगको जोखिममा सबैभन्दा धेरै किशोरीहरू हुन्छन् ।’  अर्को जोखिममा पर्ने समूह भनेको धेरै जनासँग यौन सम्पर्क गर्ने महिलालाई हुन्छन् । एउटा महिलाले धेरै साथी बनाएर सम्बन्ध राख्दा उसलाई पनि यो क्यान्सरका सम्भावना धेरै हुन्छ भने गर्भ निरोधक चक्की  पिल्स धेरै खाँदा पनि क्यान्सर हुने सम्भावना हुन्छ । प्रजनन अंग सफा नराख्ने, प्याडको प्रयोग नजान्दा पनि यो समस्या हुन्छ  ।  १० जना सर्भाइकल क्यान्सर भएका महिला मध्येमा ९ जना एजपिभी संक्रमण देखिएको छ । खोप लगाउँदा ९० प्रतिशत बच्न सकिन्छ । पाठेघरको मुखको क्यान्सर हुँदा पनि सुरुमा कुनै दुखाइ हुँदैन । तर रोग फैलिसकेपछि लक्षण भने देखा पर्छन् ।  सर्भाइकल क्यान्सर भएका महिलामा रगत बग्ने र फोहोर गन्हाउने पानी बग्छ । महिलाहरू प्रत्येक महिनामा महिनावारी हुन्छन् । कहिलेकाँही दुईटा महिनावारीको बीचमा पनि महिनावारी जस्तै रगत बग्यो रगत चोक्टा चोक्टा आउने, गन्हाउने छ भने सचेत रहनुपर्छ । अर्को यौन सम्पर्क गरिसकेपछि महिलामा रगत बग्छ तर रोकिएको छैन भने पनि सचेत हुनुपर्छ । महिनावारी सुकेका महिलाहरूमा पनि महिनावारी जस्तै रगत आयो भने पनि सचेत हुनुपर्छ । कहिलेकाँही तल्लो पेट दुख्ने, तौल घट्ने, खाने रुचि घट्ने लक्षण हुँदा पनि शंका गर्नुपर्ने ठाउँ हुन्छ । डा. झा महिलाको जति उमेर बढ्दै जान्छ त्यति क्यान्सर हुने सम्भावना धेरै हुने बताउँछिन् ।  यस्तो लक्षण परेको छ भने चिकित्सकको सल्लाहमा अनिवार्य गर्नुपर्ने बताउँछिन् ।  कतिपय ग्रामीण क्षेत्रका महिला दिदी बहिनी यस्तो समस्या लिएर आउनुहुन्छ,’ डा. झा भन्छिन्, ‘उहाँहरूलाई  पानी कहिलेदेखि बगेको हो, रगत कहिलेदेखि बग्न सुरु गरेको हो भनेर सोध्दा चार पाँच वर्ष पहिलेदेखि भएको बताउँछन्, यस्तो अवस्थामा पनि महिलाहरू अस्पताल नआउँदा यो समस्या जटिल बन्छ ।’ नेपाल क्यान्सर निवारण प्रतिष्ठानका अध्यक्ष हरी गोपाल प्रधान क्यान्सर रोग उपचार गर्दा निको हुने भएपनि आर्थिक भार बढी पर्ने भएकाले समस्या हुने गरेको बताउँछन् । उनी सरकारले हरेक नागरिकलाई उपचार गर्न पाउने वातावरण सिर्जना गर्नुपर्ने बताउँछन् ।  उनि भन्छन्, ‘धेरै जसो व्यक्तिले आर्थिक अभावमै ज्यान गुमाउनुपरेको छ । हाल दिइरहेको सहुलियतलाई बढाएर पाँच लाखसम्म दिन सक्यो भने पनि धेरै राहत हुने थियो ।’  उनी क्यान्सरका बिरामीलाई सरकारले दिँदै आएको सहुलियत पाँच लाखसम्म पुर्याउनु पर्ने बताउँछन् । क्यान्सर ढिलो गरी मात्र थाह हुने भएकोले यसको उपचार निकै महँगो हुने गर्छ ।  लामो समय अस्पताल धाइराख्नु पर्ने अवस्थामा पैसा नहुँदा आर्थिक अवस्था विपन्न भएका नागरिकले समस्या झेलिरहेका छन् । चिकित्सकहरू भने जस्तोसुकै क्यान्सरको पनि नेपालमै उपचार सम्भव भएकाले क्यान्सर रोग देखिँदैमा डराउन नपर्ने बताउँछन् । हाम्रो समाजमा क्यान्सर लाग्यो भन्ने बित्तिकै अब बाँच्दैन भन्ने मानसिकता रहेकाले यो भ्रमबाट मुक्त हुनुपर्ने बताउँछन् ।