२०७४ पुष १२ गते १७:१२ विकासन्युज
काठमाडौं । नर्भिक इन्टरनेशनल अस्पतालले सुविधासम्पन्न ३ टेस्ला एमआरआई र १२८ स्लाइस सीटी स्क्यान मेसिन सञ्चालनमा ल्याएको छ । नयाँ प्रविधी जडान सहितको उक्त सेवाको बुधबार पूर्व युवराज्ञी हिमानी शाहले उद्घाटन गरेकी हुन् ।
उक्त प्रविधी जडानपछि अस्पताल पूर्व रुपमा न्युक्लियर मेडिसिन सेन्टरका रुपमा परिणत भएको सञ्चालकले जनाएका छन् । नेदरल्याण्डमा निर्मित ३.०टि इन्जेनिया एमआरआईमा यसको सुरुङ भित्र श्रव्य-दृश्य प्रणाली छ । जसकारण बिरामीले आफूलाई मनपर्ने, सङ्गीत तथा भिडियो सुन्न वा हेर्न सकिने सञ्चालकले जानकारी दिएका छन् । एमआरआई प्रक्रियाको चित्र स्पष्ट र आरामदायी सुविधा भएको यो नेपालकै पहिलो प्रविधी भएको दाबी गरिएको छ ।
यो प्रणालीमा सामान्य एमआरआईभन्दा करिब ८० प्रतिशत कम ध्वनी उत्पन्न हुनेभएकाले बिरामी डराउने समस्या नरहेको सञ्चालकले जानकारी दिएका छन् । सीटी स्क्यानमा आइडोजफोर प्रणाली रहेकाले यसलाई विश्वकै उत्कृष्ट मानिएको सञ्चालकको दाबी छ ।
यो प्रविधी पूर्णरुपमा बिरामीमैत्री, सहज र आरामदायी रहेको अस्पतालका प्रबन्ध निर्देशक मेघा चौधरी शाक्यले जानकारी दिइन् । नेपालको घरदैलोमा अन्तराष्ट्रिय स्तरको चिकित्सा सेवा पुर्याउँदै सेवा नर्भिकले आफूलाई अझै परिस्कृत र परिमार्जित गरेर सेवा सुविधाहरु थप्न लागेको उनले बताइन् ।
‘आगामी पञ्चवर्षीय योजना अन्तर्गत नर्भिकको हालको पूर्वाधारमा आमूल परिवर्तन गरी विद्यमान शैय्या थप गरी २०० पुर्याउनेछौं ‘, उनले भनिन्,’ त्यस्तै ३ मोडुलर अपरेटिङ सुइट्समा जेसिइ मापदण्ड अनुसार थप पाँच अपरेटिङ सुइट्सहरु थप गरी ८ वटा अत्याधुनिक मोडुलर सुइट्स सञ्चालनमा ल्याइनेछन् ।’
त्यस्तै अस्पतालमा कार्डियोलोजी सेन्टर, डाइजेस्टिभ डिजिज सेन्टर, मदर एण्ड चाइल्ड सेन्टर, आइभिएफ सेन्टर, पल्मोनरी सेन्टर र ट्रमा केयर सञ्चालनमा ल्याउने तयारी रहेको उनले जानकारी दिइन् ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.