२०७९ जेठ ४ गते १७:२६ विकासन्युज
काठमाडौं । नेपालको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलमा प्रत्यक्ष उडान भर्ने पहिलो एयरवेज कुवेतका जजिरा भएको छ । पहिलो उडान भरेपछि एयरवेजका प्रतिनिधिले बुद्धको जन्मस्थलसँग प्रत्यक्ष उडान विस्तार गर्न पाएको खुशी व्यक्त गरेका छन् ।
जजिराका उपाध्यक्ष रविन्द्र भाराथनले जजिरा एयरवेजले नेपाली एजेन्सी कम्पनीको सहयोगविना उडान असम्भव भएको भन्दै एजेन्सीलाई धन्यवाद दिए । उनले जजिराले विभिन्न ६ नयाँ गन्तव्यमा उडान विस्तार गरेको भन्दै जेठ २ गते कुवेतबाट नेपालको दोस्रो ठूलो भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो उडान गरिएको बताए ।
कुवेतबाट भैरहवा सिधा उडान हुँदा नेपालको पश्चिम भागमा ठूलो परिवर्तन ल्याउने कम्पनीले दाबी गरेको छ । कम्पनीले पछिल्लो समय मध्य-पूर्व, एसिया र युरोपमा पनि आफ्नो उडान सेवा विस्तार गरेको जनाएको छ ।
गौतमबुद्ध अन्तर्राट्रिय विमानस्थलमा उडान विस्तार गरेसँगै मध्य-पूर्व र युरोप बसोबास गर्ने ठूलो समुदाय नेपालको दक्षिण-पश्चिम क्षेत्रमा प्रत्यक्ष रुपमा जोडिन सक्ने कम्पनीले दाबी गरेको छ ।
‘जजीरा एयरवेजले निरन्तर आफ्नो सञ्जाल विस्तार गर्दै नयाँ नयाँ गन्तव्यहरु थप्दै गइरहेको छ, यसबाट कुवेत र मध्यपूर्वको डाइरेक्ट रुटले सेवा दिन नसकेका यात्रुहरुलाई प्रत्यक्ष लाभ हुनेछ’, उनले भने, ‘जजीराको सिधा उडानले तराई तथा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा जाने पर्यटकका लागि थप सहयोग पुग्नेछ ।’
अन्य वायुसेवा कम्पनीको तुलनामा कुवेत-भैरहवा उडान सस्तो भएको कम्पनीले दाबी गरेको छ । आरआर ग्रुप अफ कम्पनिजको भगिनी संस्था सोसाइटी इन्टरनेश्नल ट्राभल सर्भिसेजका चेयरम्यान रवीचन्द्र सिंहले ७४ वर्षसम्म काठमाडौंमा मात्र भर परेको अन्तर्राष्ट्रिय उडान अब यो हवाइ सेवाको विस्तारसँगै नेपालको पश्चिम भागमा ठूलो परिवर्तन ल्याउने बताए ।
उनले भने, ‘यसका साथै यसले भैरहवाको आन्तरिक पर्यटनमा पनि टेवा पुर्याउनेछ। जसले समग्र नेपालकै आर्थिक विकासमा सरोकार राख्छ। यो सम्पूर्ण नेपालीको लागि ऐतिहासिक र गौरवपूर्ण क्षण हो ।’
भैरहवा विमानस्थलमा पहिलो व्यवसायिक उडान जजिराले कुवेतबाट गरेको हो । सोमबार बिहान ६२ यात्रुलाई भैरहवा ल्याएर आएको जजिराले १३६ जना यात्रुलाई सोमबार बिहान कुवेत फर्किएको थियो ।
भैरहवा कुवेतको उडान अवधी ४ घण्टा ३० मिनेटको छ । हाललाई जजिरा एयरवेजले सोमबार, बुधबार र शुक्रबार भैरहवाबाट उडान गर्न लागेको छ । यात्रुको संख्या बढ्दै जाँदा जजिराले भैरहवाबाट नियमित उडान समेत गर्न सक्छ ।
नेपाल नागरिक उडड्यन प्राधिकरणले गौतमबुद्ध विमानस्थलमा उडान गर्ने वायुसेवा कम्पनीलाई आर्कषित गर्न एक वर्षसम्म ल्याण्डिङदेखि पार्किङसम्मको छुट दिएको छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.