आधा घण्टामै पौने ३ अर्बको कारोबार, ३२ अंकले घट्यो नेप्से

  २०७८ असार २ गते ११:४२     विकासन्युज

काठमाडौं । नेपाल धितोपत्र बोर्डले मंगलबार जारी गरेकाे विज्ञप्तिको प्रभाव बुधबारको सेयर बजारमा परेको छ । जसकाे कारण नियमित कारोबार खुलेको ३० मिनेट नबित्दै नेप्से परिसूचकमा तीव्र उतारचढाव र उच्च कारोबार भइसकेको छ ।

११ बजेर ३० मिनेट जाँदा नेप्से परिसूचक ३२.३३ अंकले घटेर २९८९.७८ बिन्दुमा झरेको छ । जुन अघिल्लो दिनको तुलनामा १.०७ प्रतिशतले घटी हो । शुरुवातमा ओरालो लागेपछि बजार खुलेको १२ मिनेटमा बढेर ३०२३ बिन्दुमा पुगेको परिसूचक पुनः ३००० बिन्दु तल झरेको छ ।

यो अवधिमा उच्च कारोबार भइसकेको छ । आधा घण्टाको अवधिमै १९२ कम्पनीको पौने ३ अर्ब अर्थात २ अर्ब ७४ करोड रुपैयाँ बराबरको सेयर कारोबार भइसकेको छ । जसमध्ये सबैभन्दा बढी नेपाल पुनर्बीमा कम्पनीको सेयर किनबेच भएको छ । ३० मिनेट नबित्दै कम्पनीको १७ करोड रुपैयाँ बढीको सेयर किनबेच भएको छ । जसको मूल्य प्रतिकित्ता १८८५ रुपैयाँ रहेको छ ।

यो अवधिमा अधिकांश कम्पनीको सेयर मूल्य घटेको छ । उता सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको सेयर भने सर्किट लेभलमा कारोबार भएको छ । जसको मूल्य ९.९० प्रतिशतले बढेर प्रतिकित्ता ७३३ रुपैयाँ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.