यस कारण खल्लो बन्यो ‘नेपाल आइडल सिजन-३’

  २०७७ भदौ १३ गते ११:३३     विकासन्युज

काठमाडौं । हिजो राति अर्थात भदौ १२ गते शुक्रबार गीत संगितलाई मन पराउने संगितका पारखीहरु टीभी स्क्रिनमा झुम्मिएका थिए । आफुलाई नेपालको पहिलो रियालिटी सो भनेर दावी गर्ने नेपाल आइडल सिजन–३ को ग्राण्ड फिनाले थियो हिजो।

त्यही ग्राण्ड फिनालेको प्रतिस्पर्धामा कसले कस्तो प्रस्तुती दिन्छ र प्रतिस्पर्धामा विजेता को बन्छ भनेर हेर्न आँतुर थिए संगितका पारखी । नेपाल आइडल सिजन–३ को फिनालेमा सिजन ३ का टप ३ (सज्जा,प्रविण र किरण) ले उदित नारायण झाको सम्झना बिर्सना गीतबाट सुरु गरेको ओपनिङ निकै दमदार बन्यो ।

रियालिटी सोका होष्ट अर्थात प्रस्तोता आशिफ शाह मात्र होइन जज न्यू बज्राचार्य, इन्दिरा जोशी र काली प्रसाद बास्कोटा पनि धेरे खुसी मुद्रामा देखिन्थे ।

तर, सधैँ भरिभराउ हुने दर्शक दिर्घामा भने यस पटकको सिजनमा खाली नै थियो । त्यसले भने कार्यक्रममा एक प्रकारको खल्लो महसुस अवश्य भएको हुनु पर्छ ।

कार्यक्रमको ओपनिङमै दमदार प्रस्तुती दिएका तीनै जनाको तिनै जना जजले खुलेर प्रशंसा गरे । कार्यक्रम आफ्नो सुरुमा अगाडि बढ्दै थियो । रियालिटी सोमा भाग लिएका अर्थात टप–१० ले आफ्नो धमकेदार प्रस्तुती दिँदै थिए । जजहरुबाट आर्शिवाद लिँदै प्रस्तुती दिने क्रम अन्तिम क्षणमा थियो ।

कार्यक्रमको अन्तिम तिर सिजनका टप–३ ले आ– आफ्नो प्रस्तुती पनि दिए । टीभी स्क्रीनमा झुम्मिएका स्रोता तथा दर्शकहरुको मनको ढुकढुकी पनि सायद बढ्दै गएको हुनु पर्छ । एपीवान टेलिभिजनको युटुवबाट लाइभ गरिएको कार्यक्रममा दर्शकहरुको संख्या पनि सेकेण्ड–सेकेण्डमा बढिरहेको थियो ।

को बन्ला ‘नेपाल आइडल सिजन ३ को विजेता ?’ यो प्रश्न आम–दर्शक तथा संगीतप्रेमीहरुको मनमा थियो । युटुव लाइभमा कमेन्टको ओइरो थियो । आफ्ना फेवराइट अर्थात मन पर्ने प्रतियोगीको नाम पनि लेखिरहेका थिए दर्शकहरुले ।

अन्तिममा तीन जनाले आफ्नो प्रस्तुती दिए । सबैको प्रस्तुतीले सबैलाई आनन्दित र मनोरञ्जन पनि प्रदान गर्यो । कार्यक्रमका प्रस्तोता आशिफ शाहले नेपाल आइडल सिजन ३ का टायटल स्पोन्सर कोकाकोला नेपालका कन्ट्री मोर्कटिङ म्यानेजर गौरव रामदेवको सन्देश रहेको भन्दै उनले गौरव रामदेवको भिडियो सन्देश बजाए ।

रामदेवको भिडियो सन्देश पनि सकियो । त्यस लगत्तै धेरे विज्ञापनहरु बजे । त्यतिसम्म दर्शकहरुले कति ढिला गरेको भन्दै कमेन्ट लेख्न समेत भ्याए । रामदेवको सन्देश भनेर पर्दा पछाडि गएका प्रस्तोता शाह लामो समयसम्म पनि टीभी स्क्रिनमा फर्केर आएनन् ।

त्यसपछि कार्यक्रमको प्रोमो बज्यो र भन्यो, ‘फेरि पनि यहाँहरुलाई नमस्कार । कोभिड–१९ को महामारीबाट नेपाल आइडल पनि अछुतो रहन सकेन । कोभिड–१९ को कारणबाट सिर्जित लकडाउन पालना गर्दै नेपाल आइडलका नयाँ इपिसोडहरुको छायांकन तथा प्रशारण रोकिन पुगेको यहाँहरुलाई अवगत नै छ ।

यसै सिलसिलामा ग्राण्ड फिनालेका सम्पूर्ण प्रस्तुती सकिए पश्चात नेपाल आइडल निर्माण टोलीका एक सदस्यलाई कोरोना पोजेटिभको सूचना प्राप्त हुन आएकोले प्रस्ुतती पछिका सम्पूर्ण कार्यक्रम स्थगित गर्दै नेपाल आइडलका प्रतिस्पर्धि तथा जजहरु आइसोलेसनमा जानु पर्ने बाध्यता आइलाग्यो भन्दै पुनः विज्ञापन बज्यो ।

अन्तिममा आए अन्नपूर्ण मिडिया नेटवर्कका अध्यक्ष क्याप्टेन रामेश्वर थापा । निराश मुद्रामा उपस्थित भएका थापाले धेरै भूमीका नबाँधेर सर्सती विजेताहरुको नामावली सुनाए ।

यसभन्दा अघिका इपिसोडहरुमा सबैभन्दा रामाञ्चक क्षण यही हुन्थ्यो । दर्शकहरुम नेपाल आइडल को बन्छ भने हुटहुट िपनि यही समयमा बट्थ्यो । तर, यसपालिको नेपाल आइडल सिजन–३मा भने त्यस्तो हुन पाएन ।

आम दर्शक स्रोताहरुले जुन क्षणका लागि पर्खेका थिए । त्यो पखाई सायद कार्यक्रम सँसँगै व्यर्थैमा खेर गएको महसुस दर्शक स्रोताहरुले पनि महसुस गरेको हुनु पर्छ ।

कार्यक्रमको अन्तिममा आएका थापाले नेपाल आइडल सिजन–३ का फष्ट रनरअप प्रविण बेडुवाल, नेपाल आइडल सिजन ३ का विजेता सज्जा चौलागाईँ र सेकेण्ड रनरअप किरण भएको घोषणा गरे ।

थापाले सज्जा चौलागाईँले ५० लाख रुपैयाँ, प्रविण बेडुवालले १० लाख रुपैयाँ र किरण कुमार भुजेलले ५ लाख रुपैयाँ पुरस्कार पाउने बताए र सबैलाई धन्यवाद दिँदै बिदा पनि मागे ।

कार्यक्रम सकिए लगत्तै दर्शकहरुमा कोरोना कसलाई देखियो भन्ने जिज्ञासा पनि उत्तिकै लागेको छ । स्रोतका अनुसार कार्यक्रमका प्रस्तोता आशिफ शाहलाई कोरोना पुष्टि भएको बुझिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.