बोनस सेयर दिएर दुई अर्ब रुपैयाँ चुक्ता पुँजी बनाउन सक्षम छौं-दिपप्रकाश पाण्डे

  २०७२ फागुन २३ गते १०:३८     विकासन्युज

शिखर इन्स्योरेन्सको सेयर मूल्य बढेको बढै छ, कम्पनीको भित्री अवस्था कस्तो छ ?
पुस महिनामा प्रकाशित वित्तीय विवरण अनुसार बीमा कम्पनीहरुको मार्केट एभरेज नेटवर्थ ६५ करोड रुपैयाँ छ भने शिखर इन्स्योरेन्सको नेटवर्थ १२३ करोड रुपैयाँ छ । औषतभन्दा झण्डै डवल छ । अनएक्सपाएर रिस्क रिजर्भ (असमाप्त जोखिम कोष) बजारमा औषत प्रति कम्पनी २३.९६ करोड छ, शिखरको उक्त कोष करिव ४४ करोड रुपैयाँ छ ।

deep_prakash

दिपप्रकाश पाण्डे,प्रमुख कार्यकारी अधिकृत शिखर इन्स्योरेन्स कम्पनी लिमिटेड

सल्भेन्सी मार्जिन हेर्ने हो भने बीमा समितिले १.५ हुनपर्छ भनेको छ । हाम्रो करिव ३.५ पुगेको छ । अर्थात कम्पनीले बोकेको दाहित्व भन्दा कम्पनीको सम्पत्ति ३.५ गुणा बढी छ ।  खुद नाफा हेर्ने हो भने मार्केट एभरेज ४.३५ करोड छ । शिखरको १० करोड रुपैयाँ छ । अरु कम्पनीको भन्दा शिखरको नाफा दोब्बर भन्दा बढी छ । ग्रस प्रिमियम हेर्ने हो भने अरु कम्पनीको औषतमा ३७ करोड रुपैयाँ छ, हाम्रो ७५ करोड भन्दा बढी छ । यसमा पनि बजारको औषत फिगरभन्दा हाम्रो डबल बढी छ । अरु कम्पनीले औषतमा ३२ हजार ७ सय पोलिसी बेचेका छन् । हामीले ९० हजारको पोलिसी बिक्री गरेका छौं ।

व्यापार मात्र बढाएका छैनौ, रिटेन्सन पनि बढाएका छौं । बजारमा औषतमा प्रति बीमा कम्पनीले २० करोड रुपैयाँ रिटेन्सन छ । हामीले करिव ३८ करोडको रिटेन्सन लिएका छौ।

बजारको कुल प्रिमियम १२ प्रतिशत हिस्सा हामीले दिएको छौं । टोटल नम्बर अफ पोलिसीको १८ प्रतिशत हिस्सा शिखरले लिएको छ । प्रति सेयर आम्दानी औषतमा २२ रुपैंयाँ छ तर हाम्रो ५८ रुपैंयाँ छ । दाबी भुक्तानीमा पनि हामीले राम्रो गरिरहेका छौ ।

हरेक कोणबाट हामी मार्केट लिडर हौं । अब हामीले अभिभावकका रुपमा काम गर्नु पर्ने समय भैसकेको छ । अब अरु कम्पनीहरुले शिखरले राम्रो गरेको छ, हामीले पनि त्यस्तै गर्नु पर्छ भन्ने मान्यता स्थापित हुन थालिसकेको छ । हामी सहि दिशामा गएनौं भने बजार नै गलत दिशामा जाने देखिएकाले हामीलाई राम्रो काम गरिरहनु पर्ने चुनौती पनि थपिएको छ ।

शिखर इन्स्योरेन्स बीमा बजारको लिडर कम्पनी हो । हामी हरेक कोणबाट लिडर छौं । हामीले फलानो कम्पनीको यो पक्ष राम्रो छ भनेर सिक्ने कुरा छैन । अब बजारमा हामीले नै नयाँ स्ट्याण्डर्ड स्थापित गराउने हो ।

दोस्रो बजारमा सेयरको मूल्य बढ्नु वा घट्नुमा हाम्रो संलग्नता हुँदैन । तर पछिल्लो समयमा भएको मूल्य वृद्धिले हामीलाई थप जिम्मेवार बन्न दवाव परेको छ । समग्रमा कम्पनीको पर्फमेन्स राम्रो भएकोले नै सेयर मूल्य बढेको हुनुपर्छ । मूल्य वृद्धिले हामीलाई के फाइदा छ भने शिखर इन्स्योरेन्सको सेयर लगानी गर्नको लागि राम्रो ठाउँ हो भन्ने सन्देश गईरहेको छ ।

अहिलेसम्म यस कम्पनीका सेयरधनीले कति कमाए ?

यो कम्पनी खोलेको १२ करोड ५० लाख रुपैयाँबाट हो । पछि हकप्रद सेयर जारी गरेर २० करोड रुपैयाँ पुर्याएका हौं । एफपीओबाट पाँच करोड रुपैयाँ आयो । यसरी सेयरहोल्डरबाट अहिलेसम्म २५ करोड रुपैयाँ आएको छ । अहिले कम्पनीको नेटवर्थ करिव १२५ करोड रुपैयाँ भयो ।

शिखरको मात्र होइन, अरु बीमा कम्पनीको पनि सेयर मूल्य निकै बढ्यो, यसको कारण के हो ?

क्यापिटल बढाउनैपर्छ, कम्पीहरुले हकप्रद सेयर जारी गर्छन, बोनस सेयर दिन्छन् भनेर हो । मुख्य कारण यहि नै हो । तर भोली कम्पनीहरु मर्जर गए भने हकप्रद तथा बोनस सेयरको सम्भावना कम हुन्छ । मूल्य बढ्नुको दोस्रो कारण बीमा कम्पनीहरुले दिने लाभांश पनि राम्रो छ । त्यस्तै, अहिलेको अवस्था हेर्दा बजारमा तरलता छ, लगानी गर्ने ठाउँ छैन । बैंकले दुई चार प्रतिशत भन्दा ब्याज दिएका छैनन् । सेयर माग अनुसार आपूर्ति पनि भएको छैन । त्यसले पनि सेयर मूल्य बढेको हो ।

मर्जरको सम्भावना कति छ ?

दुई सय करोड वा तीन सय करोडको सेयरपुँजी पुर्याउनु पर्ने नीति आयो भने मर्जरको विकल्प छैन । बजारमा प्रिमियम नै कम छ । शिखरको कुरा गर्नु हुन्छ भने दुई सय करोड पुँजी पुर्याउन समस्या छैन । दुई तीन वर्षमा मर्जर बिनानै दुई सय करोड पुर्याउँछौं । हामीले त्यसको लागि गृहकार्य गरिरहेका छौं ।

पुँजी मात्र होइन, व्यापार पनि वृद्धि भईराखेको छ । शिखर इन्स्योरेन्सले चालु आर्थिक वर्षमा दुई सय करोडको व्यापार गर्ने भनेका थियौं । एक सय ८० करोड त पक्कै पनि पुग्छ । हरेक वर्ष हाम्रो प्रिमियम वृद्धिदर राम्रो छ ।

एफपीओबाट आएको रकम बोनस सेयरका रुपमा वितरण गर्न सकिने बताउनु भयो । उक्त रकम संचित कोषमा राख्नु र बोनस सेयर वितरण गर्नुले कम्पनीलाई पार्ने फरक के हो ?

अन्ततः त्यो सेयरधनीको पैसा हो । बोनस सेयर दिएपनि त्यो पैसा कम्पनीको पुँजीको रुपमा रहन्छ, रिजर्भमा राखे पनि कम्पनीको पुँजीको रुपमा रहन्छ । बीमा कम्पनीको रिजर्भ साईज ठूलो राख्नको लागि एफपीओको प्रिमियम राखिरहनु पर्दैन । किनकी बीमा कम्पनीले नाफाको ५० प्रतिशत रिजर्भमा राख्नै पर्ने बीमा ऐनको व्यवस्था छ । रिजर्भ त त्यसले हरेक वर्ष बढाउँछ । हामीले नेटवर्थ हेर्ने हो । क्यापिटल थोरै भयो भने हामीलाई राम्रो हो । यसले रिटर्न रेट बढाउछ । हामीले सेयर होल्डरको सम्पत्ति (वर्थ) बढाउने हो । रिजर्भ होस वा बोनस दिएर जे गरेर पनि सम्पत्ति नै बढाउने हो ।

शिखर इन्स्योरेन्स कम्पनीको भविष्यको योजना के छ ?

हामी र नम्वर टु कम्पनीबीचको ग्याव धेरै छ । यसलाई कायम राख्दै अगाडि बढ्नुछ । व्यवसायको आकार, शाखा सञ्जाल, कर्मचारी संख्या सबै हिसावले हामी अरु भन्दा अगाडि छौं । सबैभन्दा बढी कर तिर्ने बीमा कम्पनी पनि शिखर नै हो । हामी ग्रामिण क्षेत्रमा बीमा सेवा विस्तार गर्ने योजनामा छौ । शुरुमा हामीलाई फाइदा नभए पनि भविष्यको ठूलो बजार हो । त्यस्तै, दुई अर्ब चुक्ता पुँजी पुर्याउनुपर्ने अवस्थामा पनि हामी सेयरधनीसँग पैसा हाल्नुहोस् भन्न नपर्ने गरी अगाडि बढ्छौं । बोनस सेयर दिएर नै दुई अर्ब सेयर पुँजी बनाउन सफल हुनेछौं ।

यो कम्पनी स्थापनादेखि नै तपाई प्रमुख कार्यकारी अधिकृत हुनुहुन्छ । यो सफलताको आधार के हो ?

यो कम्पनी खोल्नुपूर्व म अर्को कम्पनीमा थिए । यो कम्पनीको प्रवद्र्धकले मलाई बोलाउनु भयो । हामी रियल पब्लिक कम्पनी बन्ने उदेश्यका साथ अगाडि बढेका हौ । कम्पनीको सञ्चालक समितिले व्यवस्थापन समितिलाई प्रोफेशनल रुपमा काम गर्ने वातावरण बनाईदियो । बोर्डको नीति र निर्णयको पालना गर्दै अगाडि बढेका छौं । मेरो टिम पनि अब्बल छ । २३५ जना स्टाफ छन् । १५ देखि २० जनासँग मात्र अन्त काम गरेको अनुभव छ । अरु सबै यहि कम्पनीको उत्पादन हुन् । हामी आफैं मेनपावर उत्पादन गरिरहेका छौं । वर्षमा दुुई पटक व्यवस्थापन तालिम÷वर्कशप गरेका छौं ।

भूकम्प पछिको सेटलमेन्ट कति भयो ?

हामीले ९० प्रतिशत सेटल गरिसकेका छौं । १६ सय दावी परेका थिए । अब जम्मा ७५ जति मात्रै बाँकी छ । बाँकी रहेका फाइलमध्ये कोही विदेशमा गएकाले सटेल भएको छैन । कोही सम्पर्कमा आउन नै चाहेका छैनन् । कोही फेरी भूकम्प आएर बढी क्षति हुन्छ कि भन्ने चिन्तामा छन् । बढीमा १०० करोड भुक्तानी गर्नुपर्ने हुन्छ । हामीले ८५ करोड रुपैयाँ भुक्तानी दिईसकेका छौं । त्यसमा कम्पनीको दाहित्व करिव १ करोड मात्र हो । बाँकी पुर्नबीमा कम्पनीबाट नै आएको छ । तर भूकम्पपछि पुर्नबीमा लागत बढेको छ ।

नयाँ बीमा पोलिसीबारे कुनै नयाँ योजना छन् ?

Deep_Prakash_pandey

गर्नुपर्ने र गर्न सकिने धेरै छन् । उदाहरणको लागि नेपाल टेलिकम तथा एनसेलका मोवाईल प्रयोगकर्तासँग दिनमा एक रुपैयाँ लिएर बीमा गर्ने हो भने हरेक मोवाईल प्रयोगकर्ताको ५ लाख रुपैयाँ सम्मको दुर्घट्ना र स्वस्थ्य बीमा गर्न सकिन्छ । एउटै प्रडक्टले अधिकांश जनसंख्याको बीमा गर्न सकिन्छ । भूकम्प होस्, वाढी पहिरोमा परेको होस् वा सवारी दुर्घटना होस्, सबै प्रकारका जोखिम कभर गरिएको बीमा गराउन सकिन्छ । मैले मोवाईल सेवा सञ्चालकसँग यो प्रस्ताव पनि गरे । हरेक यूजरसँग दिनको एक रुपैयाँ मोवाईल सेवा कम्पनीले झिकेर प्रिमियम बुझाउने हो भने सम्भव छ । बीमितलाई पनि दिनमा एक रुपैयाँ खर्च भएको महसुस नै हुँदैन । तर मेरो प्रयास सफल भईराखेको छैन । कही नियमले बाँधेको छ, कही सिस्टम छैन, कही इच्छाशक्ति छैन । कुनै दिन आउला । हामी निराश भएका छैनौं ।
इन्स्योरेन्स चाँही पढेर भन्दा पनि परेर गर्ने क्रम बढिरहेको छ । हामी त्यतातिर काम गरिरहेका छौं । कृषि बीमामा नयाँ जागरण आउँदै छ । स्वस्थ्य बीमामा पनि यस्तै जागरणको आवश्यकता छ । बीमा कसरी गर्न गर्ने भनेर ग्राहकलाई प्रत्यक्ष सिकाउने काम गरेका छौं । पहिला जस्तो बैंकले गरेको सिफारिसको भरमा, बैंकको आवश्यकतालाई मात्र पुरा गरेर बस्दैनौं । बीमा कम्पनी र बीमितबीच सम्पर्क, प्रत्यक्ष कुराकानी बढ्दै गएको छ ।

सरकारले पूर्ननिर्माण अभियानको घोषणा गरेको छ । त्यसमा बीमा कम्पनीहरु कसरी सहभागि हुदैछन् ?

विडम्मना नै भन्नु नै पर्छ । पूर्ननिर्माणमा बीमालाई सँगै लैजानै सोच, योजना, कार्यक्रम कतै पनि देखिएको छैन । म यसमा हाम्रो नियामक निकायले पहल गर्नु पर्ने हो भन्छु । बीमा समिति र सम्बन्धित मन्त्रालयबीच राम्ररी सम्वन्य हुनु जरुरी छ । बीमाको फाइलमा १० र २० रुपैयाँको टिकट राजश्व लगाउन सञ्चार मन्त्रालयले निर्देशन दियो । बीमा समितिलाई थाहा नै छैन । सरकारको प्राथमिकता बीमा कहिले पनि परेन । विश्व बजारमा बीमाका धेरै राम्रा प्रडक्ट छन् । प्यारामेटिक्स इक्डेक्स बेस बीमा प्रडक्ट किन्न पाइन्छ । सरकारले किन्दा पनि हुन्छ । त्यसमा ६ रेक्टरभन्दा कम धक्का दिने भूकम्पले गरेको क्षतिमा उसले कत्ति पनि तिर्दैन । ६ देखि साढे ६ रेक्टरसम्ममा सम इन्स्योरको २० प्रतिशत तिर्छ । ६.६ देखि ७ रेक्टरस्केलको भूकम्प आयो भने ५० प्रतिशत तिर्छ । ७ रेक्टरभन्दा माथिको बीमामा १०० प्रतिशत तिर्छ । त्यस्तो बीमा भएको भए गरिव जनतालाई सरकारले ठूलो सहयोग गर्न सक्थ्यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.