उद्योगको सर्वेक्षण गर्दै तथ्यांक विभाग, आगामी कार्तिकसम्म नतिजा आउने

  २०७६ मंसिर २३ गते १०:२८     विकासन्युज

काठमाडौं । केन्द्रीय तथ्यांक विभागले यसै आर्थिक वर्षमा नेपालमा संचालित सबै प्रकारका उद्योग प्रतिष्ठानको सर्वेक्षण गर्ने भएको छ । यस अघि गरिएका सर्वेक्षण औद्योगिक उत्पादनको मात्रै भएकोले यस पटक क्षेत्रगत रुपमा रहेका उद्योग प्रतिष्ठानको समेत सर्वेक्षण गर्ने तयारी विभागले गरेको हो । दुई करोड रुपैयाँको लागतमा गर्न लागिएको उक्त सर्वेक्षण सातै प्रदेशका १४ हजार उद्योग प्रतिष्ठानमा विभागका तथ्यांक अधिकृतहरू पुग्नेछन् ।

आन्तरिक तयारी गरिरहेको विभागले अबको दुई महिना फागुनदेखि कार्य क्षेत्रमै गएर तथ्यांक संकलन तयारी गरेको छ । सरकारले हरेक ५÷५ वर्षमा औद्योगिक गणना गर्दै आएपनि यसरी विस्तृत रुपमा अध्ययन गर्न लागेको भने यो पहिलो पटक हो । नमूना सर्वेक्षणको रुपमा गर्न लागिएको उक्त गणनाको नतिजा आगामी आवको कार्तिकसम्म आइसक्ने तयारी विभागले गरेको छ ।

सरकारी स्रोतबाट हुन लागेको सो सर्वेक्षणमा खानी तथा उत्खनन्देखि हाइड्रोपावर कम्पनी, पानी उत्पादन गर्ने कम्पनी, पाहोर मैला व्यवस्थापन गर्ने उद्योग तथा प्रतिष्ठानलगायतका अध्ययन तथा अनुसन्धान गर्ने विभागका निर्देशक विनोदशरण आचार्यले बताए । विभागले कुल गार्हस्थ्य उत्पादन(जीडीपी)मा समेटिएका २१ वटै उपक्षेत्रको अध्ययन गर्न लागेको हो ।

विभागकाअनुसार अहिलेसम्म जीडीपीमा समेटिएका सबै क्षेत्रको सुक्ष्म रुपमा अध्ययन गरिएको छैन । यी क्षेत्रको सुक्ष्म रुपले अध्ययन गरी यसले जीडीपीमा पार्न सक्ने र हाल पारिरहेको योगदानका वारेमा जानकारी प्राप्त गर्नेछ ।
‘विभागबाट खटिएका तथ्यांक अधिकृतहरूले उद्योगले उपलब्ध गराएको रोजगारी, उद्योगमा भएको लगानी, उत्पादन, पुँजीको अवस्था, उद्योगबाट प्राप्त मुनाफा अनुपात, वातावरणीय प्रभावलगायतका विषयको जानकारी प्राप्त हुनेगरी विभागले प्रश्नवली तयार पारेको छ ।

यसअघि सरकारले पहिलोपटक गत आवमा ‘राष्ट्रिय आर्थिक गणना’ गरेको थियो । उक्त गणनाले देशभरमा ९ लाखभन्दा बढी प्रतिष्ठान आर्थिक क्रियाकलापमा संलग्न रहेको नतिजा दिएको थियो । आर्थिक गणनाको प्रतिवेदनले देशमा सञ्चालित प्रतिष्ठानले ३२ लाख २८ हजार ४ सय ५७ रोजगारी सिर्जना गरिरहेका छन् ।

कुल आर्थिक प्रतिष्ठानमध्ये २ लाख ७३ हजार ४ सय ६३ प्रतिष्ठान महिलाको नाममा दर्ता छन् । गणनाको नतिजा अनुसार आर्थिक क्रियाकलापमा ९ लाख २३ हजार ३ सय ५६ वटा प्रतिष्ठान संलग्न रहेका छन् । यीमध्ये औद्योगिक उत्पादन गर्ने आर्थिक प्रतिष्ठानको संख्या १ लाख ४ हजार ५८ रहेको छ ।

नेपालमा सञ्चालित निजी क्षेत्रका ठूला÷साना उद्योग व्यवसायले सवा ३२ लाख भन्दा बढी जनशक्तिलाई रोजगारी दिइरहेको पाइएको छ । कुल रोजगारमध्ये पुरुषको संख्या २० लाख १२ हजार २ सय ३७ र महिलाको संख्या १२ लाख १६ हजार २२० रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.