काठमाडौं । जिल्ला प्रशासन कार्यालय, मोरङले जिल्लाभित्र डिजेको प्रयोग तथा बजाउन पूर्ण रूपमा रोक लगाएको छ ।
सुनसरीको देवानगञ्जमा घटनाको असर छिमेकी जिल्ला मोरङमा पर्न नदिन जिल्ला प्रशासन कार्यालय, मोरङले डिजेमा प्रतिबन्ध लगाएको हो ।
प्रशासनले मंगलबार (आज) सूचना जारी गर्दै मेला, महोत्सव, विवाहका विभिन्न समारोह, पार्टी, चाडपर्व, धार्मिक कार्यक्रम, पुराणलगायतका कुनै पनि कार्यक्रममा डिजे प्रयोग गर्न नपाइने जनाएको हो ।
अर्को सूचना जारी नभएसम्म जिल्लाभित्र हुने कुनै पनि सार्वजनिक वा निजी कार्यक्रममा डिजेको प्रयोग गर्न निषेध गरिएको सूचनामा उल्लेख छ ।
सूचनामा उक्त निर्णयको उल्लंघन गर्दै डिजे प्रयोग गरेको वा बजाएको पाइएमा प्रचलित कानुनबमोजिम कारबाही गरिने चेतावनीसमेत दिइएको छ ।
प्रशासनले सबै जिल्लावासीलाई सूचनाको पालना गर्न आग्रह पनि गरेको छ ।
सूचनामा सार्वजनिक शान्ति, सुरक्षा र सामाजिक सद्भावलाई ध्यानमा राख्दै यो निर्णय लागू गरिएको उल्लेख छ ।
सुनसरीको कप्तानगन्ज बजारमा चर्को आवाजमा डिजे बजाएको विषयलाई लिएर दुई समुदायबीच झडप भएको थियो । विवाद नियन्त्रणमा लिने क्रममा प्रहरीले चलाएको गोली लागेर एक जनाको मृत्यु भएको थियो ।
घटनाको विरोधमा सुनसरीसहित विभिन्न जिल्लामा प्रदर्शनसमेत भएका छन्। कप्तानगन्ज तथा आसपासका क्षेत्रमा दुई दिनदेखि कर्फ्यू जारी छ ।
