सुनसरी तनाव : हिजोभन्दा आज अवस्था जटिल

फाइल तस्विर

काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगन्जमा भएको घटना थप चर्किएको छ । अहिले पनि विभिन्न ठाउँमा थप झडप आगजनी हुने क्रम रोकिएको छैन । 

सुनसरी जिल्ला प्रहरी कार्यालयका प्रवक्ता चन्द्र बहादुर खड्काले कोशी क्षेत्रमा रहेको कटान क्षेत्रमा आगजनी भएकाे जानकारी दिए । सडक छेउमा रहेका साना-साना पसलमा आगजनी गरिएको उनले बताए ।

‘अहिले प्रहरी तैनाथ भएका छन् । सामान्य अवस्था रहे पनि प्रदर्शनकारीले विभिन्न ठाउँमा प्रदर्शन गर्ने क्रम जारी रहेको छ,’ उनले भने, ‘हिजोको भन्दा आज अवस्था अस्थिर छ । सुरक्षाकर्मी पूर्ण रूपमा सुरक्षा दिन तयारी अवस्थाम छन् ।’ 

विभिन्न ठाउँमा अहिले पनि झडप भइरहेको खड्काले जानकारी दिए । सामान्य होला भनेको अवस्था झन खराब हुने अवस्थामा पुगेको उनको भनाइ छ ।

घटना भएदेखि जिल्लामा सुरक्षाकर्मीको संख्या बढाइएको उनले जानकारी दिए । सबै सुरक्षाकर्मी तैनाथी अवस्थामा रहेको उनले उल्लेख गरे ।

विभिन्न ठाउँमा भइरहेको घटनाले पुनः कर्फ्युको समय थप्नुपर्ने अवस्था रहेको उनको भनाइ छ। आइतबार राती शिव भक्तहरूले डिजे बजाएपछि दुई समूह बीच झडप भएको थियो ।

डिजे बजाउने र मध्यरातमा होहल्ला नगर्न आग्रह गर्ने दुई समूहको विवाद बढेर एक जनाको मृत्यु भइसकेको छ ।
देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जका २४ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएको हाे । विभिन्न अस्पतालमा  ९ जनाकाे उपचार भइरहेकाे प्रहरीले जनाएकाे छ ।

Share News