बजेट कार्यान्वयन प्रगति : पर्यटन मन्त्रालयका ४६ कार्यक्रम सम्पन्न, १४ बाँकी

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आर्थिक वर्ष २०८१/८२ को बजेट कार्यान्वयनअन्तर्गत ४६ वटा माइलस्टोनका कार्यक्रम सम्पन्न गरेको छ ।

महालेखा परीक्षकको वार्षिक ६३ वार्षिक प्रतिवेदनअनुसार मन्त्रालयले कुल ६० कार्यक्रममध्ये ४६ वटा माइलस्टोनका कार्यक्रम सम्पन्न गरेको हो । 

मन्त्रालयले २०८१/८२ को बजेट वक्तव्य कार्यान्वयन गर्न ६० माइलस्टोनका कार्यक्रम स्वीकृत गरेको थियो । बाँकी १४ कार्यक्रम भने अझै सम्पन्न हुन बाँकी रहेको छ ।

बजेट वक्तव्यको बुँदा नं.६५ मा चालु आर्थिक वर्षमा सोह्र लाख पर्यटक भित्र्याउने लक्ष्यसहित पर्यटन प्रवर्धनका कार्यक्रम सञ्चालन गर्ने, नयाँ गन्तव्यको पहिचान तथा मौजुदा गन्तव्यको विकास र प्रवर्द्धनका लागि पर्यटकीय गन्तव्यको प्रोफाइल तयार गरिने, पर्यटकलाई एकद्वार प्रणालीमार्फत सेवा प्रवाह गर्ने व्यवस्था मिलाइने र पर्वतारोहण अनुमति प्रणालीलाई स्वचालित प्रविधिमा आधारित बनाइने उल्लेख गरिएको छ । 

तर महालेखाको रिपोर्टले पर्यटकीय गन्तव्यको प्रोफाइल तयार तथा एकद्वार प्रणाली स्थापना भएको नदेखिएको उल्लेख गरेको छ । साथै पर्यटक आगमन सङ्ख्या ११ लाख २८ हजार अर्थात् लक्ष्यको तुलनामा प्रगति ७०.५ प्रतिशत मात्र रहेको देखिएको छ ।

बजेट वक्तव्यको बुँदा नं.६८ मा भौगोलिक रूपमा निकट रहेका तराई, पहाड र हिमाली क्षेत्रका पर्यटकीय स्थलमा परिपथ विकास गर्दै लगिने र बुद्ध परिपथ, शिव परिपथ, रामायण परिपथ, किराँत सांस्कृतिक परिपथको मार्ग निर्धारण गरी पर्यटन प्रवर्द्धन गर्ने उल्लेख भई अध्ययन प्रतिवेदन प्राप्त भएपनि पर्यटन प्रवर्धनसम्बन्धी अन्य कार्यक्रम सञ्चालन भएको नदेखिएको महालेखाको रिर्पोट छ ।

त्यस्तै, बजेट वक्तव्यको बुँदा नं.६९ मा सातै प्रदेश समेटिने गरी चुरे, पहाडी र हिमाली क्षेत्रका प्रमुख गन्तव्यस्थलमा पर्यापर्यटन प्रवर्धनका लागि टाकुरा पर्यटकीय गन्तव्य तथा मनोरञ्जन पूर्वाधारसहितका इको हिल स्टेशन निर्माण गरिने र मध्यपहाडी पुष्पलाल लोकमार्ग क्षेत्रका प्रमुख पर्यटकीय क्षेत्रमा होटल स्थापना गर्न सरकारी जग्गा लिजमा उपलब्ध गराइने, प्रदेश र स्थानीय तहसँगको सहकार्यमा यस्ता स्थानमा पहुँच मार्ग, विद्युत सेवा, खानेपानी सेवा पुर्याउने व्यवस्था मिलाइने उल्लेख भएकोमा विस्तृत परियोजना प्रतिवेदन तयारीसम्बन्धी कार्यमात्र सम्पन्न भएको देखिएको छ । बाँकी अन्य काम हुन सकेको छैन ।  

बजेट वक्तव्यमा उल्लेख भएका कार्यक्रमहरू कार्यान्वयन गर्नुपर्ने महालेखाले औंल्याएको छ । 

Share News