अमेरिकी राष्ट्रपति पदकाे प्रतिष्पर्धामा हिलारी क्लिन्टन अगाडि

न्युयोर्क, २ कात्तिक । अमेरिकी राष्ट्रपति पदका लागि दुई सशक्त प्रत्याशी उम्मेदवार हिलारी रोधाम क्लिन्टन र डोनाल्ड ट्रम्पलाई लिएर गरिएको मत सर्वेक्षणमा सोमबार पनि हिलारी क्लिनटन नै अगाडि देखिएकी छिन् । आगामी नोभेम्बर ८ मा हुने गइरहको यस निर्वाचनको सर्वेक्षणको क्रममा हिलारीका नजिकका प्रतिद्वन्द्वीका रुपमा रहेका अर्का उम्मेदवार डोनाल्ड ट्रम्प पछाडि नै परेका छन् । किनीपियाक विश्वविद्यालयले गरेको एक यस सर्वेक्षणका अनुसार कोलोराडो, फ्लोरिडा, पेन्सिल्भिनियामा क्लिन्टन अगाडि देखिएकी छिन् भने ओहिओमा ट्रम्प अगाडी छन् । महिला विरुद्धका विवादित अभिव्यक्तिका कारण ट्रम्प अझ पछाडि परेका सर्वेक्षणकर्तो जनाएका छन् । सिएनएन र फक्स न्युजले गरेको सर्वेक्षणमा उनका पछिल्ला अभिव्यक्ति, विगतका गलत गतिविधि सार्वजनिक हुनुले नै ट्रम्प पछाडि पर्नुको प्रमुख कारण भएको जनाइएको छ । करिब एक हप्ता अगाडि मिसाउरी राज्यको सेन्ट लुइसमा अवस्थित एक विश्वविद्यालयमा आयोजित दोस्रो पटक प्रत्यक्ष टेलिभिजन बहसमा पनि ट्रम्पले महिलाको सम्बन्धमा अतिशयोक्ति गरी बोलेको श्रब्यदृष्य (भिडियो टेप) सार्वजनिक गरिएको थियो । सन् २००५ मा रेकर्ड गरिएको उक्त टेपमा स्थानीय एक बसमा अमेरिकी एनबीसी टेलिभिजन कार्यक्रम प्रस्तोता बिल्लि बुश र ट्रम्पसँगै यात्रा गरिरहेको बखत कुराकानी भएको दृष्य देखाइएको थियो । कुराकानीको क्रममा ट्रम्पले “तिमी चलचित्र (हलिउड) का एउटा नायक हुने हो भने तिमीले महिलालाई जे गरे पनि हुन्छ” भनेका रहेछन् । साथै, कुराकानीकै क्रममा बुशले तपाईं पनि केटीहरु खेलाउन माहिर हुनुहुँदो रहेछ भन्दै दुबै जनाले महिलाहरुका नितम्ब, तिघ्रा, पिँडुलाको चर्चा गरेका सार्वजनिक भएको थियो । “महिलालाई जे गरेपनि हुन्छ” भन्ने अभिव्यक्तिले कोही पनि महिलालाई उनको स्वीकृतिबिना अङ्गालोमा कस्ने वा चुम्बन गर्ने जस्ता यौनजन्य दुव्र्यबहार गरे हुन्छ भन्ने अर्थ लाग्छ भन्ने अडान लिइ क्लिन्टनले कस्सिएर ट्रम्पलाई आच्छु आच्छु पारेकी थिइन् । क्लिन्टनको यस अडानले दर्शकबाट समर्थनको ओइरो पायोे र ट्रम्प तत्काल सो बिगतको घटनाका लागि माफी माग्न बाध्य भए । निर्वाचनको ठीक एक महिनापूर्व सञ्चालित यस कार्यक्रमले विजयको गन्तव्यतर्फ क्लिन्टनको थप कदम बढेको अनुमान गरेका छन् । एजेन्सी

कतार एयरवेजको अल सफ्वा फष्ट लाउन्ज ‘सेभेन स्टार लग्जर हस्पिटालिटी एण्ड लाइफस्टाइल अवार्ड’द्वारा सम्मानित

कतार, २ कात्तिक । कतार एयरवेजको हमाद अन्तरराष्ट्रिय विमान स्थल स्थित विशेष अल सफ्वा फस्र्ट लाउन्जलाई बहुप्रशिक्षित सेभेन स्टार फस्र्ट क्लास लाउन्ज अवार्डबाट सम्मानित गरिएको छ । सेभेन स्टार लग्जरी हस्पिटालिटी एण्ड लाइफस्टाइल अवार्ड्सले मारबेला स्पेनमा १५ अक्टोबरमा आयोजित अवार्ड कार्यक्रम मार्फत कतार एयरवेजलाई सो अवार्डबाट सम्मानित गरेको हो । ‘अस्कर्स अफ लग्जरी’का रुपमा सम्मान प्राप्त उक्त अवार्ड वितरणका लागि संस्थाले उत्कृष्ट हस्पिटालिटी र लाइफस्टाइल ब्राण्ड्स मध्यबाट सर्वोत्कृष्टको छनोट गरी ‘सिल अफ एक्सिलेनसी’ सम्मान प्रदान गरिन्छ । कतार एयरवेजको अल सफ्वा फस्र्ट लाउन्ज‘सिल अफ एक्सिलेनसी’ अवार्ड प्राप्त गरी सिल अफ एक्सिलेन्सी प्राप्त संस्थापनाहरुको एलिट क्लासमा समाहित हुने अवसर प्राप्त गर्ने विश्वकै पहिलो लाउन्ज हुन सफल भएको छ । ‘अल सफ्वा फस्र्ट लाउन्जलाई प्रतिस्थित सेभेन स्टार अवार्डद्वार सम्मानित गरिएकोमा हामीलाई निकै गर्वको महशुस भएको छ ’कतार एयरवेजका गु्रप चिफ एक्जेक्यूटिभ महामहिम अकबर अल बाकरले भने ‘ हामी आकासका साथै जमिनमा समेत आफ्ना उपभोक्तालाई सर्वोत्कृष्ट अनुभव प्रदान गर्न सँधै प्रयासरत छौँ । आफ्ना प्रयासका लागि सम्मानित हुन पाउँदा भविष्यमा आफ्ना सोव तथा सुविधा थप सुदृढ गर्दै लैजान हामीलाई थप प्रेरणा मिलेको अनुभव गरेका छौँ ।’ दोहाको म्यूजियम अफ ईस्लामिक आर्टद्वारा अभिप्रेरित कतार एयरवेजको अल सफ्वा फस्र्ट लाउन्जमा ईस्लामिक लोक कला स्थापना गरिनुका साथै विभिन्न कलाकृतिहरु दोहाको राष्ट्रिय सङ्ग्रहालय मार्फत ल्याएर निरन्तर सहकार्यको अङ्गका रुपमा प्रदर्शनीमा राखिएका छन् । यात्रुहरुले आ ला कार्टे डायनिङ, फूल विजनेश सेन्टर, लग्जरी स्पा, सिनेम्याटिक मिडिया तथा गेम्स रुम तथा पारिवारिक क्षेत्रको मज्जा समेत लिन सक्छन् । यहाँ स्थित प्राइभेट रुमहरुमा बेड, टीभी, डेस्क तथा शावर सहितको नीजि बाथरुम समेत उपलब्ध गरिएका छन् । साथै, उपभोक्ताले कतारको अरेबियन हस्पिटालिटीका साथै उपलबध गरिएका लग्जरियस स्पेसको मज्जा समेत लिन सकिने कम्पनीले जानकारी दिएको छ । सेभेन स्टार फस्र्ट क्लास लाउन्ज अवार्ड र सिल अफ एक्सिलेनसी पाउनु निकै सम्मानको कुरा रहेको बताउँदै कतार एयरवेजका वरिष्ठ उपाध्यक्ष –कस्टमर एक्स्पेरियन्स) रोसेन डिमिट्रोभले उपभोक्तालाई यात्राको समयमा सर्वोत्कृष्ट अनुभव प्रदान गर्ने कम्पनीको अथक तथा निरन्तर प्रयासको पहिचान गरेको अनुभव भएको बताए । सञ्चालनको पहिलाृ बर्षमै रहेको अल सफ्वा फस्र्ट लाउन्जले उपभोक्तालाई लग्जरीको अनुपम अनुभुति प्रदान गरिरहेको र भविष्यमा थप अझ बढी यात्रीलाई अझ गुणस्तरिय अनुभव प्रदान गर्न कम्पनीलाई अभिप्रेरित गरेको उनले बताए । कतार एयरवेजको ए३८० विमानको प्रिमियम फ्लिटको फस्र्ट क्लास मार्फत लण्डन, पेरिस, बैंकक्, चीनको ग्वाङचाउ र भरखरै सिड्नीमा यात्रा गर्ने यात्रुका लागि अल सफ्वा लाउन्ज उपलब्ध रहेको छ । सिड्नीमा सेप्टेम्बर १५देखि ए३८० सेवा सुचारु गरिएको हो । सेभेन स्टार फस्र्ट क्लास लाउन्ज अवार्डका साथै कतार एयरवेजले यसै बर्ष वल्र्ड्स बेष्ट बिजनेश क्लास, बेष्ट बिजनेश क्लास एयरलाइन लाउन्ज र बेष्ट एयरलाइन स्टाफ सर्भिस ईन मिडल ईष्ट अवार्डपनि प्राप्त गरिसकेको छ ।

गोवा घोषणापत्र जारी गर्दै ब्रिक्स सम्मेलन सम्पन्न, अर्को सम्मेलन चीनमा हुने

भारत, १ कात्तिक । उदाउँदो अर्थतन्त्र भनेर मानिने देशहरु ब्राजिल, रसिया, भारत, चीन र दक्षिण अफ्रिकासम्बद्ध संगठन, ब्रिक्सको आठौं सम्मेलन भारतका गोवामा आइतबार सम्पन्न भएको छ । सो सम्मेलन यही अक्टोबार १५ र १६ मा भारतको गोवामा भएको थियो । उक्त सम्मेलनले गोवा घोषणापत्र पनि जारी गरेको छ । बिमस्टेक र ब्रिक्सका नेताहरुको संयुक्त यस घोषणापत्रमा विश्वमा सुशासन, साझेदारी, लगानी प्रवर्धन एवम् संयुक्त लगानीका साथै आर्थिक विकासका क्षेत्रमा विश्वमा सहयोग पुर्यान सकिने विषय सो घोषणापत्रमा समेटिएको छ । चिनियाँ राष्ट्रपति सि जिनपिङ्ग, रसियाली राष्ट्रपति भ्लादिमिर पुटिन, ब्राजिलियन राष्ट्रपति माइकेल टेमर, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र दक्षिण अफ्रिकी राष्टपति ज्याकोब जुमा सो सम्मेलनमा सहभागी थिए। सो सम्मेलनमा आर्थिक क्षेत्रको बिकासका साथै सामुहिक विकासका अवसरहरुको खोजी हुनुका साथै विभिन्न क्षेत्रमा भएको सहयोग र समन्वयका बारेमा व्यापक मात्रामा छलफल भएको थियो । सो घोषणापत्रमा संयुक्त राष्ट्रसंघको सन् २०३० दिगो विकास सम्बन्धी लक्ष हासिल गर्नका लागि विकासशील देशहरुलाई विकासित देशले सहयोग गर्ने भनेको प्रतिबद्धता बमोजिम काम गर्न पनि आग्रह गरिएको छ । त्यस घोषणा पत्रमा गएको एक दशकमा यस संगठनका लागि सहयोग गरेकोमा संयुक्त राष्टसंघका महासचिव बान कि मुनलाई विशेष धन्यवाद पनि ज्ञापन गरिएको छ । त्यसैगरी आगामी कार्यकालका लागि संयुक्त राष्टसंघको महासचिवमा नियुक्त भएका एन्टोनियो गुटेर्रेस लाई सो घोषणापत्रमार्फत बधाई ज्ञापन पनि गरिएको छ । वर्तमान महाचिव बान की मुनको कार्यकाल यही डिसेम्बर ३१ मा सकिएपछि सन् २०१७ जनवरी एकदेखि गुटेर्रेसले महासचिवको जिम्मेवारी सम्हाल्नेछन् । उनले यसअघि राष्ट्रसङ्घ शरणार्थी आयोगको प्रमुखको जिम्मेवारी पनि निभाएका थिए । आपसी हितको प्रवर्धन र सहयोग एव्म समन्वयलाई अघि बढाउन जि२० संगठनसँगको सहकार्यलाई अघि बढाउन पनि उक्त घोषणा पत्रले प्रतिबद्धता व्यक्त गरेको छ । सो घोषणा पत्रले ब्रिक्स राष्ट्रहरुमा हालै भएका भनिएका कतिपय आतङ्कवादी हमलाहरुको निन्दागर्दै सबैखाले आतङ्कवादी क्रियाकलापहरुको कडा शब्दमा निन्दा गरेको छ । यस घोषणापत्रमा वातावरणीय संरक्षण एवम् जलवायु परिवर्तनको असर कमगर्ने विषयमा हालै गरिएको पेरिस सम्झौताको पनि स्वागत गरेको छ । यस संगठनको आगामी, नवौँ सम्मेलन चीनमा आयोजना गरिने भएको र यसका लागि चीनलाई विशेष धन्यवाद पनि ज्ञापन गरिएको छ । ब्रिक्स्को यस आठौँ सम्मेलनमा विभिन्न देशका नेताहरुले आ आफ्ना देशका द्धिपक्षीय हित र मामिलामा पनि आपसमा कुराकानी गर्ने अवसर पाएका थिए । रासस/सिन्ह्वा