ट्रम्पले दिए जापानलाई दबाब, ‘अमेरिकी कारखानामा लगानी बढाउनू’
वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जापानी कार निर्माता कम्पनीहरुलाई अमेरिकामै बढी कार उत्पादन गराउन प्रधानमन्त्री शिन्जो आबेलाई दबाब दिएका छन् । दुबै नेताबीच भएको छलफलसम्बन्धी जापानका लागि अमेरिकी राजदूतको दस्ताबेजमा उक्त कुरा उल्लेख छ । यही छलफलपछि जापानी कार निर्माता टोयोटा मोटर कर्पोरेशन समेतका प्रमुख कार निर्माता कम्पनीहरुले अमेरिकी कार निर्माण प्लान्टमा बढी लगानी गर्ने घोषणा गरेका छन् । जापानका लागि अमेरिकी राजदूत विलियम ह्यागर्टीले भने, “अमेरिकी कार प्लान्टमा लगानी बढाउने बारेमा छलफल भएको छ, र मेरो विचारमा राष्ट्रपति ट्रम्प पनि यस्तो हुनेमा निकै आशावादी हुनुहुन्छ किनभने अर्थतन्त्रको वर्तमान परिदृश्यमा यो निकै उपयुक्त विकल्प हो ।” राष्ट्रपति ट्रम्पले जापानी कार निर्माताहरुलाई संयुक्तराज्य अमेरिकामा बढी रोजगारी सिर्जना गर्न आग्रह गरिरहेका छन् । ह्वाइट हाउसले राष्ट्रिय सुरक्षा भन्दै जापान, युरोपेली मुलुकहरु समेतबाट आयात हुने सवारी साधनमा २५ प्रतिशतसम्म करवृद्धि गर्ने चेतावनी दिइसकेको छ । शुक्रबार राष्ट्रपति ट्रम्पले आगामी मे महिनामा टोकियोको भ्रमण गर्नुअघि नै नयाँ द्विपक्षीय व्यापार सम्झौता हुने विश्वास पनि व्यक्त गरे । तर, राष्ट्रपति ट्रम्प र जापानी प्रधानमन्त्री आबेबीच व्यापारिक स्वार्थका कतिपय विषयमा सहमति जुट्न सकेको छैन । राजदूत ह्यागर्टले राष्ट्रपति ट्रम्प आगामी जुनमा जापानको ओशाकामा आयोजना हुने औद्योगिक राष्ट्रहरुको बैठक (जी–२०)मा सहभागी हुने सम्भावना रहेको बताए । रासस/एएफपी
सोनी कम्पनीको नाफा ८ अर्ब २० करोड डलर, कसरी बढ्यो आम्दानी ?
टोकियो । जापानको विद्युतीय सामग्री उत्पदक कम्पनी सोनीको आम्दानी लगातार दोस्रो वर्ष वृद्धि भएको छ । खासगरी अनलाइन खेल र अरु मनोरञ्जनात्मक व्यवसायमा लगानी गरेका कारण आम्दानी बढेको कम्पनीले जनाएको छ । मार्चको अन्त्यसम्म वार्षिक खूद नाफा ८ अर्ब २० करोड अमेरिकी डलर (९१६ अर्ब जापानी येन) पुगेको छ । सञ्चालन नाफामा करिब २२ प्रतिशत वृद्धि भई ८९४ अर्ब जापानी येन भएको छ । कम्पनीको बिक्रीमा १.४ प्रतिशत वृद्धि भई ८९४ अर्ब यान पुगेको छ । कम्पनीको नाफा वृद्धि हुनुमा मुख्यतः अनलाइन खेल, सेवा र नेटवर्क व्यवसायमा भएको प्रगति रहेका छन् । प्लेस्टेसनबाट प्रयोगकर्ताले सोनीका म्युजिक र भिडियो सेवा लिन सक्ने व्यवस्था छ । रासस/एएफपी
अमेरिका-चीन व्यापार वार्ता हुँदै, अमेरिकी व्यापार प्रतिनिधि र अर्थमन्त्री बेइजिङ आउँदै
वासिङ्टन । संयुक्तराज्य अमेरिका र चीनबीचको व्यापार तनाबलाई वार्ता र सम्झौताद्वारा सुल्झाउने उद्देश्यले अमेरिकी उच्च अधिकारीहरु अर्को साता बेइजिङ प्रस्थान गर्न लागेको ह्वाइट हाउसले जनाएको छ । दुबै मुलुकका उच्च अधिकारीहरु व्यापार विवाद जतिसक्दो चाँडो टुङ्ग्याउन केही महिनादेखि वार्तामा छन् । ह्वाइट हाउसद्वारा जारी विज्ञप्तिमा अमेरिकी व्यापार प्रतिनिधि रोबर्ट लाइटीजर र अमेरिकी अर्थमन्त्री स्टिभेन मन्चिन अर्को साता चिनियाँ प्रतिनिधिसँग वार्ताका लागि बेइजिङ प्रस्थान गर्ने उल्लेख छ । चिनियाँ प्रमण्डलको नेतृत्व उपप्रधानमन्त्री लिऊ हेले गर्दै गर्देै छन् । बेइजिङ वार्तापछि वासिङ्टनमा फेरि आगामी मे ८ देखि अर्को चरणको वार्ता हुने पनि ह्वाइट हाउसले जनाएको छ । ह्वाइट हाउसका अनुसार आगामी वार्तामा बौद्धिक सम्पत्ति, जबर्जस्ती प्रविधि हस्तान्तरण, गैरकर अबरोध, कृषि, सेवा, खरिद र कानुन कार्यान्वयन समेतका व्यापारसँग सम्बन्धित विविध विषयमा छलफल हुनेछ । विश्व अर्थतन्त्रमै असर गर्नेगरी अमेरिका र चीनले एकअर्का मुलुकका करिब तीन खर्ब ६० अर्ब डलर बराबरका सामानमा करवृद्धि गरेका छन् । यो करवृद्धि हाल १० प्रतिशत रहे पनि व्यापार वार्तामा सहमति नभए २५ प्रतिशत पु¥याइने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पटकपटक चेतावनी दिएका छन् । अमेरिकाले खासगरी अमेरिकी प्रविधि जबर्जस्ती चीनले चोरी गरेको, बौद्धिक सम्पत्तिको संरक्षण गर्न नसकेको, चिनियाँ बजार विदेशी कम्पनीहरुका लागि खुला नगरेको तथा चिनियाँ कम्पनीहरुलाई सरकारले अनेक सहुलियत उपलब्ध गराएर विदेशी कम्पनीको प्रतिस्पर्धी क्षमता कमजोर बनाएको आरोप लगाएको छ । चीनको संरक्षणमुखी नीतिकै कारण अमेरिकासँग चीनको व्यापार घाटा छ खर्ब डलरभन्दा माथि पुगिसकेको अमेरिकी भनाई छ । चीनले भने अमेरिकी आरोपको खण्डन गरिरहेको छ । चीनले खुला विश्व व्यापारमा अमेरिकी नीतिहरु बाधक बन्न थालेको र अमेरिकी राष्ट्रपतिका नीतिहरु संरक्षणवादी शैलीका रहेको बताउँदै आएको छ । रासस/एएफपी