दक्षिण अफ्रिकालाई हराउँदै क्यानडा अन्तिम १६ मा

काठमाडौं । विश्वकप फुटबलअन्तर्गत नकआउट चरणको पहिलो खेलमा क्यानडाले अन्तिम १६ मा स्थान बनाएको छ ।  क्यानडाले दक्षिण अफ्रिकालाई १-० ले हराउँदै ऐतिहासिक रूपमा प्रि-क्वाटरफाइनलमा स्थान बनाउन सफल भएको हो ।  ५ मिनेट थप गरिएको इन्जुरी समयको दोस्रो मिनेटमा स्टेफेन एउस्ताकियोले गोल गर्दै क्यानडाकाे जित सुनिश्चित गरे ।  दुबै टोली पहिलो पटक नकआउट चरणमा स्थान बनाउन सफल भएका थिए । खेलमा जित हासिल गरेसँगै क्यानडाले अब क्वाटरफाइनल प्रवेशका लागि नेदरल्यान्ड्स र मोरक्को बीचको विजेतासँग प्रतिस्पर्धा गर्ने छ ।  

न्युजिल्यान्डलाई पराजित गर्दै बेल्जियम नकआउट चरणमा

काठमाडौं । न्युजिल्यान्डलाई पराजित गर्दै बेल्जियम  विश्वकप फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ । क्यानडाको बिसी प्लेस भ्यानकुभर स्टेडियममा आज भएको खेलमा बेल्जियमले न्युजिल्यान्डलाई ५–१ गोलको फराकिलो अन्तरले पराजित गर्दै अन्तिम १६ मा आफ्नो स्थान सुरक्षित गरेको हो । यसअघि दुई प्रतियोगितामा लगातार दुई खेल बराबर गोल गरेको बेल्जियमले पहिलो जितसँगै पाँच अङ्क जोड्दै समूह ‘जी’को विजेता बनेर नकआउट चरणमा प्रवेश गरेको हो । बेल्जियमको जितमा लिएन्ड्रो ट्रोसार्डले दुई गोल गरे भने केभिन डे ब्रुएना, रोमेलु लुकाकु र एलेक्सिस सेलेमेकर्सले समान एक–एक गोल गरेका छन् ।  ट्रोसार्डले खेलको २८औँ मिनेटमा गोल गर्दै बेल्जियमलाई अग्रता दिलाएका थिए । उनले ५०औँ मिनेटमा  दोस्रो गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए । त्यसपछि डे ब्रुएनाले ६६औँ मिनेटमा तथा लुकाकुले ८६औँ मिनेटमा गोल गरे । दोस्रो हाफको अतिरिक्त समयमा सेलेमेकर्सले अर्को गोल थपे ।   न्युजिल्यान्डका लागि एलिजा जस्टले ८४औँ मिनेटमा सान्त्वना गोल फर्काएका थिए । आजै भएको अर्को स्पर्धामा इजिप्ट र इरानले १–१ गोलको बराबरी खेलेका छन् ।  यससँगै समूह ‘जी’मा बेल्जियम पाँच अङ्कसहित समूह विजेता बन्यो भने समान पाँच अङ्क भए पनि गोलअन्तरका आधारमा इजिप्ट उपविजेता बन्दै नकआउट चरणमा पुगेको छ  ।  इरान तीन अङ्कसहित तेस्रो स्थानमा रहँदा एक अङ्क मात्र जोड्न सफल न्युजिल्यान्ड प्रतियोगिताबाट बाहिरिएको छ ।     

विश्वकपमा गोलको वर्षा, नकआउटअघि नै तोडियो सर्वाधिक कीर्तिमान

काठमाडौं । अमेरिका, क्यानडा र मेक्सिकोमा संयुक्त रूपमा भइरहेको फिफा विश्वकप २०२६ ले इतिहासमै सबैभन्दा धेरै गोल भएको विश्वकपको नयाँ कीर्तिमान कायम गरेको छ । अझ रोचक कुरा के छ भने नकआउट चरण सुरु हुनुअघि नै यस संस्करणले कतारमा सन् २०२२ मा बनेको १७२ गोलको विश्वकप कीर्तिमानलाई उछिनेको हो । अमेरिका र टर्कीबीचको समूह ‘डी’ को खेलमा अमेरिकाका डिफेन्डर अस्टन ट्रष्टीले गरेको गोल यस विश्वकपको १७३औँ गोल बनेको थियो । त्यससँगै कतार विश्वकपभरि ६४ खेलमा भएको १७२ गोलको कीर्तिमान तोडियो । अझ यो उपलब्धि २०२६ संस्करणमा ५९औं खेलमै सम्भव भएको हो ।  हालसम्म जारी प्रतियोगितामा अर्जेन्टिनाका कप्तान लियोनेल मेसी सर्वाधिक गोलकर्ताको सूचीमा शीर्ष स्थानमा छन् । मेसीले समूह चरणका सुरुआती दुई खेलमै पाँच गोल गर्दै गोल्डेन बुटको दौडमा अग्रता बनाएका छन् ।  अल्जेरियाविरुद्ध ह्याट्रिक गरेपछि उनले अस्ट्रियाविरुद्ध दुई गोल थपेका थिए । त्यही प्रदर्शनसँगै उनले विश्वकप इतिहासका सर्वाधिक गोलकर्ताको कीर्तिमान पनि आफ्नो नाममा लेखाएका छन्।  जर्मनीका मिरोस्लाभ क्लोजेको १६ गोलको कीर्तिमानलाई उछिन्दै मेसीले विश्वकपमा आफ्नो कुल गोल संख्या १८ पुर्याएका हुन् । त्यसैगरी, जारी विश्वकपमा ४ गोल गर्ने ४ खेलाडी रहेका छन् । फ्रान्सका उस्मान डेम्बेलेले ह्याट्रिकसँगै प्रतियोगितामा दोस्रो सर्वाधिक गोल गर्ने खेलाडीको दाबेदारीमा आफूलाई उभ्याए ।  उनको कुल ४ गोल भएको छ । उनी फ्रान्सकै केलियन एम्बाप्पे, नर्वेका अर्लिङ हालान्ड र ब्राजिलका भिनिसियस जुनियरसँगै ४ गोल गर्ने खेलाडीको सूचिमा उक्लिएका हुन् ।  यसपटक गोलको वर्षा हुनुका पछाडि धेरै कारण देखिएका छन् । पहिलो, विश्वकपको इतिहासमै पहिलो पटक ३२ बाट ४८ टोली सहभागी भएका छन् ।  टोली संख्या बढेसँगै खेलको संख्या पनि ६४ बाट १०४ पुगेको छ । त्यसका साथै तुलनात्मक रूपमा कमजोर मानिएका केही नयाँ टोलीहरूको सहभागिताले पनि केही एकपक्षीय खेलहरू देखिएका छन्, जसले गोल संख्या बढाउन सहयोग गरेको विश्लेषण छ । यद्यपि गोलको संख्या बढ्नुको कारण खेल संख्यामात्र होइन भन्ने तथ्यले पनि धेरैको ध्यान खिचेको छ । कतार विश्वकपको सम्पूर्ण प्रतियोगिताभरि भएको गोल संख्या यस संस्करणले समूह चरणकै क्रममा उछिनेको छ । अर्थात् अझ धेरै खेल बाँकी रहँदा नै नयाँ कीर्तिमान बनेको हो ।  २०२६ संस्करणलाई अघिल्ला विश्वकपभन्दा पृथक बनाउने अर्को ठूलो पक्ष यसको नयाँ ढाँचा हो । पहिलो पटक तीन देश—अमेरिका, क्यानडा र मेक्सिकोले संयुक्त रूपमा प्रतियोगिता आयोजना गरेका छन् । यसअघि कुनै पनि विश्वकपमा तीन आयोजक राष्ट्र थिएनन् ।  त्यसैगरी, सहभागी टोली संख्या ४८ पुगेपछि १२ समूह बनाइएका छन्, जहाँ प्रत्येक समूहमा चार टोली छन् । प्रत्येक समूहका शीर्ष दुई टोलीसँगै उत्कृष्ट आठ तेस्रो स्थानका टोली पनि नकआउट चरणमा पुग्ने व्यवस्था गरिएको छ । यसका कारण विश्वकपको इतिहासमै पहिलो पटक ‘राउन्ड अफ ३२’ समावेश गरिएको छ । नयाँ ढाँचाले विश्व फुटबलमा नयाँ राष्ट्रहरूको उपस्थिति पनि बढाएको छ । धेरै टोलीले पहिलो पटक विश्वकप खेल्ने अवसर पाएका छन् भने केही साना राष्ट्रहरूले बलिया टोलीलाई चुनौती दिएर प्रतियोगितालाई थप रोमाञ्चक बनाएका छन् । यसले विश्वकपको प्रतिस्पर्धात्मक दायरा अझ फराकिलो भएको विश्लेषकहरु बताउँछन् । गोलको वर्षासँगै दर्शक उपस्थिति पनि उल्लेखनीय बनेको छ । फिफाका अनुसार यस संस्करणले दर्शक उपस्थितिको हिसाबले पनि नयाँ कीर्तिमानतर्फ अग्रसर भएको छ । विशाल रंगशाला, तीन देशमा फैलिएको आयोजना र फुटबलप्रतिको उत्साहका कारण प्रतियोगिताले विश्वव्यापी आकर्षण अझ बढाएको हो । प्रतियोगिता नकआउट चरणतर्फ अघि बढ्दै जाँदा गोल संख्या अझ तीव्र गतिमा बढ्ने अपेक्षा गरिएको छ । यदि यही लय कायम रह्यो भने विश्वकप इतिहासमै पहिलो पटक २०० भन्दा धेरै गोल हुने अनुमान छ।