राष्ट्रिय वाणिज्य बैंकमा खुल्यो १४२ जनाका लागि जागिर, कुन पदका लागि कति ?
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले विभिन्न तहका १४२ कर्मचारी माग गरेको छ । बैंकले वरिष्ठ सहायकदेखि वरिष्ठ प्रबन्धकसम्मका पदमा कर्मचारी भर्नाका लागि आवेदन खुलाएको हो । बैंकका अनुसार नवौं तहको वरिष्ठ प्रबन्धक पदमा १ जना, आठौं तहको प्रबन्धक पदमा २ जना, सातौं तहको उपप्रबन्धक पदमा ३ जना, छैटौं तहको सहायक प्रबन्धक पदमा ६८ जना र पाँचौं तहको वरिष्ठ सहायक पदमा ६८ जना माग गरिएको छ । छैटौं तहको सहायक प्रबन्धक पदअन्तर्गत प्रशासन, कानुन, सूचना प्रविधि, लेखा, कृषि, इन्जिनियरिङ र नगद समूहका लागि भर्ना खुलाइएको छ । त्यसैगरी, पाँचौं तहको वरिष्ठ सहायक पदअन्तर्गत प्रशासन, कानुन, नगद तथा सूचना प्रविधि समूहमा कर्मचारी माग गरिएको बैंकले जनाएको छ । योग्यता पुगेका इच्छुक नेपाली नागरिकले असार १९ गतेदेखि साउन ७ गतेसम्म अनलाइनमार्फत आवेदन दिन सक्नेछन् । दोब्बर दस्तुर तिरेर भने साउन १४ गतेसम्म आवेदन दिन सकिनेछ । बैंकले लोक सेवा आयोगको सहमतिअनुसार खुला प्रतियोगितामार्फत स्थायी पदपूर्ति गर्न लागेको जनाएको छ । आवेदन दिने उम्मेदवारले तोकिएको न्यूनतम शैक्षिक योग्यता पूरा गरेको हुनुपर्नेछ । साथै, नेपाली नागरिकताको प्रमाणपत्र, अन्तिम शैक्षिक योग्यताको ट्रान्सक्रिप्ट, चारित्रिक प्रमाणपत्र र पासपोर्ट साइजको फोटो अनिवार्य रूपमा अपलोड गर्नुपर्नेछ । यदि शैक्षिक योग्यता नेपालबाहिरको संस्थाबाट हासिल गरेको भए त्रिभुवन विश्वविद्यालयबाट समकक्षता निर्धारण गरिएको प्रमाणपत्रसमेत पेश गर्नुपर्ने बैंकले जनाएको छ । नेपाल सरकार वा सरकारी स्वामित्वका संस्थामा कार्यरत उम्मेदवारले विभागीय स्वीकृति पनि अनिवार्य रूपमा पेश गर्नुपर्नेछ ।
गोरखापत्रको महाप्रबन्धकमा रावल नियुक्त, सुरक्षण मुन्द्रण केन्द्रमा ढुङ्गाना
काठमाडौं । सरकारले गोरखापत्र संस्थानको महाप्रबन्धकमा हिक्मतबहादुर रावललाई नियुक्त गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले रावललाई महाप्रबन्धकमा नियुक्त गरेको हो । यस्तै, बिहीबारको बैठकले सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशकमा देवराज ढुंगाना लाई नियुक्त गरेको बताइएको छ ।
सीटीइभीटीको एकेडेमिक काउन्सिलमा चार विज्ञ नियुक्त
काठमाडौं । शिक्षा तथा खेलकुद प्रविधि मन्त्रालयले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीइभीटी) को एकेडेमिक काउन्सिलमा सूचना प्रविधि, उद्योग, स्टेम शिक्षा तथा नर्सिङ–जनस्वास्थ्य क्षेत्रका चार जना विज्ञलाई सदस्यका रूपमा मनोनयन गरेको छ । मन्त्रालयले आइटी तथा डिजिटल नीति विज्ञ डा. अमृता शर्मा, नेपाल उद्योग परिसङ्घका अध्यक्ष वीरेन्द्रराज पाण्डे, शिक्षा विज्ञ डा. दीपेश्वरमान श्रेष्ठ र नर्सिङ तथा जनस्वास्थ्य क्षेत्रकी विज्ञ प्रमिला रानालाई काउन्सिल सदस्यमा नियुक्त गरेको हो । सीटीइभीटीको एकेडेमिक काउन्सिल परिषद्को शैक्षिक तथा प्राज्ञिक नेतृत्व गर्ने प्रमुख निकाय हो । यसले पाठ्यक्रम विकास, नयाँ कार्यक्रमको स्वीकृति, शैक्षिक गुणस्तर सुनिश्चितता, मूल्याङ्कन प्रणाली तथा प्राविधिक एवं व्यावसायिक शिक्षाको दीर्घकालीन नीतिगत दिशानिर्देशनमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ ।