प्रधानमन्त्रीद्वारा सागमा पदक विजेता खेलाडी तथा प्रशिक्षक सम्मानित

काठमाडौं, १३ साउन । बाह्रौँ दक्षिण एसियाली खेलकुद (साग)मा पदक जित्ने खेलाडी, प्रशिक्षक तथा खेलकुद सङ्घहरुलाई सरकारले नगदसहित सम्मान गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली, युवा तथा खेलकुदमन्त्री सत्यनारायण मण्डल, राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्यसचिव केशवकुमार विष्टलगायतले सम्मान गरेका थिए । गत फ्रेब्रुअरी ५ देखि १६ तारिखसम्म भारतको गुवाहाटी र सिलोङमा भएको प्रतियोगितामा नेपालले ३ स्वर्ण २३ रजत र ३४ काँस्यसहित ६० पदक जितेको थियो । उक्त प्रतियोगितामा व्यक्तिगत र टिम इभेन्ट्समा पदक जितेका १७९ खेलाडी, ५१ प्रशिक्षक तथा १८ सङ्घलाई पुरस्कृत गरिएको हो । सोअनुसार व्यक्तिगत स्पर्धामा स्वर्ण जितेका निमा घर्ती मगर र फुपुल्हामु खत्रीले जनही रु पाँच लाख पाए । त्यसैगरी फुटबल टोलीका २० खेलाडीलाई भने जनही रु दुई लाख प्रदान गरियो । उनीहरुलाई पनि रु पाँच लाख प्रदान गरिने निर्णय गरिएको भए पनि प्राविधिक कारणले रु दुई लाख मात्र प्रदान गर्न सकिएको बताइएको छ । त्यसैगरी व्यक्तिगत स्पर्धामा रजत जित्ने प्रत्येक खेलाडीले रु तीन लाख पाउँदा काँस्य जित्नेले जनही रु दुई लाख हात पारे । साथै टिम इभेट्समा रजत जित्नेले रु एक लाख ५० हजार तथा काँस्य जित्नेले रु एक लाख हात पारे । त्यस्तै विभिन्न खेलका ५१ प्रशिक्षकले रु ५० हजारदेखि तीन लाखसम्म प्राप्त गरे भने १८ खेलकुद सङ्घले रु दुई लाखदेखि पाँच लाखसम्म पुरस्कार पाए । कार्यक्रममा प्रधानमन्त्री ओलीले नेपाल खेल परम्परा र संस्कृतिका दृष्टिकोणले गौरवशाली देश भएको बताए । लिगलिगकोटमा दौडिएर जित्ने मात्र राजा हुने परम्पराको दृष्टान्त दिँदै उनले यस्तो परम्परा अन्य देशमा भएको आफूलाई थाहा नभएको चर्चा गरे । उनले भने – “दौडिएर राजा हुने कुरा छोडिदिउँ, तर अब दौडिएरै स्वर्ण पदक भने तपाइँहरुले लिनुपर्छ ।” प्रधानमन्त्री ओलीले नेपाली खेलकुद क्षेत्रले केही सुःखद सफलता हासिल गरेको भए पनि त्यसैमा चित्त बुझाएर नबस्न खेलाडीलाई आग्रह गर्दै भने – “यो सन्तुष्ट भइहाल्ने क्षेत्र परेन थप सफलताका लागि प्रयास गर्नुपर्छ ।” उनले आफू जुनसुकै पदमा रहे पनि खेलकुद र खेलाडीका पक्षमा काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । रासस

काठमाडौंको तिनकुनेमा ‘क्रसमान्डु नेसनल च्याम्पियनसिप २०१६’, साउन २२ गते हुँदै

काठमाडौं, १२ साउन । आगामी साउन २२ गते शनिबार राजधानीको तिनकुनेमा ‘क्रसमान्डु नेसनल च्याम्पियनसिप २०१६’ हुने भएको छ । नेपाल मोटरसाइकल फेडरेसन (एनएमएफ) को आयोजनामा हुने उक्त च्याम्पियनसिपमा २५० सिसीसम्मका ३० वटा अफरोड डर्ट बाइक राइडरको सहभागिता रहने छ । तिनकुनेमा निर्माण गरिने करिब ५५० मिटरको अफरोड ट्रयाकमा बाइक राइडरहरुले आफ्नो रेसिङ कौशल प्रदर्शन गर्ने छन् । अन्तर्राष्ट्रिय तालिमप्राप्त मार्सलहरुको सुपरिवेक्षणमा संचालन गरिने उक्त च्याम्पियनसिपमा भाग लिने खेलाडीहरुलाई समेत रेसिङ सम्बन्धी आधारभूत प्राविधिक ज्ञान र निर्देशन प्रदान गरिने छ । च्याम्पियनसिपका बिजेताहरुलाई नगद, सिल्ड, पदक र प्रमाणपत्र प्रदान गरिने छ । अफरोड राइड रुचाउने बाइक राइडरहरुका लागि यो एउटा उपयुक्त प्लेटफर्म हुने र यसको माध्यमबाट उनीहरुका लागि अन्तर्राष्ट्रिय लेभलको प्रतियोगितामा समेत सहभागी हुने ढोका खुल्ने छ । नेपाल जस्तो कठीन भौगोलिक बनोट भएको देशमा यस प्रकारको इभेन्टले पर्यटन प्रवद्र्धनमा समेत सहयोग पुग्ने विश्वास गरिएको छ । नेपाली युवाहरुका बीचमा अत्यन्तै लोकप्रिय एसिया विङ अन्तर्गतको क्रसफायर बाइकको मूख्य प्रायोजनमा हुने उक्त च्याम्पियनसिपको अन्य प्रायोजकमा यूएम बाइक, टीभीएस टायर, रेडबुल लगायत रहेका छन् । उक्त च्याम्पियनसिपको प्रमोसनल पार्टनर नेपाल अटो इन्फो, म्यगेजिन पार्टनर अटोमोबाइल मासिक, इभेन्ट पार्टनर नेपाल कल्चर एन्ड एड्भेन्चर इभेन्ट र ट्राभल पार्टनर फुटमार्क ट्राभल एन्ड एड्भेन्चर्स रहेका छन् । जिल्ला खेलकुद विकास समिति काठमाडौं र नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा) को समेत सहयोग रहेको उक्त च्याम्पियनसिपले अफरोड बाइक राइडिङको क्षेत्रमा नयाँ पहिचान स्थापना गर्ने विश्वास गरिएको इभेन्ट म्यानेजर सन्तोष न्यौपाने बताउछन् ।

सिटिजन्स बैंकद्धारा ब्याडमिन्टन खेलाडिलाई २५ हजार रुपैयाँ सहयोग

काठमाडौं, ३ साउन । सिटिजन्स बैंक इन्टरनेसनलले राष्ट्रिय ब्याडमिन्टन खेलाडि नङसल तामाङलाई २५ हजार रुपैयाँ सहयोग गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सो नगद उपलब्ध गराउने गरि एक वर्षको सम्झौता गरेको छ । यस्तो कार्यले अन्य राष्ट्रिय खेलाडिहरुलाई पनि खेलको साथसाथै पेशागत वृत्ति विकासको कार्यमा अघि बढ्न हौसला मिल्ने विश्वास बैंकले लिएको छ । राष्ट्रिय खेलाडि नङसलले राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलहरुमा भाग लिएकी छिन् र पदकहरु समेत जित्न सफल भएकी छिन् । हालै उनले २०१६ को १२औं साउथ एशियन खेलको महिला टिम इभेन्टस् र महिला एकल उपाधिमा काश्य पदक र २०१० को एघारौैं साग खेलको महिला टिम इभेन्ट्मा पनि काश्य पदक जित्न सफल भएकी थिईन् ।