चम्किँदै चन्द्र, चौतर्फी प्रशंसा

काठमाडौं । उद्योगी व्यवसायीहरुको छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल अबको तीन महिनापछि अध्यक्ष हुँदैछन् । यो त उनले पछिल्लो समय पाउँदै गरेको जिम्मेवारी हो, नयाँ पहिचान हो । त्यसभन्दा पनि उनको छुट्टै पहिचान छ- ट्रेन्ड सेटर उद्यमी । नेपालको सबैभन्दा पहिलो र अग्रणी रेमिट्यान्स कम्पनी आइएमई रेमिटका संस्थापक अध्यक्ष । नेपालको सबैभन्दा ठूलो बैङ्क ग्लोबल आइएमई बैङ्कका अध्यक्ष । नेपाल स्टक एक्स्चेन्जमा सूचिकृत आधा दर्जन बढी कम्पनीका संस्थापक । दुर्गम पहाडमा जन्मेको एउटा निम्नमध्यम वर्गीय किसानको छोरो । त्यो भन्दा पनि १६ वर्षको उमेरमा आफ्नो बुबा गुमाएको व्यक्तिले आफ्नो व्यक्तिगत पहल र मिहिनेतबाट कसरी सबैलाई लोभ्याउने नतिजा निकालिरहेको छ ? यो प्रोफाइल, पर्सनालिटी र पोर्टफोलियो बनाउन कति समय लाग्यो होला ? उनले कसरी यति ठूलो सफलता प्राप्त गरे ? एकपछि अर्को सफलता चुम्दै गरेका व्यक्तिको बारेमा चासो, जिज्ञासा र कौतुहलता रहनु स्वभाविक नै हो । वि.सं. २०२२ सालमा बाग्लुङको अमलाचौरमा जन्मिएका ढकाल आर्थिक रुपमा एक निम्न मध्यम वर्गीय परिवारमा हुर्किए । विडम्वना, उनी १६ वर्षको हुँदा नै बुबाको निधन भयो । जेठो छोरा भएकोले पनि अब उनको काँधमा सम्पूर्ण परिवारको जिम्मेवारी आयो । पढाइसँगै उनले घरायसी काममा पनि ध्यान दिनुपर्ने भयो । मैले गाउँघरमा नगरेको कुनै काम छैन । डोको, नाम्लो, डोरी आफै बनाउनेदेखि खेतीपातीका सबै काम गर्दथे, मलाई अहिले पनि सबै काम गर्न आउँछ’ उनले विगत स्मरण गर्दैै भने जसरी भए पनि आमा र भाइबहिनीको हेरचाह गर्नु थियो, घरको अभाव टार्नकै लागि काठमाडौं आएँ ।’ पढाइ पनि गर्ने र कमाइ पनि गर्ने भन्ने उद्देश्यका साथ उनी काठमाडौं आए । सुरुमा पेप्सीकोला वितरक कम्पनी स्वस्तिक हेरिटेजमा काम गरे । पढ्दै अगाडि बढ्दै गए । पछि राष्ट्रिय वाणिज्य बैङ्कमा नाम निकाले । राष्ट्रिय वाणिज्य बैङ्कमा सहायक लेखापालको जागिर सुरु गरे । त्यहाँ करिब चार वर्ष काम गरेपछि व्यवसाय गर्ने उनमा चाहना आयो । वि.स २०४८ सालतिर कोल्ड स्टोर स्थापना गरे । त्यसपछि कार्गो व्यवसायमा हात हाले । व्यवसाय विस्तार गर्ने सोचका साथ बैङ्कबाट ऋण लिन खोजे । तर, आफू काम गर्ने बैङ्कले पत्याएन । उल्टै बैङ्कले उनलाई ऋण चाहिएमा जागिर छोड्नु पर्ने बतायो । व्यवसाय गर्ने उनमा हुटहुटी जन्मिसकेको थियो । व्यावसायिक जोशका साथ उनले जागिर छोडे । ‘साथमा भाइ हेमराज ढकाल छन्, उमेरले म भन्दा १० वर्ष कान्छो तर ऊ मेरो बिजनेसको सारथी हो, सानैदेखि सँगै काम ग¥यौं, धेरै मिहिनेत ग¥यौं, अहिले ठूलो टिम बनेको छ, मभन्दा बढी मिहिनेत मेरो टीमले गर्छ,’ उनी भन्छन्, ‘मेरो सफलतामा मेरो टीमको भूमिका महत्वपूर्ण छ ।’ उनले पछि कार्गो व्यवसाय पनि गरे । कार्गो व्यवसायकै सिलसिलामा विभिन्न देश पनि गए । उनले विस्तारै व्यावसायिक सफलता पाउन थाले । मान्छेहरुले पनि चिन्न थाले । त्यसपछि जन्मियो आइएमई अहिले धेरैले रेमिट्यान्स पठाउनुलाई आइएमई गर्नु भन्छन् । उनै चन्द्र ढकालले सुरु गरेका हुन् आइएमई रेमिट । त्यतिबेला नेपालीहरुले विदेशमा कमाएको पैसा पठाउने औपचारिक माध्यम थिएन । अनौपचारिक माध्यमबाट पैसा आइरहेको थियो । जसलाई हुण्डी भनिन्छ । ढकालले यो समस्यालाई कसरी समाधान गर्न सकिन्छ भन्नेतर्फ सोचे । व्यावसायिक योजना बनाए । उनीसँग करिब एक वर्ष मनी ट्रान्सफर कम्पनी ‘एक्सप्रेस’को एजेन्ट बनेको अनुभव थियो । त्यही अनुभवलाई सदुपयोग गर्दै उनी इन्टरनेसनल मनी एक्सप्रेस (आइएमई) खोल्ने निर्णयमा पुगे । तर, सहज भने थिएन । त्यतिखेर रेमिट्यान्स गर्न धेरै गाह्रो थियोे । तर, सरकार र आम सर्वसाधारणका लागि अति आवश्यक थियो । ‘मिहिनेत गरेर आर्जन गरेको पैसा आफ्नो घरपरिवारसम्म पु¥याउने माध्यम थिएन, व्यवसाय गर्न खोजेका उद्यमीका लागि राम्रो अवसर थियो, सरकारले औपचारिक रुपमा रेमिट्यान्स आइदिए हुन्थ्यो भन्ने सोचेको थियो तर काम गर्न समस्या थियो, सुरु गर्दा धेरै सकस भोगियो,’ अध्यक्ष ढकाल भन्छन्, अहिले रेमिट्यान्सको पर्यावाची आइएमई बन्दा खुसी लाग्छ ।’ रेमिट्यान्स बैङ्क र पर्यटनको विकासमा ट्रेण्ड सेटर बनेका चन्द्र ढकालले नयाँ र उदीयमान उद्यमीको रुपमा आफूलाई चिनाएका मात्र छैनन्, इमान्दार र मिहिनेतले एकै पुस्तामा पनि व्यावसायिक पहिचान निर्माण गर्न सम्भव छ भन्ने पुष्टि गरिदिएका छन् । त्यतिखेर नेपाल राष्ट्र बैङ्कको गभर्नरका रुपमा डा. तिलक रावल थिए । डा. रावलले उनको प्रस्ताव सहर्ष स्वीकार गरे । आइएमईले सञ्चालनको अनुमति पायो । सेवाको गुणस्तरले बिस्तारै कम्पनीको ब्रान्डिङ’ ग¥यो । अहिले आइएमई नेपाली कामदार पुगेका सबै देशमा रेमिट्यान्स कारोबार गर्ने कम्पनी बनेको छ । आईएमई नेपालमा ‘मनी ट्रान्सफर’को पर्यायबाची नै बनेको छ, कुनै बैङ्क या अन्य मनी ट्रान्सफर कम्पनी पुगेका सेवाग्राहीले पैसा आईएमई गरिदिनुस’ भन्छन्, मनी ट्रान्सफरको अनुमतिपत्र माग्न राष्ट्र बैङ्क पुग्नेले समेत । आइएमईको लाइसेन्स पाउ’ भन्छन्, आइएमई अहिले ब्राण्ड बनेको छ,’ कुनै व्यावसायिक पृष्ठभूमि नभएको व्यक्तिले यो किसिमको उपलब्धि हासिल गर्दा खुसी पनि लाग्छ,’ ढकालले आफ्नो अनुभवहरु सुनाउँदै भने । सुरुमा स्थापना गर्दा अनौपचारिक माध्यमबाट कारोबार गर्नेहरुबाट पनि धेरै धम्की आएको उनी सुनाउँछन् । तर, धेरै मिहिनत गरेर अनुशासित भएर काम गरेकै कारण आइएमई रेमिट सफल कम्पनीका रुपमा चिनिएको उनी सुनाउँछन् । वैदेशिक मुद्रालाई औपचारिक रुपबाट भित्र्याउनका लागि आइएमई एउटा कोशेढुङ्गा नै बनेको उनी बताउँछन् । अहिले कुल रेमिट्यान्सको ३० प्रतिशतको हाराहारीमा आइएमई रेमिटबाट नै रेमिट्यान्स भित्रिने गरेको छ । आइएमई रेमिटले ‘ट्रेण्ड–सेट’ गरेकै आधारमा अहिले देशमा धेरै मनि ट्रान्सफर कम्पनीहरु सञ्चालनमा छन् । धेरैले रोजगारी पाएका छन् । रेमिट्यान्स पनि औपचारिक माध्यमबाट आउन थालेको छ । मर्जरमा पनि बसाले ट्रेण्ड आइएमईको सफलतापछि ढकालको प्रवेश बैंकिङ्ग क्षेत्रमा भयो । उनकै अगुवाईमा आइएमई फाइनान्सियल इन्स्टीच्यूट स्थापना भए । राष्ट्र बैङ्कले वित्तीय क्षेत्र सुधारको नीति ल्यायो । नेपाल राष्ट्र बैङ्कले बैङ्क तथा वित्तीय संस्थाहरु स्वःस्फूर्त रूपमा मर्ज होउन् भन्ने उद्देश्यले बैङ्क तथा वित्तीय संस्था गाभ्ने–गाभिने तथा प्राप्ति गर्ने नीति ल्यायो । क्रस होडिल्ङ भएका कम्पनी मर्जमा जोड पनि दियो । राष्ट्र बैङ्कको उक्त नीति अबलम्बन गर्दै ढकालले दुई संस्था मर्जमा लगे । ग्लोबल बैङ्क र आइएमई फाइनान्सियल इन्स्टीच्यूट मर्ज भएर ग्लोबल आईएमई बैङ्क बन्यो २०६९ सालमा । ग्लोबल आइएमई बैङ्कले आफुमा बैङ्क तथा वित्तीय संस्था गाभ्ने क्रम त्यतिमै रोकेन । ग्लोबल आइएमई बैङ्कमा हालसम्म २१ वटा बैंक तथा वित्तीय संस्था गाभिसकेका छन् । सोमबार मात्रै बैङ्क अफ काठमाण्डूसँग एकीकृत कारोबार गरेको छ । जसमा ५ वटा वाणिज्य बैङ्क, १० वटा विकास बैङ्क र ६ वटा फाइनान्स कम्पनी गाभिएका छन् । ग्लोबल बैङ्क स्थापनादेखि अहिलेसम्म अध्यक्षको हैसियतमा उनले निरन्तर नेतृत्व गर्दै आएका छन् । अहिले उनलाई धेरैले मर्जर किङ्ग’का उपमाले पनि चिन्छन् । राष्ट्र बैङ्कले मर्जरको नीति ल्याएपछि त्यसको प्रभावकारी कार्यान्वयन गर्नेमा हामी अगाडि छौं, धेरै बैङ्क तथा वित्तीय संस्थालाई गाभेर बैङ्कलाई पुँजीमा ठूलो बनायौं, सेवाग्राहीलाई पनि विश्वास गर्न लायक बैङ्क बनाएका छौं, ठूलो नेटवर्क भएको छ, गुणस्तरीय सेवा र दक्ष जनशक्ति छन्,’ उनी भन्छन्, ‘बैङ्क मर्जर तथा एक्विजिसनमा हामी ट्रेण्ड सेटर नै हौं ।’ उनले राज्य स्तरबाट पनि राम्रो सहयोग पाइरहेका छन् । यसअघि विभिन्न बैंकहरुको बिग मर्जर हुँदा सरकारीस्तर वा राष्ट्र बैंकका अधिकारीहरुको पनि सहभागिता हुन्थेन । तर, सोमबार ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डौंको एकीकृत कारोबारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ मुख्य सचिव शंरदास बैरागी, नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी लगायतको सहभागीले पनि उनलाई सरकारी स्तरबाट राम्रो सहयोग मिलेको बुझ्न सकिन्छ । दर्जनौं कम्पनीमा अर्बौं लगानी ढकाल अहिले देशको एक सफल र अग्रणी व्यवसायीको सूचीमा पर्छन् । उनले रेमिटेन्स, बैङ्क, बीमा, जलविद्युत, उद्योग, होटल, अटो, पर्यटन, सूचना प्रविधिलगायतका क्षेत्रमा लगानी गरेका छन् । जुन कम्पनीमा लगानी ग¥यो त्यसमा उनी सफल बनिरहेका छन् । आफ्नो व्यवसायप्रतिको लगाव–झुकाव, इमान्दारिता र सहकर्मीहरुको सहयोगले नै आफू यो अवस्थामा आइपुगेको उनी बताउँछन् । ढकालले आफैले स्थापना गरेका दुई दर्जनभन्दा बढी कम्पनी छन् । तीमध्ये आधा दर्जन कम्पनी सेयर बजारमा सूचिकृत भइसकेका छन् । आइएमई समूह संलग्न जलविद्युत क्षेत्रतर्फ दुइवटा कम्पनी हिमालयन पावर पाटर्नर र माउन्टेन इनर्जी कम्पनी सञ्चालनमा छन् । हिमालयनले लमजुङमा २७ मेगावाटको दोर्दी खोला जलविद्युत आयोजना निर्माण गरेर बिजुली उत्पादन गरिरहेको छ भने माउन्टेन इनर्जीले पनि म्याग्दीमा ४२ मेगावाटको मिस्त्री खोला जलविद्युत आयोजना सञ्चालनमा ल्याइसकेको छ । वित्तीय क्षेत्रतर्फ ८ वटा कम्पनी छन् । आइएमई रेमिट, ग्लोबल आइएमई बैङ्क, आइएमई पे, आइएमई जनरल इन्स्योरेन्स, आइएमई लाइफ इन्स्यारेन्स हाथवे इन्भेष्टमेन्ट र ग्लोबल आइएमई क्यापिटलमा आइएमई समूहको लगानी भएका कम्पनी मात्रै होइनन्, ढकालले आफै संस्थापक रहेका कम्पनीहरु हुन् । यस्तै, हस्पिटालिटीतर्फ चन्द्रागिरि हिल्स, बेस्ट रिसोर्ट प्रा. लि. र आइएमई ट्राभल, प्रविधि क्षेत्रतर्फ स्वीफ्ट टेक्नोलोजी, अटोमोबाइल्स क्षेत्रमा आइएमई अटोमोबाइल्स र आईएमई मोटर्स, रिटेल्समा माई मार्ट नेपाल र सिएम ट्रेडिङ इन्टरप्राइजेज र सूचना तथा मनोरञ्जन क्षेत्रतर्फ यो समूहको डिसहोममा पनि संलग्नता रहेको छ । अन्य धेरै कम्पनीमा यो समूहको लगानी छ । यी कम्पनीहरुमा आइएमईले अर्बौंको लगानी गरेको छ । कम्पनीले नेपाल पूर्वाधार बैङ्कमा पनि लगानी गरेको छ । जसको पुँजी मात्रै साढे २१ अर्बको छ । सेयर बजारमा सूचिकृत भएका आधा दर्जन कम्पनीहरुको पुँजी ३० अर्ब बढीको छ । आइएमई समूहले सुरु गरेको अर्को नयाँ प्रोजेक्ट चन्द्रागिरि हिल्स हो । अहिले चन्द्रागिरि काठमाडौं उपत्यका नजिकैको सबैभन्दा उत्कृष्ट गन्तव्यका रुपमा चिनिन्छ । ढकाललाई नचिन्ने मान्छेले पनि चन्द्रागिरि चिन्छन् । काठमाडौं बसेर चन्द्रागिरिमा एक पटक नगएको मानिस सायद बिरलै भेटिएला । 'त्यसबेला काठमाडौंमा एकदमै ठूलो प्रदुषण थियो, आन्तरिक र विदेशी पर्यटकलाई पनि पर्यटकीय गन्तव्यको खाँचो थियो, सरकार र सर्वसाधारणले पनि त्यस्तो ठाउँ चाहिरहेका थिए, पछि हामीले चन्द्रागिरि बनायौं, त्यो गन्तव्य सबैको रोजाइमा प¥यो, अब सातै प्रदेशमा चन्द्रागिरि जस्तै पूर्वाधार बनाउनु पर्छ भन्ने योजना छ,’ ढकालले भने । अहिले उनलाई धेरैले ‘मर्जर किङ्ग’का उपमाले पनि चिन्छन् । राष्ट्र बैङकले मर्जरको नीति ल्याएपछि त्यसको प्रभावकारी कार्यान्वयन गर्नेमा आफूहरु अगाडि रहेको उनी बताउँछन् । उनी भन्छन्, ‘बैङ्क मर्जर तथा एक्विजिसनमा हामी ट्रेण्ड सेटर नै हौं ।’ यस्तै, उनी आयात प्रतिस्थापन गर्ने नीतिका साथ आइएमई समूहले नेपालमा पहिलो पटक उच्च गुणस्तरको पेपर उत्पादन गर्ने तयारी गरिरहेको बताउँछन् । ६ महिनापछि पेपरको उत्पादन सुरु हुने उनले बताए । आयात प्रतिस्थापनका साथै निर्यातको लक्ष्य लिएर हामीले उद्योग तयार गर्दैछौं । यसले अर्थतन्त्रमा राम्रो योगदान गर्नेछ’ उनले भने । आइएमई समूहले जति कम्पनीमा काम गरिरहेको छ ती सबै कम्पनीलाई सूचिकृत गराउनेछ । आफ्नो सबै कम्पनीहरुमा सर्वसाधारणलाई पनि समेट्ने योजना ढकालको छ । कुनै पनि काम गर्दा मिहिनेत र प्राथमिकता राखेर गर्छु, कामलाई सर्वोपरी ठान्छु, मभन्दा बढी काम गर्ने मेरो टीम छ, सर्वसाधारणहरुको सहयोग छ, मेरो प्रत्येक बिजेनसमा म सर्वसाधारणहरुलाई जोड्न चाहन्छु, ढकाल भन्छन्, मेरो कम्पनीहरुको मालिक उनीहरुलाई पनि बनाउन चाहन्छु ।’ हामी आम मानिसको आवश्यकता पूरा हुने, सरकारको नीति र प्राथमिकतामा सहयोग पु¥याउने र लगानीबाट प्रतिफल पनि आउने व्यवसायलाई हामी छनौट गर्दछौं’ ढकालले भने, म जे गर्दछु, इमान्दारिपूर्वक गर्दछु । त्यसैले हामीलाई विश्वास गरेर धेरै लगानीकर्ताले लगानी गर्नुभएको छ । सबै कर्मचारीहरुले विश्वास र भरोसा गर्नुभएको छ ।’ उनको सफलताको आधार पनि यही हो । (देशविकास पत्रिकाको  वर्षअङ्क बाट) सम्बन्धित सामग्री :   सेयरबाट उद्यमी, ‘१० वर्षपछि अर्कै हुन्छ अम्बिका’ अर्बपति सन्यासी, पोल्ट्रीका फादर

सेयरबाट उद्यमी, ‘१० वर्षपछि अर्कै हुन्छ अम्बिका’

काठमाडाैं । आरनमा फलामलाई जति पिट्यो, त्यति नै झन् बलियो बन्छ नि । हो, सेयर बजार पनि लगानीकर्ताहरुका लागि त्यस्तै हो । जति पैसा गुमायो, जति घाटा खायो, जति बढी समय दियो त्यति अनुभव, त्यति नै क्षमता र त्यति नै बढी आदती बनाउँदो रहेछ सेयर बजारले । त्यो नशा सेयर बजारमा लाग्ने जो कोहीलाई पनि लाग्छ । सेयर बजारमा अधिकांशले घाटा नखाएर नाफा मात्र गरेका उदाहरण बिरलै होलान् । लगानीकर्ताहरु असफल नभएर सफल भएको बिरलै होलान् । सेयर बजारका वादशाहको उपमाले परिचित वारेन वफटले सन् १९७० ताका मरेतुल्य गरि घाटा बेहोरेका थिए । घाटाको पीडाले बफेट सिकिस्त बिरामी भएको समाचार पनि बनेको थिए । उनी अहिले विश्वका चर्चित मात्रै होइनन्, सफल लगानीकर्ताको रुपमा पनि परिचित छन् । सुरुमै ठूलो नोक्सानी व्यहोरेँ भनेर उनी सेयर बजारबाट बाहिरिएका थिए भने अहिले उनको नाम विश्व चर्चित बन्थ्यो होला त ? नेपाली सेयर बजारका एक परिचित नाम अम्बिका प्रसाद पौडेल जवाफ दिन्छन्, ‘बन्थेनन्, जोसँग धैर्यता छ, जोसँग परिस्थितिसँग जुध्न सक्ने क्षमता छ, उसैले कमाउँछ, एकदिन त्यही व्यक्ति सफल हुन्छ ।’ अम्बिका पौडेल पनि सेयर बजारमा बारम्बार बजारिएका छन् । थिचिएका छन् । करोडौंको सम्पत्ति शुन्यमा झारेका छन् । पीडा भोगेका छन् । पसिना बगाएका छन् । कति रातहरु वित्तीय विश्लेषणकै नाममा अनिदो बसेका छन् । त्यसैले त उनी पनि अहिले नेपाली सेयर बजारमा एक सफल र अनुभवी लगानीकर्ताका रुपले परिचित छन् । कतिपयले त उनलाई ‘भेट्रान’ लगानीकर्ताको संज्ञा पनि दिन्छन् । सेयर लगानीकर्ताहरुको संस्था नेपाल इन्भेष्टर्स फोरमका पूर्वअध्यक्ष पौडेल निजी क्षेत्रको सबैभन्दा ठूलो छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्य तथा पुँजीबजार फोरमका सभापति समेत हुन् । पौडेल वि.सं २०२८ सालमा स्याङ्जाको एउटा सामान्य परिवारमा जन्मिए । एसएलसीसम्मको अध्ययन गाउँकै विद्यालयमा पूरा गरेर उनी उच्च शिक्षाका लागि काठमाडौं आए । काठमाडौंको शंकरदेव क्याम्पसबाट व्यवस्थापनमा स्नातकोत्तर गरे । स्नातकोत्तर पढ्दै गर्दा उनले पुँजी बजारको विषयमा सिके । २०४९ मा पुँजी बजारमा प्रवेश गरेका उनले सुरुमा त नोक्सानै व्यहोरे । त्यतिखेर उनले पनि सेयर बजार मेरो लागि होइन भन्ने नसोचेका होइनन् । तर, मनको बाघ न हो, कसले पो रोक्न सक्छ र ? सेयर बजारको उनको प्यासन थियो । २०६५ सालमा सरकारी जागिर छोडेर सेयरमा होमिएका अम्बिका पौडेल अहिले नेपाल टेलिकम, हिमालयन पावर पाटर्नर, एनआरएन इन्भेष्टमेन्ट, चन्द्रागिरि र आईजीआईको सञ्चालक समितिमा छन् भने सूचीकृत नभएका २० बढी कम्पनीको पनि बोर्डमा छन् । ‘हिमालयन, नेपाल एसबिआई र नेपाल बंगलादेश बैंकको आईपीओमा लगानी गरेर सेयर बजारमा प्रवेश गरेको हुँ, बैंक अफ काठमाण्डू र नबिल बैंकको सेयर खरिद गरेर २०५१ सालमा दोस्रो बजारमा प्रवेश गरेँ,’ उनी विगतलाई स्मरण गर्दै भन्छन्, ‘सुरुमा ३ लाख लगानी गरेको थिएँ तर घटेर २ लाख मात्रै बाँकी रह्यो,’ उनी थप्छन्, त्योभन्दा नमिठो अनुभव मलाई कहिल्यै भएन ।’ सुरुमै १ लाख घाटा भएपछि उनले दोस्रो बजारमा लगानी नगर्ने योजना पनि बुने । केही समय आईपीओ मात्रै भरे । दोस्रो बजारमा सेयर खरिदबिक्री केही समयका लागि रोके । केही समयपछि पुनः लगानी गर्नु पर्छ भन्ने मानसिकता आएको उनी सुनाउँछन् । तर, उनको नोक्सान व्यहोर्ने शिलसिला भने त्यतिमै रोकिएन । ‘आज कमाएको जस्तो देखिन्थ्यो, फेरि भोलि बियरिस सुरु हुँदा सबै सकिन्थ्यो, सम्पत्ति बच्दैनथ्यो, पीडा मात्रै बच्थ्यो, धेरै निराश भइयो, तर धैर्यता राखियो, २०५२ देखि २०६९ सालसम्म गुमाउने मात्रै काम गरियो, मैले राम्रो कमाएको भनेको पछिल्लो ८/९ वर्ष मात्रै हो, उनी भन्छन्, ‘सेयरमा गुमाए पनि त्यो बिचमा अनेकौं सम्बन्धहरु, अनुभव, विज्ञता र ज्ञान धेरै कमाएँ ।’ सरकारी जागिरे, सेयरमा कारोबार पौडेल कुनै बेला निजामति कर्मचारी पनि थिए । वि.सं २०५५ सालमा लेखा अधिकृतको रुपमा निजामती सेवामा प्रवेश गरेका उनले जागिरसँगै सेयर बजारमा पनि कारोबार गरिरहे । महालेखा परीक्षकको कार्यालयमा लेखा अधिकृत भएर काम गरेका उनले २०६५ सालमै सरकारी जागिर छाडे । सेयर बजारमा पूर्ण रुपले सक्रिय हुुने उद्देश्यका साथ सरकारी जागिर छाडेको उनी बताउँछन् । ‘स्नातकोत्तर पास गरेपछि निजामति सेवामा प्रवेश गरेको हुँ, सामाजिक सुरक्षाका हिसाबले पनि सरकारी जागिर गर्नु पर्छ भन्ने मानसिकता सानैदेखि थियो तर पछि पुँजी बजारमै काम गर्न मन लाग्यो, सरकारी जागिर गर्दैगर्दा अलिकति पैसा कमाइसकेको थिएँ, दुइटा डुङ्गामा खुट्टा राख्नु हुन्न भन्ने महशुस भएपछि मैले जागिर छोडेँ,’ उनले भने, ‘घरको कसैलाई थाहै नदिई जागिर छोडेको त्यो पल सम्झेर अहिले पनि अचम्म लाग्छ ।’ हुन त मान्छेले श्रमभन्दा सन्तुष्टि खोज्छ । पेशाभन्दा प्यासन खोज्छ । पौडेलले पनि त्यही रोजे । हुँदाखाँदाको सरकारी जागिर छोडेर नाफा/घाटाको भर नहुने सेयर बजारलाई आफ्नो दैनिकी बनाए । उनले सेयर बजारमा पक्कै पनि चुनौति देखेका थिए । तर, आफुलाई चुनौति मोल्न सक्ने क्षमता भएकै कारण सेयर बजार राजेको तर्क दिन्छन् । ‘मेरो आधारबिन्दु भनेकै पुँजी बजार हो, अहिले जति व्यापार व्यवसायमा विविधीकरण गरेको छु, त्यसको आधार पुँजीबजार नै हो, हिजो मेरो पोर्टफोलियो सानो थियो, अहिले ठूलो भयो होला, अम्बिका पौडेल सेयर बजारको लगानीकर्ता हो भनेर सुन्दा पनि आनन्द आउँछ, किनकी सेयर बजारसँगको मेरो सामिप्यता गहिरो छ,’ उनी भन्छन्, ‘अब पनि जे गर्छु जति काम गर्छु, सेयर बजारमै गर्छु ।’ ठूलो पोर्टफोलियोलाई एउटै ठाउँमा केन्द्रिकृत नगरेर लगानीलाई विविधीकरण गर्ने योजनाका साथ आफूले अन्य धेरै कम्पनीमा लगानी गरेको उनी बताउँछन् । अहिले सेयर बजारको कारोबारमा दिनप्रतिदिन सक्रिय नभए पनि पुँजी बजारको गतिविधिमा भने सक्रिय रहेको उनी सुनाउँछन् । उनी आफ्नो लगानी फेरि पनि पुँजी बजारमै आउने धारणा राख्छन् । कमाउँदा र गुमाउँदाका ती पलहरु सेयर बजारमा कमाउनु र गुमाउनु सामान्य नै हो । एउटाले कमाउँछ त अर्कोले गुमाउँछ । आज बजार घट्छ त भोलि बढ्छ । यो स्वभाविक नै हो । तर, अधिकांशले सेयर बजारमा गुमाएँ भन्ने सुनिन्छ । मान्छे कमाउँदा खुसी हुन्छ । गुमाउँदा दुःखी हुन्छ । त्यो हर्ष र त्यो रोदन अम्बिका पौडेलले पनि अनगिन्ती भोगे । धेरै पटक महशुस गरे । र, कयौंलाई नजिकबाट नियाले पनि । ‘बियरिस ट्रेण्डमा पुगेको लगानीकर्ताले बुल मार्केटमा पुग्दासम्म राम्रै कमाएको हुन्छ, राम्रो कमाउँदा उसलाई एक किसिमको घमण्ड हुन्छ, अन्यसँग त्यही किसिमको ट्रिट गर्छ, जब बजार घट्छ, त्यसपछि उसले आफूलाई चिन्छ, महशुस गर्छ, यो समयले दिएको प्रतिफल हो, मेरो विवेकले पाएको प्रतिफल हो भनेर आफूलाई सम्हाल्ने प्रयास गर्छ, आफू सक्किएको महशुस हुन्छ,’ उनले देशविकाससँग आफ्नो अनुभव सुनाउँदै भने, ‘यस्ता अनुभव त कति भोगियो, कति देखियो ।’ सेयर बजारमा कमाउने र गुमाउने विषय व्यक्तिमा भएको अनुभव, ज्ञान र विश्लेषण गर्न सक्ने क्षमताले निर्धारण गर्ने उनी बताउँछन् । ‘क्षमता भएकाहरुका लागि सेयर बजार लगानीको सबैभन्दा उपयुक्त र सजिलो क्षेत्र भएको उनको धारणा छ । ‘सेयर बजारमा दलालहरु लाग्दैनन्, शत्रुहरु लाग्दैनन्, आफूले विश्लेषण गरेको आधारमा लगानी गर्ने हो, कम्पनीको विषयमा ज्ञान लिएपछि विगतका ट्रेण्डहरुको विषय विश्लेषण गरेर कारोबार गर्‍यो भने त्यसले अवश्य नै प्रतिफल दिन्छ,’ उनले भने, ‘क्षमता नभएकाहरुका लागि सबैभन्दा कठिन क्षेत्र पनि सेयर बजार हो, सबैका लागि होइन यो क्षेत्र ।’ लगानीकर्ताले बजारको चरित्रलाई नियाल्न सक्नुपर्छ । बजारको ट्रेण्ड र अर्थतन्त्रको हाउभाउ केलाउन सक्नुपर्छ । लगानी गरेको कम्पनीको वित्तीय सूचकहरुको विश्लेषण गर्न सक्नुपर्छ । तब मात्रै सेयर बजारबाट कमाउन सक्ने सम्भावना रहने उनी बताउँछन् । सरकारले पनि लगानीका सुरक्षित उपकरणहरु ल्याएर सबैलाई त्यसमा सहभागी गराउनु पर्ने उनको राय छ । ‘मैले शतप्रतिशत सफल हुन्छु भेनर लगानी गर्दिन, लगानी गरेपछि २०० प्रतिशत नेटवर्थ बनाउनु पर्छ भन्ने मेरो लक्ष्य हुन्छ, मैले असफल भएका कम्पनीलाई सफलतातर्फ लिनको लागि धेरै भूमिका खेलेको छु, अरुले गरेका गल्तीहरु पहिचान गरेर ती गल्ती नदोहोर्‍याउने हो भने पनि कम्पनीलाई सजिलै सफलतामा पुर्याउन सकिन्छ,’ पौडेलले भने । सेयर बजारमा कारोबार गर्दै गर्दाका पौडेलसँग नमिठा अनुभवहरु छन् । ‘कतिपयले लगानीको विषयमा सोध्नुभयो भने म भनिहाल्छु, तर, सेयर मूल्य घट्यो भने दोष मलाई थुपार्नु हुन्छ, कतिपयले मप्रति त्यसैले पनि गलत धारणा राख्नुहुन्छ, कतिपयले बाटोमा भेट्यो भने पिट्छु पनि भने । तर, पछि उहाँहरुले बुझ्नुहुन्छ, महशुस गर्नु हुन्छ, म नै गलत रहेछु भनेर मलाई नै भन्न आउनुहुन्छ,’ उनले थप्दै भने, ‘कतिपय अम्बिकाले बजार तलमाथि पार्न सक्छ भन्छन्, मैले पानी पर्‍यो भने छाता दिन सक्छु, पानी रोक्न सक्दिन ।’ चार दर्जन बढी कम्पनीमा लगानी सेयर बजारमा लागेको करिब तीन दशक भएपनि सेयर बजारबाट पौडेलले कमाएको भने ८/९ वर्ष मात्रै भयो । यो अवधिमा उनी चार दर्जन बढी कम्पनीको सेयरधनीको रुपमा स्थापित भइसकेका छन् । उनी ५ वटा सूचीकृत कम्पनी नेपाल टेलिकम, हिमालयन पावर पाटर्नर, एनआरएन इन्भेष्टमेन्ट, चन्द्रागिरि र आईजीआईको सञ्चालक समितिमा छन् भने सूचीकृत नभएका २० बढी कम्पनीको पनि बोर्डमा छन् । हाल उनी स्काई टच इन्भेष्टमेन्ट एण्ड कन्सलटेण्ट तथा ए एण्ड ए बिल्डर, काञ्जिरोवा हायेर सेकेण्डरी स्कूल लगायतका संस्थामा अध्यक्ष छन् । बिग इन्ड्रस्टीज, हाइलाइफ, हाथवे इन्भेष्टमेन्ट, बूढानीलकण्ठ हेरिटेज, न्यूलिंक कपी उद्योग, ग्रेट हाइड्रोपावर कम्पनी लगायतमा सञ्चालक रहेका छन् भने उनी निर्माण क्षेत्रमा पनि संलग्न छन् । अहिले जति नेटवर्थ छ, त्यो सबै पुँजी बजारबाट कमाइ गरेको पौडेल बताउँछन् । ‘२० करोडको पार्टफोलियो शून्य र एक अर्बको नेटवर्थ ५ करोडमा झरेको छ, पाइला-पाइलामा ठक्कर खाइयो, म अहिले जहाँ छु, त्यो पछिल्लो ८/९ वर्षको कमाइले हो,’ उनले भने । अब उनी अरुको कम्पनीमा होइन आफ्नै कम्पनीमा सेयर कारोबार गर्न चाहन्छन् । आफूले लगानी गरेर स्थापना गरेका कम्पनीहरुलाई सूचीकृत गराएर त्यसमै कारोबार गर्ने योजना पौडेलको छ । ‘मैले आफूलाई फरक स्थापित गर्न चाहन्छु, हिजो ८ हजारमा खरिद गरेको एउटा कम्पनीको सेयर मूल्य आज ४ सय छ, मैले त्यसमै लागेको भए आज के हुन्थ्यो, मैले त्यसबाट आएको प्रतिफलले आफ्नै कम्पनी खोलेर त्यो कम्पनीलाई नै सूचीकृत गराउने तयारी गरिरहेको छु, हरेक विषयमा विकल्प खोज्नु पर्छ,’ उनी भन्छन्, ‘म नेपाली सेयर बजारमा एउटा ट्रेण्डसेट गर्न चाहन्छु, धेरै काम त गरिसकेको छु ।’ नेपाली पुँजी बजारको विकास, विस्तार र सुदृढीकरणका लागि जति काम भएको छ, त्यति काम कसैले नगरेको उनी दावी गर्छन् । आफ्नो काम आवाज उठाउने भएको भन्दै सेयर बजारमा सही नीति निर्माणका लागि आफुले ठूलो भूमिका खेलेको उनी बताउँछन् । ‘स्टक एक्सचेञ्जको निजीकरण, पुँजीगत लाभकर घटाउन, पुँजीबजारमा लाग्ने दोहोरो कर हटाउन, धितोपत्र बोर्डको संरचनागत सुधार, हकप्रद सेयर, सेयरधितो कर्जा लगायतका विषयमा मैले धेरै काम गरेको छु, सेयर बजारमा भएका ८० प्रतिशत विषय मैले उठान गरेको छु, महासंघमा गएपछि पनि धेरै सुझाव दिएको छु,’ उनले भने, ‘कहिले अगाडि नै गएर त कहिले ब्याकमै बसेर काम गरिरहेको हुन्छु ।’   १० वर्षपछि अम्बिका अर्कै हुन्छ हामीले अम्बिका पौडेललाई सोध्यौं- भाग्य ठूलो कि कर्म ? उनले जवाफमा भने, ‘कर्मबिनाको भाग्य हुँदैन, कर्मबिनाको भाग्यमा म विश्वास गर्दिन, आफूले गरेका कर्मले सफलता पाउन सकिन्छ तर कहिलेकाहीँ भाग्य पनि चाहिन्छ, नेता कर्मले बन्न सकिन्छ, प्रधानमन्त्री बन्नका लागि भाग्य पनि चाहिन्छ, भाग्य र कर्मको संयोजनले उत्कृष्ट र सफल बन्न सकिन्छ ।’ उनी आफूले धेरै मिहेनत गरेर यो अवस्थासम्म आइपुगेको बताउँछन् । ‘म अब क्षमता, ज्ञान, अनुभव, सम्बन्ध र नामको हिसावले पूर्ण भएको छु, अब सक्रिय भएर २५ वर्ष काम गर्छु, हिजोको दिनमा सबै कुराको अभाव थियो, यहाँसम्म आइपुगेँ, आज मसँग यी सबै चिज छ, यो चिजको सदुपयोग गरेर साँच्चिकै देखिने काम गर्छु भन्ने कन्फिडेन्ट छ, अहिले सुरु मात्रै गरेको छु, अब परिणाम आउँछ,’ उनले भने, ‘अम्बिका अबको १० वर्षपछि फरक क्यारेक्टर र फरक क्षेत्रमा स्थापित हुन्छ ।’ पुँजीबजारबाट उठेका पौडेलले पछिल्लो समय कृषि, उद्योग, पर्यटन, शिक्षा, निर्माण क्षेत्रमा लगानी गर्दै नयाँ कम्पनी अगाडि बढाईरहेका छन् । उनले सबै कम्पनीहरुलाई नेप्सेमा सूचीकृत गर्ने गरी प्रक्रिया अगाडि बढाउँदै छन् । उनी आफूले गरेको कामले सबैलाई सेवा दिन चाहन्छन् । आफूले उत्पादन गरेको वस्तु सबैको जीवनशैली बनेको हेर्न चाहन्छन् । उनी सकेसम्म धेरैलाई रोजगारी दिने चाहना राख्छन् । आफ्नो कामले आफूलाई मात्रै होइन सिंगो देशलाई लाभ हुने काम गर्न चाहन्छन् अम्बिका । ‘अहिले जुन-जुन क्षेत्रमा लगानी गरेको छु, यसलाई विस्तार गर्छु, मैले गरेको व्यवसायका उत्पादन नेपालको प्रत्येक घरमा पुगोस्, त्यो उत्पादन प्रत्येक मानिसको जीवनशैली बनोस्, त्यो वस्तु प्रयोग गर्दा धेरैले मलाई सम्झिउन्, सबैले भनुन् वा अम्बिका,’ उनी भन्छन्, ‘अब मेरो सम्पूर्ण ध्यान त्यसमै केन्द्रित हुन्छ, सकेसम्म धेरैलाई रोजगारी दिन सक्ने काम गर्छु ।’ अबको १०/१५ वर्षमा आफूले सोचेको काम गर्न सक्ने आँट रहेको उनी सुनाउँछन् । आफ्नो निणर्यमा घरपरिवारको पनि धेरै साथ रहेकोले पनि आफु यो अवस्थामा पुगेको उनी बताउँछन् । ‘करोडौं रुपैयाँ गुमाउँदा घरपरिवारले साथ दियो, कमाउँदा पनि साथ दियो, राम्रो गर्दा गर्दै नराम्रो भए पनि एकदिन राम्रो भैहाल्छ भन्ने सान्त्वना मैले घर परिवारबाट पाउँछु,’ अम्बिका भन्छन्, ‘मेरो कामको उर्जा नै मेरो परिवार हो ।’ (देशविकास साप्ताहिक पत्रिकाकाे वर्षअंकबाट)

जहाँ अवसर आउँछ त्यहीँ पैसा बग्छ : अध्यक्ष गोल्छासँगको विकास वहस

नेपाली उद्योग व्यवसायमा फरक किसिमको छाप बसालेर अगाडि बढिरहेका व्यवसायी हुन् शेखर गोल्छा । नेपालमा पहिलो पटक उनले पशुपन्छीलाई लगाइने खोप उत्पादन थाले, जसले नेपालको मागपूर्ति मात्र गरेको छैन, अफ्रिका र मध्य एशियाका एक दर्जन देशमा निर्यात हुन्छ । गोल्छाले नै नेपालमा पहिलो पटक बजाज मोटरसाइकल एसेम्बल उद्योग लगाएर स्थापित गरे, जसलाई अरु धेरै ब्राण्डहरुले पछ्याइरहेको छ । बहुराष्ट्रिय कम्पनी सामसुङको रेफ्रिजेरेटर र वासिङ मेसिन नेपालमा नै उत्पादन थालेर उनले अर्को ठूलो व्यावसायिक पहलकदमी लिएका छन् । अटो फाइनान्समा गोल्छाले थालेको व्यवसायलाई अधिकांश ठूला अटो विक्रेताले पछ्याएका छन् । व्यावसायिक ब्राण्ड बिल्डिङ्मा शेखर धेरैले लिने नाम हो । उनै शेखर गोल्छाले नेपाल उद्योग वाणिज्य महासङ्घको समेत नेतृत्व गरिरहेका छन् । महासङ्घ सम्पूर्ण उद्योगी व्यवसायीहरुको छाता संस्था भएकोले पनि हामीले गोल्छाको व्यक्तिगत, पारिवारिक तथा व्यावसायिक पृष्ठभूमि र उद्योग व्यवसायमा हासिल गरेका उपलब्धीहरु समेटेनौं, गोल्छाको चाहना पनि त्यही रह्यो । वर्तमान आर्थिक सङ्कटको अन्त्य, व्यवसायीको सृर्जनशीलता, युवाहरुको लगाव र भविष्यको अवसरबारे विकासन्युजका लागि रामकृष्ण पौडेल र सन्तोष रोकायाले अध्यक्ष शेखर गोल्छासँग कुराकानी गरेका छन् । पछिल्लो समय अर्थतन्त्रमा देखिएको समस्याले उद्योगी व्यवसायीलाई पनि सकस परेको छ, महासङ्घको अध्यक्षको हैसियतमा तपाईंले उनीहरुलाई कसरी मोटिभेट गरिरहनु भएको छ ? पक्कै पनि कठिन समय छ । तरलताको अभावले धेरै क्षेत्र सङ्कुचनमा छ । मलाई लाग्छ यो नेपाली उद्योगीले अहिलेसम्म नदेखेको अवस्था हो । मैले साथीहरुलाई यही भन्न चाहान्छु कि ६ देखि ८ महिनामा हामी एकदमै सहज स्थितिमा आउन सक्छौं । सहज हुन्छ भन्ने आधार के हुन् ? यसका पाँचवटा आधार छन् । पहिलो, हाम्रो तरलता विप्रेषणसँग जोडिएको छ । जति जति हाम्रो विप्रेषण बढ्छ, त्यति नै तरलता सुध्रिन्छ । यस वर्ष रेमिट्यान्स २० प्रतिशतले बढेको छ । यसरी रेमिट्यान्स बढ्दा यो सीधै बैंकिङ्ग सिस्टममा जाने भएकोले यसले तरलता बढाउँछ । हाम्रो विदेशी मुद्राको आयको श्रोत पनि मुख्यतः रेमिट्यान्स नै हो । वल्र्ड बैङ्कले यस वर्ष १२ प्रतिशतभन्दा बढीले रेमिट्यान्स बढ्छ भनेको थियो, त्योभन्दा पनि बढेको देखिएको छ । जुन गतिमा हाम्रो भाइ बहिनीहरु बाहिर गइरहेका छन्, यसले पक्कै पनि भविष्यमा रेमिट्यान्स बढ्छ । जसले तरलतामा सहजता ल्याउँछ । दोस्रो, हाम्रो कमोडिटीको मूल्य रुस र युक्रेनको युद्धले निकै बढेको थियो । जसले पेट्रोलियम पर्दाथको मूल्य ७० प्रतिशतसम्म बढाएको थियो । त्यसका साथै तेल, कोइला, स्टीलको मूल्य अत्याधिक रुपमा बढेको थियो, जसले तरलतामा प्रभाव पारेको थियो र हाम्रो शोधानान्तर स्थिति कमजोर हँदै गएको थियो । तर, अहिले हेर्ने हो भने पेट्रोलियम, खाद्यान्य र स्टीलको मूल्य घट्दै गएको छ । त्यसैले अब आउने समयमा हाम्रो सेभिङ्ग बढ्दै जान्छ र तरलता पनि सुधार हुँदै जान्छ भन्ने विश्वास लिन सकिन्छ । तेस्रो, विगतमा बैङ्कमा लगानीयोग्य रकमको धेरै ठूलो अभाव हुँदा अर्थतन्त्र स्लोडाउन भइसकेको छ । जब अर्थतन्त्र स्लोडाउन हुन्छ तरलता स्वभाविक रुपमा बढ्छ । एउटा पोइन्टमा आइसकेपछि यो माथि जाने भन्ने अर्थतन्त्रको नियम नै हो । हामी पुस महिना बटम आउट गर्छौं होला । माघदेखि हाम्रो तरलता सुध्रिने देखिन्छ । चौथो, डिसेम्बर–जनवरीको होटल बुकिङ्गले अब आउने समय पर्यटनको लागि धेरै राम्रो रहने देखिएको छ । होटलको बुकिङ प्रि–कोभिड लेभलमा आइसकेको छ । एयरपोर्ट भरिभराउ भइरहेका छन्, ल्याण्डिङ्ग गर्ने स्पटहरु पाइरहेको छैन, भैरहवा एयरपोर्ट निश्चित रुपमा चल्छ किनभने काठमाडौंमा ल्याण्डिङ्ग स्पट नभएपछि त काँही न काँही त जान्छन् होला । यो आधारमा पर्यटकको आगमन हुने हो भने पर्यटनले झण्डै प्रत्यक्ष र अप्रत्यक्ष रुपमा अर्थतन्त्रमा ८ देखि १० प्रतिशत असर गर्न सक्छ । त्यसले ट्रेकिङ्ग व्यवसायदेखि रेष्टुरेन्ट व्यवसाय, ट्याक्सीदेखि लिएर माइक्रोबस बुकिङ्गसम्म पुरै इकोसिस्टम चल्नेछ । पाँचौ, नयाँ सरकार हो । नयाँ सरकार बनेपछि हाम्रा डेभलपमेन्ट ऐजेन्सीहरु जस्तै वल्र्ड बैङ्क, एडिबी र हाम्रा डोनर कन्ट्रीहरु नयाँ सरकारसँग सहकार्य गर्न चाहिरहेका छन् । मसँग भएको कुराकानीको आधारमा उनीहरु नयाँ सरकार बनेपछि नेपाललाई सहयोग गर्न तयार रहेको बुझिन्छ । नेपाललाई हामीले कसरी सहयोग गर्न सक्छौं त्यसको मोडल पनि तयार छ, नयाँ सरकार आउने बित्तिकै हामी सहयोग गर्छौं’ भन्ने जस्तो डाइरेक्सन उनीहरुले दिएका छन् । धेरै एफडीआई पनि यस्ता छन् जुन नयाँ सरकार आएपछि अवस्था हेरेर लगानी गर्छौं भनेर बसेका छन् । त्यसैले नयाँ सरकार आएपछि केही समय राम्रो जोश देखिन्छ होला । नयाँ सरकार बनेको छ । अब सरकारले कुन विषयलाई प्राथमिकता दिनुपर्छ ? सबैभन्दा पहिला नयाँ सरकारले अहिले आएको आर्थिक शिथिलतालाई पुनः कसरी गतिशील बनाउन सकिन्छ र निजी क्षेत्रको मनोबल कसरी बढाउने भन्नेमा ध्यान दिनुपर्छ । जबसम्म निजी क्षेत्रको मनोबल उठ्दैन तबसम्म लगानी हुँदैन र जबसम्म देशमा दीर्घकालिन लगानी हुँदैन तबसम्म रोजगारी सृजना हुँदैन । अहिले निजी क्षेत्रको मनोबल एकदमै कमजोर भएको छ । आर्थिक क्षेत्रमा रहेको समस्या समाधान गर्ने, तरलतालाई द्रुत गतिमा ठिक गर्ने र नेपालमा निजी क्षेत्रको मनोबल बढाउने कामहरु नयाँ सरकारबाट अपेक्षित छ । अहिले आएको समस्या निजी क्षेत्रको मात्र होइन । राजस्व २० देखि ३० प्रतिशतले घटेको छ । साधारण खर्च धान्न सकिएको छैन । नयाँ रोजगारी सृजना हुन सकेको छैन । देशबाट जुन गतिमा मान्छे पलायन भइरहेको छ त्यो गति कहिले पनि थिएन । अर्को, मुद्रास्फिती राष्ट्र बैङ्कले १२ प्रतिशतसम्म पुग्न सक्छ भनेको छ, जसको अर्थ सर्वसाधारणको क्रयशक्ति त कम हुनु हो । सेयर बजारका ४० लाख सेयर होल्डर टाउकोमा हात राखेर बसिरहेका छन् । जग्गा व्यापार गर्नेहरु ब्रिकी नभएर ठूलो समस्यामा परेका छन् । हेर्नुहोला, बैङ्कहरुमा पनि अब पुस महिनामा नेपालले कहिले नदेखेको खराब कर्जा बढ्न सक्छ, त्यसले गर्दा बैंकिङ्ग क्षेत्रपनि ठूलो सङ्कटमा पर्छ । इन्स्योरेन्सको पनि कुरा गर्ने हो भने यसमा पनि पहिलोपटक ठूलो सङ्कुचन आएको छ । लाइफ इन्स्योरेन्समा पोलिसी सरेन्डर गर्नेहरु एकदमै बढिरहेको छ । सबैतिर निराशा छाएको छ । यो निराशालाई सम्बोधन गर्ने कि नगर्ने ? योभन्दा ठूलो एजेन्डा के हुन सक्छ ? नयाँ सरकारले देशको अर्थतन्त्रलाई कसरी चलायमान बनाउन सकिन्छ भन्ने ध्यान केन्द्रीत गर्नुपर्छ । यस्तो अवस्थामा निजी क्षेत्रको फोकस केमा हुनुपर्छ ? निजी क्षेत्रसँग मेरो अपेक्षा के छ भन्दा अलिक सृजनशील भइदिनुहोस् । लहैलहैमा नलाग्नुस् । एउटा ठाउँमा राम्रो देख्ने बित्तिक्कै सबै त्यहीँ लगानी गर्छौं । हाम्रो श्रोतहरु सीमित छन् । हामीले नयाँ क्षेत्र खोज्न जरुरी छ । सृजनशील हुन जरुरी छ । हाम्रो प्रतिव्यक्ति आय १३ सय डलर रहेको छ । हाम्रो रेमिट्यान्सदेखि सेभिङ्गमा रहेको रकम धेरै खपतमा खर्च हुन्छ । सम्भावना धेरै छ तर सृजनशील हुनुपर्यो । हामीले सृजनशीलतालाई छोडेर जसको एउटा राम्रो व्यालेन्ससिट छ । त्यसको पछि लाग्यौं भने यसले आफूलाई पनि डुबाउँछ देश पनि डुबाउँछ र अन्य व्यवसायलाई पनि स्लोडाउन गर्छ किनभने हामीसँग सीमित श्रोतहरु छन् । मैले निजी क्षेत्रसँग यसपालि हाम्रो पुरानो गल्तीलाई आत्मासमीक्षा पनि गरौं भनेको छु । आउने समयमा सो विचार गरेर लगानी गर्न जरुरी छ । बैङ्कहरुलाई पनि मेरो आग्रह छ, अलिकति धितो हेरेर मात्र कर्जा नदिनुहोस्, बिजनेशलाई विश्लेषण गरेर सृजनशीलतामा लगानी गरिदिनुहोस् । ब्राण्डको नाम र धितोमा मात्र लगानी गरेर देश बन्ने वाला छैन । पछिल्लो समय व्यवसायीहरु कालो ब्यानर लिएर सडकमा उत्रिएका ेहामीले देख्यौं । बैङ्कर र व्यवसायीबीच यस्तो किसिमको दरार किन आइरहको छ ? समाधानका उपाय के हुन सक्छन् ? बैङ्कहरु पनि अर्थतन्त्रको मेरुदण्ड हुन् । सबल बैंकिङ्ग क्षेत्रले गर्दा अर्थतन्त्र चलायमान भएको हो । बैङ्क बलियो हुन अर्थतन्त्रलाई एकदमै जरुरी छ । तर, बैङ्कहरुले यो कठिन समयलाई मध्यनजर गरेर यसलाई अवसरको रुपमा हेरेर अनावश्यक रुपमा प्रिमियम बढाउने, अन्य शुल्कहरु लिने र अनावश्यक दवाव सृजना गरेको हुँदा निजी क्षेत्र आक्रान्त भएको हो । अहिले हाम्रो अपेक्षा भनेको बैङ्कहरुले यो समयमा हातेमालो गरेर अगाडि बढ्नुपर्छ । बैङ्कहरु बलियो नभए निजी क्षेत्र भोलीको दिनमा व्यवसाय गर्न असक्षम रहन्छ । तर, बैङ्कहरुले अहिलेको कठिन स्थितिलाई अवसरको रुपमा हेर्नु हुँदैन । यो सहकार्य गर्ने समय हो । व्यवसाय बाँचेन भने बैङ्क पनि बाँच्न सक्दैन । र, यो सम्बन्ध अझ बढी गाढा हुनुपर्छ । कर्जा लिने र दिनेले अर्थतन्त्र चल्ने हो र यसलाई निरन्तरता दिन र सम्बन्ध सुमधुर राख्नको लागि एकअर्कालाई बुझ्नु पर्दछ । बैङ्कहरुको उद्योगलाई जाने कर्जादर र व्यापारलाई जाने कर्जादर फरक हुनुपर्छ भनेर उत्पादनमूलक क्षेत्रमा लागेका उद्यमीहरु आवाज उठाइरहन्छन्, यस विषयमा तपाईंको धारणा के हो ? पक्कै पनि हुनुपर्छ । राष्ट्र बैङ्कले कुन क्षेत्रमा कति लगानी गर्ने भनेर गाइडलाइन पनि बनाएको छ । जसमा उद्योगमा पनि कति लगानी गर्ने, साना मझौलामा कति गर्ने भन्ने खुलाइएको छ । उद्योगमा कम व्याजदरमा जानुपर्छ भन्ने स्वभाविक हो तर हाम्रो यसमा व्यवहारिक समस्या के छ भन्ने हेर्न जरुरी छ किनभने अन्तिममा बैङ्कहरु पनि आफ्नो लगानीकर्ताहरु प्रति उत्तरदायी हुन्छन् । उनीहरुलाई प्रतिफल दिने बैङ्कको जिम्मेवारी हो । त्यो आधारमा ट्रेडिङलाई तरलता बढेको बेला वेवास्ता गर्ने हो भने बैङ्कको नाफामा पनि धेरै फरक पर्न सक्छ । त्यो आधारमा एउटा व्यालेन्सड रुपमा जाँदा ठिक होला । पछिल्लो समय बैङ्कर्सको विरोधमा देखिएका केही पात्रहरु हेरेर को उद्यमी र को बैङ्कर भनेर बहस पनि चलेको छ । के उद्योगी र बैङ्कर छुट्याउनु पर्ने अवस्था आएको हो ? धेरै देशहरुमा यो छुट्याउने प्रयास गरिएको छ । बाग्मतीमा धेरै पानी बगिसकेको छ । अब त्यसलाई फर्काउ भन्न मिल्दैन । त्यस्तै सबै बेथितिलाई एकैदिनमा हटाउ भन्न गाह्रो छ र त्यो अहिले सम्भव पनि छैन । किनभने धेरैजसो बैङ्कका प्रमोटरहरु उद्योगी व्यवसायीहरु नै छन् र त्यसको आधारमा त्यसलाई फर्काउन सकिन्छ जस्तो मलाई लाग्दैन । व्यवसायीहरुमा कुन लेभलको सृजनशीलता छ, त्यसलाई तपाईंले कसरी मार्किङ गरिरहनुभएको छ ? हामीले धेरै यस्ता लगानीहरु देखेका छौं, जुन लहैलहैमा लागेर कुनै बजारको समीक्षा बिना भएका छन् । जसले गर्दा क्षमताभन्दा बढी भएर सबै समस्यामा परेका छन् । देशको अर्थतन्त्रमा तरलताको समस्या पनि देखिएको छ । र त्यो आधारमा मैले पक्कै पनि सृजनशीलताको कमी देखेको छु । यसको एउटा मुख्य कारण बैङ्कले सृजनशीलतामा लगानी नगर्नु । बैङ्कले मात्र कोल्याट्रल र कसलाई लोन दिइरहेको छु भन्ने हेरेको छ । कसैले नयाँ क्षेत्रमा केही गर्छु भन्दा बैङ्कहरुले त्यसमा लगानी गर्दैनन् । सृजनशीलतामा नेपालमा लगानी अलिकति पनि छैन । यो सबै समस्याको जरो पनि निजी क्षेत्र, बैङ्क र सरकारले सृजनशीलतालाई हेर्ने नजर हो । यसलाई प्रोत्साहन गर्न सबै लागे पक्कै पनि सृजनशीलताले बढी महत्व पाउने छ । सृजनशीलता प्रोत्साहित हुनेछ । तपाईंको नजरमा निजी क्षेत्रबाट बनेको सृजनशील उद्यम कत्तिका छन् ? पक्कै पनि छन् । मैले केही सृजनशील व्यवसायको उदाहरण दिन्छु । जस्तै चन्द्रागिरी प्रोजेक्ट एउटा सृजनशील प्रोजेक्ट हो । नेपालमा पहिलोपटक यस्तो किसिमको सेटअपमा उक्त प्रोजेक्ट बनेको हो । यसले अरु पनि त्यस्ता धेरै प्रोजेक्टलाई निम्त्याएको हामीले देखिरहेका छौं । त्यस्तै, निजी एयरलाइन्स बिजनेश पनि प्राइभेट सेक्टरको सृजनशीलता हो । यो बिजनेश रचनात्मक रुपमा विकशित भएको छ । पहिला आएका सिमेन्ट उद्योगहरु र अहिले बनेका जुन स्टील स्ट्रक्चर फ्याक्ट्रीहरु, केही औषधिको फ्याक्ट्रीहरु छन्, त्यसमा पनि सृजनशीलता देखिन्छ । यस्तै, पर्यटनमा द्धारिका होटल सृजनशीलताको एउटा नमूना हो । त्यस्तै, तराईमा भएको फाइभ स्टार होटलहरु जसले भारतीय पर्यटकलाई टार्गेट गरेर लगानी गरेका छन्, त्यसमा सृजनशीलता देखिन्छ । यस्तै कफी व्यवसाय नेपालमा सृजनशीलताको ठूलो उदाहरण हो । सडकभरी देखिने बर्गर हाउस एण्ड क्रन्ची फ्राइड चिकेनमा शुद्ध नेपाली उद्यमशीलता र सृजनशीलताको उदाहरण देख्छु म । हरेक क्षेत्रमा सृजनशील बिजनेशलाई देखेको छु तर यतिले पुगेन । यसमा अझ अगाडि बढ्नुपर्छ । थप लगानी बढाउनु पर्छ ।   महासङ्घको अध्यक्षको रुपमा सल्लाह दिँदा तपाईं अबको युवाहरुलाई कुन क्षेत्रमा फोकस हुन भन्नुहुन्छ ? हाम्रो देश अत्यन्तै सम्भावना बोकेको देश हो । म हरेक क्षेत्रमा सम्भावना के हुन सक्छ ? भनेर उदाहरण दिन चाहान्छु । जस्तै पर्यटनमा हामी १० लाख पर्यटक भित्र्याउन सक्छौं । कृषिमा सृजनशीलता ल्याउने हो भने कति उन्नति गर्न सकिन्छ होला किनभने जुन नेपालको जैविक विविधता छ त्यो विश्वमा अरु कतै छैन । तर हामीले त्यसको कुनै अन्वेषण गर्न सकेका छैनौं । हामीले त्यसमा केही गर्न सकेकै छैन । विश्वको कान्छो देशमध्ये एक हौं हामी । २३ वर्ष । हाम्रो प्रतिव्यक्ति आय यस्तो पोइन्टमा पुग्दैछ जब मान्छेहरुको डिस्पोजेबल इन्कम बढेर जान्छ । यसमा खोजौं न सृजनशीलता । यसमा सर्भिसेसहरु खोजौं न । त्यसपछि यातयातदेखि लिएर अन्य धेरै ठाउँमा सृजनशीलता भयो भने धेरै विकास गर्न सकिन्छ । मैले सम्भावनानै सम्भावनाको देशको रुपमा नेपाललाई देखेको छु । पहिला पहिला हामी भन्थ्यौं हामी भारत र चीनको बीचमा छौं एउटा हाइवे बनाइदिए हामीलाई पुग्छ । तर म यो कुरालाई मान्दिन । तर तपाईंको छिमेकीहरु अति धनी हुन्छन् भनेपछि तपाईंको पनि स्ट्याटस् अफ इकोनोमी त केही न केही बढ्छ । जब हामी विश्वकै भाइब्रेन्ट इकोनोमिक डेभलपमेन्ट एरिया भएको बीचमा हुन्छौं भने त्यसबाट हामीले पनि पक्कै केही पाउँछौं । त्यसैले मैले सम्भावनाहरु असीमित देखेको छु । तपाईंले आशावादीता जनाउने कुरा गर्नुभयो तर निराशा भएर युवाहरु देश छोडिरहेका छन् । यो ट्रेण्डलाई युटर्न कसरी गर्न सकिन्छ ? कुनै पनि देशको लागि आफ्ना देशको युवाहरु विमुख भएर विदेशिन खोज्छन् भने त्यो देशको लागि त्योभन्दा दुर्भाग्य अरु केही हुन सक्दैन । देशमा जिम्मेवारी देखाउने काम सरकार, निजी क्षेत्रदेखि लिएर हामी सबैको हो । तर त्यो सम्भावनाहरु यस्ता छन् भनेर देखाउन नसक्नु हाम्रो असफलता हो । यसको भार हामी सबैले बोक्नुपर्छ । यसलाई युटर्न गर्ने आधार सक्सेस् स्टोरिज हो । हामीले सक्सेस् स्टोरी देखाउन सक्नुपर्यो । आज कसैले कुखरा पालन गरेर वर्षको ५० लाख कमाइरहेको होला । कसैले ट्राउट फार्मिङ्ग गरेर वर्षको एक करोड कमाइरहको छ । कसैले होमस्टे सञ्चालन गरेर मनग्य फाइदा गरिरहेको कथाहरुलाई मार्केटिङ गर्नुपर्यो । युवाहरुलाई देशमा सम्भावना छ है, यहाँ गरेर खान सकिन्छ भनेर भन्न सक्नुपर्यो । यसो गर्दा युवाहरु विस्तारै यसमा आकर्षित हुन्छन् । ३ करोड जनता भएको देश, प्रतिव्यक्ति आय १३–१४ सय भएको देश, अपार सम्भावना भएको देश, विश्वले माया गर्ने देशमा हामीले केही न केही त पक्कै पनि गर्न सक्छौं । नेपालको कानुनले विदेशमा लगानी गर्न रोकेको छ । यो बन्देज खुल्ला गर्न महासङ्घले ध्यान दिएको छैन वा महासङ्घको प्रयासले सम्भव भएन ? कि नेपालीहरुको विदेशमा गएर लगानी गर्नसक्ने क्षमता विकास भएको छैन ? पुँजी रोकेर रोाकिँदैन । कानुन बनाउँदा सबै कानुनको दायरमा आउँछन् । करको दायरामा आउँछन् । जहाँ अवसर देखिन्छ पैसा त्यही बग्छ र नेपालीहरुले बाहिर लगानी गरेका छैनन् भनेर भन्न सकिँदैन । बाहिर लगानी गर्ने कुरालाई लिगलाइज गर्नुपर्छ किनभने हामीले जति रोकेर मानिसहरुलाई करको बाहिर राख्छौं त्यसले त्यति नै बढी विकृति ल्याउँछ । कन्ट्रोल तरिकाले हामीले यसलाई खोल्दै लैजानुपर्छ । (देशविकास पत्रिकाको  वर्षअङ्क बाट)