बजेट अधिबेशन बैशाख तेस्रो सातादेखि, बजेट १५ जेठमै
काठमाडौं, २ बैशाख । आगामी आर्थिक बर्ष २०७३७४ को बजेट जेठ १५ गते भित्रमै आउने भएको छ । नेपालको संविधान २०७२ को धारा ११९ मा नयाँ आर्थिक बर्षको बजेट अर्थमन्त्रीले जेठ १५ मा संघीय संसदमा पेश गर्नेछ भन्ने ब्यवस्था अनुसार सरकारले सो दिन बजेट ल्याउने तयारी गरेको हो । बजेट पेश गर्नकै लागि सरकारले बैशाख तेस्रो सातासम्ममा बजेट अधिबेशन वोलाउने तयारी थालेको छ । संविधानमा प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले संसद अधिबेशन बोलाउने ब्यवस्था छ । प्रधानमन्त्री केपी शर्मा ओलीले चैत मसान्तमा राष्ट्रका नाममा सम्बोधन गर्दै जेठ १५ भित्रमा बजेट ल्याइसक्ने जानकारी गराएका थिए । संसद अधिबेशन वोलाउनको लागि एक सातादेखि १५ दिनसम्मको बाटाको म्याद लिएर सार्वजनिक सुचना प्रकाशित गर्नुपर्ने हुन्छ । नयाँ संविधानमा अर्थमन्त्रीले संघीय संसदमा बजेट पेश गर्ने ब्यवस्था गरिएको छ । अहिले संघीय संसद गठन भएको छैन । अहिले देश संविधानमा ब्यवस्था भए अनुसारको संक्रमणकालिन ब्यवस्था अन्तरगत चलेको छ । संघीय संसद भनेको केन्द्रीय संसद हो । यस्तो संघीय संसद गठन हुनको लागि प्रान्तीय संसद गठन हुनुपर्छ । अहिले प्रान्तीय संसद स्थापना भएको छैन । संविधान पूर्ण कार्यान्वयन भएको अवस्थामा अहिलेको जति मन्त्रीको संख्या पनि राख्न पाइदैन । संविधानमा मन्त्रीको संख्या बढीमा २२ सदस्य हुने भनिएको छ । अहिले मन्त्रीको संख्या सोभन्दा बढी छ । गत असोज ३ गते नयाँ संविधान जारी भएको हो । सो संविधान अनुसार १५ असोजमा संसदको विषेश अधिवेशन वोलाइएको थियो । सोही अधिवेशनले अहिलेको सरकार गठन गरेको हो । सभामुख ओनसरी घर्तीले नेपाली काँग्रेसको हालै सम्पन्न १३ औं महाधिवेशन लगत्तै संसद अधिवेशन डाक्ने विषयमा कानुनमन्त्री अग्नी खरेलसँग छलफल गरेकी थिइन । तर प्रधानमन्त्री ओलीको चीन र भारत भ्रमणमा ब्यस्त रहनु परेको तथा नेपाली काँग्रेसको संसदीय दलको निर्वाचन जस्ता विषयले नभ्याइने भन्दै सरकारले तत्काल अधिबेशन डाक्न नसकिने जानकारी सभामुखलाई दिएको थियो । राष्ट्रिय योजना आयोगले सवै मन्त्रालयहरुलाई पत्राचार गर्दै १० बैशाखभित्रमा नीति तथा कार्यक्रम पेश गरिसक्न आग्रह गरेको छ । सवैमन्त्रालयको नीति तथा कार्यक्रम आइसकेपछि आयोगको संलग्नतामा अर्थमन्त्रालयले सरकारको बार्षिक नीति तथा कार्यक्रम र बजेट तयार पार्ने गर्छ । सरकारले आफ्नो नीति तथा कार्यक्रम संसदमा पेश गर्ने र छलफलपछि सो नीति तथा कार्यक्रम पारित गर्ने ब्यवस्था छ । यस्तै संसदमा बजेटको पूर्व बजेट छलफल गर्ने कार्यक्रम पनि राख्ने गरिएको छ । यो सवै प्रक्रिया पूरा गर्नको लागि पनि १५ जेठमा बजेट ल्याउने हो भने कम्तिमा पनि १ जेठसम्ममा अधिबेशन डाकिसक्नु पर्ने हुन्छ । अर्थमन्त्रालय पनि १५ जेठमा बजेट ल्याउने गरी तयारीमा जुटेको छ ।
पोखरेलीको चार दशक लामो सपना साकार बन्दै, सुरु भयो अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण
पोखरा, २ वैशाख । पोखरेली जनताको चार दशकदेखि पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल बनाउने सपना बुधबार विमानस्थलको शिलान्याससँगै साकार हुने भएको छ । विमानस्थल निर्माणका लागि प्रधानमन्त्रीको चीन भ्रमणका क्रममा भएको ऋण सम्झौतासँगै निकै उत्साहित बनेका पोखरेली जनतालाई शिलान्यासले थप उत्साहित बनाएको छ । विश्वमा नै परिचित पर्यटकीय नगरी पोखरामा विमानस्थल निर्माणको प्रक्रिया अघि बढ्नुले यहाँको विकासका सम्भावनालाई अघि बढाएको विमानस्थल निर्माणका एक अभियन्ता एवम् नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्वअध्यक्ष आनन्दराज मुल्मी बताउँछन। पोखरेली जनताले चार दशकदेखि विमानस्थल निर्माणका लागि देखाएको अग्रसरता एवम् सङ्घर्षले विमानस्थलको शिलान्याससँगै साकार रुप लिन लागेको उनले उल्लेख गरे । “पोखरा अन्तर्राष्ट्रिय विमानस्थल पोखराको मात्र नभएर ४ नं प्रदेश र समग्र नेपालकै लागि गौरवको विषय हो,” उनले भने, “विमानस्थल निर्माणसँगै सडक यातायात लगायतका पूर्वाधार विकासलाई पनि सँगसँगै लैजानुपर्छ ।” पूर्वसांसद एवम् नेपाली काँग्रेसका नेता शुक्रराज शर्मा पोखरामा लामो प्रतीक्षापछि अन्तर्राष्ट्रिय विमानस्थलको शिलान्यास हुनुले पोखरा र प्रदेश नं ४ का जनतालाई निकै हर्षित तुल्याएको बताउँछन । संविधान प्राप्त भएपछिको ठूलो उपहारका रुपमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई पोखरेलीले लिएको उनको भनाइ छ । विमानस्थल बनेसँगै लाखौँ विदेशी पर्यटक पोखरा भएर लुम्बिनी, मुक्तिनाथ, पशुपतिनाथ, कैलाशनाथ आदि धार्मिकस्थलको दर्शन र अवलोकनका लागि आउने शर्माले बताए । जिविस कास्कीका पूर्वसभापति पुण्यप्रसाद पौडेल पनि विमानस्थलले पोखराका धेरै सम्भावनालाई उजागर गर्ने धारणा राख्छन। २०३४ सालदेखि जग्गा अधिकरण गरे पनि लामो समयदेखि काम अघि बढ्न नसकेकामा चिन्तित पोखरावासीले विमानस्थलको शिलान्यासको अवस्थासम्म आइपुग्नुलाई अत्यन्त हर्षका साथ हेरेको पौडेलले बताए । राष्ट्रिय जनमोर्चा गण्डकी धवलागिरि क्षेत्रीय समिति अध्यक्ष शङ्करप्रसाद बरालले अन्तर्राष्ट्रिय विमानस्थल समग्र पश्चिमाञ्चल र यस क्षेत्रको विकासका लागि अत्यन्त उपयोगी हुने धारणा राखे । “लामो समयको सङ«घर्षपछि विमानस्थल शिलान्यास भएको छ,” उनले भने, “यसलाई सबैले मिलेर समयमा नै सम्पन्न गर्न लाग्नुपर्छ ।” पोखरा उपमहानगरपालिकाका कार्यकारी अधिकृत झलकराम अधिकारीले अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणसँगै पोखरा र यस आसपासको धेरै सम्भावना खुल्ने बताए । उनले यसले स्थानीय विकासका धेरै सम्भावना खोल्ने विश्वास व्यक्त गरे । अबका दिनमा अन्तर्राष्ट्रिय विमानस्थल सुहाउँदा पूर्वाधार निर्माण गर्ने चुनौती थपिएको बताउँदै उनले विमानस्थल निर्माणका लागि ठूलो लगानी पोखरामा भित्रनु पनि आफैंमा यस क्षेत्रका लागि महत्वपूर्ण विषय भएको उल्लेख गरे । रासस
पर्यटन क्षेत्रका लागि २०७३ सालः निराशा छिचोल्दै पुनरुत्थान
काठमाडौं, १ बैशाख । नयाँ संबिधान प्राप्त गर्नु बाहेक २०७२ सालले नेपाली जनतालाई केहि दिएन् । बर्षको दोश्रो हप्ता नलाग्दै आएको ७ दशमलब ६ रेक्टर स्केलको महाभूकम्पको पीँडा बिर्साउने प्रयास भैरहेको थियो । अकस्मात भारतले नाका बन्दी लगायो । त्यसको कारकका रुपमा मधेशका असन्तुष्ठ राजनीतिक दलले सुरु गरेको नाका केन्द्रित धर्नालाई देखाईयो । नाका बन्दीले आम नेपाली जनतालाई युद्धको भन्दा भयानक अवस्थामा पुर्यायो । १० बर्ष चलेको माओवादी युद्धका बेलामा समेत खासै प्रभावित नबनेको नेपाली पर्यटन क्षेत्रलाई भूकम्प र नाकाबन्दीले थिलोथिलो बनाईदियो । पर्यटन प्रवद्र्धनको जिम्मेवारी पाएको पर्यटन बोर्डले नेपाली बर्षहरुको तथ्यांक राख्ने गरेको छैन् । तर सन २०१४ को तुलनामा सन २०१५ मा पर्यटन आगमन ३२ प्रतिशतले घटेको छ । ‘हामीले नेपाली क्यालेण्डरमा तथ्यांक राख्ने गरेका छैनौं तर २०१४ भन्दा २०१५ मा पर्यटक आगमन ३२ प्रतिशतले घटेको छ ।’ नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख दिपकराज जोशीले भने । भूकम्पले पर्यटन क्षेत्रमा ६२ अर्ब ३७ करोड मुल्य बराबरको क्षति पुर्यायो । विश्व सम्पदा सूचिमा परेका अधिकांश सम्पदा ढलेर भग्नावशेषमा परिणत भए । बसन्तपुर, भक्तपुर र पाटन दरबार स्क्वायर ढले भने चाँगुनारायण, बुङमति, बोद्ध स्तुपा समेत सकुशल रहेनन् । १६ अर्ब ९० करोड मुल्य बराबरको सांस्कृतिक सम्पदामा क्षति पुगेको देखिन्छ । चलनचल्तीका पदमार्ग पनि भूकम्प र त्यसलगत्तै आएका पहिरोहरुले अवरुद्ध बने । दर्जनौं पर्यटकले भूकम्पमा ज्यान गुमाए । मुलत १४ जिल्लाको पर्यटन करिब करिब ठप्प भयो । त्यसमा लाङटाङ, गोर्खा–मनास्लु, चरिकोट, जिरी, कालिञ्चोक, धादिङ, रोल्वालिङ लगायतका गन्तब्य थिए । नगरकोट लगायतका अन्यकेहि गन्तब्यका होटलहरुमा समेत ठुलै क्षति पुग्यो । एउटै मात्र अन्तराष्ट्रिय विमानस्थल मात्रै रहेका कारण अन्य गन्तव्यहरुमा समेत पर्यटकको आगमन रोकियो । नेपाल आउने पर्यटकले औसत प्रतिदिन ४३ डलर खर्च गर्थे तर अब केहि बर्ष त्यो अनुपात घटेर ३५ डलरमा सिमित हुने पर्यटन सम्बद्ध व्यवसायीहरुको निष्कर्ष छ । नेपालको पर्यटक आगमनमा ४० प्रतिशतले १२ महिनासम्म असर पारेको थियो भने त्यसपछिका २४ महिनासम्म २० प्रतिशतले कमी आउने अनुमान गरिएको छ । ह्यारीको आगमनले उत्साह बर्षको अन्तिम महिनामा बेलायती राजकुमार ह्यारीले नेपाल भ्रमण गरे । निर्धारित समय भन्दा एक हप्ता बढि नेपाल बसेका उनले विश्वभर नेपालको पर्यटन प्रवद्र्धनमा सघाए । बेलायत तथा अमेरिकाका सञ्चार माध्यमहरुले ह्यारीको नेपाल बसाइलाई राम्रै महत्व दिए जसले नेपालको पर्यटन क्षेत्रप्रति विश्व समुदायलाई आकर्षित गर्न मदत नै गर्यो । नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख दिपकराज जोशी भन्छन–२०७२ साल निरासै निरासाले भरिएको बर्ष बन्यो, २०७३ लाई पर्यटन पुनरुत्थानको अवधी बनाउनु पर्छ ।