बीमा दाबी भुक्तानीमा आलटाल, २ कम्पनीको अझै १ प्रतिशतभन्दा कम भुक्तानी

१६ असार । बीमा कम्पनीहरुले विनासकारी भूकम्पको कारण भएको क्षतिको दाबी भुक्तानी गर्न आनाकानी गरेका छन् । गत बैशाख १२ गते आएको भूकम्पको कारण पुगेको क्षतिको दाबी भुक्तानी निकै कम भएको तथ्यांकले देखाएको छ । बीमा समितिले दिएको तथ्यांक अनुसार हालसम्म दाबी भएको रकमको ५ प्रतिशत मात्रै भुक्तानी दिइएको छ । समितिले दाबी भुक्तानी छिटो र सहज बनाउन बारम्बार निर्देशन दिएको भएपनि भुक्तानीको अवस्था सन्तोषजनक नभएको समितिको भनाइ छ । ‘दाबी भुक्तानी सहज र छिटो बनाउनको लागि हामीले बारम्बार निर्देशन दिइरहेका छौं,’ समितिका निर्देशक राजुरमण पौडेलले भने– तर पनि भुक्तानीको अवस्था सन्तोषजनक भएको पाइएको छैन । भूकम्पको कारण क्षति भएको भन्दै विभिन्न बीमा कम्पनीहरुमा १४ अर्ब ३ करोड ९ लाख रुपैयाँ बराबरको दाबी परेको थियो । अहिलेसम्म ७४ करोड २२ लाख रुपैयाँ मात्रै दाबी भुक्तानी भएको छ । भुक्तानी भएको सो रकम दाबीको ५ दशमलब २९ प्रतिशत मात्रै हो । परेका दाबी मध्येमा सवैभन्दा बढी दाबी भुक्तानी शिखर इन्स्योरेन्स कम्पनीले गरेको छ भने सवैभन्दा कम भुक्तानी राष्ट्रिय बीमा कम्पनीले गरेको छ । शिखर नीजी क्षेत्रको कम्पनी हो भने राष्ट्रिय बीमा कम्पनी सरकारी स्वामित्वको बीमा संस्थानवाट छुट्टिएर हालै गठन भएको कम्पनी हो । शिर इन्स्योरेन्स कम्पनीले परेको दाबीको सवैभन्दा बढी अर्थात १३ दशमलब ७२ प्रतिशत भुक्तानी गरेको छ । सो कम्पनीमा १ अर्ब ४६ करोड ९१ लाख रुपैयाँ बराबरको दाबी परेकोमा २० करोड १५ लाख रुपैयाँ भुक्तानी गरिएको हो । यस्तै सवैभन्दा कम भुक्तानी गर्ने कम्पनीमा राष्ट्रिय बीमा कम्पनी सवैभन्दा अग्रस्थानमा छ । सो कम्पनीले आफूमा परेको दाबीमा शुन्य दशमलब ९२ प्रतिशत मात्रै भुक्तानी दिएको तथ्यांकले देखाएको छ । सो कम्पनीमा ६० करोड ३३ लाख रुपैयाँ दाबी परेकोमा ५५ लाख रुपैयाँ मात्रै भुक्तानी गरिएको छ । शिद्धार्थपछि दाबीको बढी प्रतिशत रकम भुक्तानी गर्ने दोस्रो कम्पनी सगरमाथा रहेको छ । सो कम्पनीले परेको दाबीको ७ दशमलब ३९ प्रतिशत भुक्तानी गरेको छ । सगरमाथामा कूल १ अर्ब ३० करोड ३४ लाख रुपैयाँ बराबरको दाबी परेकोमा ९ करोड ६३ लाख रुपैयाँ बराबरको दाबी भुक्तानी गरिएको छ । दाबीको कम भुक्तानी गर्ने दोस्रो कम्पनीमा एभरेष्ट इन्स्योरेन्स कम्पनी परेको छ । सो कम्पनीले आफ्नोमा परेको दाबीको शुन्य दशमलब ९४ प्रतिशत मात्रै भुक्तानी गरेको छ । सो कम्पनीमा २५ करोड १७ लाख रुपैयाँ बराबरको दाबी परेकोमा २३ लाख रुपैयाँ मात्रै दाबी भुक्तानी गरिएको हो । अन्य कम्पनीहरुले भने परेको दाबीको १ देखि ६ प्रतिशत मात्रै दाबी भुक्तानी गरेका छन् ।

पुर्नबीमा कम्पनीले काम थाल्न सकेन, २०७२/७३ को व्यापार गुमाउदै

काठमाडौं, ९ असार । नेपाल पुर्नबीमा कम्पनीले आगामी आर्थिक वर्ष २०७२/७३ मा पनि व्यापार गर्न नसक्ने भएको छ । पाँच वर्षभन्दा बढी लामो तयारीपछि गत कात्तिकमा सञ्चालनमा आएको पुर्नबीमा कम्पनीले गत ८ महिना व्यापार नगरी विताएको छ । बीमा कम्पनीहरुले हरेक आर्थिक वर्षको अन्त्यमा पुर्नबीमा कम्पनीसँग एक वर्षभरीको लागि सम्झौता गर्छन् । बीमा कम्पनीहरुले आगामी आर्थिक वर्ष २०७२/७३ को लागि यही असार मसान्तभित्र पुर्नबीमा सम्झौता गरिसक्छन् । तर नेपाल पुर्नबीमा कम्पनीले पुर्नबीमा गराउन अहिलेसम्म कुनै पनि कम्पनीलाई पत्राचार गरेको छैन । ‘आगामी आर्थिक वर्षको लागि पुर्नबीमा गर्ने समय नजिकदै छ । तर नेपाल पुर्नबीमा कम्पनीको तर्फबाट पुर्नबीमा गर्न प्रस्ताव आएको छैन’ एनएलजी इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत विजयबहादुर शाहले भने । पुर्नबीमा कम्पनीले अहिलेसम्म विजनेश प्रपोजल पनि नपठाएको, रेटको बारेमा पनि छलफल नभएको, रिटेन्सनको बारेमा पनि छलफल नभएको नेपाल लाईफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत विवेक झा बताउँछन् । उनका अनुसार जीवन बीमा कम्पनीहरुको पुर्नबीमा सम्झौता भने जनावरीदेखि डिसेम्भरसम्म हुन्छ । नेपाल पुर्नबीमा कम्पनीले शुरुमा नै लिडर (मुख्य) कम्पनीको रुपमा काम गर्ने वा फलोअर (सहायक) कम्पनीको रुपमा काम गर्छ भन्ने पनि स्पष्ट सन्देश बीमा कम्पनीले पाएका छैनन् । लिडर कम्पनीको रुपमा काम गर्ने हो भने बीमा कम्पनी र पुर्नबीमा कम्पनीबीच बीमा सम्झौता (ट्रिटी) हुनुपर्छ । कुनै मुख्य कम्पनीको सहायक कम्पनी भएर काम गर्ने हो भने मुख्य कम्पनीसँग भएको सम्झौताका आधारमा काम गर्छ । पुर्नबीमा कम्पनीको सञ्चालक समेत रहेका नेपाल राष्ट्रिय बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत रमेश भट्टराईका अनुसार पुर्नबीमा कम्पनीले तयाङ्क संकलनको काम गरिरहेको छ । कति बीमा हुन्छ, कति दावी आउँछ, कति भुक्तानी हुन्छ भनेर क्षेत्रगत रुपमा विस्तृत तथ्याङ्क संकलनको काम भईराखेको छ । उनका अनुसार पुर्नबीमा शुरु गर्नुपूर्व पुर्नबीमा कम्पनीले पनि कति जोखिम लिने, कति जोखिम फेरी अर्को पुर्नबीमा कम्पनीमा हस्तान्तरण गर्ने भनेर कम्पनीको बीमा कभर नीति बन्नुपर्छ । त्यस्तै पुर्नबीमा गराउने ब्रोकर कम्पनीहरुको छनौट गर्नुपर्छ । यी काम गर्न बाँकी छ । कम्पनी सञ्चालनमा आएपनि व्यवस्थित कार्यलय, दक्ष जनशक्तिको अभावमा पुर्नबीमा कम्पनीले काम गर्न नसकेको जानकारहरु बताउँछन् । कम्पनी विगत दुई महिनादेखि कार्यकारी प्रमुख विहिन अवस्थामा छ । छिट्टै कार्यकारी प्रमुख नियुक्त हुने र पुर्नबीमा कारोबार पनि शुरु हुने कम्पनीको अध्यक्ष शोभाकान्त पौडेल बताउँछन् । यस कम्पनीको प्रमुख कार्यकारी अधिकृतको लागि विरबिक्रम रायमाझी, डा अनिल भट्टराई, चिरायु भण्डारी र दिनेशराज अमात्यले आवेदन दिएका छन् । तर कार्यकारी प्रमुख छनौट समितिले समेत पूर्णता पाएको छैन । कम्पनीका सरकारको तर्फबाट थप्नुपर्ने १ अर्ब २२ करोड रुपैयाँ सेयरपुँजी समेत थपिएको छैन । यस कम्पनीको सेयरपुँजी पाँच अर्ब बनाईदै छ । पुर्नबीमा कम्पनीले व्यवसाय नगर्नु सोही कम्पनीको कमजोरी भएको बीमा समितिका अधिकारीहरु बताउँछन् । समितिको तर्फबाट गर्नुपर्ने पुर्नबीमा निर्देशिका बनाएर दिएका छौं, अब हामीले गर्नु पर्ने केही पनि छैन’ समितिका निर्देशक राजुरमण पौडेलले बताए ।

लुम्बिनी इन्स्योरेन्सका फरार अभियुक्त यूनाईटेड इन्स्योरेन्समा कार्यकारी प्रमुख

bikashnews.com काठमाडौं, ३ जेठ । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीमा कार्यरत रहिरदा कारवाहीमा पर्ने निश्चित भएपछि तत्कालिन प्रमुख कार्यकारी अधिकृत शेखर बराल लुम्बिनी इन्स्योरेन्स छाडेर यूटाइटेड इन्स्योरेन्समा गएको तथ्य खुलेको छ । युनाईटेड इन्स्योरेन्स कम्पनी हाजिर भएको ठिक एक महिनापछि बीमा समितिले बराललाई कारवाही गरेको छ । बराल युनाईटेड इन्स्योरेन्समा बैशाख १७ गतेदेखि हाजिर भएका हुन् । जेठ १८ गते बीमा समितिले उनीमाथि कारवाही गरेको पत्र लेखेको छ । बीमा समितिले बराललाई ७ लाख ६० हजार विगो र १० हजार रुपैयाँ जरिवाना तिर्न पत्र काटेको छ । उक्त रकम १५ दिनभित्र बीमक (लुम्बिनी इन्स्योरेन्स)को कोषमा जम्मा गरी त्यसको भौचर बीमा समितिमा पेश गर्न निर्देशन दिएको छ । समितिको निर्देशन अनुसार बरालले असार १ गतेभित्र उक्त रकम भुक्तानी गर्नु देखिन्छ । तर निर्देशन अनुसारको रकम कोषमा जम्मा गरिएको छैन । त्यसबारे बीमा समितिलाई जानकारी दिईएको पनि छैन । ‘गलत ढंगले गरिएको ३८ लाख रुपैयाँ निर्णय गर्ने र भुक्तानी गर्ने कार्यमा संलग्न, कार्यकारी प्रमुख, दावी भुक्तानी उपसमिति संयोजक र सञ्चालकबाट बराबर असुल गर्न निर्देशन दिएका हौ, तर अझै असुल गरि कोषमा जम्मा गरिएको छैन’ बीमा समितिका एक अधिकारीले विकासन्यूजसँग भने । ठमेलस्थित फेसेस लाउन्स एण्ड रेष्टुरेन्टमा भएको आगलागी र त्यसमा भएको दावी भुक्तानी सम्बन्धि कम्पनीको निर्णय बीमा समितिले उल्ट्याउदै कार्यकारी प्रमुख, दावी उपसमितिका संयोजक र तीन जना संचालकलाई बीमा समितिले दोषी ठहर गरेको छ । उक्त रेष्टुरेन्टमा बीमा गर्दा स्टकको बीमा गरेको तर आगलागी दावी भुक्तानी गर्दा स्टकमो मात्र नगरि फर्निचर, फिक्चर, स्टक्चर, इक्वीपटमेन्ट लगायत सजावटका सामानको क्षति मूल्याङकन गरी बीमकलाई नोक्सान पुर्याई दावी भुक्तानी गरेको बीमा समितिको अनुसन्धानबाट देखिएको छ । सर्भेयर सूर्य जोशीले ४५ लाख रुपैयाँ क्षति भएको रिपोर्ट बनाएका रहेछन् । पछि मोलमोलाई गरी ३८ लाख रुपैयाँ भुक्तानी गरिएको रहेछ । यस प्रकरणमा बीमा समितिले कार्यकारी प्रमुख र सञ्चालकहरुलाई पटक पटक स्पष्टीकरण लिएको तर बीमा समितिलाई मान्य प्रष्टीकरण नदिएपछि कारवाही गरिएको देखिएको छ । तत्कालिन कार्यकारी प्रमुखबाट भुक्तानी रकम असुल गर्न र १० हजार जरिवाना गर्न बीमा समितिले लुम्बिनीलाई पत्र काटेपछि लुम्बिनी इन्स्योरेन्सले बराल सम्पर्कमा नभएको जवाफ दिने भएको छ । लुबिम्नी इन्स्योरेन्सले बराल फरार बेहोरासहित पक्राउन गर्न प्रहरीलाई पत्राचार गर्ने तयारी गरेको स्रोतले बतायो । शेखर बरालबारे थप समाचार कार्यकारी प्रमुखलाई प्रहरीले पक्रेपछि युनाईटेड इन्स्योरेन्समा तनाव, लुम्बिनीमा अर्कै लफडा शेखर बराल लुम्बिनी इन्स्योरेन्सबाट बर्खास्त, यूनाईटेडमा नियुक्त लुम्विनी इन्स्योरेन्समा पहिरो गयो, सीईओ र डेपुटी सीईओले पनि खुट्टा उचाले